आफ्नो नजिकै रहेको संक्रमित व्यक्तिले बोल्दा वा हाछ्युँ गर्दा भाइरस मिसिएको थुक वा सिँगानका छिटाहरु (droplets) हावाका माध्यमबाट १ देखि २ मिटरसम्मको दुरीमा फैलिएर जान सक्छन् रे। त्यस्तो बेलामा अगाडि रहेको मानिसले मास्क लगाएको छ भने भाइरसलाई आफ्नो शरीरमा प्रवेश गर्नबाट रोक्न सकिन्छ। तर मास्कलाई प्रभावकारी तरिकाले प्रयोग गर्न सकिएन भने मास्क नै भाइरसको श्रोत पनि हुनसक्छ। मास्कको प्रभावकारिता बढाउनका लागि निम्न कुराहरूमा ध्यान दिनु पर्दछ।
१) मास्कलाई मिलाएर लगाउनु पर्छ ताकि मास्कबाट छानिएको हावामात्र फोक्सोमा पुगोस्।
२) मास्क एकपटक मिलाएर लगाएपछि पटक पटक हातले छोएर मिलाउने गर्नु हुदैन। यसो गर्दा हातमा टाँसिएका भाइरस मास्कमा टाँसिन पुगी स्वासप्रश्वासका क्रममा शरीरभित्र जान सक्छन्। अथवा मास्कको बाहिरी सतहमा रहेका भाइरस आफ्नो हातभरि फैलिन पनि सक्छन्।
३) एक पटक लगाएर खोलेको डिस्पोजेबल मास्क पुनः प्रयोग गर्नु हुँदैन। साथै मास्कलाई ओल्टाई पल्टाइ गरेर पटकपटक प्रयोग गर्नु पनि हुदैन। यसो गर्दा पहिलो पटक लगाउँदा बाहिरपट्टी परेको भाग अर्को पटक लगाउँदा भित्रपट्टी पर्न गई मास्कमा टाँसिएका किटाणु सबै फोक्सोमा पुग्न सक्छन्।
४) मास्क खोलेर नछोइने ठाउँमा रहेको फोहर राख्ने ठाउँमा फ्याल्नु पर्छ। मास्क खोलेर डाइनिङ टेबल वा घरभित्रको धेरै छुइने ठाउँमा कदापि राख्नु हुँदैन।
५) मास्क खोलेपछि साबुनपानीले हात राम्ररी धुनुपर्छ। त्यसपछि अनुहार पनि साबुनपानीले राम्ररी धुनुपर्छ। यसो गर्दा मास्क छुदा हातमा टाँसिएर रहेको वा अनुहारमा टाँसिएका भाइरस पखालिन्छन् र संक्रमणबाट बच्न सकिन्छ।
६) जोसुकैले जुनसुकै ठाउँ वा अवस्थामा मास्क लगाउन जरुरी छैन। निम्न ठाउँ र अवस्थामा मास्क लगाउनु पर्दछ।
क) संक्रमित व्यक्तिहरु रहन सक्ने सम्भावना भएको भिडभाडका ठाउँहरू जस्तै खचाखच भरिएका सार्वजनिक यातायातका साधनहरु, सिनेमा हलजस्ता बन्द कोठा या हलहरु र भिड लाग्ने बजारहरु।
ख) संक्रमित व्यक्तिको स्याहारसुसार गर्ने ठाउँ, जस्तै अस्पताल वा संक्रमित परिवारका सदस्य भएको घर आदिमा रहने व्यक्तिले मास्क लगाउनु पर्छ।
ग) आफ्नो वरपर संक्रमणको बिगबिगी भएको बेलामा शारीरिक रुपमा कमजोर, अशक्त, बुढाबुढी तथा दीर्घ रोगीलाई भेट्न जाँदा मास्क लगाउनु पर्छ। वयस्क, निरोगी मान्छेहरुमा बिरामीको लक्षण नदेखिए पनि उनीहरू भित्रभित्रै भाइरसबाट संक्रमित भएको हुन सक्छन् रे। यस्ता तन्दुरुस्त व्यक्तिबाट शारीरिक रुपमा कमजोर व्यक्तिमा भाइरस नसरोस् भन्ने हेतुले मास्क लगाउनु पर्छ।
घ) आफू संक्रमित भएको आशंका लागेमा सार्वजनिक ठाउँमा रहेको अवस्थामा अवश्य मास्कको प्रयोग गर्नु पर्दछ। साथै आफूबाट अरुमा संक्रमण नहोस् भन्ने सामाजिक उत्तरदायित्व पालना गर्दै सकेसम्म आफुले वरपरका कुनैपनि वस्तुलाई छुनु हुँदैन।
७) स्वस्थ मानिसले निम्न अवस्थामा मास्कको प्रयोग नगरे पनि हुन्छ।
क) खुला ठाउँमा जस्तै पार्क, भिड नभएको बाटो आदि ठाउँमा हिडडुल गर्दा।
ख) संक्रमित परिवारका सदस्य नभएको घरभित्र रहदा।
८) भाइरसबाट बच्नका लागि लगाउने मास्क र काठमाडौंको धुलोबाट वा जापानमा पराग कणको एलर्जी (अर्थात् काफुन्शो) बाट बच्नका लागि लगाउने मास्कको प्रयोग विधिमा फरक छ। धुलो वा पराग कणबाट बच्नका लागि प्रयोग गरेको मास्कमा छुदा संक्रमणको डर हुदैन। ती मास्कले बाहिर खुल्ला ठाउँमा उडेको धुलो वा पराग कणलाई रोकेर राखे पुग्छ। तर भाइरसबाट जोगिनका लागि प्रयोग गरिने मास्कको प्रयोग पश्चात पनि यथोचित व्यवस्था गर्न सकिएन भने मास्क नै भाइरसको गुड भई संक्रमण गराउने खतरा रहिरहन्छ।
९) स्मरण रहोस्, हावाका माध्यमबाट नाक हुदै हाम्रो शरीरमा प्रवेश गर्ने भन्दापनि हाम्रो हातको माध्यमबाट भाइरस हाम्रो शरीरमा प्रवेश गर्ने सम्भावना बढी हुन्छ। संक्रमित व्यक्तिहरुको हातमा भाइरस टासिएको हुनसक्छ। ती व्यक्तिहरूले जुन बस्तु छुन्छन्, त्यहीँ भाइरस टाँसिन्छ रे। स्टील, फलामजस्ता चीसा वस्तुमा भाइरस केही दिनसम्म बाँच्छन् भने कपडा वा सुख्खा वस्तुमा केही घण्टासम्म बाँच्न सक्छन् रे। पछि ती ठाउँहरूमा स्वस्थ व्यक्तिका हातले छुनपुग्दा भाइरसहरु स्वस्थ व्यक्तिका हातमा पनि टाँसिन पुग्दछन्। र ती हातले मुख छुने, नाक कोट्याउने, आँखा मिच्ने गरियो भने भाइरस शरीर भित्र प्रवेश गरेर संक्रमण गर्दछन्। त्यसैले हातको माध्यमबाट भाइरस सर्नबाट जोगिनका लागि बारम्बार हात धुने, बाहिरका वस्तुहरु सकेसम्म नछुने, हरेक पटक बाहिर गएर घर फर्कने बित्तिकै घरमा कुनै पनि वस्तु नछोई साबुन पानीले १-२ मिनेटसम्म हातका औंलाका काप, नङ्ग, नारीसम्म मिचीमिची धुने, र मुख, नाक, कान, आँखामा हात पटक्कै नलैजाने बानी बसाल्नु पर्छ।
(जनस्वास्थ्य सम्बन्धित जानकारी)
No comments:
Post a Comment