Monday, March 31, 2008

साथी पुष्प राज पौडेल सग घुमफिर



कागावा विश्वविद्यालयमा कृषि विज्ञान अध्ययनरत मित्र पुष्पराज पौडेल टोकियोमा कामको शिलशिलामा आउदा खेरी मलाई पनि भेट्नु भयो । २००८ मार्च २९ को बेलुका हाम्रोमा आउनु भयो । हामी दुबै जाना मिलेर खाना बनाई खायौ । मार्च ३० आइतबार बिहान खाजा खाएर हामी टोकियो घुम्न भनी १० बजे तिर निस्क्यौ । त्यहा राजदरबार वरिपरी घुम्दै, बसन्त ऋतुमा जताततै ढकमक फुलेका साकुरा फूलको अगाडि बसेर धेरै फोटाहरू पनि खिच्यौ । अनि बाहिर निस्केर ओतेमाची तिर लाग्दा कतै घुमेर दरबार फर्केका जापानी राजारानीलाई पनि देख्यौ । मित्र पुष्पजीले त त्यो सवारी कस्को रहेछ, फोटा खिच्नु पर्छ भन्दै हुनु हुन्थ्यो । तर मैले अरु नै कोही भिआईपीको होला, पुलिसका अगाडि उभिएर फोटो खिच्नु उपयुक्त नहुने सल्लाह दिएकोले उहाँले क्यामेरा ठीक पार्नु भएनछ । पछि हामी हिड्दै गरेको सडक पेटी तिर गाडी भित्रैबाट टाउको हल्लाउदै अगाडी बढेकी रानीलाई देखेपछि, हत्तेरिक अघि नै क्यामरा तयार पारी फोटो खिच्नु पर्नेरहेछ भनी पछुतो लाग्यो ।
ओतेमाची हुदै हामी आकिहाबारा गयौं । त्यस ठाउँलाई हाम्रा मित्रले काठमाण्डौंको असन र न्युरोडसँग तुलना गर्नुहुन्छ । यत्रतत्र बाटैमा फिजाएर इलेक्ट्रोनिक्स सामानहरू बेच्ने स‍-साना गल्लीलाई हामी असन भन्न थाल्यौ । अनि अलि परको मुख्य सडकका ठूला ठुला भवनका धेरै तला ओगट्ने पसललाई न्युरोड भन्न थाल्यौ । हामीले नामाकरण गरेको नयाँ असनको सोफ्टम्याप भन्ने पसलमा रहेका सेकेण्ड ह्याण्ड तर राम्रै अबस्थाका ल्यापटप कम्प्युटर २०,००० जापानी येन (रू। १२,००० जति) मा पनि किन्न पाउने रहेछ । पुष्पजीलाई किन्ने कि एउटा भनी सोधेको थिए । तर मेरा मित्र पर्नु भो अलि गहकिला; सस्तो, पुरानो र कमसल सामानमा उहाँका आँखा नलाग्ने । उहाँले पुरानो होइन बरू नयाँ हेर्ने भनी हामीले नामाकारण गरेको न्युरोड तिर लाग्यौ । त्यहाको एउटा पसलमा पसी केही कम्प्युटर हेरे पछि पुष्पजीले २७४,००० जापानी येन जतिको सोनी भाइओ ल्यापटप कम्प्युटर मन पराउनु भयो । उहाँले त्यस्को निकै नै प्रशंसा गर्नु भयो । अनि हामी न्युरोड आक्की इन्टरनेशनल भन्ने पसलमा पस्यो, त्यहा पुष्पजीले ओरियन्ट लेडिज घडि किन्नु भयो । उहाँलाई भिडियो क्यामेरा पनि मन परो । सोनी कम्पनीको ६० जीबी हार्डडिस्क भएको, १ दशमलव ७ मेघा पिक्सेलको क्यामेरा र त्यस्तै गुणस्तरको जेभिसीको पनि मन पराउनु भयो । तर दाम भने त्यहा अलि दलाली चल्ने जस्तो देखि तत्कालै किनी हाल्नु भन्दा यताउतिका पसलमा पनि बुझेर मात्र किन्नु बेस लागि हामी केही भौतारियौ । ३ बजे देखि पानी पर्न लाग्यो । सिमसिम पानी पर्छ, यताउति गर्दा नभिजिने तर निकै बेर बाहिर हिडडुल गर्दा भने भिजिने खाल्को पानीले हामीलाई स्वतन्त्र रूपले घुम्न भने अप्ठ्यारो पारेर ल्यायो । आक्की इन्टरनेशनल भन्ने त्यहा तीन ठाउँमा पसल रहेछन् । ती मध्ये हामी दुई ठाउँका पसलमा गयौ । ती पसलमा घडि, क्यामेरा, कम्प्युटर आदि सामानका साथै विदेशी पर्यटकले किन्ने उपहारका बिभिन्न प्रकारमा सामानहरू बेचिदा रहेछन् । ती दुबै ठाउमा हामीले भेटेका बेच्ने मान्छे भने चिनियाँ थिए । अन्तमा आएर भिडियो क्यामेरा आज नकिन्ने भयौं । पुष्पजीले घर सल्लाह पश्चात किन्नु बेस होला भन्ने ठानी किनेपनि भोलि किन्ने निचोडमा पुग्नु भयो ।

साझ पनि पर्यो । हामी त्यहीको एउटा रेस्टुरेण्टमा खाना खायौं । हामी घरबाट हिड्दा आकिहाबाराको कार्यक्रम सकेर उएनोको ठूलो बगैचाका लहरै रहेका ठूलाठूला रूखमा फूलेका साकुरा फूल मुन्तिर बसी सबै दू:ख र बेचैनीलाई केही बेरका लागि भूली आन्नदसँग रमाउने बिचार थियो । तर पानी परेको हुनाले हामीले सबै समय आकिहाबारामा नै खर्चेर, खाना पनि त्यही खाई, रेल चढी राती ८:२० बजे तिर घर आई पुग्यौ ।

१० बजे तिर सुतेका थियौं । थकाई लागेर होला बिहान ७ बजेसम्म निदाइएछ । नुवाइ धुवाइ गरी खाजा खाई पुष्पजी र म सँगै निक्यौ । उहा फेरी आकिहाबारा तिर लाग्नु भयो । सायद क्यामेरा किन्नु भो होला, फोन गरेर पत्ता लाउनुछ । म आफ्नो कार्यलय तिर आई दिन भरि नै काममा ब्यस्त भए ।

अस्तु:
---***---

No comments: