Saturday, June 28, 2008

सानी उभिन थालेको दिन

२०६५ असार १४ गते शनिबार ।

आज बिहान सानो जापानी स्टाइलको होचो डाइनिंग टेबुलको वरीपरी बसेर खाना खाइरहदा हाम्री सानी छोरी ऋचाले उभिदा टेबुलको बिट सामतेर उभिएपनि केहिबेर पछि टेबुलबाट हात हटाई केहि नसमाइकन १०-१५ सेकेण्डसम्म उभिन सकिन । सानीले कुनै चिजको सहारा बिना उभिन सकेको आज पहिलो दिन हो । सानीको उमेर अहिले ९ महिना २१ दिन भयो । खाना खान त्यति मन गर्दिन, उनलाई कुनै दिन के त कुनै दिन अर्कै के मन पर्छ । एउटै परिकार बारम्बार खान मन पराउदिनन् ।

बेलुका सुत्ने बेलामा अलि अलि कचकच गर्ने बानी १५-२० दिनको उमेर देखि लागेको, अहिले पनि कुनै कुनै दिन धेरै बेर कचकच गरेरमात्र सुत्दछिन् । तर रूँघाखोकी लाग्दा भने औषधिले होला, साँझ पर्ने बित्तिकै निदाउछिन् । निन्द्रा नलाग्दाका क्षणमा भने राति अबेर सम्म मसँग खेल्न मन पराउदछिन् । कुनै दिन बेलुका म घर फर्कनु भन्दा अगाडि नै उनी निँदाई सकेकी भएमा, भोलि पल्ट बिहान सबेरै उठेर मसँग लुटपुटिन आउछिन् ।

ऋचा आजकल प्राय: जसो हरेक बिहान मसँगै नुहाउन आउछिन । यति उनी उठ्दा ओछ्यानको वरपरि मलाइ देखिनन् भने सिधै बाथरूमको ढोका अगाडि आइ पुग्छिन् । म नुहाउन्जेल उनलाई तातो पानीले भरिएको एउटा ठूलो आरीमा राखिदिन्छु, त्यहि पानी खेलाएर रमाइ रहन्छिन् । अनि मैले नुहाइ सकेपछि उनलाई पनि साबुन लगाएर पखालिदिन्छु । नुहाइ धुवाइ पछि उनलाई खाजा खानपनि म सँगै मन लाग्छ । कहिले काहि त उनको केटाकेटी खाजा भन्दा मैले खाने खाजा खान बढि मन गरेर आफ्नो खाजा नै खान्नन् । खाजा खाई सकेपछि ८:३० बजेतिर दिदीबहिनी सगै मामुसँग स्कूल जान्छन् ।

दिदी श्रेया आजकल घरमा बेलुका लेख्ने पढ्ने गर्न थालेकिछन् । बेलाबेला जापानी र अंग्रेजी अक्षरहरू लेख्ने र पढ्ने गर्छिन । उनलाई कापीमा कलमले लेखेर पढ्नु भन्दा, कम्प्युटरमा टाइप गरेर पढ्न बढि मन लाग्छ । आजकल उनी खाना अलि मन लगाएर खान थालेकिछन् । तौल पनि केहि बढ्दैछ जस्तो छ । उनको अहिलेसम्मको शारीरिक विकासमा तौल औषत भन्दा केहि कम छ भने उचाई चाँहि औषत भन्दा बढि छ ।

---***---

No comments: