Monday, October 13, 2008

NEA-JC workshop completed

2008 October 12,
Sunday

नेपाली ईन्जिनियरहरूको संस्था नेपाल ईन्जिनियरस् एसोसिएशनको जापान केन्द्रले हरेक वर्ष एउटा कार्यशाला वा सेमिनारको आयोजना गर्दै आएको छ । यस वर्षको कार्यशाला गर्ने जिम्बेबारी पाएको तीन जनाको 'इभेन्ट मानेज्मेन्ट कमिटी'मा म पनि समाबेश हुनाले यो कार्यक्रमको अगुवाइ गर्ने अभिभारा बहन गरियो ।

तीनदिन लगातार छुट्टी परेको अबधिको बिचको दिन अर्थात अक्टुबर १२ तारिक बिहान १० बजेदेखि हाम्रो कार्यक्रम सुरूभयो । पहिलो सत्रमा जापानस्थित नेपाली राजदुताबासका प्रतिनीधिको रूपमा आउनु भएका डिपुटी चिफ अफ मिसन डा० दुर्गा बहादुर सुबेदीले नयाँ नेपालको विकासमा इन्जिनियरको गहन भुमिका हुने जानकारी गराउदै एउटा लिखित मन्तव्य दिनुभयो । त्यस्तैगरि एनआरएन जापानकी सफला धितालको मन्तव्य र सूर्यदाईको नेपालमा भौतिक संरचना विकासको सम्बन्धमा विशेष प्रेजेन्टेशन थियो, मैले सम्योजन गरेको उक्त सत्रमा ।

दिउसोको खाना एउटा इन्डियन रेस्टुरेण्ट (तर कामदार सबै नेपाली भएको)मा खायौ । त्यसपछिको सत्रमा मैले इन्टरनेटको इतिहास, अहिलेको अबस्था र भविष्यको दिशाका बारेमा प्रजेन्ट गरें । यस्तैगरि धेरै साथीहरूले विभिन्न क्षेत्रसँग सम्विन्धित इन्जिनियरिंग ज्ञानका बारेमा गरेको प्रजेन्टेशन सुनी आफ्नो विचारको परिधिलाई केहि फराकिलो बनाउन मद्दत पुग्यो । अन्तिम सत्रमा हालै कोसीनदिमा आएको बाढिलाई रोक्नसकिन्थ्यो कि भन्ने विषयमा सूर्यदाई, दिनेशदाई, नेत्रदाई र बसन्तजीले अ-आफ्नो मन्तव्य राख्नु भएको थियो । उहाँहरूको मन्थनको निचोड थियो - कोसीजस्तो विशाल नदिको प्राकृतिक बहनको बाटो कृतिमरूपमा सार्दा बहुआयामिक पक्षबिच बिस्तारमा छलफल गरी प्राविधिकरूपमा सम्भव भएसम्ममात्र गर्नु पर्दछ । प्राविधिक पक्षलाई ओझेलमा राखी राजनितिक तथा क्षेत्रगत स्वार्थमात्र गौढ हुन गएमा पुन: यस्ता विपत्ति आईरहने निष्कर्षमा पुगियो ।

इन्जिनियरिंग ज्ञानको दायरा फराकियो हुनुका साथसाथै साथीभाईको वृतपरिधि पनि फराकिलो हुन्छ यस्ता भेलाहरूमा सहभागी हुदा । मैले पनि यस वर्कशपमा नयाँनयाँ साथीहरू भेट्नेमात्र नभएर धेरै वर्ष पहिलेदेखि भेट्न नसकिएका साथीहरू भेट्ने मौका पनि पाएँ ।

साथी बसन्त गौतमले तयार पार्नु भएको उक्त कार्यशालाको सन्क्षिप्त विवरण, जुन पत्रपत्रिकामा छापिएको थियो, यस प्रकार छ ।
-------------------------------
नेपाल इञ्जिनियर्स एसोशिएसन-जापान च्याप्टरको वर्कशप सम्पन्न

यहि अक्टोबर १२, आइतबारका दिन टोकियोमा नेपाल इञ्जिनियर्स एसोशिएसन-जापान केन्द्रको आयोजनामा एक कार्यशाला गोष्ठी सम्पन्न भएको छ। 2nd NEA-JC Workshop on Current and Future Technologies शिर्षकमा सम्पन्न भएको उक्त एक दिवसीय सेमिनारमा जापानमा कार्यरत र अध्ययनरत नेपाली इञ्जिनियरहरुले आफ्ना अनुसन्धानसंग संबन्धित बिभिन्न कार्यपत्रहरु पेश गर्नुभएको थियो।

कार्यक्रमको पहिलो सत्रमा केन्द्रका अध्यक्ष इ. वसन्त गौतमले सहभागीहरुलाई स्वागत गर्दै नेपाल इञ्जिनियर्स एसोशिएसन-जापान केन्द्रका गतिबिधिहरुका बारेमा प्रकाश पार्नुभएको थियो भने कार्यक्रमका संयोजक र केन्द्रका सदस्य इ. अखिलेश कुमार कर्णले कार्यक्रमका बारेमा जानकारी दिनुभएको थियो । केन्द्रका उपाध्यक्ष इ. वेद प्रसाद काफ्लेले सञ्चालन गर्नुभएको उक्त सत्रमा नेपाली राजदूतावासका डेपुटी चिफ अफ मिसन डा. दुर्गा बहादुर सुबेदी क्षेत्री र एनआरएन-जापानका केन्द्रीय सदस्य सफला धितालले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो।

उक्त सत्रमा इ. सूर्यराज आचार्यले नेपालको पूर्वाधार विकासका लागि प्रविधि हस्तान्तरण विषयमा विशेष आमन्त्रित कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
त्यसपश्चातका सत्रहरुमा इञ्जिनियरिङ विधाका बिभिन्न विषयहरुमा इ. वेद प्रसाद काफ्ले, इ. अमन शक्य, इ. हरि पराजुली, इ. नेत्रप्रकाश भण्डारी, इ. रिपेन्द्र अवाल, इ. विदुर घिमिरे, इ. नेत्र ज्ञवाली, इ. दिनेश मानन्धर, इ. लता शाक्य, र इ. सुवास छत्कुली लगायतले विविध विषयका आफ्ना कार्यपत्रहरु पेश गर्दै नेपालको सन्दर्भमा गर्न सकिने अधिकतम प्रविधि सदुपयोगका बारेमा प्रकाश पार्नुभएको थियो। हरेक कार्यपत्रको प्रस्तुति पश्चात सम्बन्धित विषयमा छलफल भएको थियो र कार्यपत्र प्रस्तोताहरुले सहभागीहरुका बिभिन्न जिज्ञासाहरुको जवाफ दिनुभएको थियो।

कार्यपत्रहरुको प्रस्तुति पश्चात ‘कोशी डुबान समस्या- यसलाई रोक्न सकिन्थ्यो?’ भन्ने शिर्षकमा एक छलफल कार्यक्रमको आयोजना गरिएको थियो। इ. सूर्यराज आचार्यद्वारा सञ्चालित उक्त छलफल कार्यक्रममा हालैको कोशी डुबानबाट उत्पन्न समस्या, यसका प्राविधिक र नीतिगत कारणहरु र भविष्यमा यस्ता क्षतिहरु रोक्न गरिनुपर्ने तयारीका बारेमा सहभागीहरुले आफ्ना धारणा राखेका थिए।
----------------------------------

No comments: