Sunday, June 21, 2020

ग्रहण, पुराण र परम्परा

***ग्रहण, पुराण र परम्परा***
२०७७ साल असार ७ गते आइतबार आज सूर्यग्रहण। सूर्य र पृथ्वी जोड्ने काल्पनिक सिधा रेखामा चन्द्रमा आएर सूर्यबाट आउने प्रकाशलाई छेक्दा पृथ्वीबाट सूर्यको केही भाग कालो (खण्डग्रास) वा सम्पूर्ण भाग कालो (खग्रास) देखिने अवस्थालाई सूर्यग्रहण भनिन्छ। नेपाल वा जापानबाट आज खण्डग्रास सूर्यग्रहण देखिन्छ भने भारत, चीन र अन्य देशका धेरै भूभागबाट खग्रास सूर्यग्रहण देखिँदैछ। खग्रास सूर्यग्रहणमा पनि सूर्यको वरिपरि चाँदीको घेरा जस्तै सेतो प्रकाश देखिन्छ जसलाई अंग्रेजीमा रिङ अफ फायर भनिन्छ। पृथ्वीबाट देखिने सूर्यको आकारभन्दा चन्द्रमाको आकार सानो भएको हुनाले चन्द्रमाले सूर्यलाई पूर्ण ढाक्न नसक्दा यस्तो चाँदीको घेरा देखिएको हो। यो त भयो सूर्यग्रहण लाग्ने वैज्ञानिक कारण जुन तेश्रो शताब्दीमा नै (सूर्यसिद्धान्त) खगोलशास्त्रमा प्रस्ट्याइएको छ। आज मलाई ग्रहणबारेमा पौराणिक ग्रन्थहरूमा उल्लेख गरिएका रमाइला प्रसङ्गहरूका बारेमा पनि जान्न र लेख्न मन लाग्यो।
ग्रहण लाग्ने कारणका बारेमा बुझ्न भागवत, विष्णुपुराणमा उल्लेख गरिएका सूर्य र चन्द्रका दुस्मन राहुका बारेमा चर्चा गरौं। विष्णुपुराणका अनुसार दैत्य गुरु शुक्राचार्यले भगवान शिवको कठिन तपस्या गरी संजीवनी मन्त्र प्राप्त गर्दछन्, जुन मन्त्रको प्रयोगबाट देवता र दैत्य बीचको युद्धमा मारिएका सबै दैत्यलाई पुनर्जीवित पार्न सक्ने शक्ति हुनाले दैत्यहरूलाई देवताले परास्त गर्न नसक्ने अवस्था आउँछ। यस्तो जटिल परिस्थितिमा देवतालाई शक्तिशाली बनाउनका लागि विष्णुले समुन्द्र मन्थन गरी अमृत निकालेर देवतालाई खुवाउने योजना बनाउँछन्। तर देवताले मात्र समुन्द्र मन्थन गर्न असमर्थ हुने हुनाले निकालिएको अमृत देवता र दैत्यले बराबरी बाँड्ने शर्तमा मन्दार पर्वतको मदानीमा वासुकी नागराजको नेती बनाइन्छ। विष्णु भगवान कूर्म अवतारमा समुन्द्रको फेदमा गई मन्दार पर्वतलाई डुब्नबाट बचाएर राखी स्वर्गका राजा इन्द्रको नेतृत्वमा देवताहरू र दैत्यराज वालिको नेतृत्वमा दानवहरूले वासुकी नागको दुई सुर (टाउकोतिरको भागमा दानवहरू र पुच्छरतिरको भागमा देवताहरू) मिलेर समुद्र मन्थन गर्छन्। अमृत निस्कनु भन्दा पहिले हलाहल नामक विष निस्कन्छ, जुन शिवजीले पिएर लोकलाई विषाक्त हुनबाट बचाउछन्। (शिवजीले विष सेवन गरी कण्ठमा राख्दा कण्ठको रंग नीलो हुन्छ, त्यसैले शिवजीलाई नीलकण्ठ पनि भनिन्छ।) समुन्द्र मन्थनबाट अमृत निस्कनु भन्दा पहिले सुरभि, कौस्तुभा, परिजात, लक्ष्मी, वारुणी र धन्वन्तरिको उत्पति हुन्छ। निस्केको अमृत देवतालाई नबाँडी दानवहरूले एकलौटी लिएर जान्छन्। दानवले लुटेको अमृत देवतालाई खुवाउनका लागि विष्णु भगवान एक सुन्दर स्त्री मोहिनीको रूपमा दानव सभामा पुगी देवताहरूलाई आमन्त्रण गर्न लगाएर अमृतको घडा बोकेर देवताहरू बसेको पंतिमा गएर पालैपालो सबै देवताहरूलाई अमृतपान गराउँछन्। स्वरभानु नामको दानव पनि देवताको भेषमा परिवर्तन भई देवतासँगै बसेर अमृतपान गर्न पुग्दछ। यो कुरा सूर्य र चन्द्रले चाल पाएर तुरुन्त विष्णुलाई बताउँछन्। विष्णुले सुदर्शन चक्रले स्वरभानुलाई मार्न शिर छेदन गर्दछन्। तर स्वरभानुले अमृत निलिसकेको हुनाले काटिएको शिर पनि राहुका रूपमा जीवित रहन्छ। त्यस दिनदेखि सूर्य र चन्द्रको जन्मजात दुस्मनका रूपमा राहु घुमिरहेको छ र बेला बखतमा सूर्य र चन्द्रलाई निल्ने अर्थात् ग्रास गर्ने प्रयत्न गर्दछ। पौराणिक शुक्तिअनुसार सूर्य र चन्द्र ग्रहण लाग्ने कारण यही राहु हो। राहुको हात र शरीर नभएको हुनाले त्यसैले सूर्य र चन्द्रलाई सधैँका लागि पूर्ण निल्न भने सक्दैन र ग्रहणहरू क्षणिक हुने गर्दछन् । आजको सूर्यग्रहण पनि न्यूनतम ३० सेकेन्डदेखि अधिकतम ३ घण्टा ४५ मिनेट लामो हुँदैछ।
अब चर्चा गरौं सूर्यग्रहणमा धर्मशास्त्रअनुसार पृथ्वीमा के हुन्छ र के के गर्नुपर्छ।
मनुस्मृति, ग्रहलाघव, निर्णय सिन्धु आदिमा सूर्यग्रहणका बेलामा मानवले गर्नुपर्ने कार्यका बारेमा उल्लेख गरिएको छ। सूर्यलाई मानव तथा मानवमैत्री जीवका सर्जक मानिन्छ। सूर्यग्रहणका बेला सूर्यकिरणबाट पृथ्वी वर्जित हुँदा पृथ्वीमा अनेकन् खराब तत्व तथा जीवाणुहरू फैलिने हुनाले यस बेलामा खाना पकाउनु, खानुलाई अशुभ मानिन्छ। सूर्यग्रहण शुरु हुनुभन्दा चार प्रहर (एक दिनमा आठ प्रहर हुन्छन्) पहिलेबाट अशुभ घडी शुरु हुन्छ। अशुभ घडी शुरु हुने बित्तिकै स्नान गरी, निराहार बसी, भजन, जप, तर्पण, होम तथा दानदक्षिणा गर्ने कार्यमा संलग्न हुनुपर्छ। ग्रहण समाप्त भएपछि राहुको अशुभ छायाबाट बिटुलिएको शरीर शुद्ध पार्न पुनः स्नान गर्नुपर्छ। घरका लुगाकपडा, अन्नपात तथा सरसामग्रीहरू शुद्ध पार्नका लागि तुलसी पानी छर्किने चलन छ। अर्को रमाइलो प्रसङ्ग पनि छ, ग्रहणका बेलामा खोलानाला, ताल, पोखरी, झरना, समुन्द्र सबैतिरका पानी गंगा नदीको पानी जत्तिकै पवित्र हुन्छ रे। त्यसैले जहाँका पानीमा नुहाउँदा पनि शरीर शुद्ध पार्न सकिन्छ। सूर्यग्रहण पश्चात् मानिसले मात्र होइन, मन्दिरमा देवताका मूर्तिहरूको पनि स्नान गराइन्छ। सूर्यग्रहणको बेलामा ब्याउन लागेको गाईको वरिपरि घुम्दा पृथ्वी वरिपरि परिक्रमा (अर्थात् प्रदक्षिणा) को पुण्य मिल्छ रे। ग्रहणको बेलामा पितृको तिथिश्राद्ध परेमा नियमित श्राद्ध नगरेर ग्रहणश्राद्ध गरिन्छ रे, जसमा ब्राह्मणलाई पक्वान्न भोजन गराउनको साटो काँचो अन्न तथा द्रव्य दान गरिन्छ।
हाम्रो राशी अनुसार ग्रहण हेर्दा शुभ वा अशुभ हुने कुरा पनि उल्लेख गरिएको छ। सूर्यग्रहणका दिन जन्मदिन पर्ने व्यक्तिले ग्रहण हेर्नु हुँदैन रे। आफ्नो जन्म राशीबाट तेश्रो, छैठौँ, दशौं तथा एघारौं राशी टाढाको राशीमा सूर्य भएको बेलामा लागेको ग्रहण सो व्यक्तिका लागि अत्यन्त शुभ मानिन्छ भने दोश्रो, पाचौं, सातौं तथा नवौं टाढाको राशीमा लागेको ग्रहण ठीकैको शुभ मानिन्छ। त्यस्तै गरि चारौं, आठौं तथा बाह्रौँ टाढाको राशीमा लागेको ग्रहण अशुभ हुने हुनाले नहेर्न भनिन्छ।
(स्पष्टीकरणः केटाकेटीदेखि गाउँघरमा देखेको, सुनेको चलनका बारेमा आज बुझ्न मन लागेर इन्टरनेटमा उपलब्ध रहेका धर्मशास्त्रसम्बन्धी कुराहरू पढ्दा थाहा पाएका हाम्रा पौराणिक कथनहरू यहाँ पोस्ट गरेको छु। पक्कैपनि यहाँ धेरै राम्रा कुरा छुटेका वा नमिलेका हुन सक्छन्। धर्मशास्त्रका विज्ञहरूबाट टिप्पणी पाएमा आभारी हुनेछु। फोटो: राहुले सूर्यदेवलाई ग्रास गर्दै, श्रोत: इन्टरनेट)

No comments: