Sunday, April 12, 2020

दुःखी आत्मा र कुण्ठा

*दुःखी आत्मा र कुण्ठा*
अहिले युरोप, अमेरिका लगायत विकसित देशहरूमा कोरोनाभाइरस संक्रमणले जनजीवनलाई नराम्ररी प्रभाव पारेको खबरले केही कुण्ठित आत्माहरू खुशी भएका छन्। ती देशहरूले मानव जाती र मानवताका विरुद्धमा घोर पाप गरेको परिणाम स्वरूप कोभिड-१९ ले त्यहाँका जनतालाई सताएको, ती देशहरूमा अध्ययन तथा कामका सिलसिलामा बस्दै आएका नेपालीहरू खान, बस्न समेत नपाएर हरिबिजोक अवस्थामा छटपटाई रहेको आदि आदि अतिरञ्जित स्वश्रृजित कथा लेखेर पोस्ट गर्ने दुःखी आत्माहरूलाई यो विश्व महाव्याधि उनीहरूले भने जस्तो कुनै देशले धेरै पाप गरेर फैलिएको होइन भनि कसरी सम्झाउने? नेपालमा अहिलेसम्म कोभिड-१९ फैलिन नपाएर डरलाग्दो, नियन्त्रण बाहिरको अवस्था नआउनुका पछाडि अनेकौँ अज्ञात कारणहरू होलान्, जुन सम्बन्धित विषयवस्तुका विज्ञहरूले बिस्तारै अनुसन्धान गर्दै जाने छन्। अहिलेको अवस्थामा के बुझ्न जरुरी छ भने नेपाल र हामी नेपालीहरू अज्ञात कारणले भाग्यमानी छौं कि यो विश्व महामारीको बेलामा पनि हाम्रो स्वास्थ्य र जीवन सुरक्षित छ। यतिको भाग्यमानी हुनु नै अपार हर्षको कुरा हो। यस्तो अवस्थामा अरूको दुःखमा खुच्चिङ नगरी, सानो कुरालाई बढाइचढाइ अतिरञ्जक नपारी, कुभलो नचिताई, ईर्ष्या नगरी, आफ्नो कुण्ठाको प्रचारप्रसार नगरीकन पनि खुशी र आनन्दित जीवन बाच्न सकिन्न? सहअस्तित्व, सहानुभूति, सहकार्य, सहिष्णुता, भाइचारा आदिको भावना ती दुःखी आत्माहरूमा जन्मजात नै नभएका हुन त?

No comments: