Tuesday, April 29, 2008

परिवारको फिर्ती

२०६५ वैशाख १७ गते मंगलबार ।

आज बिहान परिवार नेपालबाट जापान आईपुगे । विमानको उडानतालिकामा बिहान ६:२० बजे नारिता विमानस्थल आईपुग्ने भनी लेखिएको थियो । यसो बिचार गर्दा अध्यागमन र समान संकलनमा झण्डै एक घण्टा जति समय लाग्ने अनुमान लगाइ म त्यहा ७:२५ बजे पुगें । म पुग्दा उनीहरू बाहिर निस्किसकेको हुनसक्छन् भन्ने ठानी गेटको वरपर खोजे । त्यहा नदेखेपछि माथि विमान आगमनको तालिकामा विमान कति बेज आइपुगेछ भनि यकिन गर्दा पो थाहा पाइयो कि विमान त दुई घण्टा ढिला भई ८:२० बजे तिरमात्र आइपुग्ने रहेछ ।

त्यसैले मैले पनि २ घण्टाजति नै कुर्नुपर्ने भयो । एउटा पत्रिका निशीफुनाबासीमा नै किनेर रेलमा पढ्दै गएको थियो । त्यहि पत्रिकाको बाँकी भाग पढ्न थाले, एउटा कुनाको कुर्सीमा बसेर । झण्डै एक घण्टा जति पत्रिका पढी माथोल्लो तलाको 'डिपार्चर लबी' तिर टहल्न गए । आशियाना एयरलाइन्समा जागिर खाने मैले पढाएकी एउटी केटी 'मियुकी' छ कि भनी आशियानाको काउन्टरमा यताउति हेरे तर देखिन । डिपार्चार लबीको एक चक्कर काटेर म फेरि तल 'अराइबल लबी'मा ओर्लिए । ९ बज्न लागेको थियो । यात्रुहरू बाहिर निस्कने गेटको बाया छेउमा केहि कुर्सी दुई लहरमा राखिएका छन् । म त्यहिको एउटा कुर्सीमा बसी गेटबाट बाहिर निस्कने मानिसको चेहरा केलाउन थाले । निकै बेरमा पनि मैले पर्खेका अनुहार पत्ता नलागे पछि म कुर्सी छाडी गेटको वरीपरी चक्कर लगाउदै दाया छेउमा गएर उभिए । केहि बेरमा नै उनीहरू बाहिर आउदै गरेको देखे । 'सानी त ठूली मान्छे जस्तै वरिपरिको वातावरणलाई नियाल्दै हुन्छिन् । दुई महिनामा नै उनको निकै विकास भइसकेछ । नानी अलि दुब्लो दुब्ली लाग्यो । उनको बोली पनि तिखो तर लेग्रे खालको थियो, सायद निन्द्रा नपुगेर होला ।'

अनि हामीले दुइटा सुटकेस समान 'आना स्काइ पोर्टर' डेलिभरी सेवामा ३,०७० येन तिरी छाडिदियौ, समान बेलुकासम्ममा घर पुग्ने गरी । अनि हामी रेल चडेर घर पुग्दा ११:२० जति बज्दछ । यो माथिको फोटो रेलमा यात्रा गर्दाखेरी खिचेको हो ।
---***----

No comments: