Saturday, April 26, 2008

एक्लै बस्दापनि रमाइलो

आजकल म एक्लै छु । परिवार नेपाल गएको हुनाले म दुइ महिना जति एक्लै भएको छु । परिवारमा चारजनाको हल्लाखल्ला बिचमा रमाइलो गर्दै बसेको मान्छे अहिले केहि समयका लागि एक्लै रमाउदै छु । एक्लै बस्दा पनि रामइलो गर्न म पोक्त छु । गत २० वर्ष मध्ये करिब १५ वर्ष त म एक्लै रमाउदै आएको छु । त्यसैले यो दुई महिना पनि नरमाइलो त पक्कै हुदैन होला । मेरो अनुभवमा निम्न काम गरेमा एक्लै बस्दाका क्षणहरू पनि सधै रमाइलो हुन्छन् ।
(१) अध्ययनमा प्रसस्त समय लगाउने: अध्ययन मानिसको जीवनमा अति आवश्यक निरन्तर प्रक्रिया हुनाले यति पुस्तक पढ्ने बानी बसालियो भने जस्तो सुकै समयको पनि सदुपयोग गर्न सकिन्छ । किताबको ज्ञानलाई व्यबहारमा उतार्ने बारेमा सोच्दा समय बितेको थाहै पाइदैन ।
(२) घरायसी काममा प्रसस्त समय लगाउने: बिदाको समय घर बस्दा सकेसम्म आफैले पकाएर खादा समयको राम्रो सदुपयोग हुन्छ । रूची अनुसारको स्वादिलो खाना पकाएर खादा स्वास्थ्य राम्रो हुनुको साथै खर्च पनि कम लाग्छ । त्यस्तै घर सफागर्ने काम पनि निरन्तर गर्नु पर्छ । कुनाकाप्चा सबै तिरको फोहोर सफा गर्ने, लुगाफाटा धुने जस्ता काम गर्दा पनि समय बितेको पत्तै पाइदैन ।
(३) नियमित शारीरिक व्ययाम गर्ने: बिहानको केहि समय शारीरिक व्ययाममा लगाउदा शरीर फूर्तिलो हन्छ, खाना रूच्छ, राति निन्द्रा राम्रो लाग्छ, र समग्रमा स्वास्थ्य राम्रो हुन्छ । व्ययामले शारीरिक तन्दुरूस्तता साथसाथै मानसिक स्वच्छता प्रदान गरी श्रृजनात्मक काम गर्न प्ररित गर्दछ ।
(४) मन पर्ने संगीत सुन्ने : संगीतले अनावश्यक मानसिक तनावमा फस्नबाट बचाउछ । गीतका शब्द शब्द केलाई संगीत मिसाएर सुन्ने हो भने मानसिक स्फूर्ति बढाउछ ।
(५) प्रकृतिमा रमाउने : प्रकृति नै यस्तो साथी हो जो जहा गएपनि साथै जान्छ । जुनसुकै ठाउमा गएपनि निस्वार्थी मित्र भएर प्रकृति हाम्रो अगाडि आई पुग्छ । फूल, रूख बिरूवा, वन जंगल, घासे चौर, खेतबारी, पहाड, ढुंगा, खोलानाला जताततै पाइन्छन् । यी सबैको समिश्रणबाट बृहत प्रकृति बनेको छ, जसले मानिसको उत्पति कालदेखि अहिलेसम्म अभिन्न सहयोगी मित्रको रूपमा निरन्तर सेवा गरिरहेको छ । त्यसैले प्रकृतिसँग घुलमेल गर्नु पर्छ, जीवन सधै रमाइलो भई रहन्छ ।
(६) अरूको लहलहैमा नलाग्ने: अरूको भनाईको आशय नबुझी अन्धो अनुशरण गर्दा कहिले काहि अनावश्यक चिन्तामा पर्ने सम्भावना हुन्छ । त्यसैले अरूको लहलहै भन्दा स्वविवेकले ठम्याएको काम गर्नु पर्छ । कतिबाट त 'एक्लै बस्दा साह्रै दुख होला, खाना खान गाह्रो होला बिचारालाई,' भन्ने फुस्रा सान्त्वना पनि बेलाबेला सुन्न पाइन सक्छ । केही समयको लागि एक्लै बस्दा यसरी 'बिचारा' हुनु पर्ने कुनै जरूरी छैन । सुखी, खुशी, र सफल जीवनलाई सार्थक बनाउनलाई हामीले हरेक पहलको उत्तिकै सदुपयोग गर्न जान्नु पर्छ ।

सारांशमा भन्नु पर्दा निरन्तर अध्ययन, सकारात्मक सोच, प्रकृति प्रेम, नियमित व्ययाम, र लगनशिलता भएमा एक्लै बस्दाको क्षण पनि रमाइलो हन्छ ।

२०६५ वैशाख १४ गते, शनिबार ।
---***---

No comments: