२००८ मेई ४-५ (२०६५ वैशाख २२ - २३) आइतबार-सोमबार
जापानमा हरेक वर्ष मेई महिनाको पहिलो हप्ता लगातार तीन दिनको बिदा पर्दछ । सो बिदासँग जोडिएको शनिबार र आइतबार मिलाउदा लामै बिदा हुनजान्छ । पोहोरको यो बिदाको बेला हामी नेपाल घर गएका थियौं । यस पटक भने मबाहेक सुषमा र छोरीहरू भरखरै घर पुगेर फर्केका थिए । त्यसैले यो बिदामा जापान कै कुनै ठाउँ घुम्नजाने कार्यक्रमका बारेमा सोच्दा गुम्माकेनको कुरा आयो ।
गुम्माकेन छान्नु पर्ने कारण पनि केहि छन् । हाम्री छोरी श्रेया जन्मेको बेला म गुम्माकेनको माएबाशी भन्ने ठाउमा एउटा सम्मेलनमा सहभागी भइरहेको थिए । र त्यही मैले उनी जन्मेको खबर पाएको थिएँ । त्यसैले उनी लगायत हामी सबै त्यहि ठाउँ घुम्न मनलागेको थियो । गुम्माकेन हामी बसेको ठाउबाट सधारण रेल चढी दुई घण्टाजतिमा पुगिन्छ । नजिकै हुनाले केटाकेटी साथ लिएर जान पनि त्यति अप्ठ्यारो हुने भएन । तेश्रो कारणमा गुम्माकेन प्राकृतिक रूपमा निकै सुन्दर छ । त्यहाका पहाडमा मात्र होइन सहरहरूमा पनि जताततै फुलका बगैचा छन् । हारूना भन्ने ठाउमा ठूलो पहाडको मुन्तिर निकै आकर्षक ठूलो ताल छ ।
हामी आइतबार बिहान ९:०० बजेतिर घरबाट हिडी ओमिया, ताकासाकी हुदै माएबाशी १२:३० बजे पग्यौ । स्टेशन नजिकै खाना खाई होटेलतिर लाग्यो । होटेल पनि म पहिले जुन होटेलमा बसेको थिएँ सोही होटेल यस पटकको लागि बूक गरेको थियौं । स्टेशनबाट पैदल १५ मिनेटमा पुगिन होटेलतिर जादा गलत दिशातिर लागिए छ, निकै पर पुग्दा पनि होटेल नदेखिए पछि त्यहा मानिसलाई सोध्दा पो थाहा पाइयो ।
होटेलमा सामान राखी केहि बेर आराम गरेर हामी माएबाशी पार्कतिर लाग्यौं। त्यो पार्कभरि फूलै फूलको बगैचा रहेछ । अझ यो मौषममा त त्यहा फूलको प्रदर्शनी नै रहेछ । हामी वरपरका फुलको फोटा खिच्दै निकै बेर त्यहा घुमपिरमा व्यस्त रह्यौं । साझ परेपछि खाना खाने रेस्टुरेण्ट खोज्न निकै समय लाग्यो । माएबाशीमा प्राय: जसो पसल ६:३० बजे तिर नै बन्द भई सकेको हुदो रहेछ ।
भोलि पल्ट बिहानै उठेर हारुना जान भनी हामी रेल चढेर ताकासाकी तिर लाग्यौ । तर बिदाको दिनमा हारुना जाने बस २-२ घण्टाको अन्तारलमा जाने हुनाले झण्डै एक घण्टाजति बस कुर्ने समयमा ताकासाकीको जताततै फूल फुलेका सडकहरू तिर बरालियौं । बस चढ्यौं । बसलाई केहि बेर ताकासाकी सहर छिचोल्न लाग्यो । अनि अलि गाउँजस्तो ठाउमा नदि किनारको बाटोमा हुइकिएको केहि बेरपछि एउटा विश्राम गर्ने ठाउँ आइ पुग्छ । १५-२० मिनेटको विश्राम पछि बस हिड्न थाल्छ । बिस्तारै पहाड शुरु हुन्छ । निकै बेर पहाड चढेपछि बस हारुना स्राइन भएको ठाउँमा पुग्छ । त्यहाबाट १५ मिनेटजतिमा हारुना तालको तटमा गएर अन्तिम स्टपका बस रोकिन्छ ।
बसबाट ओर्लियौं । बाहिर कुहिरोले यस्तो ढाकेको छ कि मुस्किलले २० मिटर परसम्म दिख्न सकिन्छ । हामीले ताल छेउको रेस्टुरेण्टमा खाना खाएर यताउती घम्ने योजना बनायौं । तर त्यो कुहिरोले गर्दा हाम्रो योजना सफल हुन सकेन । तालको छेउछाउमा यताउति बरालिने काम मात्र भयो । केहि बेरपछि पानी पर्न थाल्यो । हामी त्यहीको एउटा पसलमा ओत लाग्यौ । अनि बिस्तारै बस चढी घर फर्कने भनी बस स्टप गएर केहि बेर बस्दा त्यो कुहिरो हट्दै गयो र तालको आकार प्रस्ट देखिन थाल्यो । त्यहिबाट तालका केहि फोटा खिची हामी बस चढेर पहिलेकै बाटो ताकासाकीतिर फर्कियौ । ताकासाकीबाट रेल चढी घर पुग्दा बेलुकाको ६:३० जति बजेको थियो ।
---***---
Monday, May 19, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment