समृद्धिमा राजनीतिक नेतृत्व

प्राविधिक ज्ञान भएका सांसद, कर्मचारी र उद्यमीले उत्पादन, उत्पादकत्व, निर्यात, उद्योग र रोजगारी बढाउन तथा सार्वजनिक लगानीलाई प्रतिफलमुखी बनाउन सक्छन् । उनीहरूले प्रमाणमा आधारित नीति, पारदर्शी निर्णय र नतिजाप्रति जवाफदेही शासनमार्फत स्वास्थ्य, शिक्षा, खानेपानी, विपत् व्यवस्थापन र डिजिटल सेवामा नागरिकले अनुभूत गर्ने सुधार पनि ल्याउन सक्छन् । त्यसैले हुनु पर्छ प्रधानमन्त्री वालेन्द्र शाहले हालै प्राविधिक पृष्ठभूमिका १७ सांसदसँग करिब दुई घण्टा लामो छलफल गर्नुभयो । हालैको बाढीपहिरोबाट उत्पन्न अवस्थाबाट सुरु भएको छलफल औद्योगिकीकरण, विद्युत् खपत वृद्धि, रासायनिक मल कारखाना, वनसम्बन्धी कानुन सुधार र नयाँ विधेयकसम्म फैलिएको थियो । उहाँले सांसदहरूलाई आफ्नो ज्ञान, सिप र अनुभव देश विकासमा उपयोग गर्न आग्रह गर्दै ठोस सुझाव तथा प्रस्ताव सिधै प्रधानमन्त्री कार्यालयमा पठाउन आग्रह गर्नुभयो । सांसदहरूले पूर्वाधारमा तीन सिफ्टमा काम गर्ने, सार्वजनिक खरिद ऐन सुधार्ने, डिजिटल शासन लागु गर्ने र इन्जिनियरको पारिश्रमिक बढाएर प्रतिभा पलायन रोक्ने सुझाव दिए । यस्ता संवादलाई एक पटकको भेटमा सीमित नराखी नियमित संस्थागत संयन्त्रका रूपमा अघि बढाउन आवश्यक छ । यो भेटले देशको प्रगतिमा प्राविधिक नेतृत्वको निर्णायक भूमिकालाई पुन: उजागर गरेको छ ।
संयुक्त राष्ट्रसङ्घको निर्णय अनुसार नेपाल २४ नोभेम्बर २०२६ मा अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने तय थियो तर आर्थिक तथा बाह्य चुनौती र सङ्क्रमण रणनीति सुदृढ गर्नुपर्ने कारण देखाउँदै सरकारले तयारी अवधि थप गर्न अनुरोध गरेको छ । स्तरोन्नतिका लागि सन् २०२४ को समीक्षामा नेपालले मानव सम्पत्ति सूचकाङ्कमा ७६.३ र आर्थिक तथा वातावरणीय जोखिम सूचकाङ्कमा २९.७ अङ्क हासिल गरी दुवै मापदण्ड पूरा गरे पनि प्रतिव्यक्ति कुल राष्ट्रिय आय अमेरिकी डलर एक हजार तीन सय मात्र भएकाले एक हजार ३०६ अमेरिकी डलरको मापदण्ड थोरैले पूरा गर्न सकेको थिएन । पछिल्लो मूल्याङ्कन अनुसार भने नेपालले तीन वटै मापदण्ड पूरा गरिसकेको छ । यो अवस्थाबाट माथि उठ्न आवश्यक प्रमुख साधन विज्ञान, प्रविधि र प्राविधिक ज्ञान नै हुन् । यद्यपि ज्ञान मात्रले पुग्दैन, ज्ञानलाई नीति, लगानी र कार्यान्वयनमा रूपान्तरण गर्ने राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र निजी क्षेत्रको क्षमता आवश्यक हुन्छ । यी तीन क्षेत्रमा वैज्ञानिक सोच र प्राविधिक दक्षताको प्रभावले नै नेपालको स्तरोन्नति कति दिगो र गुणस्तरीय हुन्छ भन्ने निर्धारण गर्ने छ ।
हाम्रो वर्तमान अवस्था
संसद् र मन्त्रीपरिषद्मा इन्जिनियर, चिकित्सक, कृषिविज्ञ, अर्थशास्त्री र सूचना प्रविधिविद्को उपस्थिति सीमित र केही दलमा मात्र केन्द्रित देखिन्छ । जलविद्युत्, सडक, सूचना प्रविधि र जलवायु जस्ता गहिरो प्राविधिक विषयको नीतिगत बहससमेत प्राविधिक तथ्यभन्दा राजनीतिक नारामा बढी केन्द्रित हुने गरेको छ । कर्मचारीतन्त्रको संरचना मूलत: सामान्य प्रशासनमुखी छ । इन्जिनियरिङ, स्वास्थ्य, कृषि र वनसेवाका प्राविधिक कर्मचारी रहे पनि अधिकांश मन्त्रालयमा नीतिगत निर्णयको अन्तिम तहमा प्रशासन सेवाकै प्रभाव बढी छ । विशेषत: विद्युतीय सुशासनका लागि आवश्यक कम्प्युटर इन्जिनियरलाई असम्बन्धित काममा लगाउने, विविध सेवा समूहमा विभाजन गर्ने तथा बारम्बार सरुवा गर्ने अभ्यासले उनीहरूको विशेषज्ञता, प्रतिस्पर्धी क्षमता र संस्थागत ज्ञान विकासमा बाधा पुर्याएको छ ।
निजी क्षेत्रको ठुलो हिस्सा अझै आयातमा आधारित व्यापार तथा सेवामा केन्द्रित छ । सूचना प्रविधि सेवा निर्यात, सफ्टवेयर आउटसोर्सिङ र स्टार्टअपमा आशालाग्दा सङ्केत देखिए पनि औद्योगिक आधार, स्वदेशी उत्पादनको मात्रा र विविधता तथा निर्यात क्षमता कमजोर छन् । प्राविधिक दक्षताको कदर, उचित रोजगारी र दीर्घकालीन वृत्ति विकासको पर्याप्त अवसर नदेखिँदा देशमै प्रशिक्षित इन्जिनियर, चिकित्सक र वैज्ञानिक ठुलो सङ्यामा बिदेसिइरहेका छन् ।
राजनीतिमा प्राविधिक दृष्टि
हरेक राजनीतिज्ञ इन्जिनियर वा वैज्ञानिक नै हुनु पर्छ भन्ने होइन तर राष्ट्रिय प्राथमिकता तय गर्ने नेतृत्वमा प्राविधिक साक्षरता र प्रमाणमा आधारित निर्णय गर्ने संस्कार अनिवार्य छ । कुन जलविद्युत् आयोजना कुन ढाँचामा बनाउने, कुन सडकको प्राविधिक मापदण्ड कस्तो हुने, डाटा सेन्टर, साइबर सुरक्षा वा कृत्रिम बुद्धिमत्तासम्बन्धी नीति कस्तो हुने भन्ने निर्णयले दशकौँसम्म अर्थतन्त्रको दिशा तय गर्न सक्छन् ।
प्राविधिक बुझाइ भएका नेताले आयोजनालाई राजनीतिक भागबन्डा वा तात्कालिक लाभभन्दा लागत लाभ विश्लेषण र दीर्घकालीन प्रतिफलका आधारमा मूल्याङ्कन गर्न सक्छन् । उनीहरू विज्ञका सुझाव बुझ्न, सही प्रश्न गर्न तथा परिपक्व आयोजना छनोट र कार्यान्वयनमा योगदान दिन सक्षम हुन्छन् । सुशासन, पारदर्शिता र क्षमतामा आधारित नेतृत्व खोजिरहेको युवापुस्ताको माग सम्बोधन गर्न दलहरूले विषयगत विज्ञलाई नेतृत्वमा प्रवेश र अवसर दिनु पर्छ । नीति जतिसुकै राम्रो भए पनि त्यसको कार्यान्वयन अन्तत: कर्मचारीतन्त्रको क्षमतामा भर पर्छ । ठुला आयोजनाको डिजाइन समीक्षा, प्राविधिक विशिष्टीकरणमा आधारित खरिद, गुणस्तर नियन्त्रण र डिजिटल प्रणालीको सुरक्षा सामान्य प्रशासनिक सिपले मात्र सम्भव हुँदैन । आयोजनाको लागत र समय बढ्नु, सार्वजनिक सेवाका सफ्टवेयर बारम्बार ठप्प हुनु र संवेदनशील डाटा चुहिनु यसै कमजोरीका सम्भावित लक्षण हुन् ।
नीतिका लागि अनुसन्धान
नीति निर्माण राजनीतिक प्रतिबद्धताबाट सुरु भए पनि त्यसको आधार अनुसन्धान हुनु पर्छ । सडक, सिँचाइ, स्वास्थ्य बिमा वा डिजिटल सेवाको योजना बनाउँदा लागत, प्रभाव, जोखिम र विकल्प नहेरी अनुमान वा दबाबमा निर्णय गर्नु हुँदैन । त्यसैले प्रत्येक प्रमुख मन्त्रालयसँग आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित तथ्याङ्क, प्रविधि र प्रवृत्ति विश्लेषण तथा अनुसन्धान गर्ने क्षमता चाहिन्छ । २०७५ सालमा स्थापित नीति अनुसन्धान प्रतिष्ठानलाई हालै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमातहत सारिएको छ । प्रधानमन्त्री शाहले यस संस्था र राष्ट्रिय योजना आयोगलाई खारेज नगरी सुदृढ बनाउने बताएका छन् । प्रधानमन्त्री कार्यालयसँगको आबद्धताले अनुसन्धानमा आधारित सुझाव उच्च तहमा पु¥याउन र अन्तरमन्त्रालय समन्वय गर्न सहज हुने अपेक्षा गर्न सकिन्छ । यस्तो केन्द्रीकृत संरचनामा दुई जोखिम छन्, अनुसन्धान सत्ताको तात्कालिक प्राथमिकतामा सीमित हुन सक्छ र एउटै सानो संस्थाले कृषि, ऊर्जा, सूचना प्रविधि तथा स्वास्थ्य जस्ता विविध क्षेत्रको गहिरो अनुसन्धान धान्न सक्दैन । त्यसैले प्रभावकारी नीति अनुसन्धानका लागि केन्द्रीय संस्थासँगै मन्त्रालयगत वा क्षेत्रगत क्षमता पनि चाहिन्छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान, नेपाल कृषि अनुसन्धान परिषद् र नेपाल स्वास्थ्य अनुसन्धान परिषद् जस्ता क्षेत्रगत संस्था पहिल्यै छन् । मुख्य समस्या संस्थाको अभाव होइन, तिनका अनुसन्धानलाई मन्त्रालयका नीति, कार्यक्रम र बजेटसँग पर्याप्त रूपमा जोड्न नसक्नु हो । त्यसैले केन्द्रीय र क्षेत्रगत अनुसन्धान क्षमता जोड्ने मिश्रित मोडेल नेपालका लागि उपयुक्त हुन्छ ।
व्यापारबाट उत्पादनतर्फ
स्तरोन्नतिपछि नेपालले केही बजारमा हाल पाइरहेको भन्साररहित वा कोटारहित पहुँच क्रमश: गुमाउने र उत्पत्तिसम्बन्धी कडा नियम सामना गर्नुपर्ने हुन्छ । पर्याप्त तयारी नभए गार्मेन्ट, पस्मिना र कार्पेट जस्ता निर्यातमूलक उद्योगको रोजगारी र प्रतिस्पर्धात्मक क्षमता प्रभावित हुने जोखिम अध्ययनले देखाएका छन् । त्यसैले प्रतिस्पर्धाको दिगो आधार सस्तो श्रम होइन, उत्पादकत्व, गुणस्तर र नवप्रवर्तन हुन् ।
प्राविधिक पृष्ठभूमिका उद्यमीले आयात प्रतिस्थापनका लागि स्थानीय कच्चा पदार्थमा मूल्य अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपका वस्तु तथा सेवा विकास गर्न सक्छन् । सूचना प्रविधि, जलविद्युत्, कृषि प्रशोधन र पर्यटनमा यस्तो क्षमता बढाउन सके परम्परागत भन्सार सुविधामा कम निर्भर हुने ज्ञानमा आधारित वस्तु तथा सेवा निर्यात विस्तार गर्न सकिन्छ ।
अबको बाटो
स्तरोन्नति सन् २०२९ सम्म सरे पनि थप तीन वर्षलाई पर्खाइको समयका रूपमा नभई क्षमता निर्माणको अन्तिम अवसरका रूपमा लिनु पर्छ । यसका लागि आवश्यक केही ठोस कदम यसप्रकार छन् :
दलहरूमा प्राविधिक नेतृत्वको समुचित उपस्थिति : समानुपातिक सूची, दलका नीति विभाग तथा मन्त्री चयनमा विषयगत दक्षता र विशेषज्ञतालाई महìवपूर्ण आधार बनाउनु पर्छ ।
संसद्मा विज्ञान तथा प्रविधि सल्लाहकार एकाइको स्थापना : विधेयक तथा ठुला आयोजनामाथि सांसदलाई निष्पक्ष र प्रमाणमा आधारित प्राविधिक जानकारी उपलब्ध गराउने संरचना आवश्यक छ ।
कर्मचारीतन्त्रमा विशेषज्ञ करियर पथको सुनिश्चितता : प्राविधिक कर्मचारीलाई सचिव तहसम्मको अवसर र न्यूनतम कार्यकाल दिनु पर्छ । निजी क्षेत्र वा विदेशमा विशेषज्ञता हासिल गरेका विज्ञलाई योग्यता र अनुभवका आधारमा सम्बन्धित उच्च जिम्मेवारीमा बाह्य विशेषज्ञका रूपमा प्रवेश गराउने व्यवस्था गर्नु पर्छ ।
सरकारी अनुसन्धान संस्थाको सुदृढीकरण : केन्द्रमा सुदृढ नीति अनुसन्धान प्रतिष्ठान र प्रमुख मन्त्रालयमा अनुसन्धान तथा विश्लेषण एकाइको मिश्रित संरचना विकास गर्नु पर्छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान र विश्वविद्यालयलाई नीति मसौदाको प्राविधिक समीक्षा तथा अन्तर्राष्ट्रिय मानकीकरणमा सक्रिय भूमिका दिनु पर्छ ।
निजी क्षेत्रलाई अनुसन्धानमा प्रोत्साहन : अनुसन्धान तथा विकास खर्चमा कर छुट, स्टार्टअप कोषको पारदर्शी परिचालन तथा सरकारी खरिदमा स्वदेशी प्रविधिलाई प्राथमिकता दिने नीति अवलम्बन गर्नु पर्छ ।
प्रवासी नेपालीविज्ञको ज्ञान परिचालन : अल्पकालीन परामर्श, संयुक्त अनुसन्धान तथा प्रविधि हस्तान्तरणका लागि आवश्यक संस्थागत संयन्त्र विकास गर्नु पर्छ । अति कम विकसित मुलुकबाट स्तरोन्नति अन्तिम गन्तव्य होइन, समृद्धिको यात्राको एउटा कोसेढुङ्गा मात्र हो । त्यसलाई दिगो बनाउन राजनीतिमा प्राविधिक दृष्टि, कर्मचारीतन्त्रमा विशेषज्ञता र निजी क्षेत्रमा नवप्रवर्तन एकैसाथ चाहिन्छ । सन् २०२९ सम्मको समयलाई यही इच्छाशक्ति प्रमाणित गर्ने अवसरका रूपमा उपयोग गर्न सके मात्र स्तरोन्नति दिगो विकास र समृद्धिको बलियो आधार बन्ने छ ।