Tuesday, January 6, 2009

ऋचाको बानी, बोली

२००९ जनवरी ६
---------------

हाम्री छोरी ऋचा अहिले हामीले बोलेको धेरै जसो बुझ्ने र उनी आफै केहि शब्द बोल्न सक्ने भएकी छन् । ऋचाको उमेर आज १६ महिना पुग्दैछ ।

उनीले अहिले उच्चारण गर्ने शब्दहरू: पापा, मामा, जिज्जी (दिदी), पा: (पानी), माम, पान्पा (पान्पर), मा:पा: (माम पाको), चेन्चे (सेन्से, गुरूआमालाई बोलाउने जापानी शब्द), बुबु, चन्चा ।।। उनी एक्लै खेलिरहदा के के बोलिरहन्छिन ।

उनी नयाँ नयाँ शब्दहरू दिनहुँ जस्तो उच्चारण गर्ने प्रयास गरी रहन्छिन् । उनलाई दिदी भन्न निकै समय लागेको थियो । पापा, मामा भन्न धेरै पहिलेदेखि जानेपनि "जिज्जी" भन्न थालेको एकदुई हप्तामात्र हुदैछ । यसै हप्तादेखि "सेन्से" भन्न थालेकिहुन् ।

जुनसुकै जनाबरलाई देख्दा उनी "भाउभाउ" गर्न थाल्छिन । किताबका चित्रमा होस कि, लुगामा बुट्टामा होस उनी जहा जतिबेला जनाबरको चित्र देख्छिन् "भाउभाउ" भन्दै चोर औलाले देखाउन थालिहाल्छिन् । घरमा राखेका कुकुर, बिरालामा गुडियापनि देख्यो कि "भाउभाउ" गर्न थाल्छिन् ।

श्रेया दिदीले कम्प्युटरमा प्रायजसो उनको आफ्नै भिडियो बजाउने हुदा, कम्प्युटरमा भिडियो शुरु भयोको ऋचा "जिज्जी, जिज्जी" भन्दै कम्प्युटरतिर देखाउदछिन । आजकल खिचेका केहि भिडियोमा आफूलाई पनि पाउदा उनी "नाना" "नाना" भन्छिन । उनलाई हामी सानी वा सानु भनेर सम्बोधन गर्छौ, तर उनी आफैलाई भने "नाना" भन्छिन् ।

ऋचाको अहिले जम्मा ६ वटा मात्र दाँत पलाएका छन्, तलका दुई र माथीका चार । माथीका दुई दाँतमात्र ठूला छन, अरू दुई भरखरै पलाउदै गरेका सानासाना छन् । दात भरखरै पलाउन थालेपनि दाँत माझ्न उनले थालेको तीनचार महिना जति भई सक्यो । बेलुका दाँत माझ्ने बेलामा उनी सबैलाई ब्रश पुर्याएर मात्र आफ्नो ब्रश लिन्छिन् । सबै भन्दा पहिले "मामा" को ब्रश माग्छिन् र मामा भए ठाउमा पुर्याउछिन् । अनि जिज्जीको ब्रश पुर्याएर मात्र आफ्नो ब्रश माग्छिन् । केहिदिन पहिले देखि उनको ब्रशमा पनि मन्जन राख्न भन्छिन । उनलाई देखाउदै ब्रशलाई मन्जनको ट्युब छेउमा दुइतीन पटक छुवाए पछिमात्र ब्रश समाउछिन । ब्रशलाई मुखमा राखेर केहिबेर खेलाएपछि हामीले थुके जस्तै उनीपनि बेसिनमा थुक्छिन् । हामीले कुल्ला गरिसकेपछि उनलाई पनि कुल्ला गराउनका लागि अलिकति पानी मुखमा राखिदिनु पर्छ ।

बेलुका सुत्ने बेलामा केहिबेर छटपट गर्छिन् । बिरामी भएको बेला निकै लामै छटपट गरेपनि अरूबेला केहिबेरमा नै निदाउछिन् । राति सिरकबाट निस्केर तकिया तिर गएर सुत्छिन । जाडोको मौषम छ, अलिअलि चिसोलाग्यो कि नाक बन्द भएर छटपटाउ छिन् ।

बिहान हामी उठेको केहिबेरमा नै हाँस्दै उठ्छिन । खाजा खान त्यतो मन पर्दैन, फकाएर फुल्याएर खुवाउनु पर्छ । उनलाई फलफूलमा स्ट्रबेरी मन पर्छ । काटेर स-साना टुक्रा पारेर प्लेटमा राखिदिनु पर्छ, उनी काटाले एक-एक टुक्रा निकालेर खान्छिन । उनलाई अरूले खुवाएको भन्दा आफैले खान मन पराउछिन् । तर आफै खादा थोरै मात्र खाएमा बोकेर डुलाउदै, के के देखाउदै खुवाउदा नअगान्जेल सजिलै खान्छिन् । उनलाई गाईको वा बट्टाको दुध मन पर्दैन ।

उनी पहिले पहिले आफ्नो मामु भन्दा अरूसँग त्यतो जान मान्दिन थिन् । तर अहिले जोसँग पनि जान मान्ने भएकी छन् । मौका मिल्दा हाम्रा साथीभाईहरूले उनलाई खुब खेलाउछन् ।

ऋचाको वस्सवलिलालाई नजिकबाट अबलोकन गर्दै अहिले हामी अतुलनिय आनन्द महसुस गरिरहेका छौ ।

अस्तु:

1 comment:

Anonymous said...

हैं एस्तो पारिवारिक ब्लॉग पनी पढ्नु पाइन्छ भनेर मैले सोचेको पानी थिएन..... आती राम्रो छ ब्रों
आशीष