Showing posts with label C. visit (भ्रमण). Show all posts
Showing posts with label C. visit (भ्रमण). Show all posts

Sunday, March 22, 2020

मास्कको प्रभावकारी प्रयोग

***मास्कको प्रभावकारी प्रयोग***
आफ्नो नजिकै रहेको संक्रमित व्यक्तिले बोल्दा वा हाछ्युँ गर्दा भाइरस मिसिएको थुक वा सिँगानका छिटाहरु (droplets) हावाका माध्यमबाट १ देखि २ मिटरसम्मको दुरीमा फैलिएर जान सक्छन् रे। त्यस्तो बेलामा अगाडि रहेको मानिसले मास्क लगाएको छ भने भाइरसलाई आफ्नो शरीरमा प्रवेश गर्नबाट रोक्न सकिन्छ। तर मास्कलाई प्रभावकारी तरिकाले प्रयोग गर्न सकिएन भने मास्क नै भाइरसको श्रोत पनि हुनसक्छ। मास्कको प्रभावकारिता बढाउनका लागि निम्न कुराहरूमा ध्यान दिनु पर्दछ।
१) मास्कलाई मिलाएर लगाउनु पर्छ ताकि मास्कबाट छानिएको हावामात्र फोक्सोमा पुगोस्।
२) मास्क एकपटक मिलाएर लगाएपछि पटक पटक हातले छोएर मिलाउने गर्नु हुदैन। यसो गर्दा हातमा टाँसिएका भाइरस मास्कमा टाँसिन पुगी स्वासप्रश्वासका क्रममा शरीरभित्र जान सक्छन्। अथवा मास्कको बाहिरी सतहमा रहेका भाइरस आफ्नो हातभरि फैलिन पनि सक्छन्।
३) एक पटक लगाएर खोलेको डिस्पोजेबल मास्क पुनः प्रयोग गर्नु हुँदैन। साथै मास्कलाई ओल्टाई पल्टाइ गरेर पटकपटक प्रयोग गर्नु पनि हुदैन। यसो गर्दा पहिलो पटक लगाउँदा बाहिरपट्टी परेको भाग अर्को पटक लगाउँदा भित्रपट्टी पर्न गई मास्कमा टाँसिएका किटाणु सबै फोक्सोमा पुग्न सक्छन्।
४) मास्क खोलेर नछोइने ठाउँमा रहेको फोहर राख्ने ठाउँमा फ्याल्नु पर्छ। मास्क खोलेर डाइनिङ टेबल वा घरभित्रको धेरै छुइने ठाउँमा कदापि राख्नु हुँदैन।
५) मास्क खोलेपछि साबुनपानीले हात राम्ररी धुनुपर्छ। त्यसपछि अनुहार पनि साबुनपानीले राम्ररी धुनुपर्छ। यसो गर्दा मास्क छुदा हातमा टाँसिएर रहेको वा अनुहारमा टाँसिएका भाइरस पखालिन्छन् र संक्रमणबाट बच्न सकिन्छ।
६) जोसुकैले जुनसुकै ठाउँ वा अवस्थामा मास्क लगाउन जरुरी छैन। निम्न ठाउँ र अवस्थामा मास्क लगाउनु पर्दछ।
क) संक्रमित व्यक्तिहरु रहन सक्ने सम्भावना भएको भिडभाडका ठाउँहरू जस्तै खचाखच भरिएका सार्वजनिक यातायातका साधनहरु, सिनेमा हलजस्ता बन्द कोठा या हलहरु र भिड लाग्ने बजारहरु।
ख) संक्रमित व्यक्तिको स्याहारसुसार गर्ने ठाउँ, जस्तै अस्पताल वा संक्रमित परिवारका सदस्य भएको घर आदिमा रहने व्यक्तिले मास्क लगाउनु पर्छ।
ग) आफ्नो वरपर संक्रमणको बिगबिगी भएको बेलामा शारीरिक रुपमा कमजोर, अशक्त, बुढाबुढी तथा दीर्घ रोगीलाई भेट्न जाँदा मास्क लगाउनु पर्छ। वयस्क, निरोगी मान्छेहरुमा बिरामीको लक्षण नदेखिए पनि उनीहरू भित्रभित्रै भाइरसबाट संक्रमित भएको हुन सक्छन् रे। यस्ता तन्दुरुस्त व्यक्तिबाट शारीरिक रुपमा कमजोर व्यक्तिमा भाइरस नसरोस् भन्ने हेतुले मास्क लगाउनु पर्छ।
घ) आफू संक्रमित भएको आशंका लागेमा सार्वजनिक ठाउँमा रहेको अवस्थामा अवश्य मास्कको प्रयोग गर्नु पर्दछ। साथै आफूबाट अरुमा संक्रमण नहोस् भन्ने सामाजिक उत्तरदायित्व पालना गर्दै सकेसम्म आफुले वरपरका कुनैपनि वस्तुलाई छुनु हुँदैन।
७) स्वस्थ मानिसले निम्न अवस्थामा मास्कको प्रयोग नगरे पनि हुन्छ।
क) खुला ठाउँमा जस्तै पार्क, भिड नभएको बाटो आदि ठाउँमा हिडडुल गर्दा।
ख) संक्रमित परिवारका सदस्य नभएको घरभित्र रहदा।
८) भाइरसबाट बच्नका लागि लगाउने मास्क र काठमाडौंको धुलोबाट वा जापानमा पराग कणको एलर्जी (अर्थात् काफुन्शो) बाट बच्नका लागि लगाउने मास्कको प्रयोग विधिमा फरक छ। धुलो वा पराग कणबाट बच्नका लागि प्रयोग गरेको मास्कमा छुदा संक्रमणको डर हुदैन। ती मास्कले बाहिर खुल्ला ठाउँमा उडेको धुलो वा पराग कणलाई रोकेर राखे पुग्छ। तर भाइरसबाट जोगिनका लागि प्रयोग गरिने मास्कको प्रयोग पश्चात पनि यथोचित व्यवस्था गर्न सकिएन भने मास्क नै भाइरसको गुड भई संक्रमण गराउने खतरा रहिरहन्छ।
९) स्मरण रहोस्, हावाका माध्यमबाट नाक हुदै हाम्रो शरीरमा प्रवेश गर्ने भन्दापनि हाम्रो हातको माध्यमबाट भाइरस हाम्रो शरीरमा प्रवेश गर्ने सम्भावना बढी हुन्छ। संक्रमित व्यक्तिहरुको हातमा भाइरस टासिएको हुनसक्छ। ती व्यक्तिहरूले जुन बस्तु छुन्छन्, त्यहीँ भाइरस टाँसिन्छ रे। स्टील, फलामजस्ता चीसा वस्तुमा भाइरस केही दिनसम्म बाँच्छन् भने कपडा वा सुख्खा वस्तुमा केही घण्टासम्म बाँच्न सक्छन् रे। पछि ती ठाउँहरूमा स्वस्थ व्यक्तिका हातले छुनपुग्दा भाइरसहरु स्वस्थ व्यक्तिका हातमा पनि टाँसिन पुग्दछन्। र ती हातले मुख छुने, नाक कोट्याउने, आँखा मिच्ने गरियो भने भाइरस शरीर भित्र प्रवेश गरेर संक्रमण गर्दछन्। त्यसैले हातको माध्यमबाट भाइरस सर्नबाट जोगिनका लागि बारम्बार हात धुने, बाहिरका वस्तुहरु सकेसम्म नछुने, हरेक पटक बाहिर गएर घर फर्कने बित्तिकै घरमा कुनै पनि वस्तु नछोई साबुन पानीले १-२ मिनेटसम्म हातका औंलाका काप, नङ्ग, नारीसम्म मिचीमिची धुने, र मुख, नाक, कान, आँखामा हात पटक्कै नलैजाने बानी बसाल्नु पर्छ।
(जनस्वास्थ्य सम्बन्धित जानकारी)

Tuesday, December 16, 2008

हिरोशिमा भ्रमण

२०६५ साल मंसिर २६-२९
2008 December 11-14
----------------------

यो जाडोको मौषममा हामी स-परिवार हिरोशिमा घुम्न गयौं । टोकियोबाट डिसेम्बर ११ तारिक बिहान १०:३० को सुपरएक्सप्रेस सिन्कान्सेन रेल चढेर चार घण्टामा ९०० किलोमिटर जतिको दूरी पारगरी हामी दिउसो २:३० बजेतिर हिरोशिमा स्टेशनमा ओर्लन्छौ । स्टेशन अगाडिको खुला चौकमा छोरीहरूको केही फोटो खिची होटेल तिर लाग्दछौ । स्टेशनबाट हिडेर तीन-चार मिनेट जतिमा होटेल हिरोदेन पुगिन्छ । चेक-इन गरी हामी ९औं तलाको ५९३२ नम्बर कोठामा तीन रातका लागि बास बस्न जान्छौ ।

केहिबेर आराम गरी हामी हिरोशिमा क्यास्सल हेर्न भनि बाहिर निस्कन्छौ । होटेलबाट पश्चिम तर्फ १५-२० मिनेट हिड्दा क्यास्सल पुगिन्छ । बाहिरी बनावट कालो काठको भएको क्यास्सलमा बेलुकाको घाम पर्दा गेरूजस्तो रातो रंगको देखिदो रहेछ । क्यास्सल पुग्नुभन्दा पहिले पुराना रूखको बगौचा छ, जस्को वरिपरि पोखरीले घेरिएको छ । हामी पूर्वको गेटबाट प्रवेश गरी बगैचा हुदै उत्तर-पश्चिम कुनामा अबस्थित क्यास्सलमा पुगी केहि फोटा खिच्छौ । दक्षिण-पश्चिमको गेटबाट बाहिर निस्कनका लागि हिड्दा क्यास्सल परिसर भित्र रहेको कलात्मक जिन्जा (मन्दिर) पनि हेर्यौ । बाहिर निस्कने गेट निकै कलात्मक थियो । क्यास्सलको मूख्यद्वार त्यहि रहेछ, हामी पछाडि पट्टीको सानो गेटबाट प्रवेश गरेका रहेछौ । बाहिर निस्केर हामी त्यो गेटको र अगाडि पट्टीको खुला चौकमा रहेका मानवमूर्ति र पानी फोहोराको वरपर केहिबेर बरालियौ । त्यो खुला चौकबाट पनि क्यास्सल खुब राम्रो देखिदो रहेछ । क्यास्सल हरेर हामी हिरोशिमा बजारतिर लाग्छौ । केहिबेर बजार घुमी ७:३० तिर होटेल फर्की खाना खान्छौ ।

भोलि पल्ट बिहान मेरो हिरोशिमा सिटी युनिभर्सिटीमा एउटा प्रेजन्टेशन थियो । त्यसको लागि बिहान ८:१५ तिर होटेलबाट निस्की, रेल चढी एक स्टेशन परको योकोगावा भन्ने ठाउमा ओर्लिएर बस चढी २० मिनेट जतिमा त्यो युनिभर्सिटी गेट अगाडि ओर्लिए । बस स्टपबाट युनिभर्सिटी भित्र प्रवेश गर्दागर्दै बायापट्टीको भवनमा मैले प्रेजेन्टेशन गर्ने मिटिंग रहेछ । मिटिङमा दुई घण्टाजति सहभागी भएर म ११ बजेतिर त्यहाबाट निस्की, होटेल फर्कदा १२ जति बजेको थियो ।

हामी सबैजनाले नजिकैको फुकुया भन्ने डिपार्टमन्ट स्टोरको ११औं तलामा रहेको रेस्टुरेण्टमा खाना खायौ । त्यस पश्चात हामी हिरोशिमा सहरको 組生通り भन्ने मूख्य सडक हुदै आणविक बम डोम र शान्ति स्मारक पार्क हेर्न गयौं । सन् १९४५ अगस्ट ६ तारिक बिहान ८:१५ बजे अमेरिकी वायुसेनाले खसालेको आणविक बमले हिरोशिमा सहर सबै खरानीमा परिणत भएको थियो । त्यहाको संग्राहलयमा देखाइए अनुसार आणविक बम प्रहार पश्चात हिरोशिमामा जम्मा तीन-चार वटा पक्की भवनमात्र ठडिएको अबस्थामा थिए भने बाँकी सबै घरहरू खरानी भई माटोमा मिलेका थिए । त्यहि ठडिएको अबस्थामा रहेको तत्कालिन ब्यापारिक प्रदर्शन भवन (Hiroshima Prefectural Commercial Exhibition Hall) को भग्नावशेषलाई संरक्षण गरी आणविक बम डोम नामाकरण गरिएको छ । त्यो डोमको पश्चिम तर्फ खोला छ । चेक गणतन्त्रका आर्किटेक्ट जेन लेत्जेलले डिजाइन गरेर सन् १९१५ मा बनेको सो भवनको मुख भने नजिकैबाट बग्ने खोला (पश्चिम दिशा) तिर फर्केको छ ।
डोम हेरेर हामी खोला पारीको शान्ति स्मारक पार्क तिर लाग्छौ । त्यो पार्कभित्र बमले मारिएका केटाकेटीको नाममा समर्पित स्मारक, शान्तिको लागि आव्हान गर्ने घण्टी आदि छन् । पार्कको दक्षिणी भागमा संग्राहलय छ । त्यो संग्राहलयमा आणबिक बम कसरी बनाइयो, बनाउन को को संलग्न थिए, किन जापानमा खसालियो, त्यसले जनधनमा कस्तो क्षति पुर्यायो जस्ता सामग्रीहरू प्रदर्शन गरिएका छन् । मानिसहरू जलेर कस्तो अबस्थामा थिए, घरको छानाका टायल, खाना खाने प्लेट, शिशा, केटाकेटीका खेलौना पग्लेर कस्तो रूपमा परिवर्तन भएका थिए आदि आदि मन रुवाउने दु:खी क्षणको स्मरण गराउने सामग्री छन् त्यहा ।

हामी संग्राहलय हेरेर पार्कमा बसी छोरीहरूलाई खाजा खुवाएर हिरोशिमा सहरतिर लाग्छौ । दुबै छेउमा पसलहरू र बिचको बाटोमा पनि छाना भएको लामो सपिंग आर्केट हेर्दै पूर्वतिर लाग्छौ । हेर्दाहेर्दै केहिबेरमा नै झमक्क साँझ पर्छ । अनि हामी दिउँसो खाना खाएको फुकुया डिपार्टमेन्ट स्टोरको रेस्टुरेण्टमा नै बेलुकाको पनि खाना खाई होटेल फर्कन्छौ ।

भोलिपल्ट हामी मियाजिमा जाने भयौ । खाजा खाएर हामी १० बजे तिर होटलबाट निस्केर हिरोशिमा स्टेशनतिर लाग्छौ । १०:३० बजेतिरको रेल चढी पश्तिमतिर २५ मिनेट गएपछि मियाजिमागुची भन्ने स्टेशनमा ओर्लियौं । स्टेशनबाट पूर्वतिर ५ मिनेटजति हिडेपछि मियाजिमा जाने डुंगा (फेरी) चढ्ने ठाउ आउछ । हामी त्यहा पुग्दापुग्दै एउटा डुंगा हिंडो । १५-१५ मिनेटमा डुंगा चल्दा रहेछन् । त्यो पनि दुई ठाउँबाट, भिन्दा भिन्दै कम्पनीको । हामी जेआर (रेल सेवा)को डुंगा चढी मियाजिमा टापुतिर लाग्छौ । अलि पर पुगेपछि मियाजिमाको प्रसिद्ध इचुकुसिमा जिन्जाको समुन्द्रको पानी माथि बनाइएको रातो रंगको गेट देखिन थाल्दछ । मानिसहरू धमाधम फोटो खिच्छन् । केहिबेरमा नै डुंगा तटमा पुग्छ र हामी सबै ओर्लन्छौ ।

मियाजिमा टापुको अधिकांश भुभाग पहाड हो । पश्चिमी तटको केहि सम्म भागमा स-सानो बजार छ, पर्यटकका लागि उपहारका सामान र खानेकुरा बेच्ने । हामी तटैतट केहि दक्षिणतिर हिड्दा १० मिनेटजतिमा इचुकुसिमा जिन्जा देखिन थाल्छ । बाटामा जताततै मृग घुमिरहेका हुन्छन् । त्यो जिन्जाको गेट समुन्दको पानी माथि छ, भने जिन्जाका घरहरू (मन्दिर) पनि अलिअलि पानी माथि नै छन् । मन्दिर रातो रंगमा काठैकाठले बनेको छ । छाना भने खरले छाएको छ । समुन्द्र किनारमा भुईं टाँढे मन्दिर निकै पराकिलो छ । विश्व सम्पदा सुचीमा परेको त्यो मन्दिर भित्र हामीले निकै फोटा खिच्यौ ।

जिन्जा हेरिसकेर नजिकैको रेस्टुरण्टमा हामीले खाना खायौ । अनि "मिसेन" भन्ने पहाड चढ्नलाई हामी रोपवे (केबुलकार) को स्टेशनतिर लाग्यौ । त्यो स्टेशन निकै माथि पहाडमा रहेछ, हिडेर जादा १०-१५ मिनेट जति लाग्दछ होला । तर हामी तलबाट एउटा सटल बस चढी त्यहा गयौं । रोपवे चढ्ने मान्छेको निकै भिड थियो । हामीले टिकट (एक जनाको १८०० येन) काटी लाइनमा १०-१५ मिनेट कुरे पछि मात्र चढ्ने पालो आयो । हामी सहित टोकियो नजिकैको कामाकुरा भन्ने ठाउमा बस्ने बुढाबुढीको एक जोडी एउटा डब्बामा चढ्यौ । केहिबेरमा नै हामी रूखका टुप्पा भन्दा पनि माथि माथिबाट हुइकिन थाल्यौ । परपर समुन्द्र माझमा देखिने स-साना थुम्कामो फोटो खिच्दै जादा १५ मिनेटजतिमा हामी एउटा थुम्कोमा पुग्छौं । त्यहा ओर्लेर एक मिनेट जति उकालो उक्लेर हामी अर्को केबुलकारमा चढ्न गयौ । अब चढ्ने डब्बा अघि चढेको भन्दा तीन गुनाजति ठूलो रहेछ । निकै मान्छे चढे त्यो डब्बामा । हामी तीन-चार मिनेट जतिमा अर्को थुम्कोको स्टेशनमा पुगेर ओर्लयौ । स्टेशनको घरबाट बहिर निस्कने बित्तिकै बायापट्टी ठूलाठूला ढुंगाको थुम्को रहेछ, जहाबाट तल समुन्द्र र पारी पट्टी हिरोशिमा सहर प्रस्ट देखिदो रहेछ । हामीले त्यो थुम्कामा निकै फोटा खिच्यौं । त्यहा रातो मुख भएका बाँदर पनि हुदा रहेछन । त्यहाबाट अझै ३० मिनेटजति हिडेमा त्यो पहाड (भन्न त "मिसेन" माउन्टेन भनिन्छ, उचाई भने ५३० मिटर हो) को टुप्पामा पुगिन्छ रे । टुप्पातिर जाने बाटोमा बुद्धका पुराना मन्दिर छन रे । हामी पनि नजिकै मन्दिरहरू छन् कि भनि केहि बेर हिड्यौ, तर केटाकेटीसँग हिडेर पहाडको टुप्पोसम्म पुग्दापुग्दै रात पर्ने लागेर बिच बाटोबाटै फर्कयौं ।

फर्केर रोपवे चढेर तल तटमा झर्यौ । त्यसबेला त्यो इचुकुसिमा जिन्जा वरपरको पानी त हराइ सकेको रहेछ । केहि घण्टा पहिले हेर्दा जिन्जाको त्यो रातो गेट पानी माथि समुन्द्रमा देखिएको थियो, अहिले त त्यो गेट भएको ठाउमा पानी सुकिसकेको रहेछ । बेलुका भएपछि समुन्द्रको पानीको सतह घटेर त्यो गेट वरपर पानी हुदैनरहेछ । हामीले पानी नहुदाको गेटको छेउसम्म गई फोटा खिच्यौ ।

बेलुका झिसमिस साँझ परिसकेको थियो, हामी डुंगा चढ्ने ठाउँ सम्म फर्कदा खेरी । डुंगा चढेर मियाजिमागुची स्टेशन आई त्यहाबाट रेल चढेर हामी हिरोशिमा स्टेशन फर्क्यौ । हिरोशिमा स्टेशनको घर निकै ठूलो छ । हामीले त्यसको तेश्रो तला रहेको रेस्टुरण्टमा खाना खायौ र होटेल तिर लाग्यौ ।

भोलि पल्ट बिहान खाजा खाएर टोकियो फर्कने तयारी गर्न थाल्यौ । १०:३० बजेतिर होटेलबाट चेक आउट गरी हामी हिरोशिमा स्टेशनतिर आयौ । त्यहा केहि उपहारका सामग्रीहरू (जापानी भाषामा "ओमियागे") किन्यौ । १२:०६ मिनेटको सिन्कान्सेन रेल चढ्नु भन्दा अगाडि खाना खाने समय नहुनाले हामीले रेलभित्र खानेखालका केहि खानेकुरा पनि कियौं ।

रेल चढी, खानेकुरा खादै हामी चार घण्टा बिताएर टोकियो आइपुग्यौ । टोकियो स्टेशनबाट लोकल रेल चढी हाम्रो बासस्थान पुग्दा बेलुकाको ६ बजिसकेको थियो ।

यसरी हाम्रो हिरोशिमा यात्रा अति रमाईलो रह्यो । मौषमपनि न्यानो थियो, छोरीहरुपनि स्वस्थ्य रहे ।

----****----

Monday, September 15, 2008

स्वीजरल्याण्ड र फ्रान्सको पारिवारिक भ्रमण

Switzerland and France Tour
3-14 September 2008
२०६५ भदौ १८-२९ गते ।

जागिरको कामको शिलशिलामा ११ दिनको लागि स्वीजरल्याण्डको जेनेभा सहर जानु पर्दा यस पटक स-परिवार गइयो । सेप्टेम्बर ३ बुधबार बिहान ११:३० बजे टोकियोको नारिता विमानस्थलबाट उड्ने केएलएमको जहाजमा ११:५० घण्टा जति उडेर हामी नेदरल्याण्डको राजधानी आम्स्टरडाम स्थानिय समय अनुसार दिउँसोको ४:२० बजे पुग्यौं । केहि बेरको बिश्राम पश्चात ६:१५ बजे अर्को जहाज चढेर ७:४५ बजे जेनेभा पुग्दा झिसमिस साँझ परिसकेको थियो । बाहिर निस्कदा मुसल्धारे पानी परिरहेको थियो । केहि बेरको पर्खाई पश्चात २८ नम्बरको बस चढी हामी होटेलतिर लाग्यौं । करिब २० मिनेटजतिमा बसले जेनेभा सहरको उत्तरी भागमा अबस्थित बोटानिकल गार्डेन अगाडि पुर्यायो । त्यहाबाट हामी बस्ने होटेल (मोन रिपो) पैदल ५ मिनेटको दुरीमा पर्दछ । तर अध्याधिक पानी परिरहको हुनाले हामी बस स्टपको टहरोबाट बाहिर निस्कन समेत सकेनौ । केहि बेरको पर्खाईमा पनि पानी नरहेको हुनाले मैले होटेलमा फोन गरी ट्याक्सी पठाई दिन अनुरोध गरें । होटेलको स्टाफले निकैबेर प्रयास गर्दापनि ट्याक्सी फेला नपरेको हुनाले केहिबेर पर्खेर आउनुको बिकल्प नरहेको कुरा बताए । भाग्यबश त्यसको केहि बेरमा नै पानी रोकियो । हामी सुटकेट गुडाउदै होटेल आई चेकइन गर्यौ । हामीलाई पाचौं तलाको अपार्टमेन्ट नम्बर ७५० सम्म पुर्याएर होटेल स्टाफ फर्किए ।

अपार्टमेन्ट निकै फराकिलो थियो । बेडरूम, किचेन, बैठक, बाथरूम सहित ५ कोठा भएको अपार्टमेन्ट थियो । किचेन र बाथरूमको भुईमा टायल लगाएको थियो भने अन्य कोठाहरू र प्यासेजको भुईमा मुलायम कार्पेट बिछ्याइएको थियो । किचेनमा ३-४ जनाका लागि खाना पकाउन आबश्यक पर्ने भाडाकुडा, विद्युतिय चुल्हो, फ्रिज आदि थिए । बेडरूममा ओछ्यान सहितका दुई पलंग, टेबुल, कुर्सी र लुगा राख्ने ठूलो दराज थिए । बैठक कोठामा टी टेबुल, टिभी, दुई सोफा, स्टाण्ड लाइट आदि थिए । बैठक कोठा बाहिर बरण्डाबाट जेनेभाको विशाल ताल र त्यसको तटको बगैचाका मनोरम दृष्य देखिन्थे । हामी त्यो अपार्टमण्टमा १० रात बसी जेनेभामा बिभिन्न ठाउहरू घुम्यौ ।

जेनेभामा हामीले सहरका गल्ली गल्ली घुम्यौं । हामीले Bel-air shopping streetका सबै जस्तो पसल चहार्यौ होला, Gare Cornavin स्टेशनको छेउछाउमा बेलुका घुम्दा त्यहाका स्वीस घडिले सजाइएका गिफ्ट पसल सबै हेर्यौ होला । St. Pierre Cathedrale को भर्याङ्ग चढी गजुरसम्म पुगेर जेनेभा सहरको मनोरम दृष्यपान पनि गरियो । त्यहाबाट फर्किदा बाटामा केटाकेटी खेलाउने ठाउँमा नानी-सानीलाई चढाएर रमाइलो गर्यौ । Place Neuve को Bastion Park को द्वारको भुईमा चेसका ठूला ठूला गोटीहरू चलाई खेलेको चेस खेल पनि हेर्यौ । त्यहि छेउमा हुने विवाहको उत्सवको भिड पनि हाम्रोलागि अनौठो नै थियो । केटाकेटीले नजिकको चिप्लेटी पनि खेले । अलि पर रहेको जेनेभा विश्विविद्यालयको पुस्तकाल वरपरको बास्टिओन पार्कमा अरूले झै हामी पनि बसेर थकाई मार्दै वरपरको दृष्यको आनन्द लियौ । Plain de Plainpalais मा केटाकेटीको पिङ खेलेर हाम्री सानी यति खुसी भएकी थिइन् कि उनलाई पिङबाट ओराल्न हामीलाई मुस्किल परेको थियो । एक दिनले मात्र नपुगेर हामी दुई पटक त्यो पिङ खेल्ने ठाउमा गयौं । त्यहा वरपर स्केटिंग गर्दै गरेका कलिला केटाकेटीलाई देखेर हाम्री नानीलाई पनि त्यस्तै गरी स्केटिंग जान्ने हुन रहर जागेर आयो ।

Cornavin स्टेशनको दक्षिण तिर केहि बेर हिडेपछि पुगिने Manor department store मा त हामी बारम्बार गयौं । त्यहा हामीले जापान भन्दा निकै सस्तो पाइने ठूलाठूला दाना भएको हरियो अंगुर दुइतीन पटक किनेका थियौ । पानी सहितको नरिवल, स्याउ, तरकारी, दुध, चीज, आदि आदि सामग्री हामी त्यहि किन्थ्यौं । कोर्नाभानबाट एयरपोर्ट जाने बाटामा पर्ने Balexert department store पनि हामी एक पटक गयौं । त्यहापनि तरकारी, लुगाफाटा किनी सकेपछि केटाकेटी खेल्ने ठाउमा नानी र सानी धेरै रमाएर खेलेका थिए । नानीले मनपर्ने एउटा गुडिया पनि किनिन् ।

हामीले Geneva Lake मा डुंगा चढी दुईतीन पटक सैर गर्यौ । पहिलो पटकमा हामी Paquis भन्ने स्टेशनबाट डुंगा चढेर Jardin Anglais (English Garden) पु्ग्छौं जहा फूलबारी माथी घडि खुमिरहेको हुन्छ । त्यहा एक जोरी केटीको अग्लो शालिक पनि छ । त्यहाबाट जेनेभा ताल र त्यसमाथिको ३०० मिटरजति अग्लो पानीको फोहराको दृष्य खुब राम्रो देखिन्छ । हामी दोश्रो पटक डुंगा चढ्न हाम्रो होटेल अगाडिको पार्कलाई छिचोल्ने बित्तिकै आउने Perle du lac स्टेशन गयौ । त्यहाबाट डुंगा चढेर हामी तालको पूर्व तटको पार्कमा पुग्छौ । त्यो पार्क छेउको बाटो काटी अगाडि बढ्दा Eaux-Vives भन्ने अर्को ठूलो पार्कको द्वार आउछ । हामी त्यहाभित्र पसी गुलाबफूल अगाडि उभिएर निकै फोटा खिच्छौ ।

हामी जेनेभा तालको तटमा साँझपख हिडेर आनन्द लिन्थ्यौ । Mont-Blan street बाट हिड्दै उत्तरतर्फ लाग्दा दायातिर ताल र बायातिर कलात्मक घरहरूको लहर देखिन्छ । त्यो तटमा कोहि मानिस दौडिई रहेका हुन्छन् भने कोहि छेउको बेन्चमा बसेर तालतिर हेर्दै आनन्द लिइरहेका हुन्छन् । निकै बेर हिडेपछि Mon Repos park पुगिन्छ, जहाबाट हाम्रो होटेलसम्म हिडेर जादा १० मिनेटमात्र लाग्दछ । त्यो पार्क प्रवेश गर्ने ठाउमा पुग्नुभन्दा केहि पहिले विभिन्न देशमा खिचेका फोटाहरूको लहरै राखेको प्रदर्शन जस्तो थियो । फोटाको लहर सकिने बित्तिकै केहि कलात्मक शालिकहरू आउछन्, जहाँबाट त्यो पार्क फराकिलो हुदैजान्छ । पार्क भित्रपनि केटाकेटी खेल्ने ठाउ छ । वरपर धेरै प्रकारका फूल फूलेका हुन्छन् । एक ठाउमा पानीको फोहरा पनि छ ।

हाम्रो होटेलको नजिकै उत्तरतर्फको ठूलो बोटानिकल गार्डेन भित्रपनि हामी निकै रमायौ । संसारका बिभिन्न ठाउमा पाइने बनस्पतिको त्यो बगैचा निकै सुन्दर छ । हामीले नेपालको हिमाली भागमा पाइने स‍सानो बुथ्रो पनि देख्यौ । अफ्रिका तथा दक्षिण अमेरिकामा पाइने नागफेनी काडा देखि लिएर करेला, फर्सीमा बोट समेत थिए त्यहा । स-साना पोखरीमा उड्न सक्ने खालका हाँसहरू खेलिरेहेको पनि देखियो । त्यहा पनि केटाकेटी राखेर घुमाउने खेल्ने ठाउ थियो, तर हामी गएको बेला किन हो बन्द रहेछ ।

जेनेभा ताल टुंगिएको ठाउबाट Rhone river शुरु हुन्छ । नदिबाट तालको पानी निकै जोडले बगेको देखिन्छ । हामी रोन नदिको किनारमा पनि घुम्यौ । खोलाका माझमा बनाएका घरहरू, उत्तर पट्टीको तटमा घोडा चढेको मान्छेको कुममा चरा बसेको शालिक आदि ठाउमा फोटा खिच्यौ ।

जेनभामा धेरै अन्तराष्ट्रिय संस्थाको मुख्य कार्यालयहरू छन । संयुक्त राष्ट्र संघ (UNO) को युरोपियन हेडक्वाटर्स, विश्व स्वास्थ्य संघ (WHO), शरणार्थीको उच्च आयोग (UNHCR), अन्तराष्ट्रिय श्रमिक कार्यालय (ILO), अन्तराष्ट्रिय दूरसंचार संघ (ITU), रेसक्रसको मुख्य कार्यालय (ICR), विश्व ब्यपार संघ (WTO), अन्तराष्ट्रिय बसाइसराइ संघ (IMO) आदि आदि छन् । हामीले यो सबै संस्थाको फोटो खिचेकाछौ । मुख्यत: संयुक्त राष्ट्र संघ परिसरको अगाडि निकै फराकिलो चोक छ, जहा पानीको फोहोरा र काठको एउटा ठूलो कुर्सी छ, जसको अगाडिको एउटा खुट्टा बिच भागबाट भाचिएको छ । त्यो कुर्सीले जमिनमुनी बिछ्याइएको बिस्पोटक पदार्थ पट्कदाका बखत मानव अंगमा हुने क्षतिको प्रतिबिम्ब गर्दै त्यसरी जमिनमुनी बिस्पोटक पदार्थ नओछ्याउन आह्वान गर्दोरहेछ । हाम्रा नानी र सानी त्यो चौकमा खेल्न खुब मन पराउछन् । पानीको फोहोरा कुनैबेला सानो भई जमिनको सतहबाट माथि नउठ्ने खालको हुन्छ भने कुनै बेला जोडले ३-४ मिटर माथिसम्म पुग्दछ । नानीले फोहरा सानो भएको बेला त्यससंग खेल्न नजिकै जाने र ठूलो हुनथाले पछि भिज्नबाट जोगिन टाढा भाग्ने गर्दै निकैबेर खेलिन् । हाम्रो होटेलबाट यी अन्तराष्ट्रिय संस्थाहरू नजिकै हुनाले हामी त्यो चौकमा दुई तीन पटक गएर घुमेका थियौ ।
जेनभा बसाईको क्रमको अन्ततिरको विहिबार हामी Bel-air shopping street तिर किनमेल गर्ने भनि गयौ । तर त्यो दिन स्वीजरल्याण्डमा बिदाको दिन रहेछ, हामीलाई थाहाथिएन । बिदाको दिनमा पनि अन्तराष्ट्रिय संस्थाको मिटिंग भने चलिरहदोरहेछ । त्यस दिन म बिहान मिटिंगमा भागलिई दिउँसोको फुर्सदको समयमा सपिंगका लागि हिडेको थिए । हामी बेलएयर पुग्दा पो थाहापाइयो, त्यस दिन स्वीजरल्याण्डमा बिदा रहेछ, र सबै पसल बन्दहुदा रहेछन् । जापानमा सधै बेलुका ९ बजे भन्दा ढिलो पसलहरू खुल्ने ठाउको बानीपरेर होला हामीलाई बिदाको दिन पसलहरू बन्द भएर अरूबेला निकै भिडभाड हुने सडकपनि सुनसान अबस्थामा देख्दा कताकता खल्लो लाग्ने बानी परिसकेको रहेछ । अरू त अरू तरकारी लगायतका किराना सामान बेच्ने पसलपनि बन्द थिए । तर अर्को रमाईलो कुरा के हुन्छ भने युरोपमा बाटोबाट देखिने पसलको भागमा पारदर्शी शिशाका झ्यालढोका हुन्छन्, जुन बन्दरेहको अबस्थामा पनि सडकबाट पसल भित्र सजाएर राखिएका सबै सामान प्रष्ट देखिन्छन् । बाहिरबाट भित्रका समान राम्ररी देखियोस् भन्ने हेतुले पसलभित्र बत्ती बालेर छाडिएकोहुन्छ । यसरी सजाएर राखिएका समानले सहरको शोभा बढाउदोरहेछ । हामी जस्ता प्रयटकका लागि नयाँ ठाउका सडकतिर भौतारिदा ती पसल भित्रका समानले भएपनि स्वागत गरेको महसुस हुदोरहेछ ।

शनिबार र आइतबार दुईदिन हामी पेरिस घुम्न गयौ । शनिबार बिहानै ७:१७ बजे फान्सको सुपर फास्ट (TGV) रेल चढेर ३:३२ घण्टामा हामीले ५०० किलोमिटर जतिको दुरीपार गरी पेरिसको Gare de Lyon Station पुग्छौ । त्यो स्टेशनको वरपरका घरहरू निकै कलात्मक छन् । तिनै घरहरू हेर्दै हामी Boulevard Diderot सडकतिर केहि बेर बरालियौ । अलि पर पुगेपछि लाइन नम्बर १ को जमिनमुनी चल्ने रेल समातेर दुई स्टेशन टाढाको Porte de Vincennes भन्ने स्टेशनमा ओर्लियौ । स्टेशनबाट बाहिर निस्कने बित्तिकै पूर्वतिर अबस्थित होटेल टर्मिनस नेशनमा हाम्रो त्यस दिनको बास थियो । हामी होटेलमा पुग्दा दिउँसोको १२ बज्न लागेको थियो । कोठाको सरसफाई भइरहेको हुनाले केहि बेर पर्खेर हामीले ५औं तलाको कोठा पायौ । नानी-सानीलाई खाना खुवाई केहि बेरको आराम पश्चात हामी घुम्न निस्क्यौ । आइफल टावर र वरपरका दृष्य हेर्नजान रेल चढ्यौ । बाटामा दुई पटक जस्तो रेल फेर्नु पर्दछ । त्यहाको सबवे बाट RER भन्ने लाइनमा जादा सानीको बच्चाकार सजिलै नछिर्ने हुदा ठाउँठाउँमा बोक्नु परेको थियो । RER B लाइनबाट हामी टावर छेउको Champ de Mars स्टेशनमा ओर्लियौ जहाबाट सेनखोलाको तीरै तीर हिडेर आपफलटावर पु्ग्न ५ मिनेट जति लाग्दछ ।

टावरको वरपरको फोटो खिची टावर चढ्न भनी लाइन लाग्यौ । सेन खोलातिरका दुई पिलरबाट टावर चढ्ने ढोका छन् । हामी जादा ति दुवैतिर मानिसको भिड छ, जता गएपनि भित्र प्रवेश गर्न ३० मिनेटभन्दा बढि बाहिर कुर्नुपर्ने देखिन्छ । हामी पूर्वतिरको द्वार अगाडि लाइनमा उभिन पुग्छौ । केहिबेर लाइनमा बसेपछि सुरक्षा जाँचगर्ने ठाउमा पुग्यौं । झोलाहरू चेक गरी त्यहाबाट अगाडि बढेपछि पनि २० मिनेटजति लाइनमा उभिए पछिमात्र टावर भित्र प्रवेश पाइयो । त्यहा केहिबेर पर्खेर एलिभेटर चढी हामी माथि उक्लन थाल्छौ । एलिभेटर माथि उक्लदै जादा सेन खोलातिरको दृष्य राम्ररी देखिनथाल्दछ । केहिबेरमा नै टावरको पहिलोतला पुगिन्छ । हामी पहिलो तलामा नओर्ली दोश्रो तलामा पुगेर ओर्ल्यौ । आईफल टावरमा तीन तला छन् । तर हामी त्यहा गएको बेला तेश्रोतला जान निषेध गरिएको थियो । त्यसैले हामी दोश्रो तलाबाट नै पेरिस सहर वरपरको दृष्यहरू क्यामेरामा कैद गर्नथाल्यौ । छोरीहरुको निकै फोटा खिच्यौ । हावा जोडले चलेको थियो, हामीलाई टावरको पश्चिमतर्फ गई फोटोखिच्न धौधै पेरको थियो । टावरबाट सेन नदि पारीको Palais de Chaillot तिरको दृष्य, दक्षिणतिरको Champs de Mars पार्कको दृष्य साह्रै राम्रो देखिन्छ । करीब ३० मिनेटजति आइफल टावरमाथिबाट पेरिस सहरको अवलोकन गरी हामी एलिभेटर चढी तल ओर्लियौ । टावरबाट बाहिर निस्कने ढोकाको छेउमा बसी नानी-सानीलाई खाजा खुवाउदै वरपरको दृष्यावलोकन साथै केहि फोटा खिच्न लाग्यौ । नानीले सेननदिको किनारको बाटोको छेउमा एउटा आइसक्रिम किनेर खाइन् । चिसो हावा चल्दै हुनाले चिसो खानेकुरा खादा घाँटी दुख्नसक्ने सम्भावना हुदाहुदै पनि युरोप भ्रमण रमाइलो गर्न गएकोले मनलागेको खानेकुरा खाई रमाउनदिनु पर्छ भन्ने मान्यता बमोजिम मैले उनलाई आइसक्रिम किनिदिएँ । उनले मिठो स्वादमा आईसक्रिम खाएको देखेर हामीलाई आफैले धेरै मिठो खानेकुरा खादाकोभन्दा बढि आनन्द महसुस भयो ।

केहिबेर पश्चात हामी सेनखोलाको सुन्दर पुल तरेर उत्तरतर्फ लाग्छौं, ठूलो चौक भएको Palais de Chaillot जान । १० मिनेट जति हिडेपछि हामी त्यो चौक पुग्छौं । त्यहाँ केहि केटाकेटीले म्युजिकमा डान्स गरिरहेका थिए । हामीले त्यो चौकबाट आइफल टावरको र वरपरको दृष्यको फोटा खिच्यौं । नानी-सानी त्यहा केहिबेर खेल्छन् । फराकिलो ठाउ भएकोले उनीहरूलाई रमाएर उफ्रनलाई कुनै बाधा थिएन । हामीले त्यहा वरपरको धेरै फोटा खिची सेननदि तिर फर्केर नदिको किनारको पार्कमा बसेर खाजाखान्छौ । त्यो पार्कमा पनि हाम्रा छोरीहरू रमाएर उफ्रिन्छन् ।

त्यसपछि सेन खोलाको दक्षिणी तीरै तीर हामी पूर्व लाग्छौ । खोला वरपरका रमझम हेर्दै झण्डै ३० मिनेटजति हिडेपछि हामी एलेक्जान्डर पुल पुग्छौ । एलेक्जान्डर पुल सन १९०० तिर बनाइएको निकै कलात्मक पुल हो । पुलको चारै सुरमा अग्ला पिलरमा सुनौला बाइपङ्खी घोडाहरू छन् भने पुलको दुबै पट्टीको बारमा कालारंगका कलात्मक मूर्तिहरू छन । पुलको पेटी पनि निकै फराकिलो छ । पर्यटकहरूले त त्यो पुलमा आफूलाई उभ्याएर फोटो खिच्ने नै भए, स्थानिय मानिसले पनि वैवाहिक समारोहको बेला त्यहा गई फोटा खिच्दारहेछन् । हामी त्यहा घुम्दाखेरी पनि विवाहको पहिरनमा एक जोडीको फोटो खिचिदैथियो ।

अलेक्जान्डर फुलबाट सेननदि तरेर उत्तरतिर जाने बित्तिकै Winston Churchill सडकको बायाँ Grand Palais र दायाँ Elysees Museum आउछन् । बायाँ तिर पेरिस विश्वविद्यालयको संग्राहलयपनि रहेछ । दायाँबायाँ दुवैतिरका भवनहरू निकै कलात्मक छन् । हामी ति दुबैतिरका निकै फोटा खिच्दै केहि उत्तर लागेपछि फराकिलो चौकको माझमा एउटा शालिक भएको Champs Elysees स्टेशनमा पुग्छौ । त्यहा पुग्दा झण्डै साँझ पर्न लागेकोहुन्छ । हामी वरपरको केहि फोटा खिचेर लाईन नम्बर १ को रेल समातेर बासस्थानतिर लाग्छौ । होटेल पुग्नुभन्दा एक स्टेशन पहिले नेशन भन्ने ठाउमा रेलबाट ओर्लन्छौ । दशवटा बाटोको संगम भएको त्यो ठाउको माझमा केहि शालिकहरू छन् । हामी त्यहा वरपर घुम्दा पानी छिट्याउन लागेजस्तो थियो, तर केहि बेरमा नै रोकियो । त्यहाबाट पूर्व लाग्ने फराकिलो Vincennes सडक हुदै केहिबेर हिडेपछि एउटा रस्टुरेण्टमा पसी खाना खाएर हिड्दै होटेल पुग्दा ७:३० बजिसकेको थियो । त्यसदिन सानीको पहिलो जन्मदिन परेकोथियो, बाटामा कतै केकपसल पाइन्छ कि भनि हेर्दैगयौं । युरोप न पर्यो, ६ बजेपछि प्राय: जसो सबै पसल बन्दहुने ठाउँ, हामीले केक किन्न पाएनौं । अनि स्वीजरल्याण्ड फर्केपछि केक खाउँलाभन्दै उधारो बर्थडे मनायौं ।

भोलिपल्ट बिहान ८:०० बजेतिर होटेलमा खाजा खाई ९:४५ बजेतिर होटेल छोड्यौं । रेल चढेर Lyon स्टेशनसम्म आई सुटकेसलाई त्यहाको लकरमा राखी वरपरको फोटा खिच्दै सेननदि पारगरेर बोटानिकल गार्डेन गयौ । त्यहाका बनस्पतिको अवलोकन पश्चात हामी पुन: सेननदिको तिरमा फर्कियौ । सेननदिमा बिभिन्न प्रकारका डुंगा चढी पेरिस सहरको परिक्रमा गर्न सकिन्छ । हामी ‘बाटोबस’ भन्ने डंगा चढी पेरिस घुम्नका लागि बाह्र युरोको टिकट (दिनभरि प्रयोग गर्न मिल्ने) किनेर केहिबेर पर्खेपछि आएको पहेलो रंगको डुंगामा चढेर पश्चिमतिर लाग्छौ । डुंगा एकदुई ठाउँमा रोकिदै तीस मिनेटजतिमा लुवर संग्राहलय नजिकै रोकिन्छ, जहा हामी ओर्लन्छौ ।

लुवर संग्राहलय जति ठूलो संग्राहलय सायद संसारमा अर्को छैन होला । हामी दक्षिणतिरको Porte des Lions गेटबाट प्रवेशगर्यौ । हरेक महिनाको पहिलो आइतबार लुवर संग्राहलयभित्र नि:शुल्क प्रवेश पाइदोरहेछ । संयोगले हामी पनि सेप्टेम्बर महिनाको पहिलो आइतबार नै त्यहा पुगेछौ । दुइजनाको गरि अठार युरो तिर्नु परेन छ । प्रवेश गर्ने बित्तिकै हामी दोश्रोतला तिर लाग्यौ । त्यहा १८औं शताब्दीका इटलीका कलाकारले कोरेका चित्रको प्रदर्शनी रहेछ । फराकिला धेरै कोठामा यति धेरै चित्र राखिएका छन् कि, नियालेर एकएक गरि हेर्ने हो भने त्यहा राखेका चित्रहरूमात्र हेर्न दुई-तीन दिन धाउनु पर्छहोला । हामी केहि चित्रहरूको फोटो खिची फटाफट हिडेर मोनालिसाको फोटो राखेको कोठातिर लम्कन्छौ । निकैबेर एकै ठाउमा उभिदा हाम्रा केटाकेटीलाई पट्यार लाग्नेहुदा हामी संग्राहलय घुम्दा पनि निकै चलायमान भइरहनु पर्दछ । केटाकेटीलाई ति ऐतिहासिक चित्रको के मतलब, प्रवेश गरेको केहिबेर रंगीचंगी वातावरणमा रमाएपनि त्यसपछि झर्कोलाग्दै जान्छ उनिहरुलाई । हामी निकैबेर हिडेपछि मोनालिसाको चित्र राखेको कोठामा पुग्छौ । त्यहा मानिसको भीड हुन्छ । मोनालिसाको चित्र अगाडि उभिएर फोटा खिच्नजानका लागि मानिसहरू लामबद्ध भई पर्खिरहेकाहुन्छ । मोनालिसाको फोटो सानो आकारको छ । लियोनार्दो दा भिन्चीले बनाएको त्यो सक्कली चित्र हामीले जताततै देख्ने मोनालिसाको नक्कली फोटो जस्तैजस्तै आकारको मात्र छ । त्यहि कोठामा राखेका अरू चित्रहरू विशाल छन् । कुनै कुनै त मान्छेको उचाई भन्दापनि ठूलो आकारका होलान् । तर पनि मोनालिसाको त्यो चित्र विश्व प्रख्यात् छ, अरु चित्रको हामीले नाम नै सुनेको छैनौं ।

मोनालिसको चित्र हेरे पश्चात हामी चित्रहेर्ने कामलाई त्यहि नै थाति राखी, नेपोलियन तेश्रोको ग्यालेरी तिर लाग्यौ । भित्ता र छत सबैतिर रंचीरंची चित्र सुनौला धातुका आकृतिमा कोरिएका ठूला ठूला कोठामा बिभिन्न प्रकारमा गहना, ताजको प्रदर्शनी गरिएको छ । हामी ति कोठाको सजावट हेरेर पुराना पुस्ताको कलात्मक सृजनाको भावनादेखि नै कदर नगरी रहनसकेनौ । त्यस्ता सजावट भएको क्षेत्रपनि वृहत छन्, लुवर संग्राहल भित्र । तर समयाभावले गर्दा हामीले सबैतिर घुम्नजान पाएनौं ।

चित्रकलाको हेराई पश्चात हामी भुईं तलामा ओर्लेर केहि मूर्तिकला हेर्नतिर लाग्यौं । केटाकेटीलाई चित्रकलाभन्दा मूर्तिकलामा बढि चाख हुदोरहेछ । सेता रंगमा बिभिन्न मुद्राका ति मानव मूर्तिको आगाडि उभिएर फोटो खिचाउन भनि श्रेया यताउति दौडन्थिन् । हामीलाई पनि त्यति धेरै प्रकारका मानव आकृति एकै पटक देखेको सायद पहिलो क्षण भएर होला, निकै रमाइलो लाग्यो ।

घुम्दा घुम्दै १ बजिसकेको रहेछ । केटाकेटी भोकाए भनि हामी संग्राहलय भित्रको रमाइला दृष्यको अवलोकनलाई टुंग्याएर पिरामिडतिरबाट बाहिर निस्क्यौ । वरिपरि संग्राहलयको भबनै भवनको बिचमा ठूलो चौक भएको ठाउमा शिशाको पिरामिड आकारको प्रवेशद्वार बनाइएको छ । त्यो पिरामिडबाट एक्सेलेटर वा लिफ्टबाट तल ओर्लेपछि जमिनमुनीको तलाबाट संग्राहल प्रवेश गर्न सकिन्छ । भुईतलामा देखिएको खस्रो बालुवाले भरिएको त्यो चौकको जमिनमुनीको तला भने बिभिन्न पसलहरू तथा रेस्टुरेण्टले भरिएको छ । त्यो चौकबाट लुभर संग्राहलयका वरिपरिका कलात्मक ४-५ तले भवनहरू अति नै मनमोहक देखिन्छन् । हामीले त्यहाकेहि फोटा र भिडियो खिचिरहदा एउटी कोरियन र अर्की जापानी केटीसँग परिचय भयो । हामीले उनीहरुको केहि फोटा खिचिदियौं भने उनीहरुले पनि हाम्रा केहि फोटा खिचिदिए ।

त्यहाबाट हामी पश्चिमतिरको Jardin de Tuileries भन्ने विशाल पार्कतिर लाग्छौ । संग्राहलयको परिसरबाट बहिर निस्कने बित्तिकै पास्टफूडका स‍-साना घुम्तिपसलहरू छन्, त्यहि हामीले केहि खाने कुरा किनेर अलिपर पार्कको हरियो चौरमा बसी खायौं । त्यो पार्कमा धेरै मानिस हामी जस्तै बसी वरपरको आर्कषक वास्तुकला (भवनहरू) हेर्दै मख्खपरिरहेका हुन्छन् । पार्कमा केहि मानवमूर्तिहरू पनि राखिएकाछन । हाम्रा नानी-सानीले हरिया चौरमा यताउति दौडिएर खाना खादै झण्डै एकघण्टा जति धेरै रमाईलो गरे ।

पार्कमा बसी थकाई मारे पश्चात हामी सेन नदितिर लाग्यौं । हाम्रो अर्को गन्तव्य नोटरडेम भन्न चर्च हेर्नजाने थियो । तर केटाकेटीको सारमा बिस्तारै हिड्दा समयले डाडा काटिसकेको हामीले चालै पाइएनछ । हाम्रो स्वीजरल्याण्ड फर्कने समय पो हुनलागेको रहेछ । रेल चढी स्वीजरल्याण्ड फर्कनभनि हामीले पोन्ट रोयल भन्ने पुलपार गरेर Orsay संग्राहलय अगाडि आईपुग्छौं । त्यो संग्राहलयको भवनपनि अति नै सुन्दर छ । हामी त्यस्तैत्यस्तै मनमोहक कलात्मक भवनहरू हेर्दै सेननदिको किनारबाट ‘बाटोबस’ डुंगा चढेर लियोन स्टेशनतिर लाग्छौं। डुंगा बिचमा दुईतीन ठाउँमा रोकिन्छ । हामी नोटरडेमको बाहिरी दृष्य डुंगाबाटै हेर्छौ । तीस-चालिस मिनेटपछि हामी लोयोन स्टेशन नजिक पुगी डुंगाबाट ओर्लन्छौ । Austerlitz नामको पुल पारगरी हामी लियोन स्टेशनतिर लाग्दा पनि लियोन स्टेशन र वरपरका भवन निकै कलात्मक भएकाहुनाले हामीले केहि फोटो नखिची अगाडि बढ्न सकेनौं ।

पेरिसमा हेर्नलायक र हेर्नैपर्ने स्थल त कति छन् कति । तर सोमबारदेखि मेरो जेनेभामा काममा जानु पर्ने हुनाले हामीले आइतबार बेलुकासम्म मात्र पेरिस घुमी राति नै फर्कनु परेको थियो । ६:१५ बजे बेलुकाको TGV सुपरफास्ट रेल चढ्यौ । मौषम सफा हुनाले बेलुका निकैबेरसम्म घाम लागिरहेको थियो । पेरिस सहर काटेपछि हामीले फ्रान्सको गाउका ठुलाठूला फाँटमा चरिरहेका गाईका बथान पनि देख्यौ । फ्रान्समा जग्गाजमिन प्रसस्त हुनाले होला, मकैको लगाएका बारीहरू कतै कतै देखिएपनि अधिकांश जमिन बाँजो नै देखिन्थ्यो । हामी बसेको सिटको छेउमा २ वर्षजतिको सानो छोरो भएको बेलायती परिवार बसेका थिए । बेलाबेला उनीहरू हामीसँग गफगर्दथे, उनीहरूको छोराका खेलौना हाम्रा नानीलाई केहिबेर खेलाउन दिन्थे । यसरी रेलमा पनि केटाकेटीलाई रमाइलो भइरहेको हुनाले नसुतिकन ३:३० घण्टाको बाटो काटियो । हामी जेनेभाको रेलस्टेशनमा ओर्लिएर बसचढी होटेल पुग्दा रातीको १०:३० जति बजिसकेको हुन्छ ।

यसरी हाम्रो पेरिसको यात्रा रमाइलो गर्दागर्दै पुरा भयो । मेरो भने यो पेरिसको दोश्रो यात्रा थियो । यसभन्दा पहिले मैले २००५ सालको जुलाई महिनामा पेरिस घुमेको थिएँ । त्यसबेला म एक्लै हुनाले यस पटक हामीले घुमेभन्दा बढि स्थान घुमेकोथिए, दुइ दिनमा नै । तर पेरिस सहरमा हेर्न लायक ठाउँहरू यति राम्रा र यति धेरै छन् कि जति पटक गएपनि रमाइलो हेर्ने समय अपुग नै हुन्छ ।

यसरी हामीले १० दिनमा जेनेभा र पेरिसको भ्रमण गरी सेप्टेम्बर १४ तारिक टोकियो फर्कियौं ।

---***---

Monday, September 1, 2008

ArimaOnsen, Kobe visit

आरिमा ओन्सेन, कोबे
२००८ सेप्टेम्बर १-२

जागिरको कामको शिलशिलामा दुइ दिनको लागि म आरिमा ओन्सेन गए । कोबे सहरबाट रेल चढी उत्तर तर्फ लाग्दा ३० मिनेट जतिमा पहाडको खोचमा अबस्थित आरिमा ओन्सेन पुगिदो रहेछ । पृथ्वी मुनिबाट निस्कने तातो पानीका कुवामा बसी रमाइलो गर्ने यो ठाउँ जापानको कान्साई क्षेत्रमा निकै प्रसिद्ध रहेछ ।

रेल स्टेशनबाट १० मिनेटजति पैदल उकालो हिड्दा पुगिने होटेल माप्पलमा हाम्रो मिटिंग थियो । म संलग्न रहेको आकारी प्रोजेक्टको ६-६ महिनामा जापानको बिभिन्न ठाउमा गरिने मिटिंग यसपाली आरिमा ओन्सेनमा गरिएको थियो । हाम्रो अफिसले आयोजना गरेको सो मिटिंगमा जापानका बिभिन्न कम्पनीका रिसर्चर तथा विश्वविद्यालयका प्रद्यापाकहरूको सहभागिता थियो ।

होटेलका कोठाहरू जापानी शैलीका थिए । भुईंमा आछ्यान लगाएर सुत्नु पर्दछ । खानापनि जापानी परिकारहरू होटेलको विषेशप्रकारका रेस्टुरेण्टमा खुवाइन्छ ।

टोकियोबाट सिन्कान्सेन रेल चढी ३:३० घण्टा जतिमा आरिमा ओन्सेन पुगिदो रहेछ ।

---***---

Friday, August 1, 2008

डब्लिन, आयरलाण्डको भ्रमण

2008 July 27 - August 3
२०६५ साउन १२ (आइतबार) -१९ (आइतबार)
----------------------------------------

IETF (Internet Engineering Task Force) को ७२औ मिटिंगमा भाग लिन म २०६५ साल साउन १२ गते आइतबारदेखि एक हप्ताको लागि आयरल्याण्डको राजधानी डब्लिन आएको छु । टापुको देश हुनाले यहा छिनछिनमा घामपानी हुदो रहेछ । टोकियोमा अहिले ३० डिग्री सेल्सियस भन्दा बढि तापक्रमको गर्मी भएको बेला पनि यहा भने २० डिग्री जतिमात्र हुनाले बेलाबेला जाडो महसुस हुदो रहेछ ।

मिटिंग हुने ठाउ सहरबाट ३० किलोमिटर जति पश्चिम तर्फ सिटिवेस्ट होटेल हो । यो होटेको वरपर सबै गोल्फ खेल्ने ठाउ रहेछन । वरपर सबै हरियाली मात्र छ। नजिकै बस्ती छैन । यस्तो प्रकृतिको माझमा इन्टरनेटको नविन्तम् प्रविधिको विकास गर्नका लागि भएको जमघटमा निकै चहलपहल छ ।

म सिटीवेस्ट होटेलको शाखा गोल्फ होटेलको ११०८ नम्बर कोठामा बसेको छु । यो होटेल पुरानो दरबार जस्तो छ । ठूलाठूला कोठा, फराकिला ढोका र प्यासेजको ठाउठाउमा कलात्मक पेन्टिंग झुन्ड्याइएका छन् । होटेलबाट डब्लिन सहर जान मिटिंग आयोजकले बसको ब्यवस्था गरिदिएको छ । बस चढेको ४० मिनेट जतिमा सहरको केन्द्रमा रहेको सन्सारकै पुरानो विश्वविद्यालय ट्रिनिटी कलेज पुगिन्छ ।

डब्लिन सहरमा प्रायजसो सबै घरहरू ३-४ तलाका पुराना शैलीका छन् । अहिलेका आधुनिक गगनचम्बी सिशाका महल यहा देखिदैनन् । राता रंगका कलात्मक घरहरू यत्रतत्र देखिन्छन् । सहरको माझबाट Liffey खोला पश्चिमबाट पूर्व तर्फ बग्दछ । Temple Bar भन्ने ठाउ आइरिस बारका लागि प्रख्यात छ । यहाको Guinness नाम गरेको कालो बाक्लो खालको बियर संसार भरि नै लोकप्रिय छ ।

म यो आयरल्याण्डको यात्र पुरा गरी २०६५ साउन १९ गते (आइतबार) टोकियो पुग्दछु ।

---***---

Monday, May 19, 2008

जेनेभा भ्रमण


२०६५ वैशाख २९‍ - जेठ १०
२००८ मेई ११-२३

जागिरको कामको शिलशिलामा म अहिले जेनेभा सहरमा छु । इन्टरनेशनल टेलिकम्युनिकेशन युनियन (ITU, संयुक्त राष्ट्र संघको एउटा अंग) ले आयोजना गरेको ITU-T Kaleidoscope event – Innovations in NGN network and services सम्मलेनमा मेरो अनुसन्धान सम्बन्धित पेपर प्रजेन्ट गर्न र त्यसको साथसाथै चल्ने Next Generation Network – Global Standardization Initiatives (NGN-GSI) मिटिंगमा जापानी प्रतिनिधिको रूपमा भागलिनका लागि म २०६५ वैशाख २९ गते आइतबारदेखि जेनेभामा छु । नयाँ दूरसंचार प्रविधिको स्टाण्डर्डस् बनाउने काममा मैले पनि एउटा ड्राफ्ट लेखेको छु । त्यो ड्राफ्टलाई मिटिंगमा प्रस्तुत गरी सबैको सहमति जुटाउनुका साथै अरूले प्रस्ताव गरेका ड्राफ्टहरूको सन्दर्भमा जापानको हितमा हुने भए समर्थन र नहुने भएमा बिरोध गर्ने काम पनि गर्नु परेको छ ।

जेनेभामा धेरै अन्तराष्ट्रिय संस्थाको मुख्य कार्यालयहरू अवस्थित छन् । सहरको उत्तरी भागमा संयुक्त राष्ट्र संघको युरोपियन हेडक्वाटर्स, UNHCR, ITU, WIPO आदि भएको ठाउलाई Nations भनिन्छ । हामीलाई मिटिंग अबधिभर प्रयोग गर्न सकिने एउटा पास दिएको छ, जुन देखाएर संयुक्त राष्ट्र संघ र अन्य सबै अन्तराष्ट्रिय संस्थाको कार्यलय भित्र प्रवेश अनुमति पाइन्छ । हामी दिउसोको खाना खान ती सस्थाहरूको क्याफेटेरियामा गएर खान्छौं । त्यहाँका पुस्ताकालय र पसलहरू पनि बेलाबेला चाहार्छौ । World Health Organization, UNAID, International Labor Office, International Migration Organization जस्ता संस्था UN भन्दा पश्चिम तर्फ २० मिनेट जतिको पैदल दुरीमा पर्दछन भने UNICEF, International Meteorological Organization, World Trade Organization चाहि पूर्व तर्फ १५ मिनेट जतिको दूरीमा पर्दछन् ।

जेनेभा सहरको बिचमा ठूलो ताल छ । सहरको उत्तरी भागमा तालले ढाकेको छ भने दक्षिणी भागमा भने तालबाट निस्केको रोन नदि बग्दछ । जेनेभा सहर स्विजरल्याण्डको सबै भन्दा पश्चिममा पर्ने सानो सोतीजस्तो भाग हो, जसको उत्तर, पश्चिम र दक्षिण फ्रान्स पर्दछ । सहरको केन्द्रबाट बस चढी २० मिनेट जतिमा जता गएपनि फ्रान्स पुगिन्छ । जेनेभा तालबाट १४० मिटर माथिसम्म पुग्ने गरी फ्यालिएको पानीको फोहरा, फूलबारीमा चल्ने घडि, रोलेक्स जस्ता ब्राण्डका घडिका लागि जेनेभा सहरले प्रसिद्धि कमाएको रहेछ ।

माथिको फोटो संयुक्त राष्ट्र संघ परिसरको हो ।
---***----

गुम्माकेनको पारिवारिक भ्रमण

२००८ मेई ४-५ (२०६५ वैशाख २२‍ - २३) आइतबार-सोमबार

जापानमा हरेक वर्ष मेई महिनाको पहिलो हप्ता लगातार तीन दिनको बिदा पर्दछ । सो बिदासँग जोडिएको शनिबार र आइतबार मिलाउदा लामै बिदा हुनजान्छ । पोहोरको यो बिदाको बेला हामी नेपाल घर गएका थियौं । यस पटक भने मबाहेक सुषमा र छोरीहरू भरखरै घर पुगेर फर्केका थिए । त्यसैले यो बिदामा जापान कै कुनै ठाउँ घुम्नजाने कार्यक्रमका बारेमा सोच्दा गुम्माकेनको कुरा आयो ।

गुम्माकेन छान्नु पर्ने कारण पनि केहि छन् । हाम्री छोरी श्रेया जन्मेको बेला म गुम्माकेनको माएबाशी भन्ने ठाउमा एउटा सम्मेलनमा सहभागी भइरहेको थिए । र त्यही मैले उनी जन्मेको खबर पाएको थिएँ । त्यसैले उनी लगायत हामी सबै त्यहि ठाउँ घुम्न मनलागेको थियो । गुम्माकेन हामी बसेको ठाउबाट सधारण रेल चढी दुई घण्टाजतिमा पुगिन्छ । नजिकै हुनाले केटाकेटी साथ लिएर जान पनि त्यति अप्ठ्यारो हुने भएन । तेश्रो कारणमा गुम्माकेन प्राकृतिक रूपमा निकै सुन्दर छ । त्यहाका पहाडमा मात्र होइन सहरहरूमा पनि जताततै फुलका बगैचा छन् । हारूना भन्ने ठाउमा ठूलो पहाडको मुन्तिर निकै आकर्षक ठूलो ताल छ ।

हामी आइतबार बिहान ९:०० बजेतिर घरबाट हिडी ओमिया, ताकासाकी हुदै माएबाशी १२:३० बजे पग्यौ । स्टेशन नजिकै खाना खाई होटेलतिर लाग्यो । होटेल पनि म पहिले जुन होटेलमा बसेको थिएँ सोही होटेल यस पटकको लागि बूक गरेको थियौं । स्टेशनबाट पैदल १५ मिनेटमा पुगिन होटेलतिर जादा गलत दिशातिर लागिए छ, निकै पर पुग्दा पनि होटेल नदेखिए पछि त्यहा मानिसलाई सोध्दा पो थाहा पाइयो ।

होटेलमा सामान राखी केहि बेर आराम गरेर हामी माएबाशी पार्कतिर लाग्यौं। त्यो पार्कभरि फूलै फूलको बगैचा रहेछ । अझ यो मौषममा त त्यहा फूलको प्रदर्शनी नै रहेछ । हामी वरपरका फुलको फोटा खिच्दै निकै बेर त्यहा घुमपिरमा व्यस्त रह्यौं । साझ परेपछि खाना खाने रेस्टुरेण्ट खोज्न निकै समय लाग्यो । माएबाशीमा प्राय: जसो पसल ६‍:३० बजे तिर नै बन्द भई सकेको हुदो रहेछ ।

भोलि पल्ट बिहानै उठेर हारुना जान भनी हामी रेल चढेर ताकासाकी तिर लाग्यौ । तर बिदाको दिनमा हारुना जाने बस २-२ घण्टाको अन्तारलमा जाने हुनाले झण्डै एक घण्टाजति बस कुर्ने समयमा ताकासाकीको जताततै फूल फुलेका सडकहरू तिर बरालियौं । बस चढ्यौं । बसलाई केहि बेर ताकासाकी सहर छिचोल्न लाग्यो । अनि अलि गाउँजस्तो ठाउमा नदि किनारको बाटोमा हुइकिएको केहि बेरपछि एउटा विश्राम गर्ने ठाउँ आइ पुग्छ । १५-२० मिनेटको विश्राम पछि बस हिड्न थाल्छ । बिस्तारै पहाड शुरु हुन्छ । निकै बेर पहाड चढेपछि बस हारुना स्राइन भएको ठाउँमा पुग्छ । त्यहाबाट १५ मिनेटजतिमा हारुना तालको तटमा गएर अन्तिम स्टपका बस रोकिन्छ ।

बसबाट ओर्लियौं । बाहिर कुहिरोले यस्तो ढाकेको छ कि मुस्किलले २० मिटर परसम्म दिख्न सकिन्छ । हामीले ताल छेउको रेस्टुरेण्टमा खाना खाएर यताउती घम्ने योजना बनायौं । तर त्यो कुहिरोले गर्दा हाम्रो योजना सफल हुन सकेन । तालको छेउछाउमा यताउति बरालिने काम मात्र भयो । केहि बेरपछि पानी पर्न थाल्यो । हामी त्यहीको एउटा पसलमा ओत लाग्यौ । अनि बिस्तारै बस चढी घर फर्कने भनी बस स्टप गएर केहि बेर बस्दा त्यो कुहिरो हट्दै गयो र तालको आकार प्रस्ट देखिन थाल्यो । त्यहिबाट तालका केहि फोटा खिची हामी बस चढेर पहिलेकै बाटो ताकासाकीतिर फर्कियौ । ताकासाकीबाट रेल चढी घर पुग्दा बेलुकाको ६:३० जति बजेको थियो ।
---***---

Monday, March 31, 2008

साथी पुष्प राज पौडेल सग घुमफिर



कागावा विश्वविद्यालयमा कृषि विज्ञान अध्ययनरत मित्र पुष्पराज पौडेल टोकियोमा कामको शिलशिलामा आउदा खेरी मलाई पनि भेट्नु भयो । २००८ मार्च २९ को बेलुका हाम्रोमा आउनु भयो । हामी दुबै जाना मिलेर खाना बनाई खायौ । मार्च ३० आइतबार बिहान खाजा खाएर हामी टोकियो घुम्न भनी १० बजे तिर निस्क्यौ । त्यहा राजदरबार वरिपरी घुम्दै, बसन्त ऋतुमा जताततै ढकमक फुलेका साकुरा फूलको अगाडि बसेर धेरै फोटाहरू पनि खिच्यौ । अनि बाहिर निस्केर ओतेमाची तिर लाग्दा कतै घुमेर दरबार फर्केका जापानी राजारानीलाई पनि देख्यौ । मित्र पुष्पजीले त त्यो सवारी कस्को रहेछ, फोटा खिच्नु पर्छ भन्दै हुनु हुन्थ्यो । तर मैले अरु नै कोही भिआईपीको होला, पुलिसका अगाडि उभिएर फोटो खिच्नु उपयुक्त नहुने सल्लाह दिएकोले उहाँले क्यामेरा ठीक पार्नु भएनछ । पछि हामी हिड्दै गरेको सडक पेटी तिर गाडी भित्रैबाट टाउको हल्लाउदै अगाडी बढेकी रानीलाई देखेपछि, हत्तेरिक अघि नै क्यामरा तयार पारी फोटो खिच्नु पर्नेरहेछ भनी पछुतो लाग्यो ।
ओतेमाची हुदै हामी आकिहाबारा गयौं । त्यस ठाउँलाई हाम्रा मित्रले काठमाण्डौंको असन र न्युरोडसँग तुलना गर्नुहुन्छ । यत्रतत्र बाटैमा फिजाएर इलेक्ट्रोनिक्स सामानहरू बेच्ने स‍-साना गल्लीलाई हामी असन भन्न थाल्यौ । अनि अलि परको मुख्य सडकका ठूला ठुला भवनका धेरै तला ओगट्ने पसललाई न्युरोड भन्न थाल्यौ । हामीले नामाकरण गरेको नयाँ असनको सोफ्टम्याप भन्ने पसलमा रहेका सेकेण्ड ह्याण्ड तर राम्रै अबस्थाका ल्यापटप कम्प्युटर २०,००० जापानी येन (रू। १२,००० जति) मा पनि किन्न पाउने रहेछ । पुष्पजीलाई किन्ने कि एउटा भनी सोधेको थिए । तर मेरा मित्र पर्नु भो अलि गहकिला; सस्तो, पुरानो र कमसल सामानमा उहाँका आँखा नलाग्ने । उहाँले पुरानो होइन बरू नयाँ हेर्ने भनी हामीले नामाकारण गरेको न्युरोड तिर लाग्यौ । त्यहाको एउटा पसलमा पसी केही कम्प्युटर हेरे पछि पुष्पजीले २७४,००० जापानी येन जतिको सोनी भाइओ ल्यापटप कम्प्युटर मन पराउनु भयो । उहाँले त्यस्को निकै नै प्रशंसा गर्नु भयो । अनि हामी न्युरोड आक्की इन्टरनेशनल भन्ने पसलमा पस्यो, त्यहा पुष्पजीले ओरियन्ट लेडिज घडि किन्नु भयो । उहाँलाई भिडियो क्यामेरा पनि मन परो । सोनी कम्पनीको ६० जीबी हार्डडिस्क भएको, १ दशमलव ७ मेघा पिक्सेलको क्यामेरा र त्यस्तै गुणस्तरको जेभिसीको पनि मन पराउनु भयो । तर दाम भने त्यहा अलि दलाली चल्ने जस्तो देखि तत्कालै किनी हाल्नु भन्दा यताउतिका पसलमा पनि बुझेर मात्र किन्नु बेस लागि हामी केही भौतारियौ । ३ बजे देखि पानी पर्न लाग्यो । सिमसिम पानी पर्छ, यताउति गर्दा नभिजिने तर निकै बेर बाहिर हिडडुल गर्दा भने भिजिने खाल्को पानीले हामीलाई स्वतन्त्र रूपले घुम्न भने अप्ठ्यारो पारेर ल्यायो । आक्की इन्टरनेशनल भन्ने त्यहा तीन ठाउँमा पसल रहेछन् । ती मध्ये हामी दुई ठाउँका पसलमा गयौ । ती पसलमा घडि, क्यामेरा, कम्प्युटर आदि सामानका साथै विदेशी पर्यटकले किन्ने उपहारका बिभिन्न प्रकारमा सामानहरू बेचिदा रहेछन् । ती दुबै ठाउमा हामीले भेटेका बेच्ने मान्छे भने चिनियाँ थिए । अन्तमा आएर भिडियो क्यामेरा आज नकिन्ने भयौं । पुष्पजीले घर सल्लाह पश्चात किन्नु बेस होला भन्ने ठानी किनेपनि भोलि किन्ने निचोडमा पुग्नु भयो ।

साझ पनि पर्यो । हामी त्यहीको एउटा रेस्टुरेण्टमा खाना खायौं । हामी घरबाट हिड्दा आकिहाबाराको कार्यक्रम सकेर उएनोको ठूलो बगैचाका लहरै रहेका ठूलाठूला रूखमा फूलेका साकुरा फूल मुन्तिर बसी सबै दू:ख र बेचैनीलाई केही बेरका लागि भूली आन्नदसँग रमाउने बिचार थियो । तर पानी परेको हुनाले हामीले सबै समय आकिहाबारामा नै खर्चेर, खाना पनि त्यही खाई, रेल चढी राती ८:२० बजे तिर घर आई पुग्यौ ।

१० बजे तिर सुतेका थियौं । थकाई लागेर होला बिहान ७ बजेसम्म निदाइएछ । नुवाइ धुवाइ गरी खाजा खाई पुष्पजी र म सँगै निक्यौ । उहा फेरी आकिहाबारा तिर लाग्नु भयो । सायद क्यामेरा किन्नु भो होला, फोन गरेर पत्ता लाउनुछ । म आफ्नो कार्यलय तिर आई दिन भरि नै काममा ब्यस्त भए ।

अस्तु:
---***---

Sunday, March 16, 2008

Philadelphia visit





I
visited Philadelphia, USA from March 9 to March 16, 2008. Philadelphia is the state capital of Pennsylvenia and located in the north to Washington D.C. and south to New York City. I went there to participate in the 71st meeting of the IETF (Internet Engineering Task Force). Philadelphia is a historically important city in the USA, where the Declaration of Independence and signing of the USA Constitution were taken place in 1776 and 1787, respectivily. Moreover, it was the capital of the USA from 1790 to 1800.

The meeting was held at Marriot Hotel in Market street and I was staying at Doubletree Hotel in South Broad street. Among the above photographs, the upper one was taken in front of the Independence Hall, where the Declaration of Independence was signed in 1776, and the lower one was taken in front of the Independent Hall Visitor Center.

---***---

Sunday, March 9, 2008

Okinawa visit


I visited Okinawa, the southmost part of Japan, from March 6 to March 8, 2008. I went there to attend the IEICE IN workshop that was held in Bankoku shinryokan, in Nago city, which is located in the north part of the Okinawa main island. I stayed one night in Nago and another night in Naha, the biggest city in Okinawa. The above picture was taken in front of Bankoku shinryokan.
---***---

Tuesday, December 11, 2007

Vancouver, Canada visit


2007 December 2 (Sunday) - 2007 December 9 (Sunday)
to take part in the 70th meeting of the Internet Engineering Task Force (IETF).
यो माथिको दाहिने पट्टीको फोटो म बसेको ल्याण्डमार्क टावर होटेलको २६औं तलाको कोठाको झ्यालबाट हेर्दा राती देखिने रब्सन स्ट्रिटको हो । देब्रे पट्टीको फोटोमा देखिएको अग्लो भवन नै ल्याण्डमार्क होटेल हो ।
---***---