हाम्री हजुरआमा अहिले ८४ वर्षकी हुनुहुन्छ । म जन्मे देखि आज सम्म उहाले अर्तिउपदेश मात्र दिई रहनु भएको छ । उहालाई सबै भन्दा चिन्ता लाग्छ - नातिले बाहिर बस्दा राम्ररी खान्छ कि खादैन । त्यसैले जुनबेला म घरबाट बिदा भएर बाहिरका लागि निस्कन्छु, मयालु अनुहार पार्दै सम्झाउनु हुन्छ - खाना चाहि मजाले लोभ नगरीकन खानु है । घरमा हुदा पनि खाना खाने बेलामा अलि मिठो, नौलो चिज छ भने आफ्नो भागबाटै निकालेर हामीलाई दिनु हुन्छ । हामी घरमा हुन्जेल उहा भन्ने गर्नु हुन्छ - "तिमीहरू छौ, सन्तोष लाग्छ । तिमीहरू अ-आफ्नो कामका लागि बाहिर गए पछि यो घरमा दुई चार दिन त सबै तिर अन्धकारमय हुन्छ । बस्न मन लाग्दैन । खान मन लाग्दैन ।"
हामी केटाकेटी हुदा मोही पारेको दिन (हाम्रो घरमा हरेक एक दिन बिराएर मोही पार्ने चलन थियो) हजुरआमाले नौनी घ्युले पोतिएका उहाँका हात हाम्रो अनुहार र हातखुट्टामा दल्नु हुन्थ्यो । जाडोको बेला कहिले काही चिसोलागेर हामी किन सधै घिउ दल्नु हुन्छ भनि सोध्दा तिमीहरूको छाला दह्रो हुन्छ, चिसो गाडिदैन भन्नु हुन्थ्यो । मोही पारेको दिन हामी सधै एक एक डल्ला नौनी घ्यु पनि तात्तातो भातसँग खान्थ्यौ । यो क्रम मेरो विद्यालय स्तरको पढाई पुरा गर्दा सम्म चलिरह्यो । त्यसैको परिणाम हुनसक्छ, मलाइ अहिले पनि अरू नेपाली साथीहरु भन्दा कम जाडो लाग्ने गर्छ ।
निश्चय नै हामी स-साना केटाकटी हुदा हजुरआमा शारिरिक र मानसिक रूपमा हामी भन्दा धेरै दह्री हुनुहुन्थ्यो । हामी केटाकेटी हुदा हाम्रो गाउमा बिजुली बत्ती थिएन । हामी साँझ परेपछि घर बाहिर जान डराउद थियौ । म निकै ठूलो हुन्जेलसम्म पनि हजुरआमा सगै सुत्थे । पछि पनि हजुर आमाको छेउको खाटमा सुत्थ्यौ हामी तीनै दाजुभाइ । शु आएर राती उठ्नु पर्दा हामी बिस्तारै हजुरआमा बाहिर जानु परो भन्ने बित्तिकै उहा उठी हाम्रो साथी जानु हुन्थ्यो । अझैसम्म पनि हजुरआमाको निन्द्रा साह्रै पातलो छ । छिन छिनमा जागेर घरको हेरचाह गरी रहनु हुन्छ । पहिले हामी बसेको ठाउमा गाईगोरू चोरको बिगबिगी थियो । चोरबात बच्न हजुरआमा राती जागा रहेको संकेत बेलाबेला खोके जस्तो गरी दिइरहनु हुन्थ्यो ।
तर अहिले हजुरआमा उमेरले गर्दा हामी भन्दा कमजोर हुनु भयो । उहाँले हामीलाई भन्दा हामीले उहाँलाई सह्यार सुसार गर्ने बेला आएको छ । तर पनि अझै उहाँ हामीलाई नै सह्यार सुसार गर्न ब्यस्त हुनुहुन्छ । अहिले पनि टेलिफोनमा कुरा हुदा राम्ररी खानु, यता तिरको चिन्ता नगर्नु भनी सम्झाउनु हुन्छ । चिन्ता लिदा मन र शरीर दुवैलाई नकारात्मक प्रभाव पर्छ भनि सम्झाउनु हुन्छ । उहालाई नातिहरू विदेशिए, उतैको रहनसहनमा भुले होलान् भन्ने कहिले लाग्दैन । विदेशबाट मलाई यो ल्याइदिनु भनी कहिले भन्नुहुन्न । उहाँलाई त्यस्तो भौतिक समानको स्तर, मूल्यसँग कुनै सरोकार छैन । उहाँलाई सम्झेर जे लगेर दिए पनि हर्षका साथ गुणगान गाउदै स्विकार्नु हुन्छ ।
आजकल म यहा (जापानमा) एक्लै छु । केहि दिन पहिला घरमा फोन गर्दा हजुरआमाले सधै झै खाना राम्ररी खाने, अल्छी नगरी कन मिठो मिठो पकाउने, घर तिरको चिन्ता नगर्ने, आदि आदि भनेर सम्झाउनु भयो । हजुरआमाको सहास, माया, र हौसलाले हामीलाई सधै शक्ति प्रदान गरिहन्छ ।
२०६४ चैत्र २२ गते ।
---***---
Friday, April 4, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment