Thursday, November 26, 2026


 

कस्तो होस् राजनीतिक दल ?

राजनीतिक दलहरूले अब आफूलाई सत्तामा जाने माध्यम मात्र नभई नि:स्वार्थ जनसेवाका संस्थाका रूपमा पुन:परिभाषित गर्नुपर्छ ।

What Should a Political Party Be Like?
फाइल तस्बिर: कान्तिपुर
  • लोकतन्त्रमा राजनीतिक दलको भूमिका निर्वाचन जितेर सरकार बनाउनुमा मात्र सीमित नभई जनताका विचारलाई नीतिमा रूपान्तरण गर्ने र सरकारलाई जवाफदेही बनाउने संस्थाका रूपमा हुनुपर्छ।
  • तर राजनीतिक पहुँचलाई निजी लाभसँग जोड्ने प्रवृत्ति, स्वार्थको द्वन्द्व र कमजोर आन्तरिक लोकतन्त्रले दलहरूको चरित्रमाथि प्रश्न उठाएको छ।
  • दलहरूले पारदर्शिता, योग्यता, इमानदारी र सामाजिक योगदानलाई प्राथमिकता दिँदै आफूलाई सत्ताप्राप्तिको माध्यम होइन, नि:स्वार्थ जनसेवाका संस्थाका रूपमा पुन:संरचना गर्नुपर्छ।

 लोकतन्त्रमा राजनीतिक दलको भूमिका निर्वाचन जितेर सरकार बनाउनुमा मात्र सीमित हुँदैन । दलहरूले समाजका विविध विचार र आवश्यकतालाई नीतिमा रूपान्तरण गर्छन्, नेतृत्व विकास गर्छन् र सरकारलाई जनताप्रति जवाफदेही बनाउँछन् । त्यसैले लोकतन्त्रको गुणस्तर धेरै हदसम्म दलहरूको चरित्रमा निर्भर हुन्छ ।

नेपालको राजनीतिक इतिहासमा दल र तिनका नेता–कार्यकर्ताको योगदान बिर्सन मिल्दैन । २००७, २०४६ र २०६२/६३ सालका आन्दोलनमा उनीहरूले जेल, यातना र बलिदान भोगेका छन् । भूकम्प, महामारी तथा बाढीपहिरोजस्ता विपद्का बेला पनि दलका स्थानीय नेता–कार्यकर्ता उद्धार र राहतमा सक्रिय हुँदै आएका छन् ।

तर एउटा प्रश्न उठ्ने गरेको छ— राजनीतिक दलमा प्रवेश गर्ने र पद खोज्ने प्रेरणा समाजसेवाका लागि हो कि राजनीतिक पहुँचमार्फत व्यक्तिगत लाभ लिनका लागि ? धेरै बेरोजगार युवा दलमा आबद्ध हुनु र उनीहरूको जीविकोपार्जनको स्रोत स्पष्ट नदेखिनुका पछाडि के कारण छन् ? यी प्रश्न समग्र दलीय संरचना र राजनीतिक संस्कारबारे बहसका लागि उठाउन आवश्यक छन् ।

दलभित्र नेतृत्वको बाटो

नेपालका अधिकांश दलमा कार्यकर्ताको राजनीतिक यात्रा वडा तहबाट सुरु हुन्छ । नेपाली कांग्रेसले १५औं महाधिवेशनका लागि देशभरका ६ हजार ७ सय ४३ वटै वडामा सक्रिय सदस्यता वितरण तथा नवीकरण गरी वडा अधिवेशनबाट क्रमश: माथिल्ला तहको नेतृत्व चयन गर्ने व्यवस्था गरेको छ । तल्लो तहका सदस्यले माथिल्लो नेतृत्व चयन गर्ने यस्तो प्रक्रिया आन्तरिक लोकतन्त्रको आधार पनि हो ।

नेकपा (एमाले) मा पनि संगठित र साधारण सदस्यताको संरचना छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डिजिटल सदस्यता प्रणाली सुरु गरेको छ । परम्परागत दलमा वडा, पालिका, जिल्ला र प्रदेश हुँदै केन्द्रीय नेतृत्वसम्म पुग्न वर्षौं लाग्न सक्छ । विद्यार्थी वा युवा संगठनको पृष्ठभूमि तथा नेतृत्वसँगको निकटताले यो यात्रा छोट्याउन सक्छ ।

यस्तो संरचनाको मूल उद्देश्य कार्यकर्तालाई अनुभवबाट परिपक्व बनाउँदै जनप्रतिनिधित्व गर्न सक्षम बनाउनु हो । तर पदलाई शक्ति, पहुँच वा आर्थिक अवसर प्राप्त गर्ने माध्यमका रूपमा मात्र हेर्न थालियो भने यो उद्देश्य कमजोर हुन्छ । त्यसैले प्रश्न ‘कसले नेतृत्व गर्छ’ भन्ने मात्र होइन, ‘नेतृत्वमा पुग्ने व्यक्तिको आचरण र जवाफदेही कस्तो छ’ भन्ने पनि हो ।

बदलिँदो जनमत

नेपाली कांग्रेसमा २०७८ सालमा करिब आठ लाख ७० हजार क्रियाशील सदस्य रहेकामा २०८३ जेठसम्म करिब ६ लाख ८७ हजारको मात्र विवरण अद्यावधिक भएको छ । नेकपा (एमाले) को गत वर्ष ६ लाख ८६ हजारभन्दा बढी संगठित सदस्यमध्ये २०८३ साउनसम्म ५३ प्रतिशतले मात्र सदस्यता नवीकरण गरेका छन् । रास्वपामा करिब ५ लाख २३ हजार डिजिटल आवेदनमध्ये तीन लाख ९० हजार आधिकारिक कागजातका आधारमा प्रमाणीकरण भएका छन् ।

दलहरूले सार्वजनिक गरेका यी सदस्यता तथ्यांकले जनमतको पूर्ण चित्र प्रस्तुत गर्दैनन् । तथापि, पुराना दलप्रतिको असन्तोष र नयाँ विकल्पप्रतिको आकर्षण बढिरहेको संकेत गर्छन् । जनताले अब दलको झन्डा र नाराभन्दा आचरण र परिणामलाई बढी महत्त्व दिन थालेका छन् ।

राजनीति र निजी लाभ

राजनीतिक पहुँच निजी आर्थिक लाभसँग जोडिन थाल्यो भने दलहरू समाजसेवाको आवरणमा स्वार्थ समूह हाबी हुने संस्थामा रूपान्तरण हुन सक्छन् । ठेक्का, राजनीतिक नियुक्ति, सरुवा तथा विकास कार्यक्रम स्वीकृतिजस्ता सार्वजनिक निर्णयमा राजनीतिक प्रभाव परेको चर्चा लामो समयदेखि हुँदै आएको छ । यसलाई रोक्न संरचनागत सुधार आवश्यक छ ।

चिन्ताको मुख्य विषय स्वार्थको द्वन्द्व हो । ठेकेदार वा व्यवसायी स्वयं जनप्रतिनिधि बनेर विकास आयोजनासम्बन्धी निर्णयमा प्रभाव पार्ने र आफू, परिवार वा निकट व्यक्तिसँग सम्बन्धित कम्पनीले नै ठेक्का पाउने अवस्था देखिँदा सार्वजनिक निर्णयको निष्पक्षतामा प्रश्न उठ्छ ।

यस्तो सम्बन्धले भ्रष्टाचारको जोखिम बढाउनुका साथै प्रतिस्पर्धा, अनुगमन र जवाफदेही कमजोर पार्छ, जसको असर विकासको गुणस्तरमा पर्छ । दलभित्र पनि कार्यकर्ताको मूल्यांकन क्षमता र योगदानका सट्टा आर्थिक पहुँचका आधारमा हुन थाल्यो भने दलकै लागि त्यो घातक हुन्छ ।

भ्रष्टाचार र विकास

भ्रष्टाचारलाई रकमको अनियमितताका रूपमा मात्र बुझ्नु पर्याप्त हुँदैन । सार्वजनिक स्रोत अनुपयुक्त ठाउँमा खर्च हुनु, परियोजनाको लागत बढ्नु, गुणस्तर घट्नु र योग्य व्यक्तिले पाउनुपर्ने अवसर पहुँचवालाले पाउनु पनि भ्रष्टाचारकै रूप हुन् । यस्ता प्रवृत्तिले विकास प्रक्रियालाई अवरुद्ध गर्छन् ।

आर्थिक वर्ष २०८२/८३ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका ३३ हजार ५ सय १९ उजुरीमध्ये करिब ४९ प्रतिशत स्थानीय तहसँग सम्बन्धित थिए । यी तथ्यांकको प्रस्तुति कुनै दलविशेषलाई आरोप लगाउने उद्देश्यले होइन, बरु दल, सरकार र राज्यका संस्थामा पारदर्शिता तथा जवाफदेही सुनिश्चित गर्न निरन्तर निगरानी आवश्यक रहेको संकेतका रूपमा हो ।

दलको पुन:संरचना

राजनीतिक दलको संरचना यस्तो हुनुपर्छ, जहाँ राजनीतिक पदबाट अनुचित आर्थिक लाभ लिन कठिन होस् र सामाजिक सेवा, क्षमता तथा सार्वजनिक योगदानबाट प्रतिष्ठा कमाउन सहज होस् । यसका लागि केही सुधार आवश्यक छन् । पहिलो, सदस्य शुल्क, चन्दा, ठूला दाताबाट प्राप्त सहयोग, आय–व्यय, निर्वाचन खर्च र राज्यबाट प्राप्त अनुदानको विवरण नियमित रूपमा सार्वजनिक गर्नुपर्छ । दोस्रो, सदस्यताको प्रमाणीकरण बलियो बनाउनुपर्छ, ताकि वास्तविक सदस्यले मात्र पार्टीका निर्णय र नेतृत्व चयनमा भूमिका खेल्न सकून् । तेस्रो, पदाधिकारी र उम्मेदवारले पद सम्हाल्नुअघि र छाडेपछि सम्पत्ति विवरण सार्वजनिक गर्ने तथा सम्पत्तिमा भएको अस्वाभाविक वृद्धिको स्वतन्त्र परीक्षण गर्ने व्यवस्था हुनुपर्छ ।

चौथो, निर्वाचित प्रतिनिधि वा उनका निकट परिवारसँग सम्बन्धित कम्पनीले सार्वजनिक ठेक्का पाउने अवस्थालाई कानुनबाट रोक्नुपर्छ । पाँचौं, उम्मेदवार छनोट गर्दा पैसा र पहुँचभन्दा योग्यता, इमानदारी र सार्वजनिक सेवाको इतिहासलाई प्राथमिकता दिनुपर्छ । साथै, महत्त्वपूर्ण पदमा कार्यकालको सीमा लागू गर्न सकिन्छ । छैटौं, राज्यका संस्था र पेसागत निकायको दलीयकरण घटाउनुपर्छ । सातौं, पार्टीभित्र फरक मत राख्न र नेतृत्वका निर्णयमा प्रश्न उठाउन सकिने वातावरण बनाउनुपर्छ । आलोचनालाई अनुशासनहीनता ठान्ने संस्कारले योग्य र स्वतन्त्र विचार भएका कार्यकर्तालाई किनारामा पार्छ ।

समाजसेवातर्फ दल

राजनीतिक दल राज्यसत्ता प्राप्त गर्ने संस्था अवश्य हुन्, तर तिनको आधारभूत चरित्र समाजसेवामुखी हुनुपर्छ । ठूला दातासँगको निर्भरता घटाएर सदस्य शुल्क, साना तथा पारदर्शी योगदान र कानुनसम्मत सार्वजनिक सहयोगमा आधारित आर्थिक मोडल विकास गर्न सकिन्छ । यसले राजनीतिक पदलाई व्यक्तिगत आर्थिक उन्नतिको माध्यम नभई सार्वजनिक जिम्मेवारीका रूपमा स्थापित गर्न मद्दत गर्छ ।

दलका संगठन निर्वाचनका बेला मात्र सक्रिय हुने संरचनामा सीमित रहनु हुँदैन । तिनलाई समुदायसँग निरन्तर काम गर्ने स्वयंसेवी सञ्जालका रूपमा विकास गर्नुपर्छ । शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् व्यवस्थापन र रोजगारीजस्ता क्षेत्रमा गरेको योगदानलाई नेतृत्वको जिम्मेवारी तथा उम्मेदवारीको आधार बनाउन सकिन्छ । दलभित्र ज्ञान र विज्ञतासमेत बढाउन आवश्यक छ । कृषि, जलवायु परिवर्तन, सूचना प्रविधि, पूर्वाधार विकास, वैज्ञानिक अनुसन्धान, जनस्वास्थ्य र ग्रामीण अर्थतन्त्रजस्ता जटिल विषयका विज्ञलाई राजनीतिमा जोड्नुपर्छ ।

निष्कर्ष

राजनीतिक दल लोकतन्त्रका अपरिहार्य संस्था हुन् । समस्या दलको अस्तित्वमा होइन, तिनको संस्कार र संरचनामा छ । अब दलहरूले आफूलाई सत्तामा पुग्ने माध्यम मात्र नभई नि:स्वार्थ जनसेवाका संस्थाका रूपमा पुन:परिभाषित गर्नुपर्छ । राजनीतिक पद र पहुँच व्यक्तिगत लाभका साधन होइन, सार्वजनिक जिम्मेवारी बहन गर्ने अवसर बन्नुपर्छ । दलको सफलताको मापदण्ड जनताले उनीहरूलाई कति पटक जिताए भन्ने होइन, उनीहरूले जनताको जीवन कति समृद्ध बनाए भन्ने हुनुपर्छ ।

वेदप्रसाद काफ्ले अनुसन्धान र प्राध्यापन पेसामा संलग्न छन् ।


No comments: