*सिनेमा मोह*
२४ घण्टा घर भित्रै बसी घरबाटै अफिसको काम गर्न थालेपछि weekdays र weekends का समयको प्रभावकारी व्यवस्थापन गर्ने बानी बसाल्ने प्रयास जारी छ। आज आइतवार बिदाको दिउँसो १९९९ मा बनेको हिन्दी सिनेमा "आ अब लौट चलें" हेरेर साच्चिकै छुट्टीको अनुभूति भयो। चार मुख्य पात्रहरू (राजेश खन्ना, कादर खान, जस्पाल भट्टी र नवीन निश्चल) बितेर गइसकेका, आजभन्दा २१ वर्ष पहिले बनेको सिनेमा पनि मलाई त नयाँ नयाँ जस्तो पो लाग्यो। १९९१ बाट १९९५ सम्म भारतको चण्डीगढमा इंजीनियरिंग अध्ययन गर्दाको अवधिमा १९६० देखि यता बनेका पुराना धेरै सिनेमाहरु हेरेको थिएँ। त्यस ताका रिलीज भएका सप्पै नयाँ सिनेमा नछोडी हेरिएको थियो। हरेक विषयको फाइनल परीक्षा दिएको राती सिनेमा नहेरी नहुने चलन र बानी थियो। मेरो मनमा त्यसबेला हेरका सिनेमाहरु मात्र मेरो पालाका सिनेमाका रुपमा छापिएर बसेका छन्। इंजीनियरिंग पढाइ पश्चात बनेका सिनेमा त्यति (वर्षको १-२ वटा नाम चलेका बाहेक) हेरिएन। त्यसैले २१ वर्ष पहिले बनेको आज हेरेको सिनेमा पनि मेरा लागि नितान्त नौलो थियो। उदित नारायण, कुमार सानु र अल्का याग्निकको स्वरका गीत सुन्दा चाहिँ मेरो आफ्नै जमानाको झझल्को आयो। RK Films को ब्यानरमा निर्माण भएको अन्तिम तथा ऋषि कपूरले निर्देशन गरेको एकमात्र सिनेमाको विषयवस्तु र प्रस्तुति राम्रो रहेछ।
No comments:
Post a Comment