Monday, September 29, 2008

रक्तदान

Blood Donation (रक्तदान)
2008 September 29, Monday
२०६५ असोज १३ गते ।।

मैले काम गर्ने संस्थामा वर्षको दुई पटक रक्तदानको कार्यक्रम राखिदो रहेछ । झण्डै साढे एक वर्ष पहिले रक्तदान हुने भनि मैले थाहा पाएको थिए । त्यस दिन एउटा मिटिंग सकेर जादा जादै ढिला भएर रक्तदान गर्न पाइएको थिएन । यस पटक भने केहि दिन पहिलेको सार्वजानिक सूचनाको इमेल पढ्दा आज रक्तदान कार्यक्रम रहेको थाहा पाएको थिएँ र त्यसै बेला आज गर्नु पर्ने कामको तालिकामा रक्तादान गर्ने भनि टिपोट गरेको थिए ।

आज बिहान दश बजे देखि रक्तदान कार्यक्रम शुरू भयो । म १०:१५ बजे तिर त्यहा पुगें । जापानमा मेरो यो पहिलो रक्तदान हुनाले मेरो नाम, ठेगाना सहित दर्ता गर्न केहि बेर लाग्दो रहेछ । मलाई एउटा सानो चिटमा नाम, ठेगाना, जन्ममिति लेख्न लगाइयो । कम्प्युटरमा नाम, ठेगाना दर्ता गर्नका लागि लाग्ने समयमा मलाई २०० मिलिलिटर जतिको जुस पिउदै पर्खन लगाइयो । त्यसपछि नाम, ठेगाना लेखेको एउटा दर्ता फारम जस्तो प्रिन्ट गरेर मलाई भर्न भनि दिइयो । त्यो फारमको अघिल्लो पेजमा बिहान खाजा खाएको समय, तौल, उचाई जस्ता विवरण भर्नु पर्दो रहेछ भने पछिल्लो पेजमा स्वास्थ्य तथा रोगको बारेमा विस्तृत विवरण हुदो रहेछ । सबै जापानी भाषामा भएकोले मैले नबुझ्ने शब्दहरू प्रसस्त थिए । तर उत्तरमा भने “छ” “छैन” भन्ने कोठामा ठीक चन्हमात्र लगाउनु पर्ने हुनाले अलि अलि अनुमान लगाउन सकिने प्रश्नको उत्तर सजिलै दिन सकिने रहेछ । प्राय: जसो रोगको नामको तालिका नै हुदो रहेछ । र आफूलाई कुनै रोग लागेको छैन भन्ने लागेमा सबै प्रश्नको उत्तरमा “छैन” मा चिन्ह लगाउदा हुने रहेछ । तर कतैकतै पहिले कतै शल्यक्रिया गरेको छ-छैन, युरोप (विशेष गरी बेलायत) गएको छ-छैन भन्ने प्रश्नपनि हुदा रहेछन् । मैले ती सबै प्रश्नको जवाफ लेखे पछि बाहिर राखिएका दुईटा बस मध्ये सानो बस भित्र जान भनियो । (रक्दतान ती बस भित्रै हुदो रहेछ ।)

त्यो सानो बसमा एक जना पाको उमेरका डाक्टरले फारममा भरेका उत्तरहरूको आधारमा स्वास्थ्य परिकक्षण गर्दा रहेछन् । उनले सबैभन्दा पहिले मलाई त्यो फारममा लेखेको जापानी भाषा सबै बुझ्दछौ भनि सोधे । मैले धेरै जसो आफैले पढी बुझेको र केहि नबुझेको उनीहरू कै कर्मचारीलाई सोधी बुझेको कुरा जाहेर गरे । उनले मलाई यी सबै प्रश्न आफैले बुझ्न नसकेको अवस्थामा रक्तदान नगर्दा राम्रो हुन्छ भनि सचेत गराए । मैले मजाले बुझेको जिकिर गरें । अनि उनले म जापान आउनु भन्दा अगाडि कहा बसेको, युरोपको कुन कुन देशमा कहिले कहिले गएको, नेपाल एक वर्ष भित्र गएर आएको-नआएको, कतै शल्यक्रिया भएको, आदि आदि प्रश्न सोध्दै मेरो उत्तर त्यो फारममा लेख्दै गए । त्यो प्रश्नोत्तरको दौरानमा उनले मेरो रक्तचाप पनि नापे । म उनको परीक्षमा पास भएछु । मेरो जापानमा यो पहिले रक्तदान हुनाले परीक्षा अलि कठीन भएको रहेछ । त्यसपछि म डाक्टरको दाँया छेउमा बसेकी (सायद) नर्सको अगाडि तर्फ सरे । उनले मेरो बाँया हातको कुइना छेउबाट १०-१५ मिलिलिटर रगत निकालेर एउटा शिशाको पातोमा ५-६ ठाउमा थोपाथोपा खसाइन् । दुई ठाउको रगतमा भिन्दा भिन्दै खालका खै के रसायन मिसाएर शिशाको सानो नलिजस्तो सिन्काले केहि बेर चलाए पछि एक ठाउको रगत गाढा (कालो) रातोबाट कडा रातो रंगमा परिवर्तन भयो भने अर्को ठाउको रगत फाटेको जस्तो (पानीमा नघुलेको कालो पदार्थ जस्तो) भयो । यी दुई साधारण परिक्षण पश्चात ती नर्सले मेरो रगत “ए” समूहको भएको र हेमोग्लोबिनको मात्रा प्रसस्त रेहेको बताइन् । त्यसपछि मलाई दाँया हातबाट ४०० मिलिलिटर रक्तदान गर्न अनुरोध गरिन । मैले स्वीकृतिका साथै कृतज्ञता प्रकट गरे । अनि मेरो दाँया हातमा कागजको बाला लगाइ दिएर छेउको अर्को बस भित्र जान भनियो ।

त्यहा भित्र एक पटकमा चार जानाले सुतेर रक्तदान गर्न सकिने चार वटा सिट रहेछन् । दुईजना नर्स रहेछन, चारजनाको रक्त संकलन गर्नका लागि । म जादा सबै सिटमा रक्तदान भइरहेको थियो । हामी कुर्दै गरेका दुईजना थियौ । केहि बेरपछि दुइटा सिट खाली भए । मलाई एउटा सिटमा ढल्कन लगाइयो । नर्सले मेरो खुट्टापट्टीको सिटको भाग केहि माथि उचाल्न एउटा बटन थिचिन् । पहिलेको कुर्सी जस्तो सिट अब खाटजस्तो भयो । त्यो सिटको बारमा मेरो दाहिने हात राख्न लगाइयो । उनले मेरो रक्त समूह त्यो फारममा लेखिएको देखेर पनि मलाई सोधिन् । मैले “ए” समूह भनी जवाफ दिए । सायद् उनले कतै त्यो फारम अर्कोको त परेन भनि ‘कन्फर्म’ गर्न होला, सबैलाई यो प्रश्न गर्दिरहेछिन् । उनले दुई प्रकारका रसायन मेरो रगत निकाल्ने ठाउमा दलेर त्यो अर्को सिटको दाताको हातमा पनि सोही प्रकृया दोह्रयाउन्जेल मलाई पर्खाइन् । त्यसपछि ४०० मिलिलिटर रगत निकाल्ने कुरा जानकारी गराउदै सुईबाट रगत निकाल्न थालिन् । सुई पसाउदा केहि दुख्दो रहेछ । सुईको गोलाइ पनि औषधि शरीरमा राख्नका लागि प्रयोग गर्ने अन्य सुईको भन्दा केहि ठूलो हुदो रहेछ । लगातार दुखिरहेमा भन्नु है भनि नर्सले सान्त्वना देखाइन् । ४०० मिलिलिटर रगत निकाल्न १० मिनेटजति लाग्दो रहेछ । त्यो बेला नर्सले के के कुरा गरेर भुलाउदिरहेछिन् । उनले मलाई कुन देशबाट आउनु भएको, जापान कति बसिसक्नुभो, जापान कस्तो लाग्छ, पहिले कति पटक रक्तदान गर्नु भएको थियो आदि आदि प्रश्न सरल तरिकाले सोधिन् । मैलेपनि महिलाहरूले २०० मिलि र पुरुषले ४०० मिलि रक्तदान गर्ने हो भनि सोधेको थिए । उनले ५० केजी भन्दा बढि तौल भएकी महिलाले पनि ४०० मिलि रक्तदान गर्ने गरेको बताइन् । जापानमा करीब ६० प्रतिशत जति महिलाले ४०० मिलि रगत दान गर्छन् रे । मेरो छेउकी महिलाले भने २०० मिली रक्तदान गरिन् । तर आज मैले यहा रक्तदान गर्ने पुरुष भन्दा महिलाको संख्या निकै बढि देखें ।

रक्तदान पश्चात त्यो पहिलेको फारम बोक्दै रिसेप्शनमा जान भनियो । रिसेप्शनमा फारम बुझाई कुर्सीमा बसी जुस, बिस्कुट खादै केहि बेर आराम गर्न लगाइयो । ५-१० मिनेटको आराम पश्चात रक्तदान गरेको प्रमाण स्वरूप मेरो नाम, नम्बर लेखेको सानो कार्ड पाएँ । सो कार्डमा रक्तदान गरेको मिति र अर्को रक्तदान कहिले देखि गर्न सकिने मिति समेत लेखेको हुदो रहेछ । जापानमा दुइ रक्तदानको बिचमा तीन मिहिनाजतिको फरक हुनु पर्दो रहेछ ।

रक्तदान सकिएर बिदाइ हुनेबेला आजको दिन धेरै तरल पदार्थ खानु तथा कठिन परिश्रम पर्ने काम नगर्नु भनि सम्झाइदो रहेछ ।

---***---

No comments: