Wednesday, October 22, 2008

नानी र सानीको बानी र विकास

२०६५ कार्तिक ६ गते
2008 October 22

केटाकटी हुर्किदैजादा उनीहरूको बानी बेहोरामा दिनदिनै जस्तो आउने परिवर्तनलाई नजिकबाट हेरी रमाउनसक्दा बाबुआमाका लागि केटाकेटी हुर्काउने अभिभारा गह्रुङगो जिम्मेबारीमात्र नभएर मौलिक आनन्द पाउने अवसर पनि हुदो रहेछ । हाम्रा दुई छोरीहरूले अहिले हामीलाई त्यस्तै खुशी, सुख र आनन्द दिइरहेकाछन् ।

नानी (श्रेया)को उमेर पाँच वर्ष पुग्छ सातदिन पछि । यो पाँच वर्षको अवधिमा उनका केयौ नयाँनयाँ बानी बेहोरा पलाउदै हराउदै गरे । कहिले के मन पर्ने त कहिले के गर्दै उनका मनपर्ने कुराहरू पनि फरक फरक हुदै गए । तर एकदुई बानी भने उनको बच्चादेखिका यथावत छन् । उनलाई राती सुत्दा खेलौना या किताब मध्य केहि न केहि बोक्नु पर्ने बानी सायद उनी एकवर्षकी हुनुभन्दा पहिलेदेखि लागेको होला, अहिलेसम्म यथावत छ । पहिले पहिले उनको बोकेर सुत्ने बस्तु दिनदिनै फेरिन्थ्यो, तर गत एकमहिनादेखि उनी हामी स्वीजरल्याण्ड जादा त्यहा किनेको उनको मनपर्ने गुडियामात्र बोकेर सुत्छिन् । त्यो गुडियालाई छेउमा सुताएर मात्र ओछ्यानमा पल्टिन्छिन् । पहिले पहिले त आफुले बेलुका सुत्दा बोकेको खेलौना वा किताब बिहान उठ्ने बितिकै छेउमा छ कि छैन भनि खोज्ने गर्थिन । आजकल भने उठ्ने बित्तिकै नुवाईधुवाई गरी केटाकेटी खेल्ने स्कूल जान हतार भएरहोला बेलुका बोकेको खेलौना बिहान उठ्दा खोज्दिनन् ।

उनलाई आजकल निकै पछ्याएको अर्को कुरा भने ठूलो भए पछि के हुने हो । उनीले पोहोरसालको उनको जन्मदिन स्कूलमा मनाउदा ठूली भएर के हुने भनी गुरुमाले सोध्दा "हाकासे" अर्थात विद्यावारीधिसम्मको अध्ययन गर्ने भनिछन् । 'हाकासे' शब्दको अर्थ अरू केटाकेटीलाई थाहा नभएर गुरुमाले पछि बताउनु परेको थियो रे । आजकल भने उनी विश्वविद्यालयको प्रद्यापक हुने भन्छिन् । उनलाई पढाउने पेशा मन पेरको छ जस्तो छ । घरमा मामुले नबुझेको जापानी शब्द अर्थ्याउदा उनी हातले संकेत गर्दै सकेसम्म प्रष्टगरी नबुझुन्ल सम्झाइरहने प्रयास गर्छिन् । उनको अर्को विशेषता भनेको उनले प्रयोगगर्ने शव्दहरू जापानी हुन कि नेपाली हुन भनेर यकिन गरेर मात्र बोल्दछिन् । नेपालीमात्र बुझ्ने आफन्तसँग फोनमा कुरा गर्दा उनी एउटै पनि जापानी शब्द प्रयोग गर्दिनन् । त्यस्तै जापानीसँग कुरा गर्दा एउटै पनि नेपाली शब्द बोल्दिनन् । आठमहिनाको उमेरदेखि जापानमा बसेर नेपाली र जापान भाषा सँगसँगै सिकिन् ।

शनिबार, आइतबार जस्ता छुट्टीका दिन उनलाई मसँग बाहिर खेल्न मनलाग्छ । उनी छनौट गरिगरि कहिले साइकल कुदाउने त कहिले स्केटिंग खेल्ने गर्छिन । साइकल उनको चौथो जन्मदिनको उपहारका रूपमा पोहोर किनिदिएको थियो । शुरूको ६ महिनाजति पछाडिको पाङ्ग्राको दुवै छेउमा स-साना दुई पाङ्ग्रा राखी रिक्शाजस्तो चलाउदा नलडिने बनाइएको थियो । तरपनि ब्रेकलगाउन नजानेर बेलाबेला ओरालोमा उनी हुत्तिएर लड्ने गर्दथिन् । बिस्तारै ब्रेकलगाउन जानिन् । अनि अलि टाढाटाढासम्म राम्ररी साइकल चलाउने जान्ने भएपछि पछाडिका साना पाङ्ग्रा हटाइयो । अहिले भने उनी वरपर हामीले चलाए जतिकै गतिमा साइकल चलाएर घुम्दछिन । स्केटिंग खेल्नमा पनि उनको चाख छ । तर केहि दिनको प्रयास पश्चातपनि राम्ररी खेल्न अझै नजानेकी हुनाले उनले साइकललाई पहिलो र स्केटिंगलाई दोश्रो प्राथमिकतामा राखेकिछन् ।

छ मिहिनाजति भयोहोला, उनलाई आफैले छनौट गरी लुगा लगाउन मन लाग्छ । कतै बाहिर जानेबेलामा आज यो लुगा लगाएर जाने भनी लुगा छान्न थाल्दछिन् । नाच्नपनि उनलाई निकै मनलाग्छ । अस्ति तीजको पार्टीमा भेला भएको बेला ठूला आन्टीहरूसँग निकैबेर नाचेकिथिन् ।

सानी छोरी ऋचा भने एक वर्ष पुरा भएर दुइ लागिन् । उनी अहिले जतापनि हिडेर जान मनपराउछिन् । हामी सपरिवार बाहिर जादा उनलाई बोक्नका लागि बेबीकार लैजान्छौ, तर उनी भने त्यो बेबीकारमा बस्नै मान्दिनन् । अस्ति स्वीजरल्याण्ड घुम्नजादा त्यस्तै भयो । उनीलाई कि हिड्न छोडिदिनु पर्थ्यो कि हामीले बोक्नु पर्थ्यो । बेबीकारमा त सुतेको बेलामात्र राख्न पाइन्थ्यो । अरुबेला उनलाई हामीले बोकी बेबीकारमा हाम्रो झोला राखेर डोर्याउदथियौं ।

बेलुका केहिले काहि म घर फर्कदा उनी सुतिसकेकिहुनछिन् । म नौ बजे तिर पुग्छु भने उनी ८:३० बजे सुत्छिन् । यदि सुतेकिछैनन् भने म पुगे पछि केहिबेर म सँग नखेली सुत्दिन् । त्यसैले उनको स्वास्थ्यलाई ख्याल राख्दै म पुग्नु भन्दा पहिले नै उनलाई सुताउने गरिएको छ । दिदी भने म पुगेपछि केहिबेर मसँग गफ गरेर मात्र सुत्न जान्छिन् । पहिले पहिले उनीलाई सुताउदा छेउमा मपनि सुत्नु पर्दथ्यो । उनलाई एक्लौ सुत्न डर लाग्दथ्यो । तर एक महिना जस्तो भयो होला, उनी आफै एक्लै सुत्न जान्छिन् । मैले पढ्नु छ, तिमी गएर सुत्दै गर भनी पठाउदा केहि आनाकानी गर्दै भएपनि सुत्ने कोठामा गएर सुत्छिन् । पहिले पहिले त सुत्ने कोठामा एक्लै छिन् भने ढोका खुल्ला राखी भित्रबाट मैले पढ्दै गरेको देखिने ठाउमा मात्र सुत्दथिन् ।

सानीले आजकल जस्लाई पनि मामा भनि सम्बोधन गर्दछिन् । मैले केय्यौ पटक बाबा भन भनी सिकाउदा पनि मामा-मामा भन्दै बोलाउछिन् । उनी आफूलाई चाहि नाना भन्छिन् । केहि खानेकुरा खान मनलाग्दा वा खेलाउने कुरा पाउन मनलाग्दा, नाना नाना भन्दै हात अगाडि बढाउदछिन् । बिहान म उठेको केहि बेरमा नै उठ्छिन् र सिधै बाथरूममा नुहाउन आउछिन् । प्लास्टिकको बाटाभरि तातो पानी भरिदिनु पर्दछ, त्यहि भित्र बसी खेली रहन्छिन् । मैले नुवाई सकेपछि उनलाई पनि नुहाई दिन्छु । खाना खान त्यति मन नपराउने हुनाले हामीलाई बिहान उनलाई के खुवाउने भनि हत्ते पर्दछ ।

सानी अहिले निकै कुरा बुझ्ने भएकिछन् । समानको नाम भनी त्यो लिएर आउ भन्दा ल्याउन जान्छिन् । उनका लागि प्रयोग गरिने डाइपर (पाम्पर), टिस्यु जस्ता चिज उनी आफै लिदै आउछिन् । फोटो खिच्ने बेलामा भने मुस्कुराएको अनुहार बनाउन खुब प्रयास गर्छिन् । भरखरै पलाउदै गरेका अगाडिका दुई दाँत देखाएर सकेसम्म हासेको मुख पार्छिन् । केहि पहिले सम्म मामुसँग मात्र मान्ने अहिले हामी बसेको वरपरका अन्कल आन्टीसँग पनि मान्न थालेकिछिन् ।

---***---

No comments: