२०६५ साल मंसिर २६-२९
2008 December 11-14
----------------------
यो जाडोको मौषममा हामी स-परिवार हिरोशिमा घुम्न गयौं । टोकियोबाट डिसेम्बर ११ तारिक बिहान १०:३० को सुपरएक्सप्रेस सिन्कान्सेन रेल चढेर चार घण्टामा ९०० किलोमिटर जतिको दूरी पारगरी हामी दिउसो २:३० बजेतिर हिरोशिमा स्टेशनमा ओर्लन्छौ । स्टेशन अगाडिको खुला चौकमा छोरीहरूको केही फोटो खिची होटेल तिर लाग्दछौ । स्टेशनबाट हिडेर तीन-चार मिनेट जतिमा होटेल हिरोदेन पुगिन्छ । चेक-इन गरी हामी ९औं तलाको ५९३२ नम्बर कोठामा तीन रातका लागि बास बस्न जान्छौ ।
केहिबेर आराम गरी हामी हिरोशिमा क्यास्सल हेर्न भनि बाहिर निस्कन्छौ । होटेलबाट पश्चिम तर्फ १५-२० मिनेट हिड्दा क्यास्सल पुगिन्छ । बाहिरी बनावट कालो काठको भएको क्यास्सलमा बेलुकाको घाम पर्दा गेरूजस्तो रातो रंगको देखिदो रहेछ । क्यास्सल पुग्नुभन्दा पहिले पुराना रूखको बगौचा छ, जस्को वरिपरि पोखरीले घेरिएको छ । हामी पूर्वको गेटबाट प्रवेश गरी बगैचा हुदै उत्तर-पश्चिम कुनामा अबस्थित क्यास्सलमा पुगी केहि फोटा खिच्छौ । दक्षिण-पश्चिमको गेटबाट बाहिर निस्कनका लागि हिड्दा क्यास्सल परिसर भित्र रहेको कलात्मक जिन्जा (मन्दिर) पनि हेर्यौ । बाहिर निस्कने गेट निकै कलात्मक थियो । क्यास्सलको मूख्यद्वार त्यहि रहेछ, हामी पछाडि पट्टीको सानो गेटबाट प्रवेश गरेका रहेछौ । बाहिर निस्केर हामी त्यो गेटको र अगाडि पट्टीको खुला चौकमा रहेका मानवमूर्ति र पानी फोहोराको वरपर केहिबेर बरालियौ । त्यो खुला चौकबाट पनि क्यास्सल खुब राम्रो देखिदो रहेछ । क्यास्सल हरेर हामी हिरोशिमा बजारतिर लाग्छौ । केहिबेर बजार घुमी ७:३० तिर होटेल फर्की खाना खान्छौ ।
भोलि पल्ट बिहान मेरो हिरोशिमा सिटी युनिभर्सिटीमा एउटा प्रेजन्टेशन थियो । त्यसको लागि बिहान ८:१५ तिर होटेलबाट निस्की, रेल चढी एक स्टेशन परको योकोगावा भन्ने ठाउमा ओर्लिएर बस चढी २० मिनेट जतिमा त्यो युनिभर्सिटी गेट अगाडि ओर्लिए । बस स्टपबाट युनिभर्सिटी भित्र प्रवेश गर्दागर्दै बायापट्टीको भवनमा मैले प्रेजेन्टेशन गर्ने मिटिंग रहेछ । मिटिङमा दुई घण्टाजति सहभागी भएर म ११ बजेतिर त्यहाबाट निस्की, होटेल फर्कदा १२ जति बजेको थियो ।
हामी सबैजनाले नजिकैको फुकुया भन्ने डिपार्टमन्ट स्टोरको ११औं तलामा रहेको रेस्टुरेण्टमा खाना खायौ । त्यस पश्चात हामी हिरोशिमा सहरको 組生通り भन्ने मूख्य सडक हुदै आणविक बम डोम र शान्ति स्मारक पार्क हेर्न गयौं । सन् १९४५ अगस्ट ६ तारिक बिहान ८:१५ बजे अमेरिकी वायुसेनाले खसालेको आणविक बमले हिरोशिमा सहर सबै खरानीमा परिणत भएको थियो । त्यहाको संग्राहलयमा देखाइए अनुसार आणविक बम प्रहार पश्चात हिरोशिमामा जम्मा तीन-चार वटा पक्की भवनमात्र ठडिएको अबस्थामा थिए भने बाँकी सबै घरहरू खरानी भई माटोमा मिलेका थिए । त्यहि ठडिएको अबस्थामा रहेको तत्कालिन ब्यापारिक प्रदर्शन भवन (Hiroshima Prefectural Commercial Exhibition Hall) को भग्नावशेषलाई संरक्षण गरी आणविक बम डोम नामाकरण गरिएको छ । त्यो डोमको पश्चिम तर्फ खोला छ । चेक गणतन्त्रका आर्किटेक्ट जेन लेत्जेलले डिजाइन गरेर सन् १९१५ मा बनेको सो भवनको मुख भने नजिकैबाट बग्ने खोला (पश्चिम दिशा) तिर फर्केको छ ।
डोम हेरेर हामी खोला पारीको शान्ति स्मारक पार्क तिर लाग्छौ । त्यो पार्कभित्र बमले मारिएका केटाकेटीको नाममा समर्पित स्मारक, शान्तिको लागि आव्हान गर्ने घण्टी आदि छन् । पार्कको दक्षिणी भागमा संग्राहलय छ । त्यो संग्राहलयमा आणबिक बम कसरी बनाइयो, बनाउन को को संलग्न थिए, किन जापानमा खसालियो, त्यसले जनधनमा कस्तो क्षति पुर्यायो जस्ता सामग्रीहरू प्रदर्शन गरिएका छन् । मानिसहरू जलेर कस्तो अबस्थामा थिए, घरको छानाका टायल, खाना खाने प्लेट, शिशा, केटाकेटीका खेलौना पग्लेर कस्तो रूपमा परिवर्तन भएका थिए आदि आदि मन रुवाउने दु:खी क्षणको स्मरण गराउने सामग्री छन् त्यहा ।
हामी संग्राहलय हेरेर पार्कमा बसी छोरीहरूलाई खाजा खुवाएर हिरोशिमा सहरतिर लाग्छौ । दुबै छेउमा पसलहरू र बिचको बाटोमा पनि छाना भएको लामो सपिंग आर्केट हेर्दै पूर्वतिर लाग्छौ । हेर्दाहेर्दै केहिबेरमा नै झमक्क साँझ पर्छ । अनि हामी दिउँसो खाना खाएको फुकुया डिपार्टमेन्ट स्टोरको रेस्टुरेण्टमा नै बेलुकाको पनि खाना खाई होटेल फर्कन्छौ ।
भोलिपल्ट हामी मियाजिमा जाने भयौ । खाजा खाएर हामी १० बजे तिर होटलबाट निस्केर हिरोशिमा स्टेशनतिर लाग्छौ । १०:३० बजेतिरको रेल चढी पश्तिमतिर २५ मिनेट गएपछि मियाजिमागुची भन्ने स्टेशनमा ओर्लियौं । स्टेशनबाट पूर्वतिर ५ मिनेटजति हिडेपछि मियाजिमा जाने डुंगा (फेरी) चढ्ने ठाउ आउछ । हामी त्यहा पुग्दापुग्दै एउटा डुंगा हिंडो । १५-१५ मिनेटमा डुंगा चल्दा रहेछन् । त्यो पनि दुई ठाउँबाट, भिन्दा भिन्दै कम्पनीको । हामी जेआर (रेल सेवा)को डुंगा चढी मियाजिमा टापुतिर लाग्छौ । अलि पर पुगेपछि मियाजिमाको प्रसिद्ध इचुकुसिमा जिन्जाको समुन्द्रको पानी माथि बनाइएको रातो रंगको गेट देखिन थाल्दछ । मानिसहरू धमाधम फोटो खिच्छन् । केहिबेरमा नै डुंगा तटमा पुग्छ र हामी सबै ओर्लन्छौ ।
मियाजिमा टापुको अधिकांश भुभाग पहाड हो । पश्चिमी तटको केहि सम्म भागमा स-सानो बजार छ, पर्यटकका लागि उपहारका सामान र खानेकुरा बेच्ने । हामी तटैतट केहि दक्षिणतिर हिड्दा १० मिनेटजतिमा इचुकुसिमा जिन्जा देखिन थाल्छ । बाटामा जताततै मृग घुमिरहेका हुन्छन् । त्यो जिन्जाको गेट समुन्दको पानी माथि छ, भने जिन्जाका घरहरू (मन्दिर) पनि अलिअलि पानी माथि नै छन् । मन्दिर रातो रंगमा काठैकाठले बनेको छ । छाना भने खरले छाएको छ । समुन्द्र किनारमा भुईं टाँढे मन्दिर निकै पराकिलो छ । विश्व सम्पदा सुचीमा परेको त्यो मन्दिर भित्र हामीले निकै फोटा खिच्यौ ।
जिन्जा हेरिसकेर नजिकैको रेस्टुरण्टमा हामीले खाना खायौ । अनि "मिसेन" भन्ने पहाड चढ्नलाई हामी रोपवे (केबुलकार) को स्टेशनतिर लाग्यौ । त्यो स्टेशन निकै माथि पहाडमा रहेछ, हिडेर जादा १०-१५ मिनेट जति लाग्दछ होला । तर हामी तलबाट एउटा सटल बस चढी त्यहा गयौं । रोपवे चढ्ने मान्छेको निकै भिड थियो । हामीले टिकट (एक जनाको १८०० येन) काटी लाइनमा १०-१५ मिनेट कुरे पछि मात्र चढ्ने पालो आयो । हामी सहित टोकियो नजिकैको कामाकुरा भन्ने ठाउमा बस्ने बुढाबुढीको एक जोडी एउटा डब्बामा चढ्यौ । केहिबेरमा नै हामी रूखका टुप्पा भन्दा पनि माथि माथिबाट हुइकिन थाल्यौ । परपर समुन्द्र माझमा देखिने स-साना थुम्कामो फोटो खिच्दै जादा १५ मिनेटजतिमा हामी एउटा थुम्कोमा पुग्छौं । त्यहा ओर्लेर एक मिनेट जति उकालो उक्लेर हामी अर्को केबुलकारमा चढ्न गयौ । अब चढ्ने डब्बा अघि चढेको भन्दा तीन गुनाजति ठूलो रहेछ । निकै मान्छे चढे त्यो डब्बामा । हामी तीन-चार मिनेट जतिमा अर्को थुम्कोको स्टेशनमा पुगेर ओर्लयौ । स्टेशनको घरबाट बहिर निस्कने बित्तिकै बायापट्टी ठूलाठूला ढुंगाको थुम्को रहेछ, जहाबाट तल समुन्द्र र पारी पट्टी हिरोशिमा सहर प्रस्ट देखिदो रहेछ । हामीले त्यो थुम्कामा निकै फोटा खिच्यौं । त्यहा रातो मुख भएका बाँदर पनि हुदा रहेछन । त्यहाबाट अझै ३० मिनेटजति हिडेमा त्यो पहाड (भन्न त "मिसेन" माउन्टेन भनिन्छ, उचाई भने ५३० मिटर हो) को टुप्पामा पुगिन्छ रे । टुप्पातिर जाने बाटोमा बुद्धका पुराना मन्दिर छन रे । हामी पनि नजिकै मन्दिरहरू छन् कि भनि केहि बेर हिड्यौ, तर केटाकेटीसँग हिडेर पहाडको टुप्पोसम्म पुग्दापुग्दै रात पर्ने लागेर बिच बाटोबाटै फर्कयौं ।
फर्केर रोपवे चढेर तल तटमा झर्यौ । त्यसबेला त्यो इचुकुसिमा जिन्जा वरपरको पानी त हराइ सकेको रहेछ । केहि घण्टा पहिले हेर्दा जिन्जाको त्यो रातो गेट पानी माथि समुन्द्रमा देखिएको थियो, अहिले त त्यो गेट भएको ठाउमा पानी सुकिसकेको रहेछ । बेलुका भएपछि समुन्द्रको पानीको सतह घटेर त्यो गेट वरपर पानी हुदैनरहेछ । हामीले पानी नहुदाको गेटको छेउसम्म गई फोटा खिच्यौ ।
बेलुका झिसमिस साँझ परिसकेको थियो, हामी डुंगा चढ्ने ठाउँ सम्म फर्कदा खेरी । डुंगा चढेर मियाजिमागुची स्टेशन आई त्यहाबाट रेल चढेर हामी हिरोशिमा स्टेशन फर्क्यौ । हिरोशिमा स्टेशनको घर निकै ठूलो छ । हामीले त्यसको तेश्रो तला रहेको रेस्टुरण्टमा खाना खायौ र होटेल तिर लाग्यौ ।
भोलि पल्ट बिहान खाजा खाएर टोकियो फर्कने तयारी गर्न थाल्यौ । १०:३० बजेतिर होटेलबाट चेक आउट गरी हामी हिरोशिमा स्टेशनतिर आयौ । त्यहा केहि उपहारका सामग्रीहरू (जापानी भाषामा "ओमियागे") किन्यौ । १२:०६ मिनेटको सिन्कान्सेन रेल चढ्नु भन्दा अगाडि खाना खाने समय नहुनाले हामीले रेलभित्र खानेखालका केहि खानेकुरा पनि कियौं ।
रेल चढी, खानेकुरा खादै हामी चार घण्टा बिताएर टोकियो आइपुग्यौ । टोकियो स्टेशनबाट लोकल रेल चढी हाम्रो बासस्थान पुग्दा बेलुकाको ६ बजिसकेको थियो ।
यसरी हाम्रो हिरोशिमा यात्रा अति रमाईलो रह्यो । मौषमपनि न्यानो थियो, छोरीहरुपनि स्वस्थ्य रहे ।
----****----
Tuesday, December 16, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment