Tuesday, December 16, 2008

हिरोशिमा भ्रमण

२०६५ साल मंसिर २६-२९
2008 December 11-14
----------------------

यो जाडोको मौषममा हामी स-परिवार हिरोशिमा घुम्न गयौं । टोकियोबाट डिसेम्बर ११ तारिक बिहान १०:३० को सुपरएक्सप्रेस सिन्कान्सेन रेल चढेर चार घण्टामा ९०० किलोमिटर जतिको दूरी पारगरी हामी दिउसो २:३० बजेतिर हिरोशिमा स्टेशनमा ओर्लन्छौ । स्टेशन अगाडिको खुला चौकमा छोरीहरूको केही फोटो खिची होटेल तिर लाग्दछौ । स्टेशनबाट हिडेर तीन-चार मिनेट जतिमा होटेल हिरोदेन पुगिन्छ । चेक-इन गरी हामी ९औं तलाको ५९३२ नम्बर कोठामा तीन रातका लागि बास बस्न जान्छौ ।

केहिबेर आराम गरी हामी हिरोशिमा क्यास्सल हेर्न भनि बाहिर निस्कन्छौ । होटेलबाट पश्चिम तर्फ १५-२० मिनेट हिड्दा क्यास्सल पुगिन्छ । बाहिरी बनावट कालो काठको भएको क्यास्सलमा बेलुकाको घाम पर्दा गेरूजस्तो रातो रंगको देखिदो रहेछ । क्यास्सल पुग्नुभन्दा पहिले पुराना रूखको बगौचा छ, जस्को वरिपरि पोखरीले घेरिएको छ । हामी पूर्वको गेटबाट प्रवेश गरी बगैचा हुदै उत्तर-पश्चिम कुनामा अबस्थित क्यास्सलमा पुगी केहि फोटा खिच्छौ । दक्षिण-पश्चिमको गेटबाट बाहिर निस्कनका लागि हिड्दा क्यास्सल परिसर भित्र रहेको कलात्मक जिन्जा (मन्दिर) पनि हेर्यौ । बाहिर निस्कने गेट निकै कलात्मक थियो । क्यास्सलको मूख्यद्वार त्यहि रहेछ, हामी पछाडि पट्टीको सानो गेटबाट प्रवेश गरेका रहेछौ । बाहिर निस्केर हामी त्यो गेटको र अगाडि पट्टीको खुला चौकमा रहेका मानवमूर्ति र पानी फोहोराको वरपर केहिबेर बरालियौ । त्यो खुला चौकबाट पनि क्यास्सल खुब राम्रो देखिदो रहेछ । क्यास्सल हरेर हामी हिरोशिमा बजारतिर लाग्छौ । केहिबेर बजार घुमी ७:३० तिर होटेल फर्की खाना खान्छौ ।

भोलि पल्ट बिहान मेरो हिरोशिमा सिटी युनिभर्सिटीमा एउटा प्रेजन्टेशन थियो । त्यसको लागि बिहान ८:१५ तिर होटेलबाट निस्की, रेल चढी एक स्टेशन परको योकोगावा भन्ने ठाउमा ओर्लिएर बस चढी २० मिनेट जतिमा त्यो युनिभर्सिटी गेट अगाडि ओर्लिए । बस स्टपबाट युनिभर्सिटी भित्र प्रवेश गर्दागर्दै बायापट्टीको भवनमा मैले प्रेजेन्टेशन गर्ने मिटिंग रहेछ । मिटिङमा दुई घण्टाजति सहभागी भएर म ११ बजेतिर त्यहाबाट निस्की, होटेल फर्कदा १२ जति बजेको थियो ।

हामी सबैजनाले नजिकैको फुकुया भन्ने डिपार्टमन्ट स्टोरको ११औं तलामा रहेको रेस्टुरेण्टमा खाना खायौ । त्यस पश्चात हामी हिरोशिमा सहरको 組生通り भन्ने मूख्य सडक हुदै आणविक बम डोम र शान्ति स्मारक पार्क हेर्न गयौं । सन् १९४५ अगस्ट ६ तारिक बिहान ८:१५ बजे अमेरिकी वायुसेनाले खसालेको आणविक बमले हिरोशिमा सहर सबै खरानीमा परिणत भएको थियो । त्यहाको संग्राहलयमा देखाइए अनुसार आणविक बम प्रहार पश्चात हिरोशिमामा जम्मा तीन-चार वटा पक्की भवनमात्र ठडिएको अबस्थामा थिए भने बाँकी सबै घरहरू खरानी भई माटोमा मिलेका थिए । त्यहि ठडिएको अबस्थामा रहेको तत्कालिन ब्यापारिक प्रदर्शन भवन (Hiroshima Prefectural Commercial Exhibition Hall) को भग्नावशेषलाई संरक्षण गरी आणविक बम डोम नामाकरण गरिएको छ । त्यो डोमको पश्चिम तर्फ खोला छ । चेक गणतन्त्रका आर्किटेक्ट जेन लेत्जेलले डिजाइन गरेर सन् १९१५ मा बनेको सो भवनको मुख भने नजिकैबाट बग्ने खोला (पश्चिम दिशा) तिर फर्केको छ ।
डोम हेरेर हामी खोला पारीको शान्ति स्मारक पार्क तिर लाग्छौ । त्यो पार्कभित्र बमले मारिएका केटाकेटीको नाममा समर्पित स्मारक, शान्तिको लागि आव्हान गर्ने घण्टी आदि छन् । पार्कको दक्षिणी भागमा संग्राहलय छ । त्यो संग्राहलयमा आणबिक बम कसरी बनाइयो, बनाउन को को संलग्न थिए, किन जापानमा खसालियो, त्यसले जनधनमा कस्तो क्षति पुर्यायो जस्ता सामग्रीहरू प्रदर्शन गरिएका छन् । मानिसहरू जलेर कस्तो अबस्थामा थिए, घरको छानाका टायल, खाना खाने प्लेट, शिशा, केटाकेटीका खेलौना पग्लेर कस्तो रूपमा परिवर्तन भएका थिए आदि आदि मन रुवाउने दु:खी क्षणको स्मरण गराउने सामग्री छन् त्यहा ।

हामी संग्राहलय हेरेर पार्कमा बसी छोरीहरूलाई खाजा खुवाएर हिरोशिमा सहरतिर लाग्छौ । दुबै छेउमा पसलहरू र बिचको बाटोमा पनि छाना भएको लामो सपिंग आर्केट हेर्दै पूर्वतिर लाग्छौ । हेर्दाहेर्दै केहिबेरमा नै झमक्क साँझ पर्छ । अनि हामी दिउँसो खाना खाएको फुकुया डिपार्टमेन्ट स्टोरको रेस्टुरेण्टमा नै बेलुकाको पनि खाना खाई होटेल फर्कन्छौ ।

भोलिपल्ट हामी मियाजिमा जाने भयौ । खाजा खाएर हामी १० बजे तिर होटलबाट निस्केर हिरोशिमा स्टेशनतिर लाग्छौ । १०:३० बजेतिरको रेल चढी पश्तिमतिर २५ मिनेट गएपछि मियाजिमागुची भन्ने स्टेशनमा ओर्लियौं । स्टेशनबाट पूर्वतिर ५ मिनेटजति हिडेपछि मियाजिमा जाने डुंगा (फेरी) चढ्ने ठाउ आउछ । हामी त्यहा पुग्दापुग्दै एउटा डुंगा हिंडो । १५-१५ मिनेटमा डुंगा चल्दा रहेछन् । त्यो पनि दुई ठाउँबाट, भिन्दा भिन्दै कम्पनीको । हामी जेआर (रेल सेवा)को डुंगा चढी मियाजिमा टापुतिर लाग्छौ । अलि पर पुगेपछि मियाजिमाको प्रसिद्ध इचुकुसिमा जिन्जाको समुन्द्रको पानी माथि बनाइएको रातो रंगको गेट देखिन थाल्दछ । मानिसहरू धमाधम फोटो खिच्छन् । केहिबेरमा नै डुंगा तटमा पुग्छ र हामी सबै ओर्लन्छौ ।

मियाजिमा टापुको अधिकांश भुभाग पहाड हो । पश्चिमी तटको केहि सम्म भागमा स-सानो बजार छ, पर्यटकका लागि उपहारका सामान र खानेकुरा बेच्ने । हामी तटैतट केहि दक्षिणतिर हिड्दा १० मिनेटजतिमा इचुकुसिमा जिन्जा देखिन थाल्छ । बाटामा जताततै मृग घुमिरहेका हुन्छन् । त्यो जिन्जाको गेट समुन्दको पानी माथि छ, भने जिन्जाका घरहरू (मन्दिर) पनि अलिअलि पानी माथि नै छन् । मन्दिर रातो रंगमा काठैकाठले बनेको छ । छाना भने खरले छाएको छ । समुन्द्र किनारमा भुईं टाँढे मन्दिर निकै पराकिलो छ । विश्व सम्पदा सुचीमा परेको त्यो मन्दिर भित्र हामीले निकै फोटा खिच्यौ ।

जिन्जा हेरिसकेर नजिकैको रेस्टुरण्टमा हामीले खाना खायौ । अनि "मिसेन" भन्ने पहाड चढ्नलाई हामी रोपवे (केबुलकार) को स्टेशनतिर लाग्यौ । त्यो स्टेशन निकै माथि पहाडमा रहेछ, हिडेर जादा १०-१५ मिनेट जति लाग्दछ होला । तर हामी तलबाट एउटा सटल बस चढी त्यहा गयौं । रोपवे चढ्ने मान्छेको निकै भिड थियो । हामीले टिकट (एक जनाको १८०० येन) काटी लाइनमा १०-१५ मिनेट कुरे पछि मात्र चढ्ने पालो आयो । हामी सहित टोकियो नजिकैको कामाकुरा भन्ने ठाउमा बस्ने बुढाबुढीको एक जोडी एउटा डब्बामा चढ्यौ । केहिबेरमा नै हामी रूखका टुप्पा भन्दा पनि माथि माथिबाट हुइकिन थाल्यौ । परपर समुन्द्र माझमा देखिने स-साना थुम्कामो फोटो खिच्दै जादा १५ मिनेटजतिमा हामी एउटा थुम्कोमा पुग्छौं । त्यहा ओर्लेर एक मिनेट जति उकालो उक्लेर हामी अर्को केबुलकारमा चढ्न गयौ । अब चढ्ने डब्बा अघि चढेको भन्दा तीन गुनाजति ठूलो रहेछ । निकै मान्छे चढे त्यो डब्बामा । हामी तीन-चार मिनेट जतिमा अर्को थुम्कोको स्टेशनमा पुगेर ओर्लयौ । स्टेशनको घरबाट बहिर निस्कने बित्तिकै बायापट्टी ठूलाठूला ढुंगाको थुम्को रहेछ, जहाबाट तल समुन्द्र र पारी पट्टी हिरोशिमा सहर प्रस्ट देखिदो रहेछ । हामीले त्यो थुम्कामा निकै फोटा खिच्यौं । त्यहा रातो मुख भएका बाँदर पनि हुदा रहेछन । त्यहाबाट अझै ३० मिनेटजति हिडेमा त्यो पहाड (भन्न त "मिसेन" माउन्टेन भनिन्छ, उचाई भने ५३० मिटर हो) को टुप्पामा पुगिन्छ रे । टुप्पातिर जाने बाटोमा बुद्धका पुराना मन्दिर छन रे । हामी पनि नजिकै मन्दिरहरू छन् कि भनि केहि बेर हिड्यौ, तर केटाकेटीसँग हिडेर पहाडको टुप्पोसम्म पुग्दापुग्दै रात पर्ने लागेर बिच बाटोबाटै फर्कयौं ।

फर्केर रोपवे चढेर तल तटमा झर्यौ । त्यसबेला त्यो इचुकुसिमा जिन्जा वरपरको पानी त हराइ सकेको रहेछ । केहि घण्टा पहिले हेर्दा जिन्जाको त्यो रातो गेट पानी माथि समुन्द्रमा देखिएको थियो, अहिले त त्यो गेट भएको ठाउमा पानी सुकिसकेको रहेछ । बेलुका भएपछि समुन्द्रको पानीको सतह घटेर त्यो गेट वरपर पानी हुदैनरहेछ । हामीले पानी नहुदाको गेटको छेउसम्म गई फोटा खिच्यौ ।

बेलुका झिसमिस साँझ परिसकेको थियो, हामी डुंगा चढ्ने ठाउँ सम्म फर्कदा खेरी । डुंगा चढेर मियाजिमागुची स्टेशन आई त्यहाबाट रेल चढेर हामी हिरोशिमा स्टेशन फर्क्यौ । हिरोशिमा स्टेशनको घर निकै ठूलो छ । हामीले त्यसको तेश्रो तला रहेको रेस्टुरण्टमा खाना खायौ र होटेल तिर लाग्यौ ।

भोलि पल्ट बिहान खाजा खाएर टोकियो फर्कने तयारी गर्न थाल्यौ । १०:३० बजेतिर होटेलबाट चेक आउट गरी हामी हिरोशिमा स्टेशनतिर आयौ । त्यहा केहि उपहारका सामग्रीहरू (जापानी भाषामा "ओमियागे") किन्यौ । १२:०६ मिनेटको सिन्कान्सेन रेल चढ्नु भन्दा अगाडि खाना खाने समय नहुनाले हामीले रेलभित्र खानेखालका केहि खानेकुरा पनि कियौं ।

रेल चढी, खानेकुरा खादै हामी चार घण्टा बिताएर टोकियो आइपुग्यौ । टोकियो स्टेशनबाट लोकल रेल चढी हाम्रो बासस्थान पुग्दा बेलुकाको ६ बजिसकेको थियो ।

यसरी हाम्रो हिरोशिमा यात्रा अति रमाईलो रह्यो । मौषमपनि न्यानो थियो, छोरीहरुपनि स्वस्थ्य रहे ।

----****----

Wednesday, October 22, 2008

नानी र सानीको बानी र विकास

२०६५ कार्तिक ६ गते
2008 October 22

केटाकटी हुर्किदैजादा उनीहरूको बानी बेहोरामा दिनदिनै जस्तो आउने परिवर्तनलाई नजिकबाट हेरी रमाउनसक्दा बाबुआमाका लागि केटाकेटी हुर्काउने अभिभारा गह्रुङगो जिम्मेबारीमात्र नभएर मौलिक आनन्द पाउने अवसर पनि हुदो रहेछ । हाम्रा दुई छोरीहरूले अहिले हामीलाई त्यस्तै खुशी, सुख र आनन्द दिइरहेकाछन् ।

नानी (श्रेया)को उमेर पाँच वर्ष पुग्छ सातदिन पछि । यो पाँच वर्षको अवधिमा उनका केयौ नयाँनयाँ बानी बेहोरा पलाउदै हराउदै गरे । कहिले के मन पर्ने त कहिले के गर्दै उनका मनपर्ने कुराहरू पनि फरक फरक हुदै गए । तर एकदुई बानी भने उनको बच्चादेखिका यथावत छन् । उनलाई राती सुत्दा खेलौना या किताब मध्य केहि न केहि बोक्नु पर्ने बानी सायद उनी एकवर्षकी हुनुभन्दा पहिलेदेखि लागेको होला, अहिलेसम्म यथावत छ । पहिले पहिले उनको बोकेर सुत्ने बस्तु दिनदिनै फेरिन्थ्यो, तर गत एकमहिनादेखि उनी हामी स्वीजरल्याण्ड जादा त्यहा किनेको उनको मनपर्ने गुडियामात्र बोकेर सुत्छिन् । त्यो गुडियालाई छेउमा सुताएर मात्र ओछ्यानमा पल्टिन्छिन् । पहिले पहिले त आफुले बेलुका सुत्दा बोकेको खेलौना वा किताब बिहान उठ्ने बितिकै छेउमा छ कि छैन भनि खोज्ने गर्थिन । आजकल भने उठ्ने बित्तिकै नुवाईधुवाई गरी केटाकेटी खेल्ने स्कूल जान हतार भएरहोला बेलुका बोकेको खेलौना बिहान उठ्दा खोज्दिनन् ।

उनलाई आजकल निकै पछ्याएको अर्को कुरा भने ठूलो भए पछि के हुने हो । उनीले पोहोरसालको उनको जन्मदिन स्कूलमा मनाउदा ठूली भएर के हुने भनी गुरुमाले सोध्दा "हाकासे" अर्थात विद्यावारीधिसम्मको अध्ययन गर्ने भनिछन् । 'हाकासे' शब्दको अर्थ अरू केटाकेटीलाई थाहा नभएर गुरुमाले पछि बताउनु परेको थियो रे । आजकल भने उनी विश्वविद्यालयको प्रद्यापक हुने भन्छिन् । उनलाई पढाउने पेशा मन पेरको छ जस्तो छ । घरमा मामुले नबुझेको जापानी शब्द अर्थ्याउदा उनी हातले संकेत गर्दै सकेसम्म प्रष्टगरी नबुझुन्ल सम्झाइरहने प्रयास गर्छिन् । उनको अर्को विशेषता भनेको उनले प्रयोगगर्ने शव्दहरू जापानी हुन कि नेपाली हुन भनेर यकिन गरेर मात्र बोल्दछिन् । नेपालीमात्र बुझ्ने आफन्तसँग फोनमा कुरा गर्दा उनी एउटै पनि जापानी शब्द प्रयोग गर्दिनन् । त्यस्तै जापानीसँग कुरा गर्दा एउटै पनि नेपाली शब्द बोल्दिनन् । आठमहिनाको उमेरदेखि जापानमा बसेर नेपाली र जापान भाषा सँगसँगै सिकिन् ।

शनिबार, आइतबार जस्ता छुट्टीका दिन उनलाई मसँग बाहिर खेल्न मनलाग्छ । उनी छनौट गरिगरि कहिले साइकल कुदाउने त कहिले स्केटिंग खेल्ने गर्छिन । साइकल उनको चौथो जन्मदिनको उपहारका रूपमा पोहोर किनिदिएको थियो । शुरूको ६ महिनाजति पछाडिको पाङ्ग्राको दुवै छेउमा स-साना दुई पाङ्ग्रा राखी रिक्शाजस्तो चलाउदा नलडिने बनाइएको थियो । तरपनि ब्रेकलगाउन नजानेर बेलाबेला ओरालोमा उनी हुत्तिएर लड्ने गर्दथिन् । बिस्तारै ब्रेकलगाउन जानिन् । अनि अलि टाढाटाढासम्म राम्ररी साइकल चलाउने जान्ने भएपछि पछाडिका साना पाङ्ग्रा हटाइयो । अहिले भने उनी वरपर हामीले चलाए जतिकै गतिमा साइकल चलाएर घुम्दछिन । स्केटिंग खेल्नमा पनि उनको चाख छ । तर केहि दिनको प्रयास पश्चातपनि राम्ररी खेल्न अझै नजानेकी हुनाले उनले साइकललाई पहिलो र स्केटिंगलाई दोश्रो प्राथमिकतामा राखेकिछन् ।

छ मिहिनाजति भयोहोला, उनलाई आफैले छनौट गरी लुगा लगाउन मन लाग्छ । कतै बाहिर जानेबेलामा आज यो लुगा लगाएर जाने भनी लुगा छान्न थाल्दछिन् । नाच्नपनि उनलाई निकै मनलाग्छ । अस्ति तीजको पार्टीमा भेला भएको बेला ठूला आन्टीहरूसँग निकैबेर नाचेकिथिन् ।

सानी छोरी ऋचा भने एक वर्ष पुरा भएर दुइ लागिन् । उनी अहिले जतापनि हिडेर जान मनपराउछिन् । हामी सपरिवार बाहिर जादा उनलाई बोक्नका लागि बेबीकार लैजान्छौ, तर उनी भने त्यो बेबीकारमा बस्नै मान्दिनन् । अस्ति स्वीजरल्याण्ड घुम्नजादा त्यस्तै भयो । उनीलाई कि हिड्न छोडिदिनु पर्थ्यो कि हामीले बोक्नु पर्थ्यो । बेबीकारमा त सुतेको बेलामात्र राख्न पाइन्थ्यो । अरुबेला उनलाई हामीले बोकी बेबीकारमा हाम्रो झोला राखेर डोर्याउदथियौं ।

बेलुका केहिले काहि म घर फर्कदा उनी सुतिसकेकिहुनछिन् । म नौ बजे तिर पुग्छु भने उनी ८:३० बजे सुत्छिन् । यदि सुतेकिछैनन् भने म पुगे पछि केहिबेर म सँग नखेली सुत्दिन् । त्यसैले उनको स्वास्थ्यलाई ख्याल राख्दै म पुग्नु भन्दा पहिले नै उनलाई सुताउने गरिएको छ । दिदी भने म पुगेपछि केहिबेर मसँग गफ गरेर मात्र सुत्न जान्छिन् । पहिले पहिले उनीलाई सुताउदा छेउमा मपनि सुत्नु पर्दथ्यो । उनलाई एक्लौ सुत्न डर लाग्दथ्यो । तर एक महिना जस्तो भयो होला, उनी आफै एक्लै सुत्न जान्छिन् । मैले पढ्नु छ, तिमी गएर सुत्दै गर भनी पठाउदा केहि आनाकानी गर्दै भएपनि सुत्ने कोठामा गएर सुत्छिन् । पहिले पहिले त सुत्ने कोठामा एक्लै छिन् भने ढोका खुल्ला राखी भित्रबाट मैले पढ्दै गरेको देखिने ठाउमा मात्र सुत्दथिन् ।

सानीले आजकल जस्लाई पनि मामा भनि सम्बोधन गर्दछिन् । मैले केय्यौ पटक बाबा भन भनी सिकाउदा पनि मामा-मामा भन्दै बोलाउछिन् । उनी आफूलाई चाहि नाना भन्छिन् । केहि खानेकुरा खान मनलाग्दा वा खेलाउने कुरा पाउन मनलाग्दा, नाना नाना भन्दै हात अगाडि बढाउदछिन् । बिहान म उठेको केहि बेरमा नै उठ्छिन् र सिधै बाथरूममा नुहाउन आउछिन् । प्लास्टिकको बाटाभरि तातो पानी भरिदिनु पर्दछ, त्यहि भित्र बसी खेली रहन्छिन् । मैले नुवाई सकेपछि उनलाई पनि नुहाई दिन्छु । खाना खान त्यति मन नपराउने हुनाले हामीलाई बिहान उनलाई के खुवाउने भनि हत्ते पर्दछ ।

सानी अहिले निकै कुरा बुझ्ने भएकिछन् । समानको नाम भनी त्यो लिएर आउ भन्दा ल्याउन जान्छिन् । उनका लागि प्रयोग गरिने डाइपर (पाम्पर), टिस्यु जस्ता चिज उनी आफै लिदै आउछिन् । फोटो खिच्ने बेलामा भने मुस्कुराएको अनुहार बनाउन खुब प्रयास गर्छिन् । भरखरै पलाउदै गरेका अगाडिका दुई दाँत देखाएर सकेसम्म हासेको मुख पार्छिन् । केहि पहिले सम्म मामुसँग मात्र मान्ने अहिले हामी बसेको वरपरका अन्कल आन्टीसँग पनि मान्न थालेकिछिन् ।

---***---

Monday, October 13, 2008

NEA-JC workshop completed

2008 October 12,
Sunday

नेपाली ईन्जिनियरहरूको संस्था नेपाल ईन्जिनियरस् एसोसिएशनको जापान केन्द्रले हरेक वर्ष एउटा कार्यशाला वा सेमिनारको आयोजना गर्दै आएको छ । यस वर्षको कार्यशाला गर्ने जिम्बेबारी पाएको तीन जनाको 'इभेन्ट मानेज्मेन्ट कमिटी'मा म पनि समाबेश हुनाले यो कार्यक्रमको अगुवाइ गर्ने अभिभारा बहन गरियो ।

तीनदिन लगातार छुट्टी परेको अबधिको बिचको दिन अर्थात अक्टुबर १२ तारिक बिहान १० बजेदेखि हाम्रो कार्यक्रम सुरूभयो । पहिलो सत्रमा जापानस्थित नेपाली राजदुताबासका प्रतिनीधिको रूपमा आउनु भएका डिपुटी चिफ अफ मिसन डा० दुर्गा बहादुर सुबेदीले नयाँ नेपालको विकासमा इन्जिनियरको गहन भुमिका हुने जानकारी गराउदै एउटा लिखित मन्तव्य दिनुभयो । त्यस्तैगरि एनआरएन जापानकी सफला धितालको मन्तव्य र सूर्यदाईको नेपालमा भौतिक संरचना विकासको सम्बन्धमा विशेष प्रेजेन्टेशन थियो, मैले सम्योजन गरेको उक्त सत्रमा ।

दिउसोको खाना एउटा इन्डियन रेस्टुरेण्ट (तर कामदार सबै नेपाली भएको)मा खायौ । त्यसपछिको सत्रमा मैले इन्टरनेटको इतिहास, अहिलेको अबस्था र भविष्यको दिशाका बारेमा प्रजेन्ट गरें । यस्तैगरि धेरै साथीहरूले विभिन्न क्षेत्रसँग सम्विन्धित इन्जिनियरिंग ज्ञानका बारेमा गरेको प्रजेन्टेशन सुनी आफ्नो विचारको परिधिलाई केहि फराकिलो बनाउन मद्दत पुग्यो । अन्तिम सत्रमा हालै कोसीनदिमा आएको बाढिलाई रोक्नसकिन्थ्यो कि भन्ने विषयमा सूर्यदाई, दिनेशदाई, नेत्रदाई र बसन्तजीले अ-आफ्नो मन्तव्य राख्नु भएको थियो । उहाँहरूको मन्थनको निचोड थियो - कोसीजस्तो विशाल नदिको प्राकृतिक बहनको बाटो कृतिमरूपमा सार्दा बहुआयामिक पक्षबिच बिस्तारमा छलफल गरी प्राविधिकरूपमा सम्भव भएसम्ममात्र गर्नु पर्दछ । प्राविधिक पक्षलाई ओझेलमा राखी राजनितिक तथा क्षेत्रगत स्वार्थमात्र गौढ हुन गएमा पुन: यस्ता विपत्ति आईरहने निष्कर्षमा पुगियो ।

इन्जिनियरिंग ज्ञानको दायरा फराकियो हुनुका साथसाथै साथीभाईको वृतपरिधि पनि फराकिलो हुन्छ यस्ता भेलाहरूमा सहभागी हुदा । मैले पनि यस वर्कशपमा नयाँनयाँ साथीहरू भेट्नेमात्र नभएर धेरै वर्ष पहिलेदेखि भेट्न नसकिएका साथीहरू भेट्ने मौका पनि पाएँ ।

साथी बसन्त गौतमले तयार पार्नु भएको उक्त कार्यशालाको सन्क्षिप्त विवरण, जुन पत्रपत्रिकामा छापिएको थियो, यस प्रकार छ ।
-------------------------------
नेपाल इञ्जिनियर्स एसोशिएसन-जापान च्याप्टरको वर्कशप सम्पन्न

यहि अक्टोबर १२, आइतबारका दिन टोकियोमा नेपाल इञ्जिनियर्स एसोशिएसन-जापान केन्द्रको आयोजनामा एक कार्यशाला गोष्ठी सम्पन्न भएको छ। 2nd NEA-JC Workshop on Current and Future Technologies शिर्षकमा सम्पन्न भएको उक्त एक दिवसीय सेमिनारमा जापानमा कार्यरत र अध्ययनरत नेपाली इञ्जिनियरहरुले आफ्ना अनुसन्धानसंग संबन्धित बिभिन्न कार्यपत्रहरु पेश गर्नुभएको थियो।

कार्यक्रमको पहिलो सत्रमा केन्द्रका अध्यक्ष इ. वसन्त गौतमले सहभागीहरुलाई स्वागत गर्दै नेपाल इञ्जिनियर्स एसोशिएसन-जापान केन्द्रका गतिबिधिहरुका बारेमा प्रकाश पार्नुभएको थियो भने कार्यक्रमका संयोजक र केन्द्रका सदस्य इ. अखिलेश कुमार कर्णले कार्यक्रमका बारेमा जानकारी दिनुभएको थियो । केन्द्रका उपाध्यक्ष इ. वेद प्रसाद काफ्लेले सञ्चालन गर्नुभएको उक्त सत्रमा नेपाली राजदूतावासका डेपुटी चिफ अफ मिसन डा. दुर्गा बहादुर सुबेदी क्षेत्री र एनआरएन-जापानका केन्द्रीय सदस्य सफला धितालले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो।

उक्त सत्रमा इ. सूर्यराज आचार्यले नेपालको पूर्वाधार विकासका लागि प्रविधि हस्तान्तरण विषयमा विशेष आमन्त्रित कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
त्यसपश्चातका सत्रहरुमा इञ्जिनियरिङ विधाका बिभिन्न विषयहरुमा इ. वेद प्रसाद काफ्ले, इ. अमन शक्य, इ. हरि पराजुली, इ. नेत्रप्रकाश भण्डारी, इ. रिपेन्द्र अवाल, इ. विदुर घिमिरे, इ. नेत्र ज्ञवाली, इ. दिनेश मानन्धर, इ. लता शाक्य, र इ. सुवास छत्कुली लगायतले विविध विषयका आफ्ना कार्यपत्रहरु पेश गर्दै नेपालको सन्दर्भमा गर्न सकिने अधिकतम प्रविधि सदुपयोगका बारेमा प्रकाश पार्नुभएको थियो। हरेक कार्यपत्रको प्रस्तुति पश्चात सम्बन्धित विषयमा छलफल भएको थियो र कार्यपत्र प्रस्तोताहरुले सहभागीहरुका बिभिन्न जिज्ञासाहरुको जवाफ दिनुभएको थियो।

कार्यपत्रहरुको प्रस्तुति पश्चात ‘कोशी डुबान समस्या- यसलाई रोक्न सकिन्थ्यो?’ भन्ने शिर्षकमा एक छलफल कार्यक्रमको आयोजना गरिएको थियो। इ. सूर्यराज आचार्यद्वारा सञ्चालित उक्त छलफल कार्यक्रममा हालैको कोशी डुबानबाट उत्पन्न समस्या, यसका प्राविधिक र नीतिगत कारणहरु र भविष्यमा यस्ता क्षतिहरु रोक्न गरिनुपर्ने तयारीका बारेमा सहभागीहरुले आफ्ना धारणा राखेका थिए।
----------------------------------

Monday, September 29, 2008

रक्तदान

Blood Donation (रक्तदान)
2008 September 29, Monday
२०६५ असोज १३ गते ।।

मैले काम गर्ने संस्थामा वर्षको दुई पटक रक्तदानको कार्यक्रम राखिदो रहेछ । झण्डै साढे एक वर्ष पहिले रक्तदान हुने भनि मैले थाहा पाएको थिए । त्यस दिन एउटा मिटिंग सकेर जादा जादै ढिला भएर रक्तदान गर्न पाइएको थिएन । यस पटक भने केहि दिन पहिलेको सार्वजानिक सूचनाको इमेल पढ्दा आज रक्तदान कार्यक्रम रहेको थाहा पाएको थिएँ र त्यसै बेला आज गर्नु पर्ने कामको तालिकामा रक्तादान गर्ने भनि टिपोट गरेको थिए ।

आज बिहान दश बजे देखि रक्तदान कार्यक्रम शुरू भयो । म १०:१५ बजे तिर त्यहा पुगें । जापानमा मेरो यो पहिलो रक्तदान हुनाले मेरो नाम, ठेगाना सहित दर्ता गर्न केहि बेर लाग्दो रहेछ । मलाई एउटा सानो चिटमा नाम, ठेगाना, जन्ममिति लेख्न लगाइयो । कम्प्युटरमा नाम, ठेगाना दर्ता गर्नका लागि लाग्ने समयमा मलाई २०० मिलिलिटर जतिको जुस पिउदै पर्खन लगाइयो । त्यसपछि नाम, ठेगाना लेखेको एउटा दर्ता फारम जस्तो प्रिन्ट गरेर मलाई भर्न भनि दिइयो । त्यो फारमको अघिल्लो पेजमा बिहान खाजा खाएको समय, तौल, उचाई जस्ता विवरण भर्नु पर्दो रहेछ भने पछिल्लो पेजमा स्वास्थ्य तथा रोगको बारेमा विस्तृत विवरण हुदो रहेछ । सबै जापानी भाषामा भएकोले मैले नबुझ्ने शब्दहरू प्रसस्त थिए । तर उत्तरमा भने “छ” “छैन” भन्ने कोठामा ठीक चन्हमात्र लगाउनु पर्ने हुनाले अलि अलि अनुमान लगाउन सकिने प्रश्नको उत्तर सजिलै दिन सकिने रहेछ । प्राय: जसो रोगको नामको तालिका नै हुदो रहेछ । र आफूलाई कुनै रोग लागेको छैन भन्ने लागेमा सबै प्रश्नको उत्तरमा “छैन” मा चिन्ह लगाउदा हुने रहेछ । तर कतैकतै पहिले कतै शल्यक्रिया गरेको छ-छैन, युरोप (विशेष गरी बेलायत) गएको छ-छैन भन्ने प्रश्नपनि हुदा रहेछन् । मैले ती सबै प्रश्नको जवाफ लेखे पछि बाहिर राखिएका दुईटा बस मध्ये सानो बस भित्र जान भनियो । (रक्दतान ती बस भित्रै हुदो रहेछ ।)

त्यो सानो बसमा एक जना पाको उमेरका डाक्टरले फारममा भरेका उत्तरहरूको आधारमा स्वास्थ्य परिकक्षण गर्दा रहेछन् । उनले सबैभन्दा पहिले मलाई त्यो फारममा लेखेको जापानी भाषा सबै बुझ्दछौ भनि सोधे । मैले धेरै जसो आफैले पढी बुझेको र केहि नबुझेको उनीहरू कै कर्मचारीलाई सोधी बुझेको कुरा जाहेर गरे । उनले मलाई यी सबै प्रश्न आफैले बुझ्न नसकेको अवस्थामा रक्तदान नगर्दा राम्रो हुन्छ भनि सचेत गराए । मैले मजाले बुझेको जिकिर गरें । अनि उनले म जापान आउनु भन्दा अगाडि कहा बसेको, युरोपको कुन कुन देशमा कहिले कहिले गएको, नेपाल एक वर्ष भित्र गएर आएको-नआएको, कतै शल्यक्रिया भएको, आदि आदि प्रश्न सोध्दै मेरो उत्तर त्यो फारममा लेख्दै गए । त्यो प्रश्नोत्तरको दौरानमा उनले मेरो रक्तचाप पनि नापे । म उनको परीक्षमा पास भएछु । मेरो जापानमा यो पहिले रक्तदान हुनाले परीक्षा अलि कठीन भएको रहेछ । त्यसपछि म डाक्टरको दाँया छेउमा बसेकी (सायद) नर्सको अगाडि तर्फ सरे । उनले मेरो बाँया हातको कुइना छेउबाट १०-१५ मिलिलिटर रगत निकालेर एउटा शिशाको पातोमा ५-६ ठाउमा थोपाथोपा खसाइन् । दुई ठाउको रगतमा भिन्दा भिन्दै खालका खै के रसायन मिसाएर शिशाको सानो नलिजस्तो सिन्काले केहि बेर चलाए पछि एक ठाउको रगत गाढा (कालो) रातोबाट कडा रातो रंगमा परिवर्तन भयो भने अर्को ठाउको रगत फाटेको जस्तो (पानीमा नघुलेको कालो पदार्थ जस्तो) भयो । यी दुई साधारण परिक्षण पश्चात ती नर्सले मेरो रगत “ए” समूहको भएको र हेमोग्लोबिनको मात्रा प्रसस्त रेहेको बताइन् । त्यसपछि मलाई दाँया हातबाट ४०० मिलिलिटर रक्तदान गर्न अनुरोध गरिन । मैले स्वीकृतिका साथै कृतज्ञता प्रकट गरे । अनि मेरो दाँया हातमा कागजको बाला लगाइ दिएर छेउको अर्को बस भित्र जान भनियो ।

त्यहा भित्र एक पटकमा चार जानाले सुतेर रक्तदान गर्न सकिने चार वटा सिट रहेछन् । दुईजना नर्स रहेछन, चारजनाको रक्त संकलन गर्नका लागि । म जादा सबै सिटमा रक्तदान भइरहेको थियो । हामी कुर्दै गरेका दुईजना थियौ । केहि बेरपछि दुइटा सिट खाली भए । मलाई एउटा सिटमा ढल्कन लगाइयो । नर्सले मेरो खुट्टापट्टीको सिटको भाग केहि माथि उचाल्न एउटा बटन थिचिन् । पहिलेको कुर्सी जस्तो सिट अब खाटजस्तो भयो । त्यो सिटको बारमा मेरो दाहिने हात राख्न लगाइयो । उनले मेरो रक्त समूह त्यो फारममा लेखिएको देखेर पनि मलाई सोधिन् । मैले “ए” समूह भनी जवाफ दिए । सायद् उनले कतै त्यो फारम अर्कोको त परेन भनि ‘कन्फर्म’ गर्न होला, सबैलाई यो प्रश्न गर्दिरहेछिन् । उनले दुई प्रकारका रसायन मेरो रगत निकाल्ने ठाउमा दलेर त्यो अर्को सिटको दाताको हातमा पनि सोही प्रकृया दोह्रयाउन्जेल मलाई पर्खाइन् । त्यसपछि ४०० मिलिलिटर रगत निकाल्ने कुरा जानकारी गराउदै सुईबाट रगत निकाल्न थालिन् । सुई पसाउदा केहि दुख्दो रहेछ । सुईको गोलाइ पनि औषधि शरीरमा राख्नका लागि प्रयोग गर्ने अन्य सुईको भन्दा केहि ठूलो हुदो रहेछ । लगातार दुखिरहेमा भन्नु है भनि नर्सले सान्त्वना देखाइन् । ४०० मिलिलिटर रगत निकाल्न १० मिनेटजति लाग्दो रहेछ । त्यो बेला नर्सले के के कुरा गरेर भुलाउदिरहेछिन् । उनले मलाई कुन देशबाट आउनु भएको, जापान कति बसिसक्नुभो, जापान कस्तो लाग्छ, पहिले कति पटक रक्तदान गर्नु भएको थियो आदि आदि प्रश्न सरल तरिकाले सोधिन् । मैलेपनि महिलाहरूले २०० मिलि र पुरुषले ४०० मिलि रक्तदान गर्ने हो भनि सोधेको थिए । उनले ५० केजी भन्दा बढि तौल भएकी महिलाले पनि ४०० मिलि रक्तदान गर्ने गरेको बताइन् । जापानमा करीब ६० प्रतिशत जति महिलाले ४०० मिलि रगत दान गर्छन् रे । मेरो छेउकी महिलाले भने २०० मिली रक्तदान गरिन् । तर आज मैले यहा रक्तदान गर्ने पुरुष भन्दा महिलाको संख्या निकै बढि देखें ।

रक्तदान पश्चात त्यो पहिलेको फारम बोक्दै रिसेप्शनमा जान भनियो । रिसेप्शनमा फारम बुझाई कुर्सीमा बसी जुस, बिस्कुट खादै केहि बेर आराम गर्न लगाइयो । ५-१० मिनेटको आराम पश्चात रक्तदान गरेको प्रमाण स्वरूप मेरो नाम, नम्बर लेखेको सानो कार्ड पाएँ । सो कार्डमा रक्तदान गरेको मिति र अर्को रक्तदान कहिले देखि गर्न सकिने मिति समेत लेखेको हुदो रहेछ । जापानमा दुइ रक्तदानको बिचमा तीन मिहिनाजतिको फरक हुनु पर्दो रहेछ ।

रक्तदान सकिएर बिदाइ हुनेबेला आजको दिन धेरै तरल पदार्थ खानु तथा कठिन परिश्रम पर्ने काम नगर्नु भनि सम्झाइदो रहेछ ।

---***---

Monday, September 15, 2008

स्वीजरल्याण्ड र फ्रान्सको पारिवारिक भ्रमण

Switzerland and France Tour
3-14 September 2008
२०६५ भदौ १८-२९ गते ।

जागिरको कामको शिलशिलामा ११ दिनको लागि स्वीजरल्याण्डको जेनेभा सहर जानु पर्दा यस पटक स-परिवार गइयो । सेप्टेम्बर ३ बुधबार बिहान ११:३० बजे टोकियोको नारिता विमानस्थलबाट उड्ने केएलएमको जहाजमा ११:५० घण्टा जति उडेर हामी नेदरल्याण्डको राजधानी आम्स्टरडाम स्थानिय समय अनुसार दिउँसोको ४:२० बजे पुग्यौं । केहि बेरको बिश्राम पश्चात ६:१५ बजे अर्को जहाज चढेर ७:४५ बजे जेनेभा पुग्दा झिसमिस साँझ परिसकेको थियो । बाहिर निस्कदा मुसल्धारे पानी परिरहेको थियो । केहि बेरको पर्खाई पश्चात २८ नम्बरको बस चढी हामी होटेलतिर लाग्यौं । करिब २० मिनेटजतिमा बसले जेनेभा सहरको उत्तरी भागमा अबस्थित बोटानिकल गार्डेन अगाडि पुर्यायो । त्यहाबाट हामी बस्ने होटेल (मोन रिपो) पैदल ५ मिनेटको दुरीमा पर्दछ । तर अध्याधिक पानी परिरहको हुनाले हामी बस स्टपको टहरोबाट बाहिर निस्कन समेत सकेनौ । केहि बेरको पर्खाईमा पनि पानी नरहेको हुनाले मैले होटेलमा फोन गरी ट्याक्सी पठाई दिन अनुरोध गरें । होटेलको स्टाफले निकैबेर प्रयास गर्दापनि ट्याक्सी फेला नपरेको हुनाले केहिबेर पर्खेर आउनुको बिकल्प नरहेको कुरा बताए । भाग्यबश त्यसको केहि बेरमा नै पानी रोकियो । हामी सुटकेट गुडाउदै होटेल आई चेकइन गर्यौ । हामीलाई पाचौं तलाको अपार्टमेन्ट नम्बर ७५० सम्म पुर्याएर होटेल स्टाफ फर्किए ।

अपार्टमेन्ट निकै फराकिलो थियो । बेडरूम, किचेन, बैठक, बाथरूम सहित ५ कोठा भएको अपार्टमेन्ट थियो । किचेन र बाथरूमको भुईमा टायल लगाएको थियो भने अन्य कोठाहरू र प्यासेजको भुईमा मुलायम कार्पेट बिछ्याइएको थियो । किचेनमा ३-४ जनाका लागि खाना पकाउन आबश्यक पर्ने भाडाकुडा, विद्युतिय चुल्हो, फ्रिज आदि थिए । बेडरूममा ओछ्यान सहितका दुई पलंग, टेबुल, कुर्सी र लुगा राख्ने ठूलो दराज थिए । बैठक कोठामा टी टेबुल, टिभी, दुई सोफा, स्टाण्ड लाइट आदि थिए । बैठक कोठा बाहिर बरण्डाबाट जेनेभाको विशाल ताल र त्यसको तटको बगैचाका मनोरम दृष्य देखिन्थे । हामी त्यो अपार्टमण्टमा १० रात बसी जेनेभामा बिभिन्न ठाउहरू घुम्यौ ।

जेनेभामा हामीले सहरका गल्ली गल्ली घुम्यौं । हामीले Bel-air shopping streetका सबै जस्तो पसल चहार्यौ होला, Gare Cornavin स्टेशनको छेउछाउमा बेलुका घुम्दा त्यहाका स्वीस घडिले सजाइएका गिफ्ट पसल सबै हेर्यौ होला । St. Pierre Cathedrale को भर्याङ्ग चढी गजुरसम्म पुगेर जेनेभा सहरको मनोरम दृष्यपान पनि गरियो । त्यहाबाट फर्किदा बाटामा केटाकेटी खेलाउने ठाउँमा नानी-सानीलाई चढाएर रमाइलो गर्यौ । Place Neuve को Bastion Park को द्वारको भुईमा चेसका ठूला ठूला गोटीहरू चलाई खेलेको चेस खेल पनि हेर्यौ । त्यहि छेउमा हुने विवाहको उत्सवको भिड पनि हाम्रोलागि अनौठो नै थियो । केटाकेटीले नजिकको चिप्लेटी पनि खेले । अलि पर रहेको जेनेभा विश्विविद्यालयको पुस्तकाल वरपरको बास्टिओन पार्कमा अरूले झै हामी पनि बसेर थकाई मार्दै वरपरको दृष्यको आनन्द लियौ । Plain de Plainpalais मा केटाकेटीको पिङ खेलेर हाम्री सानी यति खुसी भएकी थिइन् कि उनलाई पिङबाट ओराल्न हामीलाई मुस्किल परेको थियो । एक दिनले मात्र नपुगेर हामी दुई पटक त्यो पिङ खेल्ने ठाउमा गयौं । त्यहा वरपर स्केटिंग गर्दै गरेका कलिला केटाकेटीलाई देखेर हाम्री नानीलाई पनि त्यस्तै गरी स्केटिंग जान्ने हुन रहर जागेर आयो ।

Cornavin स्टेशनको दक्षिण तिर केहि बेर हिडेपछि पुगिने Manor department store मा त हामी बारम्बार गयौं । त्यहा हामीले जापान भन्दा निकै सस्तो पाइने ठूलाठूला दाना भएको हरियो अंगुर दुइतीन पटक किनेका थियौ । पानी सहितको नरिवल, स्याउ, तरकारी, दुध, चीज, आदि आदि सामग्री हामी त्यहि किन्थ्यौं । कोर्नाभानबाट एयरपोर्ट जाने बाटामा पर्ने Balexert department store पनि हामी एक पटक गयौं । त्यहापनि तरकारी, लुगाफाटा किनी सकेपछि केटाकेटी खेल्ने ठाउमा नानी र सानी धेरै रमाएर खेलेका थिए । नानीले मनपर्ने एउटा गुडिया पनि किनिन् ।

हामीले Geneva Lake मा डुंगा चढी दुईतीन पटक सैर गर्यौ । पहिलो पटकमा हामी Paquis भन्ने स्टेशनबाट डुंगा चढेर Jardin Anglais (English Garden) पु्ग्छौं जहा फूलबारी माथी घडि खुमिरहेको हुन्छ । त्यहा एक जोरी केटीको अग्लो शालिक पनि छ । त्यहाबाट जेनेभा ताल र त्यसमाथिको ३०० मिटरजति अग्लो पानीको फोहराको दृष्य खुब राम्रो देखिन्छ । हामी दोश्रो पटक डुंगा चढ्न हाम्रो होटेल अगाडिको पार्कलाई छिचोल्ने बित्तिकै आउने Perle du lac स्टेशन गयौ । त्यहाबाट डुंगा चढेर हामी तालको पूर्व तटको पार्कमा पुग्छौ । त्यो पार्क छेउको बाटो काटी अगाडि बढ्दा Eaux-Vives भन्ने अर्को ठूलो पार्कको द्वार आउछ । हामी त्यहाभित्र पसी गुलाबफूल अगाडि उभिएर निकै फोटा खिच्छौ ।

हामी जेनेभा तालको तटमा साँझपख हिडेर आनन्द लिन्थ्यौ । Mont-Blan street बाट हिड्दै उत्तरतर्फ लाग्दा दायातिर ताल र बायातिर कलात्मक घरहरूको लहर देखिन्छ । त्यो तटमा कोहि मानिस दौडिई रहेका हुन्छन् भने कोहि छेउको बेन्चमा बसेर तालतिर हेर्दै आनन्द लिइरहेका हुन्छन् । निकै बेर हिडेपछि Mon Repos park पुगिन्छ, जहाबाट हाम्रो होटेलसम्म हिडेर जादा १० मिनेटमात्र लाग्दछ । त्यो पार्क प्रवेश गर्ने ठाउमा पुग्नुभन्दा केहि पहिले विभिन्न देशमा खिचेका फोटाहरूको लहरै राखेको प्रदर्शन जस्तो थियो । फोटाको लहर सकिने बित्तिकै केहि कलात्मक शालिकहरू आउछन्, जहाँबाट त्यो पार्क फराकिलो हुदैजान्छ । पार्क भित्रपनि केटाकेटी खेल्ने ठाउ छ । वरपर धेरै प्रकारका फूल फूलेका हुन्छन् । एक ठाउमा पानीको फोहरा पनि छ ।

हाम्रो होटेलको नजिकै उत्तरतर्फको ठूलो बोटानिकल गार्डेन भित्रपनि हामी निकै रमायौ । संसारका बिभिन्न ठाउमा पाइने बनस्पतिको त्यो बगैचा निकै सुन्दर छ । हामीले नेपालको हिमाली भागमा पाइने स‍सानो बुथ्रो पनि देख्यौ । अफ्रिका तथा दक्षिण अमेरिकामा पाइने नागफेनी काडा देखि लिएर करेला, फर्सीमा बोट समेत थिए त्यहा । स-साना पोखरीमा उड्न सक्ने खालका हाँसहरू खेलिरेहेको पनि देखियो । त्यहा पनि केटाकेटी राखेर घुमाउने खेल्ने ठाउ थियो, तर हामी गएको बेला किन हो बन्द रहेछ ।

जेनेभा ताल टुंगिएको ठाउबाट Rhone river शुरु हुन्छ । नदिबाट तालको पानी निकै जोडले बगेको देखिन्छ । हामी रोन नदिको किनारमा पनि घुम्यौ । खोलाका माझमा बनाएका घरहरू, उत्तर पट्टीको तटमा घोडा चढेको मान्छेको कुममा चरा बसेको शालिक आदि ठाउमा फोटा खिच्यौ ।

जेनभामा धेरै अन्तराष्ट्रिय संस्थाको मुख्य कार्यालयहरू छन । संयुक्त राष्ट्र संघ (UNO) को युरोपियन हेडक्वाटर्स, विश्व स्वास्थ्य संघ (WHO), शरणार्थीको उच्च आयोग (UNHCR), अन्तराष्ट्रिय श्रमिक कार्यालय (ILO), अन्तराष्ट्रिय दूरसंचार संघ (ITU), रेसक्रसको मुख्य कार्यालय (ICR), विश्व ब्यपार संघ (WTO), अन्तराष्ट्रिय बसाइसराइ संघ (IMO) आदि आदि छन् । हामीले यो सबै संस्थाको फोटो खिचेकाछौ । मुख्यत: संयुक्त राष्ट्र संघ परिसरको अगाडि निकै फराकिलो चोक छ, जहा पानीको फोहोरा र काठको एउटा ठूलो कुर्सी छ, जसको अगाडिको एउटा खुट्टा बिच भागबाट भाचिएको छ । त्यो कुर्सीले जमिनमुनी बिछ्याइएको बिस्पोटक पदार्थ पट्कदाका बखत मानव अंगमा हुने क्षतिको प्रतिबिम्ब गर्दै त्यसरी जमिनमुनी बिस्पोटक पदार्थ नओछ्याउन आह्वान गर्दोरहेछ । हाम्रा नानी र सानी त्यो चौकमा खेल्न खुब मन पराउछन् । पानीको फोहोरा कुनैबेला सानो भई जमिनको सतहबाट माथि नउठ्ने खालको हुन्छ भने कुनै बेला जोडले ३-४ मिटर माथिसम्म पुग्दछ । नानीले फोहरा सानो भएको बेला त्यससंग खेल्न नजिकै जाने र ठूलो हुनथाले पछि भिज्नबाट जोगिन टाढा भाग्ने गर्दै निकैबेर खेलिन् । हाम्रो होटेलबाट यी अन्तराष्ट्रिय संस्थाहरू नजिकै हुनाले हामी त्यो चौकमा दुई तीन पटक गएर घुमेका थियौ ।
जेनभा बसाईको क्रमको अन्ततिरको विहिबार हामी Bel-air shopping street तिर किनमेल गर्ने भनि गयौ । तर त्यो दिन स्वीजरल्याण्डमा बिदाको दिन रहेछ, हामीलाई थाहाथिएन । बिदाको दिनमा पनि अन्तराष्ट्रिय संस्थाको मिटिंग भने चलिरहदोरहेछ । त्यस दिन म बिहान मिटिंगमा भागलिई दिउँसोको फुर्सदको समयमा सपिंगका लागि हिडेको थिए । हामी बेलएयर पुग्दा पो थाहापाइयो, त्यस दिन स्वीजरल्याण्डमा बिदा रहेछ, र सबै पसल बन्दहुदा रहेछन् । जापानमा सधै बेलुका ९ बजे भन्दा ढिलो पसलहरू खुल्ने ठाउको बानीपरेर होला हामीलाई बिदाको दिन पसलहरू बन्द भएर अरूबेला निकै भिडभाड हुने सडकपनि सुनसान अबस्थामा देख्दा कताकता खल्लो लाग्ने बानी परिसकेको रहेछ । अरू त अरू तरकारी लगायतका किराना सामान बेच्ने पसलपनि बन्द थिए । तर अर्को रमाईलो कुरा के हुन्छ भने युरोपमा बाटोबाट देखिने पसलको भागमा पारदर्शी शिशाका झ्यालढोका हुन्छन्, जुन बन्दरेहको अबस्थामा पनि सडकबाट पसल भित्र सजाएर राखिएका सबै सामान प्रष्ट देखिन्छन् । बाहिरबाट भित्रका समान राम्ररी देखियोस् भन्ने हेतुले पसलभित्र बत्ती बालेर छाडिएकोहुन्छ । यसरी सजाएर राखिएका समानले सहरको शोभा बढाउदोरहेछ । हामी जस्ता प्रयटकका लागि नयाँ ठाउका सडकतिर भौतारिदा ती पसल भित्रका समानले भएपनि स्वागत गरेको महसुस हुदोरहेछ ।

शनिबार र आइतबार दुईदिन हामी पेरिस घुम्न गयौ । शनिबार बिहानै ७:१७ बजे फान्सको सुपर फास्ट (TGV) रेल चढेर ३:३२ घण्टामा हामीले ५०० किलोमिटर जतिको दुरीपार गरी पेरिसको Gare de Lyon Station पुग्छौ । त्यो स्टेशनको वरपरका घरहरू निकै कलात्मक छन् । तिनै घरहरू हेर्दै हामी Boulevard Diderot सडकतिर केहि बेर बरालियौ । अलि पर पुगेपछि लाइन नम्बर १ को जमिनमुनी चल्ने रेल समातेर दुई स्टेशन टाढाको Porte de Vincennes भन्ने स्टेशनमा ओर्लियौ । स्टेशनबाट बाहिर निस्कने बित्तिकै पूर्वतिर अबस्थित होटेल टर्मिनस नेशनमा हाम्रो त्यस दिनको बास थियो । हामी होटेलमा पुग्दा दिउँसोको १२ बज्न लागेको थियो । कोठाको सरसफाई भइरहेको हुनाले केहि बेर पर्खेर हामीले ५औं तलाको कोठा पायौ । नानी-सानीलाई खाना खुवाई केहि बेरको आराम पश्चात हामी घुम्न निस्क्यौ । आइफल टावर र वरपरका दृष्य हेर्नजान रेल चढ्यौ । बाटामा दुई पटक जस्तो रेल फेर्नु पर्दछ । त्यहाको सबवे बाट RER भन्ने लाइनमा जादा सानीको बच्चाकार सजिलै नछिर्ने हुदा ठाउँठाउँमा बोक्नु परेको थियो । RER B लाइनबाट हामी टावर छेउको Champ de Mars स्टेशनमा ओर्लियौ जहाबाट सेनखोलाको तीरै तीर हिडेर आपफलटावर पु्ग्न ५ मिनेट जति लाग्दछ ।

टावरको वरपरको फोटो खिची टावर चढ्न भनी लाइन लाग्यौ । सेन खोलातिरका दुई पिलरबाट टावर चढ्ने ढोका छन् । हामी जादा ति दुवैतिर मानिसको भिड छ, जता गएपनि भित्र प्रवेश गर्न ३० मिनेटभन्दा बढि बाहिर कुर्नुपर्ने देखिन्छ । हामी पूर्वतिरको द्वार अगाडि लाइनमा उभिन पुग्छौ । केहिबेर लाइनमा बसेपछि सुरक्षा जाँचगर्ने ठाउमा पुग्यौं । झोलाहरू चेक गरी त्यहाबाट अगाडि बढेपछि पनि २० मिनेटजति लाइनमा उभिए पछिमात्र टावर भित्र प्रवेश पाइयो । त्यहा केहिबेर पर्खेर एलिभेटर चढी हामी माथि उक्लन थाल्छौ । एलिभेटर माथि उक्लदै जादा सेन खोलातिरको दृष्य राम्ररी देखिनथाल्दछ । केहिबेरमा नै टावरको पहिलोतला पुगिन्छ । हामी पहिलो तलामा नओर्ली दोश्रो तलामा पुगेर ओर्ल्यौ । आईफल टावरमा तीन तला छन् । तर हामी त्यहा गएको बेला तेश्रोतला जान निषेध गरिएको थियो । त्यसैले हामी दोश्रो तलाबाट नै पेरिस सहर वरपरको दृष्यहरू क्यामेरामा कैद गर्नथाल्यौ । छोरीहरुको निकै फोटा खिच्यौ । हावा जोडले चलेको थियो, हामीलाई टावरको पश्चिमतर्फ गई फोटोखिच्न धौधै पेरको थियो । टावरबाट सेन नदि पारीको Palais de Chaillot तिरको दृष्य, दक्षिणतिरको Champs de Mars पार्कको दृष्य साह्रै राम्रो देखिन्छ । करीब ३० मिनेटजति आइफल टावरमाथिबाट पेरिस सहरको अवलोकन गरी हामी एलिभेटर चढी तल ओर्लियौ । टावरबाट बाहिर निस्कने ढोकाको छेउमा बसी नानी-सानीलाई खाजा खुवाउदै वरपरको दृष्यावलोकन साथै केहि फोटा खिच्न लाग्यौ । नानीले सेननदिको किनारको बाटोको छेउमा एउटा आइसक्रिम किनेर खाइन् । चिसो हावा चल्दै हुनाले चिसो खानेकुरा खादा घाँटी दुख्नसक्ने सम्भावना हुदाहुदै पनि युरोप भ्रमण रमाइलो गर्न गएकोले मनलागेको खानेकुरा खाई रमाउनदिनु पर्छ भन्ने मान्यता बमोजिम मैले उनलाई आइसक्रिम किनिदिएँ । उनले मिठो स्वादमा आईसक्रिम खाएको देखेर हामीलाई आफैले धेरै मिठो खानेकुरा खादाकोभन्दा बढि आनन्द महसुस भयो ।

केहिबेर पश्चात हामी सेनखोलाको सुन्दर पुल तरेर उत्तरतर्फ लाग्छौं, ठूलो चौक भएको Palais de Chaillot जान । १० मिनेट जति हिडेपछि हामी त्यो चौक पुग्छौं । त्यहाँ केहि केटाकेटीले म्युजिकमा डान्स गरिरहेका थिए । हामीले त्यो चौकबाट आइफल टावरको र वरपरको दृष्यको फोटा खिच्यौं । नानी-सानी त्यहा केहिबेर खेल्छन् । फराकिलो ठाउ भएकोले उनीहरूलाई रमाएर उफ्रनलाई कुनै बाधा थिएन । हामीले त्यहा वरपरको धेरै फोटा खिची सेननदि तिर फर्केर नदिको किनारको पार्कमा बसेर खाजाखान्छौ । त्यो पार्कमा पनि हाम्रा छोरीहरू रमाएर उफ्रिन्छन् ।

त्यसपछि सेन खोलाको दक्षिणी तीरै तीर हामी पूर्व लाग्छौ । खोला वरपरका रमझम हेर्दै झण्डै ३० मिनेटजति हिडेपछि हामी एलेक्जान्डर पुल पुग्छौ । एलेक्जान्डर पुल सन १९०० तिर बनाइएको निकै कलात्मक पुल हो । पुलको चारै सुरमा अग्ला पिलरमा सुनौला बाइपङ्खी घोडाहरू छन् भने पुलको दुबै पट्टीको बारमा कालारंगका कलात्मक मूर्तिहरू छन । पुलको पेटी पनि निकै फराकिलो छ । पर्यटकहरूले त त्यो पुलमा आफूलाई उभ्याएर फोटो खिच्ने नै भए, स्थानिय मानिसले पनि वैवाहिक समारोहको बेला त्यहा गई फोटा खिच्दारहेछन् । हामी त्यहा घुम्दाखेरी पनि विवाहको पहिरनमा एक जोडीको फोटो खिचिदैथियो ।

अलेक्जान्डर फुलबाट सेननदि तरेर उत्तरतिर जाने बित्तिकै Winston Churchill सडकको बायाँ Grand Palais र दायाँ Elysees Museum आउछन् । बायाँ तिर पेरिस विश्वविद्यालयको संग्राहलयपनि रहेछ । दायाँबायाँ दुवैतिरका भवनहरू निकै कलात्मक छन् । हामी ति दुबैतिरका निकै फोटा खिच्दै केहि उत्तर लागेपछि फराकिलो चौकको माझमा एउटा शालिक भएको Champs Elysees स्टेशनमा पुग्छौ । त्यहा पुग्दा झण्डै साँझ पर्न लागेकोहुन्छ । हामी वरपरको केहि फोटा खिचेर लाईन नम्बर १ को रेल समातेर बासस्थानतिर लाग्छौ । होटेल पुग्नुभन्दा एक स्टेशन पहिले नेशन भन्ने ठाउमा रेलबाट ओर्लन्छौ । दशवटा बाटोको संगम भएको त्यो ठाउको माझमा केहि शालिकहरू छन् । हामी त्यहा वरपर घुम्दा पानी छिट्याउन लागेजस्तो थियो, तर केहि बेरमा नै रोकियो । त्यहाबाट पूर्व लाग्ने फराकिलो Vincennes सडक हुदै केहिबेर हिडेपछि एउटा रस्टुरेण्टमा पसी खाना खाएर हिड्दै होटेल पुग्दा ७:३० बजिसकेको थियो । त्यसदिन सानीको पहिलो जन्मदिन परेकोथियो, बाटामा कतै केकपसल पाइन्छ कि भनि हेर्दैगयौं । युरोप न पर्यो, ६ बजेपछि प्राय: जसो सबै पसल बन्दहुने ठाउँ, हामीले केक किन्न पाएनौं । अनि स्वीजरल्याण्ड फर्केपछि केक खाउँलाभन्दै उधारो बर्थडे मनायौं ।

भोलिपल्ट बिहान ८:०० बजेतिर होटेलमा खाजा खाई ९:४५ बजेतिर होटेल छोड्यौं । रेल चढेर Lyon स्टेशनसम्म आई सुटकेसलाई त्यहाको लकरमा राखी वरपरको फोटा खिच्दै सेननदि पारगरेर बोटानिकल गार्डेन गयौ । त्यहाका बनस्पतिको अवलोकन पश्चात हामी पुन: सेननदिको तिरमा फर्कियौ । सेननदिमा बिभिन्न प्रकारका डुंगा चढी पेरिस सहरको परिक्रमा गर्न सकिन्छ । हामी ‘बाटोबस’ भन्ने डंगा चढी पेरिस घुम्नका लागि बाह्र युरोको टिकट (दिनभरि प्रयोग गर्न मिल्ने) किनेर केहिबेर पर्खेपछि आएको पहेलो रंगको डुंगामा चढेर पश्चिमतिर लाग्छौ । डुंगा एकदुई ठाउँमा रोकिदै तीस मिनेटजतिमा लुवर संग्राहलय नजिकै रोकिन्छ, जहा हामी ओर्लन्छौ ।

लुवर संग्राहलय जति ठूलो संग्राहलय सायद संसारमा अर्को छैन होला । हामी दक्षिणतिरको Porte des Lions गेटबाट प्रवेशगर्यौ । हरेक महिनाको पहिलो आइतबार लुवर संग्राहलयभित्र नि:शुल्क प्रवेश पाइदोरहेछ । संयोगले हामी पनि सेप्टेम्बर महिनाको पहिलो आइतबार नै त्यहा पुगेछौ । दुइजनाको गरि अठार युरो तिर्नु परेन छ । प्रवेश गर्ने बित्तिकै हामी दोश्रोतला तिर लाग्यौ । त्यहा १८औं शताब्दीका इटलीका कलाकारले कोरेका चित्रको प्रदर्शनी रहेछ । फराकिला धेरै कोठामा यति धेरै चित्र राखिएका छन् कि, नियालेर एकएक गरि हेर्ने हो भने त्यहा राखेका चित्रहरूमात्र हेर्न दुई-तीन दिन धाउनु पर्छहोला । हामी केहि चित्रहरूको फोटो खिची फटाफट हिडेर मोनालिसाको फोटो राखेको कोठातिर लम्कन्छौ । निकैबेर एकै ठाउमा उभिदा हाम्रा केटाकेटीलाई पट्यार लाग्नेहुदा हामी संग्राहलय घुम्दा पनि निकै चलायमान भइरहनु पर्दछ । केटाकेटीलाई ति ऐतिहासिक चित्रको के मतलब, प्रवेश गरेको केहिबेर रंगीचंगी वातावरणमा रमाएपनि त्यसपछि झर्कोलाग्दै जान्छ उनिहरुलाई । हामी निकैबेर हिडेपछि मोनालिसाको चित्र राखेको कोठामा पुग्छौ । त्यहा मानिसको भीड हुन्छ । मोनालिसाको चित्र अगाडि उभिएर फोटा खिच्नजानका लागि मानिसहरू लामबद्ध भई पर्खिरहेकाहुन्छ । मोनालिसाको फोटो सानो आकारको छ । लियोनार्दो दा भिन्चीले बनाएको त्यो सक्कली चित्र हामीले जताततै देख्ने मोनालिसाको नक्कली फोटो जस्तैजस्तै आकारको मात्र छ । त्यहि कोठामा राखेका अरू चित्रहरू विशाल छन् । कुनै कुनै त मान्छेको उचाई भन्दापनि ठूलो आकारका होलान् । तर पनि मोनालिसाको त्यो चित्र विश्व प्रख्यात् छ, अरु चित्रको हामीले नाम नै सुनेको छैनौं ।

मोनालिसको चित्र हेरे पश्चात हामी चित्रहेर्ने कामलाई त्यहि नै थाति राखी, नेपोलियन तेश्रोको ग्यालेरी तिर लाग्यौ । भित्ता र छत सबैतिर रंचीरंची चित्र सुनौला धातुका आकृतिमा कोरिएका ठूला ठूला कोठामा बिभिन्न प्रकारमा गहना, ताजको प्रदर्शनी गरिएको छ । हामी ति कोठाको सजावट हेरेर पुराना पुस्ताको कलात्मक सृजनाको भावनादेखि नै कदर नगरी रहनसकेनौ । त्यस्ता सजावट भएको क्षेत्रपनि वृहत छन्, लुवर संग्राहल भित्र । तर समयाभावले गर्दा हामीले सबैतिर घुम्नजान पाएनौं ।

चित्रकलाको हेराई पश्चात हामी भुईं तलामा ओर्लेर केहि मूर्तिकला हेर्नतिर लाग्यौं । केटाकेटीलाई चित्रकलाभन्दा मूर्तिकलामा बढि चाख हुदोरहेछ । सेता रंगमा बिभिन्न मुद्राका ति मानव मूर्तिको आगाडि उभिएर फोटो खिचाउन भनि श्रेया यताउति दौडन्थिन् । हामीलाई पनि त्यति धेरै प्रकारका मानव आकृति एकै पटक देखेको सायद पहिलो क्षण भएर होला, निकै रमाइलो लाग्यो ।

घुम्दा घुम्दै १ बजिसकेको रहेछ । केटाकेटी भोकाए भनि हामी संग्राहलय भित्रको रमाइला दृष्यको अवलोकनलाई टुंग्याएर पिरामिडतिरबाट बाहिर निस्क्यौ । वरिपरि संग्राहलयको भबनै भवनको बिचमा ठूलो चौक भएको ठाउमा शिशाको पिरामिड आकारको प्रवेशद्वार बनाइएको छ । त्यो पिरामिडबाट एक्सेलेटर वा लिफ्टबाट तल ओर्लेपछि जमिनमुनीको तलाबाट संग्राहल प्रवेश गर्न सकिन्छ । भुईतलामा देखिएको खस्रो बालुवाले भरिएको त्यो चौकको जमिनमुनीको तला भने बिभिन्न पसलहरू तथा रेस्टुरेण्टले भरिएको छ । त्यो चौकबाट लुभर संग्राहलयका वरिपरिका कलात्मक ४-५ तले भवनहरू अति नै मनमोहक देखिन्छन् । हामीले त्यहाकेहि फोटा र भिडियो खिचिरहदा एउटी कोरियन र अर्की जापानी केटीसँग परिचय भयो । हामीले उनीहरुको केहि फोटा खिचिदियौं भने उनीहरुले पनि हाम्रा केहि फोटा खिचिदिए ।

त्यहाबाट हामी पश्चिमतिरको Jardin de Tuileries भन्ने विशाल पार्कतिर लाग्छौ । संग्राहलयको परिसरबाट बहिर निस्कने बित्तिकै पास्टफूडका स‍-साना घुम्तिपसलहरू छन्, त्यहि हामीले केहि खाने कुरा किनेर अलिपर पार्कको हरियो चौरमा बसी खायौं । त्यो पार्कमा धेरै मानिस हामी जस्तै बसी वरपरको आर्कषक वास्तुकला (भवनहरू) हेर्दै मख्खपरिरहेका हुन्छन् । पार्कमा केहि मानवमूर्तिहरू पनि राखिएकाछन । हाम्रा नानी-सानीले हरिया चौरमा यताउति दौडिएर खाना खादै झण्डै एकघण्टा जति धेरै रमाईलो गरे ।

पार्कमा बसी थकाई मारे पश्चात हामी सेन नदितिर लाग्यौं । हाम्रो अर्को गन्तव्य नोटरडेम भन्न चर्च हेर्नजाने थियो । तर केटाकेटीको सारमा बिस्तारै हिड्दा समयले डाडा काटिसकेको हामीले चालै पाइएनछ । हाम्रो स्वीजरल्याण्ड फर्कने समय पो हुनलागेको रहेछ । रेल चढी स्वीजरल्याण्ड फर्कनभनि हामीले पोन्ट रोयल भन्ने पुलपार गरेर Orsay संग्राहलय अगाडि आईपुग्छौं । त्यो संग्राहलयको भवनपनि अति नै सुन्दर छ । हामी त्यस्तैत्यस्तै मनमोहक कलात्मक भवनहरू हेर्दै सेननदिको किनारबाट ‘बाटोबस’ डुंगा चढेर लियोन स्टेशनतिर लाग्छौं। डुंगा बिचमा दुईतीन ठाउँमा रोकिन्छ । हामी नोटरडेमको बाहिरी दृष्य डुंगाबाटै हेर्छौ । तीस-चालिस मिनेटपछि हामी लोयोन स्टेशन नजिक पुगी डुंगाबाट ओर्लन्छौ । Austerlitz नामको पुल पारगरी हामी लियोन स्टेशनतिर लाग्दा पनि लियोन स्टेशन र वरपरका भवन निकै कलात्मक भएकाहुनाले हामीले केहि फोटो नखिची अगाडि बढ्न सकेनौं ।

पेरिसमा हेर्नलायक र हेर्नैपर्ने स्थल त कति छन् कति । तर सोमबारदेखि मेरो जेनेभामा काममा जानु पर्ने हुनाले हामीले आइतबार बेलुकासम्म मात्र पेरिस घुमी राति नै फर्कनु परेको थियो । ६:१५ बजे बेलुकाको TGV सुपरफास्ट रेल चढ्यौ । मौषम सफा हुनाले बेलुका निकैबेरसम्म घाम लागिरहेको थियो । पेरिस सहर काटेपछि हामीले फ्रान्सको गाउका ठुलाठूला फाँटमा चरिरहेका गाईका बथान पनि देख्यौ । फ्रान्समा जग्गाजमिन प्रसस्त हुनाले होला, मकैको लगाएका बारीहरू कतै कतै देखिएपनि अधिकांश जमिन बाँजो नै देखिन्थ्यो । हामी बसेको सिटको छेउमा २ वर्षजतिको सानो छोरो भएको बेलायती परिवार बसेका थिए । बेलाबेला उनीहरू हामीसँग गफगर्दथे, उनीहरूको छोराका खेलौना हाम्रा नानीलाई केहिबेर खेलाउन दिन्थे । यसरी रेलमा पनि केटाकेटीलाई रमाइलो भइरहेको हुनाले नसुतिकन ३:३० घण्टाको बाटो काटियो । हामी जेनेभाको रेलस्टेशनमा ओर्लिएर बसचढी होटेल पुग्दा रातीको १०:३० जति बजिसकेको हुन्छ ।

यसरी हाम्रो पेरिसको यात्रा रमाइलो गर्दागर्दै पुरा भयो । मेरो भने यो पेरिसको दोश्रो यात्रा थियो । यसभन्दा पहिले मैले २००५ सालको जुलाई महिनामा पेरिस घुमेको थिएँ । त्यसबेला म एक्लै हुनाले यस पटक हामीले घुमेभन्दा बढि स्थान घुमेकोथिए, दुइ दिनमा नै । तर पेरिस सहरमा हेर्न लायक ठाउँहरू यति राम्रा र यति धेरै छन् कि जति पटक गएपनि रमाइलो हेर्ने समय अपुग नै हुन्छ ।

यसरी हामीले १० दिनमा जेनेभा र पेरिसको भ्रमण गरी सेप्टेम्बर १४ तारिक टोकियो फर्कियौं ।

---***---

Monday, September 1, 2008

ArimaOnsen, Kobe visit

आरिमा ओन्सेन, कोबे
२००८ सेप्टेम्बर १-२

जागिरको कामको शिलशिलामा दुइ दिनको लागि म आरिमा ओन्सेन गए । कोबे सहरबाट रेल चढी उत्तर तर्फ लाग्दा ३० मिनेट जतिमा पहाडको खोचमा अबस्थित आरिमा ओन्सेन पुगिदो रहेछ । पृथ्वी मुनिबाट निस्कने तातो पानीका कुवामा बसी रमाइलो गर्ने यो ठाउँ जापानको कान्साई क्षेत्रमा निकै प्रसिद्ध रहेछ ।

रेल स्टेशनबाट १० मिनेटजति पैदल उकालो हिड्दा पुगिने होटेल माप्पलमा हाम्रो मिटिंग थियो । म संलग्न रहेको आकारी प्रोजेक्टको ६-६ महिनामा जापानको बिभिन्न ठाउमा गरिने मिटिंग यसपाली आरिमा ओन्सेनमा गरिएको थियो । हाम्रो अफिसले आयोजना गरेको सो मिटिंगमा जापानका बिभिन्न कम्पनीका रिसर्चर तथा विश्वविद्यालयका प्रद्यापाकहरूको सहभागिता थियो ।

होटेलका कोठाहरू जापानी शैलीका थिए । भुईंमा आछ्यान लगाएर सुत्नु पर्दछ । खानापनि जापानी परिकारहरू होटेलको विषेशप्रकारका रेस्टुरेण्टमा खुवाइन्छ ।

टोकियोबाट सिन्कान्सेन रेल चढी ३:३० घण्टा जतिमा आरिमा ओन्सेन पुगिदो रहेछ ।

---***---

Friday, August 1, 2008

डब्लिन, आयरलाण्डको भ्रमण

2008 July 27 - August 3
२०६५ साउन १२ (आइतबार) -१९ (आइतबार)
----------------------------------------

IETF (Internet Engineering Task Force) को ७२औ मिटिंगमा भाग लिन म २०६५ साल साउन १२ गते आइतबारदेखि एक हप्ताको लागि आयरल्याण्डको राजधानी डब्लिन आएको छु । टापुको देश हुनाले यहा छिनछिनमा घामपानी हुदो रहेछ । टोकियोमा अहिले ३० डिग्री सेल्सियस भन्दा बढि तापक्रमको गर्मी भएको बेला पनि यहा भने २० डिग्री जतिमात्र हुनाले बेलाबेला जाडो महसुस हुदो रहेछ ।

मिटिंग हुने ठाउ सहरबाट ३० किलोमिटर जति पश्चिम तर्फ सिटिवेस्ट होटेल हो । यो होटेको वरपर सबै गोल्फ खेल्ने ठाउ रहेछन । वरपर सबै हरियाली मात्र छ। नजिकै बस्ती छैन । यस्तो प्रकृतिको माझमा इन्टरनेटको नविन्तम् प्रविधिको विकास गर्नका लागि भएको जमघटमा निकै चहलपहल छ ।

म सिटीवेस्ट होटेलको शाखा गोल्फ होटेलको ११०८ नम्बर कोठामा बसेको छु । यो होटेल पुरानो दरबार जस्तो छ । ठूलाठूला कोठा, फराकिला ढोका र प्यासेजको ठाउठाउमा कलात्मक पेन्टिंग झुन्ड्याइएका छन् । होटेलबाट डब्लिन सहर जान मिटिंग आयोजकले बसको ब्यवस्था गरिदिएको छ । बस चढेको ४० मिनेट जतिमा सहरको केन्द्रमा रहेको सन्सारकै पुरानो विश्वविद्यालय ट्रिनिटी कलेज पुगिन्छ ।

डब्लिन सहरमा प्रायजसो सबै घरहरू ३-४ तलाका पुराना शैलीका छन् । अहिलेका आधुनिक गगनचम्बी सिशाका महल यहा देखिदैनन् । राता रंगका कलात्मक घरहरू यत्रतत्र देखिन्छन् । सहरको माझबाट Liffey खोला पश्चिमबाट पूर्व तर्फ बग्दछ । Temple Bar भन्ने ठाउ आइरिस बारका लागि प्रख्यात छ । यहाको Guinness नाम गरेको कालो बाक्लो खालको बियर संसार भरि नै लोकप्रिय छ ।

म यो आयरल्याण्डको यात्र पुरा गरी २०६५ साउन १९ गते (आइतबार) टोकियो पुग्दछु ।

---***---

Saturday, July 19, 2008

सानी हिड्न थालेको दिन

२०६५ श्रावण ५ गते शनिबार ।
------------------------------

आज देखि सानी हिड्न थालेकी छन् । उनीले १० महिना १२ दिन टेकेकै दिनदेखि हिड्न थालिन् । उनी २० दिन पहिलेदेखि भित्ताको सहयोगमा उभिने गरेपनि केहि नसमाइकन उभिनपनि आजैदेखि थालेकी हुन । आज दिउँसो हामी स‍-परिवार घरमा छुट्टी मनाएर बसिरहेको बेला कोठाको माझमा उनको उभिने प्रयास एक दुइ पटकमा नै सफल भयो । त्यो सफलताले उनीलाई निकै हौसला प्रदान गरेछ । त्यस पछि उनीले लगातार धेरै पटक बस्दै उभिदै गर्न थालिन । हामीले उनको क्रियाकलाप नियाल्दै हासेको देखेर उनीपनि हामीतिर हेर्दै हाहाहा गर्दै हास्दै उभिदै बस्दै गरेको केहि बेरमा नै एक दुई पाईला हिड्न थालिन् ।

उनी अलि पातली र छरिती खालकी हुनाले होला उनलाई हिड्न सजिलो भएको । आजदेखि लम्किन थालेका उनका पाइलाले सधै सफलताका शिखर टेक्न पाउन !

---***---

Saturday, June 28, 2008

सानी उभिन थालेको दिन

२०६५ असार १४ गते शनिबार ।

आज बिहान सानो जापानी स्टाइलको होचो डाइनिंग टेबुलको वरीपरी बसेर खाना खाइरहदा हाम्री सानी छोरी ऋचाले उभिदा टेबुलको बिट सामतेर उभिएपनि केहिबेर पछि टेबुलबाट हात हटाई केहि नसमाइकन १०-१५ सेकेण्डसम्म उभिन सकिन । सानीले कुनै चिजको सहारा बिना उभिन सकेको आज पहिलो दिन हो । सानीको उमेर अहिले ९ महिना २१ दिन भयो । खाना खान त्यति मन गर्दिन, उनलाई कुनै दिन के त कुनै दिन अर्कै के मन पर्छ । एउटै परिकार बारम्बार खान मन पराउदिनन् ।

बेलुका सुत्ने बेलामा अलि अलि कचकच गर्ने बानी १५-२० दिनको उमेर देखि लागेको, अहिले पनि कुनै कुनै दिन धेरै बेर कचकच गरेरमात्र सुत्दछिन् । तर रूँघाखोकी लाग्दा भने औषधिले होला, साँझ पर्ने बित्तिकै निदाउछिन् । निन्द्रा नलाग्दाका क्षणमा भने राति अबेर सम्म मसँग खेल्न मन पराउदछिन् । कुनै दिन बेलुका म घर फर्कनु भन्दा अगाडि नै उनी निँदाई सकेकी भएमा, भोलि पल्ट बिहान सबेरै उठेर मसँग लुटपुटिन आउछिन् ।

ऋचा आजकल प्राय: जसो हरेक बिहान मसँगै नुहाउन आउछिन । यति उनी उठ्दा ओछ्यानको वरपरि मलाइ देखिनन् भने सिधै बाथरूमको ढोका अगाडि आइ पुग्छिन् । म नुहाउन्जेल उनलाई तातो पानीले भरिएको एउटा ठूलो आरीमा राखिदिन्छु, त्यहि पानी खेलाएर रमाइ रहन्छिन् । अनि मैले नुहाइ सकेपछि उनलाई पनि साबुन लगाएर पखालिदिन्छु । नुहाइ धुवाइ पछि उनलाई खाजा खानपनि म सँगै मन लाग्छ । कहिले काहि त उनको केटाकेटी खाजा भन्दा मैले खाने खाजा खान बढि मन गरेर आफ्नो खाजा नै खान्नन् । खाजा खाई सकेपछि ८:३० बजेतिर दिदीबहिनी सगै मामुसँग स्कूल जान्छन् ।

दिदी श्रेया आजकल घरमा बेलुका लेख्ने पढ्ने गर्न थालेकिछन् । बेलाबेला जापानी र अंग्रेजी अक्षरहरू लेख्ने र पढ्ने गर्छिन । उनलाई कापीमा कलमले लेखेर पढ्नु भन्दा, कम्प्युटरमा टाइप गरेर पढ्न बढि मन लाग्छ । आजकल उनी खाना अलि मन लगाएर खान थालेकिछन् । तौल पनि केहि बढ्दैछ जस्तो छ । उनको अहिलेसम्मको शारीरिक विकासमा तौल औषत भन्दा केहि कम छ भने उचाई चाँहि औषत भन्दा बढि छ ।

---***---

Friday, June 13, 2008

सानीको बोली

हाम्री सानी छोरी ऋचा अहिले नौं महिना छ दिनकी भइन । केटाकेटीको स्कूल जान्छिन, आफ्ना उमेर साथीहरूसँग खे्ल्छिन्, गीत संगीत सुन्दै टाउको र जिउ हल्लाउछिन् । स्कूल जादाका शुरूशुरूका दिनमा हामीले बिहान छोड्दा अलिअलि रुन्थिन् । अहिले त बिस्तारै बानी परेर होला, जाने बितिक्कै त्यहा खेल्न थाल्छिन र हामी छोडेर फर्कने बेलामा बाइ बाइ गर्दै खेल्नमा नै ब्यस्त हुन्छिन ।

सानी अहिले तीन चार शब्द बोल्न थालेकिछन् । बाबा-बाबा, माम्-माम्-माम्, हाहा प्रष्ट भन्छिन । हातले भित्ता समातेर उभिन्छिन् । म बेलुका घर जादा मेरो आवाज सुन्ने बित्तिकै हल्ला गर्दै ढोकासम्म बामे सर्दै आई मेरो खुट्टा समाउदै उभिन्छिन । मैले बोके पछि मेरो अनुहार हेर्दै मुस्कुराउछिन् । मैले भुइमा बसेर सानो टेबुलमा खाना खान लाग्दा उनी त्यो टेबुल समाएर उभिएर मैले खाएको हेरिरहन्छिन । मैले खाएको खानेकुरा कहिलेकाहि मन पराएर केहि खान्छिन पनि । राती १० बजे भित्रमा सुत्छिन । सुत्ने बेलामा अलिअलि कचकच गर्छिन । राती २-३ बजे तिर बिउझिएर १२० मिलि जति दूध पिई बिहान सात बजेसम्म सुत्छिन ।

२०६५ जेठ ३१ गते (२००८ जुन १३) शुक्रबार ।
---***---

Wednesday, June 11, 2008

नेपालमा राजतन्त्रको बिदाइ

२०६५ जेठ १५ गते बसेको सम्बिधान सभाको बैठकले नेपालको राजतन्त्रको बिधिवत् अन्त गरेको थियो । पूर्व राजाको परिवारले १५ दिन भित्रमा नारायणहिटी राजदरबार खाली गर्नुपर्ने भनि नेपाल सरकारले दिएको समयाबधिको म्याद गुज्रिन एक दिन बाँकी रहेदा आज २०६५ जेठ २९ गते (२००८ जुन ११) बुधबार बेलुका पूर्व राजा ज्ञानेन्द्रले नारायणहिटी दरबारमा पत्रकार सम्मेलन गरी राती ८:३० बजे तिर दरबारबाट बिदाइ भएका छन् । उनीलाई नेपाल सरकारले तत्कालको लागि नागार्जुन दरबारमा बस्ने अनुमति दिएको छ ।

पूर्व राजाको नारायणहिटी दरबारबाट बहिर्गमनले नेपालको २४० वर्षको शाह बंशीय राजतन्त्रको परम्परा सधैका लागि अन्त भएको छ । १८२५ मा पृथ्वी नारायण शाहले काठमाण्डौं विजय गरे पश्चात एकिकृत नेपालको सत्ता प्रमुखका रूपमा पृथ्वी नारायण शाह पश्चात प्रताव सिंह, रण बहादुर, गिर्बाण युद्ध, राजेन्द्र, सुरेन्द्र, पृथ्वी वीर विक्रम, त्रिभुवन, महेन्द्र, वीरेन्द्र, दीपेन्द्र, ज्ञानेन्द्र शाहले अहिले २०६५ सालसम्मको २४० वर्ष रजाइ गरेर आजदेखि शाह वंशीय इतिहासको टुगिएको छ ।

पूर्व राजाले दरबार छाड्नु भन्दा दुई घण्टा अगाडिको पत्रकार सम्मेलनमा दिएको लिखित बक्तव्य यस प्रकार छ ।
----------------------
नेपाली दाजुभाइ, दिदीबहिनीहरू
चार वर्णाछत्तीस जातको साझा फूलबारीका रूपमा आजभन्दा दुइ सय चालीस वर्षअघि हाम्रा पूर्वज बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहबाट कल्पना र स्थापना गरिबक्सेको मुलुक आज अत्यन्त गम्भीर र समवेदनशील संक्रमणको स्थितिबाट गुज्रिरहेको छ । देश र जनताको सुखदुःखमा सहधर्मी एवं सहकर्मी रहेको नेपाली राजसंस्था नेपाली जनताकै समृद्धि तथा समुन्नतिमा अनुप्रँणित हुदै आएको सर्वविदितै छ । इतिहासको प्रत्येक कालखण्डमा राजा र नेपाली जनताको संयुक्त प्रयासबाट भएको एकीकरण, प्रजातन्त्रीकरण एवं आधुनिकीकरण पनि यसको ज्वलन्त उदाहरण हो । राष्ट्र, राष्ट्रियता, र्सार्वभौम नेपाल एवं राष्ट्रिय अखण्डतालाई हामी नेपालीले सधैं जीवनमूल्य मानिआएका छौं । यस मूल्य र मान्यताप्रति हाम्रो निष्ठापुर्ण उर्त्र्सग भावना हिजो थियो, आज छ र भोलि पनि रहनेछ ।

देशमा आजभन्दा ७ वर्षअगाडि एउटा असहज, दुःखद र अनपेक्षित घटनाका कारण संविधान र परम्पराअनुसार राष्ट्राध्यक्ष्यको उत्तरदायित्व ग्रहण गर्दा राष्ट्रधर्म, कूलधर्म र राजपरम्परा अनुरूप मुलुकको र्सार्वभौमसत्ता, स्वतन्त्रता, स्वाभिमान, अखण्डता, शान्ति र प्रजातन्त्रको संस्थागत विकास तथा नागरिकहरूको समग्र प्रगतिबाहेक अरू कुनै स्वार्थ आफूमा नभएको तथ्य पनि सबैलाई जानकारी गराउछु । तत्कालीन हिन्दू अधिराज्य एवं बुद्धको जन्मभूमि नेपालमा शान्ति आओस् भन्ने असल नियतबाट जुन प्रयासको थालनी गरिएको थियो, त्यो प्रयास विभिन्न कारणले गर्दा सफल हुन नसकेको कुरा मैले स्वीकार गरिसकेको छु । त्यसपछिका घटनाक्रम र परिणाम सबैका सामु किताबजस्तै खुला छन् ।

मैले हिजो पदीय दायित्वका कारण व्यक्त गर्न नसकेको तर मेरो अन्तरआत्मामा गुज्रिरहेको केही कुरा इश्वरलाई साँक्षी राखी आज म पत्रकार मित्रहरूमार्फत नेपाली दाजुभाइ, दिदीबहिनी एवं अन्तराष्ट्रिय समुदायसमक्ष राख्न चाहन्छु । नियति नै भन्नुपर्ला म एउटा अबोध बालक छदाँ मेरो शिरमा पहिर्‍याइएको श्रीपेच चुपचाप थाप्ने बाध्यताबाहेक मेरो न चाहना थियो, नत इच्छा, नत कुनै भूमिकाको गुञ्जायश नै थियो । त्यस्तै ०५८ साल जेठ १९ गते राति दोस्रोपटक फेरि एउटा अकल्पनीय त्रासदीपूर्ण घटना राजदरबारमा घट्दा मेरो पूजनीय दाजु-भाउज्यू लगायत आफ्ना आत्मीय परिवारको वीभत्स विनाश भएको र ती प्रिय आदरणीय परिवारजनका शवमा आँसु बगाएर मन हलुका पार्ने मौकासमेत पाउन नसक्ने परम्परा र कर्तव्यको जञ्जीरमा बाँधिन विवश मेरो अन्तरवेदना शब्दमा व्यक्त गर्न सक्दिन । यसै अवस्था र घटनालाई लिएर केही र कतिले अत्यन्त निर्विवेक र निर्दयतापूर्वक म र मेरो परिवारमाथि लगाएका कठोर आरोप र लाञ्छनालाई हामीले सहनुबाहेक न कुनै उपाय नै थियो, नत हाम्रो तर्फाबाट बोलिदिने नै कोही थिए । तत्कालीन परिस्थिति र घटनाबाट फाइदा उठाउन म र मेरो परिवारप्रति पूर्वाग्रही भई विभिन्न माध्यमबाट म र मेरो परिवारलाई बदनाम गर्ने काम निरन्तर रूपमा भइरह्यो, जुन मेरोलागि अति दुःखदायी थियो र छ पनि । दरबारमा घटेको घटनामा परी घाइते भएका राजपरिवारका अन्य जीवित सदस्यहरू अझै पनि जीवितै छन् । उनीहरू त्यसका प्रत्यक्ष साँक्षी पनि हुन् । सोही घटनामा घाइते भई बाँचेकी मेरी श्रीमतीको शरीरमा प्राविधिक कारणले निकाल्न नसकिएका गोलीका टुक्राहरू अझै रहेका छन् । यस सम्बन्धमा उपचारमा संलग्न चिकित्सकहरूबाट सत्यतथ्य पनि बाहिर आएकै थियो । उच्चस्तरीय छानबिन आयोगले घटनाबारे सत्यतथ्य जनसमक्ष ल्याएकै हो । समस्त नेपाली जनता र राजसंस्था शोकविह्वल रहेको अवस्थामा यस्तो प्रकारसँग आक्षेप लगाउनु मानवीय समवेदनासँग मेल नखाने तथा राजसंस्थाप्रति नेपालीसामु रहेको सद्भावलाई बिगार्ने र मात्र दूर्भावना फैलाउने रणनीति रहेको देखिन्छ ।

यस्तै अर्को कुरा मैले मेरो सम्पत्ति विदेशमा राखेको छ भन्ने जस्ता लाञ्छनायुक्त प्रचार भएको पनि सुनेको छु । मेरो सम्पूर्ण सम्पत्ति नेपालमै छ । मैले विदेशमा चल-अचल सम्पत्ति राखेको छैन । नेपालको कानुनअनुसार पर्ूवजबाट मेरो नाममा आएका सम्पत्तिहरू पनि मैले व्यक्तिगत नाममा नराखी संस्थागत रूपमा राख्ने व्यवस्थासमेत गरी त्यसको संरक्षण गरेको छु । विगत ७ वर्षा मैले कुनै थप सम्पत्ति जोडेको छैन । परम्परागत सम्पत्ति घटाउने काम पनि भएको छैन । राजपरिवारका कुनै पनि सदस्यको सम्पत्तिको हक छिनेको पनि छैन । नेपालको प्रचलित कानुनअनुसार निजी सम्पत्ति राख्न पाउने हक मलाई पनि हुने नै छ भन्ने विश्वास लिएको छु ।

जनताको चाहना र इच्छालाई नै सर्वोपरि मान्ने राजपरम्परा अनुसार संविधानसभाको निर्वाचन र गत जेठ १५ गते संविधानसभाको बैठकले गरेको निर्णयलाई मैले सहज बनाउन सहयोगीको भूमिका सम्पन्न गरेको छु । मैले देश छाडेर जाने सोच बनाएको पनि छैन । म मातृभूमि नेपालमा नै बसी मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्‍याउन चाहन्छु । यसका लागि सबै क्षेत्रबाट सहयोग हुने नै छ भन्ने आशा लिएको छु ।

हामी नेपालीका महान पूर्वजहरूको रगत-पसिना र बलिदानले बनेको स्वतन्त्र र र्सार्वभौम रहदै आएको यो नेपाल राष्ट्रको स्वतन्त्रता र अखण्डताको निम्ति म जुनसुकै अवस्थामा र हैसियतमा रहे पनि सदा समर्पित रहने प्रण गर्छु मलाई स्वतन्त्र राष्ट्र नेपालको माया छ । स्वतन्त्र राष्ट्रको अस्मिता, अखण्डता र मौलिक मान्यता कायम रहोस् भन्ने मेरो भावना छ । स्वाभिमानी आमनेपालीको समग्र हित होस् भन्ने मेरो हार्दिक कामना छ ।

परम्परागत रूपमा शाहवंशीय राजाहरूबाट प्रयोग भई शाहवंशको विरासतको रूपमा रहेको श्रीपेच र राजदण्ड चिरकालपर्यन्त सुरक्षित रूपमा राख्नेगरी संरक्षणका लागि आजकै मितिमा नेपाल सरकारको जिम्मामा रहनेगरी मैले हस्तान्तरण गरेको छु ।

अन्त्यमा, राष्ट्राध्यक्षको रूपमा नेपाल र नेपालीको हितमा काम गर्दा मैले कसैको र कुनै प्रकारको अधिकार हनन हुने किसिमबाट काम गरेको थिइन । म वा मेरा परिवारका कुनै सदस्यले विगतमा भए-गरेको कामबाट कसैलाई पीडा पर्नगएको वा कसैको अधिकार हनन हुनगएको भएमा अन्जानमा यस्तो काम हुनगएको वास्तविकता सबैले बुझिदिनुहुने नै छ भन्ने आशा लिएको छु । विगत ७ वर्षो कार्यकालमा मलाई सहयोग गर्ने समस्त नागरिक, संवैधानिक निकाय, न्यायिक क्षेत्र, सुरक्षा निकाय, राष्ट्रसेवक, शिक्षक, प्रँध्यापक, विद्यार्थी, किसान, मजदुर, उद्योगपति, व्यापारी, बुद्धिजीवी, युवा, धार्मिक संघ-संस्था, नागरिक समाज, पत्रकार, राजप्रासाद सेवाका कर्मचारी लगायत विभिन्न तह र तप्कामा आबद्ध सम्पूर्ण स्वदेश तथा विदेशमा रहेका नेपालीहरूमा म आभार व्यक्त गर्न चाहन्छु । नेपालको सधैं भलो चिताउने छिमेकी मित्रराष्ट्रहरूका साथै अन्तराष्ट्रिय जगत र कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई पनि धन्यवाद दिन चाहन्छु । साथै नेपाल सरकारको तर्फाट राजदरबारमा खटिई काम गर्ने सुरक्षा एवं व्यवस्थापन समितिका सदस्यहरूलाई पनि धन्यवाद दिन चाहन्छु । नेपाल सरकारबाट वर्तमानमा भएको सहयोगका लागि धन्यवाद दिदै भविष्यमा पनि आवश्यक सहयोग प्राप्त हुने नै छ भन्ने आशा लिएको छु ।
श्री पशुपतिनाथले हामी सबैको
कल्याण गरुन् ।
जय नेपाल ।
२०६५ जेठ २९
---***---

Wednesday, May 28, 2008

संघिय गणतन्त्र नेपालको घोषणा हुने दिन ।

२०६५ जेठ १५ गते (२००८ मेई २८) बुधबार ।

आज नेपालको नव जननिर्वाचित संविधान सभाले २४० वर्षे राजतन्त्रको विधिवत उन्मुलन गरी संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्ने दिन हो । तर सो प्रकृयाका लागि बिहान ११ बजे बस्नुपर्ने बैठक पार्टीबिच सहमति हुनमा ढिलाई भई बैठक अझै बस्न सकेकोछैन । आजको यस्तो शुभघडिमा पनि नेताहरू भने आ-आफ्नै डम्फू बजाउन ब्यस्त छन् । तलको लेखमा लेखक खगेन्द्र संग्रौंलाले भने झैं आजको दिन अरू दिनभन्दा धेरै फरक हुनुपर्ने हो हामी सबै नेपालीका (नेता समेतका) लागि ।

ढिलै भएपनि आजै बैठक बस्छ होला ।
--------------------
बैठक राती ९:१३ बजेदेखि बस्यो । राजतन्त्र हटाउने पक्ष वा विपक्षमा मतदान गर्न सभासदले दुई छुट्टाछुट्टै पुस्तिकामा हस्ताक्षर गरेका थिए । उपस्थित ५६४ सभासदमध्ये ५६० ले पक्षमा र मात्र ४ (राष्ट्रिय प्रजातन्त्र पार्टी - नेपाल) ले विपक्षमा मतदान गरेका हुनाले अत्याधिक बहुमतले राजतन्त्रको अन्तको भएको घोषणा राती ११:२२ बजे गरियो ।

नव नेपालका हामी सवै नेपालीलाई हार्दिक बधाई र सम्बृद्धिको शुभकामना ।।

-----------------------------------------
सामन्ती युग अस्त गणतन्त्र नेपालको उदय
खगेन्द्र संग्रैँला
(साभार: कान्तिपुर)

आज १५ जेठ २०६५ । सधैं झैं आज बिहान पनि उही बेला उसैगरी भाले बास्यो । चराचुरङ्गी उसैगरी उही चञ्चल लयमा चिर्बिराए । मानवसेवी कागले उसैगरी फोहोरमैला उदरस्थ गरी सहर सफा गरिदिए । पूर्वी क्षितिजबाट उसैगरी सूर्योदय भयो । मानौं साविकको जस्तै यो एउटा साधारण दिनको आगमन हो ।

तर मित्र, कुरो त्यसो होइन । इतिहासको गतिक्रममा आज गोपालप्रसाद रिमालका शब्दमा एक जुगमा एकदिन एकचोटी आएको दिन । आज वयस्क नागरिकले चुनेका प्रतिनिधिले गणतन्त्र नेपाल बकाइदा घोषणा गर्ने दिन । र तिनले गणतन्त्र विधिवत् संस्थागत गर्ने चरणबद्ध कार्यक्रम वाचाकबोल गर्ने दिन । आज सामन्ती राजतन्त्रका अवशेष सदाका लागि सगौरव विर्सजन गर्ने दिन । आज ००७ सालदेखि मुल्तबीमा रहेको नेपालीको चिर सपना साकार हुने दिन । र आज सारा देश उठेर गणतन्त्रको अरूणोदयको हृदय खोलेर मुक्तकण्ठले स्वागत गर्ने दिन ।

यो दिन, हर्षर गर्वले भरिपूर्ण यो दिन, शान र उल्लासले ओतप्रोत यो दिन, विजय र मुक्तिका सप्तरङ्गी भावा-तरङ्गले नेपाली आकाश देदिप्यमान भएको यो दिन त्यसै आएको होइन । यो दिन ल्याउन धेरै वीर-वीराङ्गनाले एकबारको अमूल्य जुनी अर्पेका छन् । यो दिन ल्याउन धेरै त्यागी र साहसी जनले यातना र कारागारको कहर काटेका छन् । यो दिन ल्याउन धेरैले आफ्ना गरिखाने अङ्ग समाजलाई दान गरेका छन् । यो दिन ल्याउन धेरैले उठिबास र प्रवासको पीडा झेलेका छन् । यो दिन ल्याउन धेरैले धेरै रगत र आँसु बगाएका छन् । यो दिन ल्याउन धेरैले अदम्य सौर्य र अकथनीय आत्मबलिदान पर्दर्शन गरेका छन् । यो दिन, गौरवमय यो दिन धेरैले धेरै लामो समयसम्म सुन्दर सपना कोरलेर, सत्यनिष्ठाको आकाशमुनि सत्तीसालको रूखझैं अटल उभिएर, अथक सङ्र्घर्ष गरेर ल्याएका हुन् । त्यसैले गणतन्त्रका जोदाहा नागरिक उमङ्गका पाइला चालेर लहरपछि लहर भएर सडकमा निस्कौं । हात फैलाएर, स्वर उचालेर उत्सवी मुद्रामा विरलाकोटी यो दिनको मुक्तकण्ठले स्वागत गरौं । जय गणतन्त्र † जय समावेशी सुन्दर नेपाल † जय सम्प्रभु नेपाली † जय मधेस, जय पहाड, जय हिमाल ।।

जराजिर्णा राजतन्त्रको इतिश्री र तरोताजा लोकतान्त्रिक गणतन्त्रको उदय ठट्टा होइन । यो नवजात शिशुको पहिलो मुस्कानको प्रतीक हो । यो रूढिगस्त परम्परा र संस्कृतिको समापनको गरिमामय गर्जन हो । र यो जीवनदायी र सुवासयुक्त परम्परा र संस्कृति शुभारम्भको भव्य उद्घोष हो ।
राजतन्त्र एउटा विचार हो, एउटा परम्परा हो, एउटा संस्कृति हो, एउटा जीवनशैली हो । आदिम विचार, पीडक परम्परा, विभेदकारी संस्कृति र फजुलखर्ची जीवनशैली । राजतन्त्र प्रेम, शिष्टता, सौर्न्दर्य, करूणा र मानव कल्याणको वैरी हो ।

जाने भो, आजका मितिले शाही राजतन्त्र विदा हुने भो, मुक्तिप्रेमी नागरिक उमङ्गका पाइला चालेर लहरपछि लहर भएर सडकमा निस्कौं । हात फैलाएर, स्वर उचालेर उत्सवी मुद्रामा विरलाकोटी यो दिनको मुक्तकण्ठले स्वागत गरौ“ । जय नवजात गणतन्त्र † जय साझा, सुन्दर नेपाल † जय सम्प्रभु नेपाली † जय मधेस, जय पहाड, जय हिमाल ।।

लिङ्गभेद राजतन्त्रको प्राणवायु हो । जातिभेद राजतन्त्रको जग हो । अभाव र अन्धकार राजतन्त्रको त्राण हो । अन्धविश्वास र कुरीति राजतन्त्रको शीतल छहारी हो । क्षेत्रभेद राजतन्त्रको दीर्घायुको सहारा हो । प्रजाको नाङ्गो देह राजतन्त्रको कलाकृति हो । प्रजाको रोदन र क्रन्दन राजतन्त्रको आनन्ददायी सङ्गीत हो । प्रजाको भोक र प्यास राजतन्त्रको तृप्ति हो । र प्रजाको शोक र सन्ताप राजतन्त्रको चैन हो ।

अरे, चट् हुने भो † आजका मितिले शाही राजतन्त्र सदाका लागि चिलिमच्वाँट् हुने भो † विजयी नागरिक † उमङ्गका पाइला चालेर लहरपछि लहर भएर सडकमा निस्कौं । हात फैलाएर, स्वर उचालेर उत्सवी मुद्रामा अनुपम यो दिनको मुक्तकण्ठले स्वागत गरौं । जय गणतन्त्र † जय समावेशी सुन्दर नेपाल † जय सम्प्रभु सकल नेपाली † जय मधेस, जय पहाड, जय हिमाल ।।

आज, युगान्तरको यो निर्णाायक क्षणमा, गणतन्त्रको गगनभेदी उद्घोषपछि, गिरिजाप्रसाद कोइराला, कमरेड प्रचण्ड, करिबन कमरेड झलनाथ खनाल र नवोदित मधेसी नेताद्वय महन्थ ठाकुर र उपेन्द्र यादव सप्रेम हातमा हात मिलाएर नयाँ वानेश्वरबाट दम र दूरदर्शितासाथ लमक-लमक अघि लाग्नेछन् । तिनका दृष्टि नारानहिटी दरबारतिर सोझिनेछन् । तिनका पछाडि जनसागर एक लय र एक तालमा गणतन्त्रको विजयी नारा घन्काउदै प्रवाहित हुनेछ । सेनानायक रूक्माङ्गद कटवाल प्रफुल्लित जनसागरको स्वागत गर्न दलबलसाथ नारानहिटी दरबारको मूलद्वारमा हाजिर भइसकेका हुनेछन् । द्वार तिनले खोल्नेछन् । इतिहासमा पहिलोपटक आफ्नो विवेक र सौर्यबाट निर्देशित भई शक्ति र शानसाथ नारानहिटी दरबारको पटाङ्गिनीमा नेतागणको पदार्पण हुनेछ । कटवाल साहेबले सैनिक ठाँटबाँटसाथ आफ्नै हातले राजतन्त्रको झण्डा तल झार्नेछन् । र रिक्त स्थानमा यिनले चन्द्र-सूर्य अङ्कित राष्ट्रिय झण्डा फहराउनेछन् । यो सब क्रिया राष्ट्रियगानको सुमधुर धुनबीच हुनेछ । खम्बामाथि जब राष्ट्रिय झण्डा हल्का हावामा सर्सर् फहराउन थाल्छ, कटवाल साहेबले बडो निष्ठासाथ त्यसलाई सलामी अर्पण गर्नेछन् । त्यो क्षण, आलङ्कारिक राष्ट्रपतिलाई बत्तीस तोपको सलामी टक्र्याइने त्यो क्षण, शाहवंशको सलामी, गुलामी र मलामीबाट नेपाल सेनाको मुक्तिको दिव्यक्षण हुनेछ । त्यसपछि सेनानायक कटवाल साहेबकै अगुवाइ र संरक्षणमा हीरा-मोती- रत्न-जवाहरात जडित झल्झलाकार श्रीपेच काखी च्यापेर आमनागरिकलाई शुभसमाचार सुनाउन नेतागणको नया“वानेश्वर पुनरागमन हुनेछ ।

त्यो क्षणमा, इतिहासको त्यो नाटकीय क्षणमा, थकित सूर्यबहादुर थापा र गलित पशुपतिशमशेर राणा सके केशरमहलभित्र रूखमा कतै टाँसिएका हुनेछन् । यी दुई पराजित पञ्च उभिन्डो परेर झुन्डिएका चमेराहरूको छेवैमा लुकेर इतिहासको साक्षी बस्नेछन् । अटल, जण्ड र प्रचण्ड राजावादी कमल थापाचाहिँ सके कुनै झयाँसको शरण परेर भोको स्यालको उच्चाटलाग्दो भाकामा केही भनिरहलान् । दुर्भाग्यवश, तिनको मिति गुज्रिएको गनगन सुन्न कसैलाई पनि फुर्सद हुनेछैन ।

अरे, अरे, सकिने भो † आजका मितिले शाही राजतन्त्र भर्भराउँदो जनचेतनाको अग्निकुण्डमा स्वाहा हुने भो † विजयी नागरिक † उमङ्गका पाइला चालेर लहरपछि लहर भएर सडकमा निस्कौँ । नयाँ वानेश्वरमा, लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनको सादा ध्वजामुनि हात फैलाएर र स्वर उचालेर उत्सवी मुद्रामा विरलाकोटी यो दिनको मुक्तकण्ठले स्वागत गरौं । जय गणतन्त्र † जय समावेशी सुन्दर नेपाल † जय सम्प्रभु सकल नेपाली † जय मधेस, जय पहाड, जय हिमाल ।।
जय-जय-जय गणतन्त्र ।।

---***---

Monday, May 19, 2008

जेनेभा भ्रमण


२०६५ वैशाख २९‍ - जेठ १०
२००८ मेई ११-२३

जागिरको कामको शिलशिलामा म अहिले जेनेभा सहरमा छु । इन्टरनेशनल टेलिकम्युनिकेशन युनियन (ITU, संयुक्त राष्ट्र संघको एउटा अंग) ले आयोजना गरेको ITU-T Kaleidoscope event – Innovations in NGN network and services सम्मलेनमा मेरो अनुसन्धान सम्बन्धित पेपर प्रजेन्ट गर्न र त्यसको साथसाथै चल्ने Next Generation Network – Global Standardization Initiatives (NGN-GSI) मिटिंगमा जापानी प्रतिनिधिको रूपमा भागलिनका लागि म २०६५ वैशाख २९ गते आइतबारदेखि जेनेभामा छु । नयाँ दूरसंचार प्रविधिको स्टाण्डर्डस् बनाउने काममा मैले पनि एउटा ड्राफ्ट लेखेको छु । त्यो ड्राफ्टलाई मिटिंगमा प्रस्तुत गरी सबैको सहमति जुटाउनुका साथै अरूले प्रस्ताव गरेका ड्राफ्टहरूको सन्दर्भमा जापानको हितमा हुने भए समर्थन र नहुने भएमा बिरोध गर्ने काम पनि गर्नु परेको छ ।

जेनेभामा धेरै अन्तराष्ट्रिय संस्थाको मुख्य कार्यालयहरू अवस्थित छन् । सहरको उत्तरी भागमा संयुक्त राष्ट्र संघको युरोपियन हेडक्वाटर्स, UNHCR, ITU, WIPO आदि भएको ठाउलाई Nations भनिन्छ । हामीलाई मिटिंग अबधिभर प्रयोग गर्न सकिने एउटा पास दिएको छ, जुन देखाएर संयुक्त राष्ट्र संघ र अन्य सबै अन्तराष्ट्रिय संस्थाको कार्यलय भित्र प्रवेश अनुमति पाइन्छ । हामी दिउसोको खाना खान ती सस्थाहरूको क्याफेटेरियामा गएर खान्छौं । त्यहाँका पुस्ताकालय र पसलहरू पनि बेलाबेला चाहार्छौ । World Health Organization, UNAID, International Labor Office, International Migration Organization जस्ता संस्था UN भन्दा पश्चिम तर्फ २० मिनेट जतिको पैदल दुरीमा पर्दछन भने UNICEF, International Meteorological Organization, World Trade Organization चाहि पूर्व तर्फ १५ मिनेट जतिको दूरीमा पर्दछन् ।

जेनेभा सहरको बिचमा ठूलो ताल छ । सहरको उत्तरी भागमा तालले ढाकेको छ भने दक्षिणी भागमा भने तालबाट निस्केको रोन नदि बग्दछ । जेनेभा सहर स्विजरल्याण्डको सबै भन्दा पश्चिममा पर्ने सानो सोतीजस्तो भाग हो, जसको उत्तर, पश्चिम र दक्षिण फ्रान्स पर्दछ । सहरको केन्द्रबाट बस चढी २० मिनेट जतिमा जता गएपनि फ्रान्स पुगिन्छ । जेनेभा तालबाट १४० मिटर माथिसम्म पुग्ने गरी फ्यालिएको पानीको फोहरा, फूलबारीमा चल्ने घडि, रोलेक्स जस्ता ब्राण्डका घडिका लागि जेनेभा सहरले प्रसिद्धि कमाएको रहेछ ।

माथिको फोटो संयुक्त राष्ट्र संघ परिसरको हो ।
---***----

गुम्माकेनको पारिवारिक भ्रमण

२००८ मेई ४-५ (२०६५ वैशाख २२‍ - २३) आइतबार-सोमबार

जापानमा हरेक वर्ष मेई महिनाको पहिलो हप्ता लगातार तीन दिनको बिदा पर्दछ । सो बिदासँग जोडिएको शनिबार र आइतबार मिलाउदा लामै बिदा हुनजान्छ । पोहोरको यो बिदाको बेला हामी नेपाल घर गएका थियौं । यस पटक भने मबाहेक सुषमा र छोरीहरू भरखरै घर पुगेर फर्केका थिए । त्यसैले यो बिदामा जापान कै कुनै ठाउँ घुम्नजाने कार्यक्रमका बारेमा सोच्दा गुम्माकेनको कुरा आयो ।

गुम्माकेन छान्नु पर्ने कारण पनि केहि छन् । हाम्री छोरी श्रेया जन्मेको बेला म गुम्माकेनको माएबाशी भन्ने ठाउमा एउटा सम्मेलनमा सहभागी भइरहेको थिए । र त्यही मैले उनी जन्मेको खबर पाएको थिएँ । त्यसैले उनी लगायत हामी सबै त्यहि ठाउँ घुम्न मनलागेको थियो । गुम्माकेन हामी बसेको ठाउबाट सधारण रेल चढी दुई घण्टाजतिमा पुगिन्छ । नजिकै हुनाले केटाकेटी साथ लिएर जान पनि त्यति अप्ठ्यारो हुने भएन । तेश्रो कारणमा गुम्माकेन प्राकृतिक रूपमा निकै सुन्दर छ । त्यहाका पहाडमा मात्र होइन सहरहरूमा पनि जताततै फुलका बगैचा छन् । हारूना भन्ने ठाउमा ठूलो पहाडको मुन्तिर निकै आकर्षक ठूलो ताल छ ।

हामी आइतबार बिहान ९:०० बजेतिर घरबाट हिडी ओमिया, ताकासाकी हुदै माएबाशी १२:३० बजे पग्यौ । स्टेशन नजिकै खाना खाई होटेलतिर लाग्यो । होटेल पनि म पहिले जुन होटेलमा बसेको थिएँ सोही होटेल यस पटकको लागि बूक गरेको थियौं । स्टेशनबाट पैदल १५ मिनेटमा पुगिन होटेलतिर जादा गलत दिशातिर लागिए छ, निकै पर पुग्दा पनि होटेल नदेखिए पछि त्यहा मानिसलाई सोध्दा पो थाहा पाइयो ।

होटेलमा सामान राखी केहि बेर आराम गरेर हामी माएबाशी पार्कतिर लाग्यौं। त्यो पार्कभरि फूलै फूलको बगैचा रहेछ । अझ यो मौषममा त त्यहा फूलको प्रदर्शनी नै रहेछ । हामी वरपरका फुलको फोटा खिच्दै निकै बेर त्यहा घुमपिरमा व्यस्त रह्यौं । साझ परेपछि खाना खाने रेस्टुरेण्ट खोज्न निकै समय लाग्यो । माएबाशीमा प्राय: जसो पसल ६‍:३० बजे तिर नै बन्द भई सकेको हुदो रहेछ ।

भोलि पल्ट बिहानै उठेर हारुना जान भनी हामी रेल चढेर ताकासाकी तिर लाग्यौ । तर बिदाको दिनमा हारुना जाने बस २-२ घण्टाको अन्तारलमा जाने हुनाले झण्डै एक घण्टाजति बस कुर्ने समयमा ताकासाकीको जताततै फूल फुलेका सडकहरू तिर बरालियौं । बस चढ्यौं । बसलाई केहि बेर ताकासाकी सहर छिचोल्न लाग्यो । अनि अलि गाउँजस्तो ठाउमा नदि किनारको बाटोमा हुइकिएको केहि बेरपछि एउटा विश्राम गर्ने ठाउँ आइ पुग्छ । १५-२० मिनेटको विश्राम पछि बस हिड्न थाल्छ । बिस्तारै पहाड शुरु हुन्छ । निकै बेर पहाड चढेपछि बस हारुना स्राइन भएको ठाउँमा पुग्छ । त्यहाबाट १५ मिनेटजतिमा हारुना तालको तटमा गएर अन्तिम स्टपका बस रोकिन्छ ।

बसबाट ओर्लियौं । बाहिर कुहिरोले यस्तो ढाकेको छ कि मुस्किलले २० मिटर परसम्म दिख्न सकिन्छ । हामीले ताल छेउको रेस्टुरेण्टमा खाना खाएर यताउती घम्ने योजना बनायौं । तर त्यो कुहिरोले गर्दा हाम्रो योजना सफल हुन सकेन । तालको छेउछाउमा यताउति बरालिने काम मात्र भयो । केहि बेरपछि पानी पर्न थाल्यो । हामी त्यहीको एउटा पसलमा ओत लाग्यौ । अनि बिस्तारै बस चढी घर फर्कने भनी बस स्टप गएर केहि बेर बस्दा त्यो कुहिरो हट्दै गयो र तालको आकार प्रस्ट देखिन थाल्यो । त्यहिबाट तालका केहि फोटा खिची हामी बस चढेर पहिलेकै बाटो ताकासाकीतिर फर्कियौ । ताकासाकीबाट रेल चढी घर पुग्दा बेलुकाको ६:३० जति बजेको थियो ।
---***---

Wednesday, May 7, 2008

सानी स्कूल जान थालेको दिन

२०६५ बैशाख २५ गते बुधबार ।

आज देखि हाम्री सानी छोरी ऋचा केटाकेटी खेल्ने स्कूल (होइकुशो) जान थालिन् । उनी आजै देखि ८ महिना पुगेर नौ महिना लागिन् । बिहान ८:३० बजेतिर उनलाई स्कूल पुर्याउन मपनि गएको थिए । साकुरा होइकुशोमा उनी शून्य वर्ष समूहमा (हाना गुमी, अर्थात फूल समूहमा) पर्दछिन् । उनको कक्षामा ६-७ जना केटाकेटीलाई सम्हाल्न ३-४ जना गुरुमाहरू हुनुहुदो रहेछ । दुई तले साकुरा होइकुशोको दोश्रो तलामा उनीहरूको कोठा भर्याङ्ग चढेपछि सिधा अगाडि पर्दछ । कोठा भित्र ६-७ वर्गमिटर जति क्षेत्रलाई होचो काठको बारले घेरेर त्यहा भित्र गुन्द्री (तातामी) माथी केटाकेटीसगै गुरुमाहरू बस्नु हुदो रहेछन् । बिचारा साना केटाकेटी न परे, कुनै न कुनै रोई रहेका हुदा रहेछन् र रूनेलाई गुरुमाले बोकेर त्यो बार भन्दा बाहिर लगी फूल्याउनु हुदो रहेछन् । कोठाको ढोका भने केटाकेटीले नभ्याउने गरी अग्लो ठाउँमा चुक्कुलको व्यबस्था गरेको हुदो रहेछ, जसलाई कोठा बाहिर र भित्र दुवै तिरबाट खोल्न र बन्द गर्न सकिदो रहेछ । हामी भित्र पस्दा त्यो चुक्कुल खोली पस्यौ र बोहिर निस्कदा पुन: लगाइ दियौ । स्कूलमा बानी नपुरुन्जेलका लागि शुरूका केहि दिनमा क्रमश: १:३०, ३:०० घण्टा जतिमात्र राखी घर ल्याउनु पर्दो रहेछ । आज र भोलि १:३० घण्टामात्र रे, त्यसपछि ३ घण्टा, अनि ४ घण्टा उदै एक हप्तापछि मात्र पुरा समय (बिहान ८:३० देखि बेलुका ४:३० सम्म) बच्चाहरू स्कूलमा बस्दा रहेछन् ।

ऋचाकी दिदी श्रेया पहिलो पटक स्कूल जादा झण्डै डेढ वर्षकी थिइन् । उनी स्कुल जान थालेको तीन वर्ष पुगेर चार लाग्यो, गत चैतदेखि । उनी पहिलेको एक वर्ष साचुकी होइकुशो र त्यसपछि गत दुई बर्षदेखि साकुरा होइकुशो जादैछिन् । अब दिदी बहिनी एउटै स्कूलमा जाने भए । श्रेयालाई पहिलो पटक स्कूलमा १:३० घण्टाका लागि छाडेर घर आउदा साह्रै नरामाइलो लागेको थियो । कारण, उनी हामीले छोड्ने बेलामा रोएकी थिइन । तर आज ऋचालाई छोड्दा त्यस्तो नरामाइलो लागेन । ऋचा सानै हुनाले उनी त्यहा राखिएका खेलौनासंग खेल्न ब्यस्त भइन र हामीले छोड्दा खासै चित्त दुखाएर रुइनन् । फेरी श्रेयालाई स्कुलमा राख्ने बानी भइसकेकोले होला हामी बाबुआमालाई सानो बच्चा स्कूलमा छोड्दापनि त्यति पिर परेन ।

दिदीबहिनी दुबै खुशी हुदै स्कूल जाने दिनको प्रतिक्षामा छौ ।
---***---

Tuesday, April 29, 2008

परिवारको फिर्ती

२०६५ वैशाख १७ गते मंगलबार ।

आज बिहान परिवार नेपालबाट जापान आईपुगे । विमानको उडानतालिकामा बिहान ६:२० बजे नारिता विमानस्थल आईपुग्ने भनी लेखिएको थियो । यसो बिचार गर्दा अध्यागमन र समान संकलनमा झण्डै एक घण्टा जति समय लाग्ने अनुमान लगाइ म त्यहा ७:२५ बजे पुगें । म पुग्दा उनीहरू बाहिर निस्किसकेको हुनसक्छन् भन्ने ठानी गेटको वरपर खोजे । त्यहा नदेखेपछि माथि विमान आगमनको तालिकामा विमान कति बेज आइपुगेछ भनि यकिन गर्दा पो थाहा पाइयो कि विमान त दुई घण्टा ढिला भई ८:२० बजे तिरमात्र आइपुग्ने रहेछ ।

त्यसैले मैले पनि २ घण्टाजति नै कुर्नुपर्ने भयो । एउटा पत्रिका निशीफुनाबासीमा नै किनेर रेलमा पढ्दै गएको थियो । त्यहि पत्रिकाको बाँकी भाग पढ्न थाले, एउटा कुनाको कुर्सीमा बसेर । झण्डै एक घण्टा जति पत्रिका पढी माथोल्लो तलाको 'डिपार्चर लबी' तिर टहल्न गए । आशियाना एयरलाइन्समा जागिर खाने मैले पढाएकी एउटी केटी 'मियुकी' छ कि भनी आशियानाको काउन्टरमा यताउति हेरे तर देखिन । डिपार्चार लबीको एक चक्कर काटेर म फेरि तल 'अराइबल लबी'मा ओर्लिए । ९ बज्न लागेको थियो । यात्रुहरू बाहिर निस्कने गेटको बाया छेउमा केहि कुर्सी दुई लहरमा राखिएका छन् । म त्यहिको एउटा कुर्सीमा बसी गेटबाट बाहिर निस्कने मानिसको चेहरा केलाउन थाले । निकै बेरमा पनि मैले पर्खेका अनुहार पत्ता नलागे पछि म कुर्सी छाडी गेटको वरीपरी चक्कर लगाउदै दाया छेउमा गएर उभिए । केहि बेरमा नै उनीहरू बाहिर आउदै गरेको देखे । 'सानी त ठूली मान्छे जस्तै वरिपरिको वातावरणलाई नियाल्दै हुन्छिन् । दुई महिनामा नै उनको निकै विकास भइसकेछ । नानी अलि दुब्लो दुब्ली लाग्यो । उनको बोली पनि तिखो तर लेग्रे खालको थियो, सायद निन्द्रा नपुगेर होला ।'

अनि हामीले दुइटा सुटकेस समान 'आना स्काइ पोर्टर' डेलिभरी सेवामा ३,०७० येन तिरी छाडिदियौ, समान बेलुकासम्ममा घर पुग्ने गरी । अनि हामी रेल चडेर घर पुग्दा ११:२० जति बज्दछ । यो माथिको फोटो रेलमा यात्रा गर्दाखेरी खिचेको हो ।
---***----

Monday, April 28, 2008

एक्लै बस्ने दिन सकिए ।

२०६५ वैशाख १६ गते, सोमबार ।

आज देखि मेरा एक्लै बस्ने दिन सकिए । परिवार झण्डै दुई महिना लामो नेपाल बसाई सकेर भोलि बिहान टोकियो आउदै छन् । २०६४ फागुन १८ गते (२००८ मार्च १) शनिबार नेपाल गई भाई प्रदीप पोखरेलको विवाहमा खुशीयाली मनाई, घर परिवार र आफन्त बिच रमाउदै दुई महिना बिताई भोलि २०६५ वैशाख १७ गते (२००८ अप्रील २९) मंगलबार यहा आई पग्छन् । भोलि यहा बिदा हो ।

यस पालीको नेपालमा घर परिवारसंगको भेटघाट हाम्री सानी छोरी ऋचाका लागि पहिलो हो । विदेशको बसाइको क्रममा जन्मेकी हुनाले उनीले ५ माहिनाको उमेर पछिमात्र घर परिवारका सबै जना र आफन्तसंग भेट्ने मौका पाइन् ।

दिदी श्रेयाका लागि पनि घर घुम्न पाउनु रमाइलो कुरा हो । उनी नेपाल गएपछि आफ्ना धेरै आफन्तसंग गफ गरी बस्न खुब मन पराउछिन् । घरमा र छरछिमेकका अरू केटाकेटी भेला पारी खेल्दा उनलाई धेरै राम्रो लाग्छ । श्रेया गत वर्ष बैशाख ९ गतेदेखि २५ गतेसम्म नेपालमा बसेकी थिइन् । यसरी चाडै चाडै नेपाल गइरहदा उनलाई घर परिवार प्रतिको माया ताजा बनाइ रहन सहयोग मिल्दछ ।

अहिले उनीहरू जहाजमा काठमाण्डौबाट बैंककका लागि उडिरेहेका छन (१८:३९ बजे, जापानी समय) । बैकक आइपुग्न २०:२० (जापानी समय) बज्छ । अनि त्यहा ३:५० घण्टा पर्खेर भोलि बिहानको ०:१० बजे (जापानी समय) मा उडी ६:२० बाजे टोकियोको नारिता विमानस्थल आई पुग्छन् । मैले बिहानको सबै भन्दा पहिलो रेल चढेर जादा नारिता विमानस्थल पुग्दा ७:२५ बज्ने रहेछ । उनीहरू पनि भित्र अध्यागमनको काम सकी चेक-इन समानलाई पर्खेर बाहिर आउदा झण्डै त्यस्तै समय होला ।

अस्तु:
---***---

Saturday, April 26, 2008

एक्लै बस्दापनि रमाइलो

आजकल म एक्लै छु । परिवार नेपाल गएको हुनाले म दुइ महिना जति एक्लै भएको छु । परिवारमा चारजनाको हल्लाखल्ला बिचमा रमाइलो गर्दै बसेको मान्छे अहिले केहि समयका लागि एक्लै रमाउदै छु । एक्लै बस्दा पनि रामइलो गर्न म पोक्त छु । गत २० वर्ष मध्ये करिब १५ वर्ष त म एक्लै रमाउदै आएको छु । त्यसैले यो दुई महिना पनि नरमाइलो त पक्कै हुदैन होला । मेरो अनुभवमा निम्न काम गरेमा एक्लै बस्दाका क्षणहरू पनि सधै रमाइलो हुन्छन् ।
(१) अध्ययनमा प्रसस्त समय लगाउने: अध्ययन मानिसको जीवनमा अति आवश्यक निरन्तर प्रक्रिया हुनाले यति पुस्तक पढ्ने बानी बसालियो भने जस्तो सुकै समयको पनि सदुपयोग गर्न सकिन्छ । किताबको ज्ञानलाई व्यबहारमा उतार्ने बारेमा सोच्दा समय बितेको थाहै पाइदैन ।
(२) घरायसी काममा प्रसस्त समय लगाउने: बिदाको समय घर बस्दा सकेसम्म आफैले पकाएर खादा समयको राम्रो सदुपयोग हुन्छ । रूची अनुसारको स्वादिलो खाना पकाएर खादा स्वास्थ्य राम्रो हुनुको साथै खर्च पनि कम लाग्छ । त्यस्तै घर सफागर्ने काम पनि निरन्तर गर्नु पर्छ । कुनाकाप्चा सबै तिरको फोहोर सफा गर्ने, लुगाफाटा धुने जस्ता काम गर्दा पनि समय बितेको पत्तै पाइदैन ।
(३) नियमित शारीरिक व्ययाम गर्ने: बिहानको केहि समय शारीरिक व्ययाममा लगाउदा शरीर फूर्तिलो हन्छ, खाना रूच्छ, राति निन्द्रा राम्रो लाग्छ, र समग्रमा स्वास्थ्य राम्रो हुन्छ । व्ययामले शारीरिक तन्दुरूस्तता साथसाथै मानसिक स्वच्छता प्रदान गरी श्रृजनात्मक काम गर्न प्ररित गर्दछ ।
(४) मन पर्ने संगीत सुन्ने : संगीतले अनावश्यक मानसिक तनावमा फस्नबाट बचाउछ । गीतका शब्द शब्द केलाई संगीत मिसाएर सुन्ने हो भने मानसिक स्फूर्ति बढाउछ ।
(५) प्रकृतिमा रमाउने : प्रकृति नै यस्तो साथी हो जो जहा गएपनि साथै जान्छ । जुनसुकै ठाउमा गएपनि निस्वार्थी मित्र भएर प्रकृति हाम्रो अगाडि आई पुग्छ । फूल, रूख बिरूवा, वन जंगल, घासे चौर, खेतबारी, पहाड, ढुंगा, खोलानाला जताततै पाइन्छन् । यी सबैको समिश्रणबाट बृहत प्रकृति बनेको छ, जसले मानिसको उत्पति कालदेखि अहिलेसम्म अभिन्न सहयोगी मित्रको रूपमा निरन्तर सेवा गरिरहेको छ । त्यसैले प्रकृतिसँग घुलमेल गर्नु पर्छ, जीवन सधै रमाइलो भई रहन्छ ।
(६) अरूको लहलहैमा नलाग्ने: अरूको भनाईको आशय नबुझी अन्धो अनुशरण गर्दा कहिले काहि अनावश्यक चिन्तामा पर्ने सम्भावना हुन्छ । त्यसैले अरूको लहलहै भन्दा स्वविवेकले ठम्याएको काम गर्नु पर्छ । कतिबाट त 'एक्लै बस्दा साह्रै दुख होला, खाना खान गाह्रो होला बिचारालाई,' भन्ने फुस्रा सान्त्वना पनि बेलाबेला सुन्न पाइन सक्छ । केही समयको लागि एक्लै बस्दा यसरी 'बिचारा' हुनु पर्ने कुनै जरूरी छैन । सुखी, खुशी, र सफल जीवनलाई सार्थक बनाउनलाई हामीले हरेक पहलको उत्तिकै सदुपयोग गर्न जान्नु पर्छ ।

सारांशमा भन्नु पर्दा निरन्तर अध्ययन, सकारात्मक सोच, प्रकृति प्रेम, नियमित व्ययाम, र लगनशिलता भएमा एक्लै बस्दाको क्षण पनि रमाइलो हन्छ ।

२०६५ वैशाख १४ गते, शनिबार ।
---***---

Sunday, April 13, 2008

नयाँ वर्ष २०६५


२०६५ साल वैशाख १ गते आइतबार,
अप्रिल १३, २००८ ।।
आज विक्रम सम्बत् २०६५ सालको पहिलो दिन, अर्थात नयाँ वर्षको दिन ।
यो वर्षलाई हार्दिक स्वागत गर्न र गएको वर्षलाई बिदाई गर्न हिजो बेलुका मिसातोमा नेपाली परिबारद्वारा एउटा भेलाको आयोजना गरिएको थियो । मिठो मिठो खाना खादै शुभकामना आदान प्रदान गर्दै मेरो कम्युटरमा नेपालको सम्विधान सभाको निर्वाचन परिणाम पनि हेर्दै रमाइलो गर्यौ । सम्विधान सभाको चुनावमा ने०क०पा० (माओबादी)ले राम्रो परिणाम ल्याउदै गरेको देखेर हामी अब नेपालमा स्थायी शान्ति स्थापना हुने भयो भनी हामी झन् खुशी भयौं ।

नयाँ वर्षमा शान्त, सुन्दर, विकसित नयाँ नेपालको उदय होस् भन्ने शुभकामना ।।
---***---

Saturday, April 12, 2008

साधा, स्वच्छ, सिधा, सफल, सार्थक जीवन

साधा भोजन, नियमित व्ययाम, स्वच्छ विचार र सिधा आचार ।
सुखी, खुशी, सार्थक, सफल, दीर्ध जीवनका राज ।।

Thursday, April 10, 2008

CA Election

२०६४ साल चैत्र २८ गते बिहिबार ।
--------------------------------

आज नेपालमा संबिधान सभाको चुनाव हुदैछ । नेपालमा अग्रगामी परिवर्तन, दीर्घ शान्ति, राजनितिक स्थिरता, सामाजिक र आर्थिक विकास गर्ने उद्देश्यका लागि सबै वर्ग, जाती, भेगका जनताको समान सहभागिताका साथ नेपालको संबिधान लेख्ने सभासद्को छनौट हुदैछ । अहिले नेपालमा ११:३० जति बज्यो, र अहिलेसम्म छुटपुट् स-साना घटनाहरू बाहेक सबैतिर शान्ति पूर्वक उत्सुकताका साथ जनताले भोट खसाइ रहेका छन् । आशा गरौ, निर्वाचन शान्ति पूर्वक सम्पन भई नेपाल आज देखि नै पूर्ण शान्ति र विकासको चरणमा प्रवेश गर्नेछ ।

---***---

Friday, April 4, 2008

हजुरआमाको माया

हाम्री हजुरआमा अहिले ८४ वर्षकी हुनुहुन्छ । म जन्मे देखि आज सम्म उहाले अर्तिउपदेश मात्र दिई रहनु भएको छ । उहालाई सबै भन्दा चिन्ता लाग्छ - नातिले बाहिर बस्दा राम्ररी खान्छ कि खादैन । त्यसैले जुनबेला म घरबाट बिदा भएर बाहिरका लागि निस्कन्छु, मयालु अनुहार पार्दै सम्झाउनु हुन्छ - खाना चाहि मजाले लोभ नगरीकन खानु है । घरमा हुदा पनि खाना खाने बेलामा अलि मिठो, नौलो चिज छ भने आफ्नो भागबाटै निकालेर हामीलाई दिनु हुन्छ । हामी घरमा हुन्जेल उहा भन्ने गर्नु हुन्छ - "तिमीहरू छौ, सन्तोष लाग्छ । तिमीहरू अ‍-आफ्नो कामका लागि बाहिर गए पछि यो घरमा दुई चार दिन त सबै तिर अन्धकारमय हुन्छ । बस्न मन लाग्दैन । खान मन लाग्दैन ।"

हामी केटाकेटी हुदा मोही पारेको दिन (हाम्रो घरमा हरेक एक दिन बिराएर मोही पार्ने चलन थियो) हजुरआमाले नौनी घ्युले पोतिएका उहाँका हात हाम्रो अनुहार र हातखुट्टामा दल्नु हुन्थ्यो । जाडोको बेला कहिले काही चिसोलागेर हामी किन सधै घिउ दल्नु हुन्छ भनि सोध्दा तिमीहरूको छाला दह्रो हुन्छ, चिसो गाडिदैन भन्नु हुन्थ्यो । मोही पारेको दिन हामी सधै एक एक डल्ला नौनी घ्यु पनि तात्तातो भातसँग खान्थ्यौ । यो क्रम मेरो विद्यालय स्तरको पढाई पुरा गर्दा सम्म चलिरह्यो । त्यसैको परिणाम हुनसक्छ, मलाइ अहिले पनि अरू नेपाली साथीहरु भन्दा कम जाडो लाग्ने गर्छ ।

निश्चय नै हामी स‍-साना केटाकटी हुदा हजुरआमा शारिरिक र मानसिक रूपमा हामी भन्दा धेरै दह्री हुनुहुन्थ्यो । हामी केटाकेटी हुदा हाम्रो गाउमा बिजुली बत्ती थिएन । हामी साँझ परेपछि घर बाहिर जान डराउद थियौ । म निकै ठूलो हुन्जेलसम्म पनि हजुरआमा सगै सुत्थे । पछि पनि हजुर आमाको छेउको खाटमा सुत्थ्यौ हामी तीनै दाजुभाइ । शु आएर राती उठ्नु पर्दा हामी बिस्तारै हजुरआमा बाहिर जानु परो भन्ने बित्तिकै उहा उठी हाम्रो साथी जानु हुन्थ्यो । अझैसम्म पनि हजुरआमाको निन्द्रा साह्रै पातलो छ । छिन छिनमा जागेर घरको हेरचाह गरी रहनु हुन्छ । पहिले हामी बसेको ठाउमा गाईगोरू चोरको बिगबिगी थियो । चोरबात बच्न हजुरआमा राती जागा रहेको संकेत बेलाबेला खोके जस्तो गरी दिइरहनु हुन्थ्यो ।

तर अहिले हजुरआमा उमेरले गर्दा हामी भन्दा कमजोर हुनु भयो । उहाँले हामीलाई भन्दा हामीले उहाँलाई सह्यार सुसार गर्ने बेला आएको छ । तर पनि अझै उहाँ हामीलाई नै सह्यार सुसार गर्न ब्यस्त हुनुहुन्छ । अहिले पनि टेलिफोनमा कुरा हुदा राम्ररी खानु, यता तिरको चिन्ता नगर्नु भनी सम्झाउनु हुन्छ । चिन्ता लिदा मन र शरीर दुवैलाई नकारात्मक प्रभाव पर्छ भनि सम्झाउनु हुन्छ । उहालाई नातिहरू विदेशिए, उतैको रहनसहनमा भुले होलान् भन्ने कहिले लाग्दैन । विदेशबाट मलाई यो ल्याइदिनु भनी कहिले भन्नुहुन्न । उहाँलाई त्यस्तो भौतिक समानको स्तर, मूल्यसँग कुनै सरोकार छैन । उहाँलाई सम्झेर जे लगेर दिए पनि हर्षका साथ गुणगान गाउदै स्विकार्नु हुन्छ ।

आजकल म यहा (जापानमा) एक्लै छु । केहि दिन पहिला घरमा फोन गर्दा हजुरआमाले सधै झै खाना राम्ररी खाने, अल्छी नगरी कन मिठो मिठो पकाउने, घर तिरको चिन्ता नगर्ने, आदि आदि भनेर सम्झाउनु भयो । हजुरआमाको सहास, माया, र हौसलाले हामीलाई सधै शक्ति प्रदान गरिहन्छ ।

२०६४ चैत्र २२ गते ।

---***---

Wednesday, April 2, 2008

Why are you living?

Someday somebody may ask you: why are you living?
Your reply would not be that much simple.
You should say:-
I living for my children; I am living for my wife; I am living for my parents; I am living for my relatives; I am living for my friends; I am living for my work; I am living for my colleagues; I am living to serve society; I am living to guide youngsters; I am living to love olders; I am living to care people; I am living for the betterment of technology; I am living for the betterment of everyone's life; I am living to enjoy and nurture the nature; I am living to maintain eternal peace; I am living to think; in total, I am living for the betterment of the whole world.

2008.4.1 12:17 night

---***---

Monday, March 31, 2008

साथी पुष्प राज पौडेल सग घुमफिर



कागावा विश्वविद्यालयमा कृषि विज्ञान अध्ययनरत मित्र पुष्पराज पौडेल टोकियोमा कामको शिलशिलामा आउदा खेरी मलाई पनि भेट्नु भयो । २००८ मार्च २९ को बेलुका हाम्रोमा आउनु भयो । हामी दुबै जाना मिलेर खाना बनाई खायौ । मार्च ३० आइतबार बिहान खाजा खाएर हामी टोकियो घुम्न भनी १० बजे तिर निस्क्यौ । त्यहा राजदरबार वरिपरी घुम्दै, बसन्त ऋतुमा जताततै ढकमक फुलेका साकुरा फूलको अगाडि बसेर धेरै फोटाहरू पनि खिच्यौ । अनि बाहिर निस्केर ओतेमाची तिर लाग्दा कतै घुमेर दरबार फर्केका जापानी राजारानीलाई पनि देख्यौ । मित्र पुष्पजीले त त्यो सवारी कस्को रहेछ, फोटा खिच्नु पर्छ भन्दै हुनु हुन्थ्यो । तर मैले अरु नै कोही भिआईपीको होला, पुलिसका अगाडि उभिएर फोटो खिच्नु उपयुक्त नहुने सल्लाह दिएकोले उहाँले क्यामेरा ठीक पार्नु भएनछ । पछि हामी हिड्दै गरेको सडक पेटी तिर गाडी भित्रैबाट टाउको हल्लाउदै अगाडी बढेकी रानीलाई देखेपछि, हत्तेरिक अघि नै क्यामरा तयार पारी फोटो खिच्नु पर्नेरहेछ भनी पछुतो लाग्यो ।
ओतेमाची हुदै हामी आकिहाबारा गयौं । त्यस ठाउँलाई हाम्रा मित्रले काठमाण्डौंको असन र न्युरोडसँग तुलना गर्नुहुन्छ । यत्रतत्र बाटैमा फिजाएर इलेक्ट्रोनिक्स सामानहरू बेच्ने स‍-साना गल्लीलाई हामी असन भन्न थाल्यौ । अनि अलि परको मुख्य सडकका ठूला ठुला भवनका धेरै तला ओगट्ने पसललाई न्युरोड भन्न थाल्यौ । हामीले नामाकरण गरेको नयाँ असनको सोफ्टम्याप भन्ने पसलमा रहेका सेकेण्ड ह्याण्ड तर राम्रै अबस्थाका ल्यापटप कम्प्युटर २०,००० जापानी येन (रू। १२,००० जति) मा पनि किन्न पाउने रहेछ । पुष्पजीलाई किन्ने कि एउटा भनी सोधेको थिए । तर मेरा मित्र पर्नु भो अलि गहकिला; सस्तो, पुरानो र कमसल सामानमा उहाँका आँखा नलाग्ने । उहाँले पुरानो होइन बरू नयाँ हेर्ने भनी हामीले नामाकारण गरेको न्युरोड तिर लाग्यौ । त्यहाको एउटा पसलमा पसी केही कम्प्युटर हेरे पछि पुष्पजीले २७४,००० जापानी येन जतिको सोनी भाइओ ल्यापटप कम्प्युटर मन पराउनु भयो । उहाँले त्यस्को निकै नै प्रशंसा गर्नु भयो । अनि हामी न्युरोड आक्की इन्टरनेशनल भन्ने पसलमा पस्यो, त्यहा पुष्पजीले ओरियन्ट लेडिज घडि किन्नु भयो । उहाँलाई भिडियो क्यामेरा पनि मन परो । सोनी कम्पनीको ६० जीबी हार्डडिस्क भएको, १ दशमलव ७ मेघा पिक्सेलको क्यामेरा र त्यस्तै गुणस्तरको जेभिसीको पनि मन पराउनु भयो । तर दाम भने त्यहा अलि दलाली चल्ने जस्तो देखि तत्कालै किनी हाल्नु भन्दा यताउतिका पसलमा पनि बुझेर मात्र किन्नु बेस लागि हामी केही भौतारियौ । ३ बजे देखि पानी पर्न लाग्यो । सिमसिम पानी पर्छ, यताउति गर्दा नभिजिने तर निकै बेर बाहिर हिडडुल गर्दा भने भिजिने खाल्को पानीले हामीलाई स्वतन्त्र रूपले घुम्न भने अप्ठ्यारो पारेर ल्यायो । आक्की इन्टरनेशनल भन्ने त्यहा तीन ठाउँमा पसल रहेछन् । ती मध्ये हामी दुई ठाउँका पसलमा गयौ । ती पसलमा घडि, क्यामेरा, कम्प्युटर आदि सामानका साथै विदेशी पर्यटकले किन्ने उपहारका बिभिन्न प्रकारमा सामानहरू बेचिदा रहेछन् । ती दुबै ठाउमा हामीले भेटेका बेच्ने मान्छे भने चिनियाँ थिए । अन्तमा आएर भिडियो क्यामेरा आज नकिन्ने भयौं । पुष्पजीले घर सल्लाह पश्चात किन्नु बेस होला भन्ने ठानी किनेपनि भोलि किन्ने निचोडमा पुग्नु भयो ।

साझ पनि पर्यो । हामी त्यहीको एउटा रेस्टुरेण्टमा खाना खायौं । हामी घरबाट हिड्दा आकिहाबाराको कार्यक्रम सकेर उएनोको ठूलो बगैचाका लहरै रहेका ठूलाठूला रूखमा फूलेका साकुरा फूल मुन्तिर बसी सबै दू:ख र बेचैनीलाई केही बेरका लागि भूली आन्नदसँग रमाउने बिचार थियो । तर पानी परेको हुनाले हामीले सबै समय आकिहाबारामा नै खर्चेर, खाना पनि त्यही खाई, रेल चढी राती ८:२० बजे तिर घर आई पुग्यौ ।

१० बजे तिर सुतेका थियौं । थकाई लागेर होला बिहान ७ बजेसम्म निदाइएछ । नुवाइ धुवाइ गरी खाजा खाई पुष्पजी र म सँगै निक्यौ । उहा फेरी आकिहाबारा तिर लाग्नु भयो । सायद क्यामेरा किन्नु भो होला, फोन गरेर पत्ता लाउनुछ । म आफ्नो कार्यलय तिर आई दिन भरि नै काममा ब्यस्त भए ।

अस्तु:
---***---

Saturday, March 29, 2008

सानी बस्न थालिन् ।

२०६४ चैत्र १५ ।

अहिले सानीको उमेर ६ महिना २१ दिन ।
सानी यसै हप्तादेखि बस्न र बामे सर्न थालेकिछन् ।
अहिले नेपालमा धेरैतिर घुमी धेरैजना आफन्तलाई एकै पटक भेट्दा उनीको समय परिचयमा नै बित्दैछ । परिचय नै राम्ररी नभईकन एक ठाउबाट अर्को ठाउमा जानु पर्ने भएकोले अहिले उनी आफ्नी मामुसगै रहेको मनपराउछिन । मामुभन्दा अरू आफन्तलाई राम्ररी चिन्नै नपाएको हुनाले मामु आफ्नो सामु नहुदा उनलाई सबै बिरानो लाग्दछ ।

सानी नेपालमा सबै आफन्तहरूसँग अझै एक महिना जति बसेर २०६५ बैशाख १८ गते नेपालबाट जापान आई पुग्छिन । त्यसबेला सानीको उमेर ७ महिना ७ दिन हुन्छ । सानीकी दिदी नानी पनि २००४ जुलाई १८ (२०६१ श्रावण ३ गते) पहिलो पटक जापान आउदा उनको उमेर ८ महिना २० दिन थियो । नानी त्यतिबेला हात र घुडा टेकी भूईमा यताउति दौडने गर्थिन । उनको घुडामा चोट लाग्नसक्छ भनी मैले घर भित्र सबैतिर नरम कार्पेट ओछ्याएको थिए । अब सायद सानीको लागि पनि त्यसै गर्नुपर्छ होला ।

---***---

Sunday, March 16, 2008

Philadelphia visit





I
visited Philadelphia, USA from March 9 to March 16, 2008. Philadelphia is the state capital of Pennsylvenia and located in the north to Washington D.C. and south to New York City. I went there to participate in the 71st meeting of the IETF (Internet Engineering Task Force). Philadelphia is a historically important city in the USA, where the Declaration of Independence and signing of the USA Constitution were taken place in 1776 and 1787, respectivily. Moreover, it was the capital of the USA from 1790 to 1800.

The meeting was held at Marriot Hotel in Market street and I was staying at Doubletree Hotel in South Broad street. Among the above photographs, the upper one was taken in front of the Independence Hall, where the Declaration of Independence was signed in 1776, and the lower one was taken in front of the Independent Hall Visitor Center.

---***---

Sunday, March 9, 2008

Okinawa visit


I visited Okinawa, the southmost part of Japan, from March 6 to March 8, 2008. I went there to attend the IEICE IN workshop that was held in Bankoku shinryokan, in Nago city, which is located in the north part of the Okinawa main island. I stayed one night in Nago and another night in Naha, the biggest city in Okinawa. The above picture was taken in front of Bankoku shinryokan.
---***---

Friday, January 4, 2008

Happy New Year 2008


We celebrated new year 2008 four days (Dec.31-Jan.3); fully occupied with full entertainment and enjoyment.