Wednesday, May 28, 2008

संघिय गणतन्त्र नेपालको घोषणा हुने दिन ।

२०६५ जेठ १५ गते (२००८ मेई २८) बुधबार ।

आज नेपालको नव जननिर्वाचित संविधान सभाले २४० वर्षे राजतन्त्रको विधिवत उन्मुलन गरी संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्ने दिन हो । तर सो प्रकृयाका लागि बिहान ११ बजे बस्नुपर्ने बैठक पार्टीबिच सहमति हुनमा ढिलाई भई बैठक अझै बस्न सकेकोछैन । आजको यस्तो शुभघडिमा पनि नेताहरू भने आ-आफ्नै डम्फू बजाउन ब्यस्त छन् । तलको लेखमा लेखक खगेन्द्र संग्रौंलाले भने झैं आजको दिन अरू दिनभन्दा धेरै फरक हुनुपर्ने हो हामी सबै नेपालीका (नेता समेतका) लागि ।

ढिलै भएपनि आजै बैठक बस्छ होला ।
--------------------
बैठक राती ९:१३ बजेदेखि बस्यो । राजतन्त्र हटाउने पक्ष वा विपक्षमा मतदान गर्न सभासदले दुई छुट्टाछुट्टै पुस्तिकामा हस्ताक्षर गरेका थिए । उपस्थित ५६४ सभासदमध्ये ५६० ले पक्षमा र मात्र ४ (राष्ट्रिय प्रजातन्त्र पार्टी - नेपाल) ले विपक्षमा मतदान गरेका हुनाले अत्याधिक बहुमतले राजतन्त्रको अन्तको भएको घोषणा राती ११:२२ बजे गरियो ।

नव नेपालका हामी सवै नेपालीलाई हार्दिक बधाई र सम्बृद्धिको शुभकामना ।।

-----------------------------------------
सामन्ती युग अस्त गणतन्त्र नेपालको उदय
खगेन्द्र संग्रैँला
(साभार: कान्तिपुर)

आज १५ जेठ २०६५ । सधैं झैं आज बिहान पनि उही बेला उसैगरी भाले बास्यो । चराचुरङ्गी उसैगरी उही चञ्चल लयमा चिर्बिराए । मानवसेवी कागले उसैगरी फोहोरमैला उदरस्थ गरी सहर सफा गरिदिए । पूर्वी क्षितिजबाट उसैगरी सूर्योदय भयो । मानौं साविकको जस्तै यो एउटा साधारण दिनको आगमन हो ।

तर मित्र, कुरो त्यसो होइन । इतिहासको गतिक्रममा आज गोपालप्रसाद रिमालका शब्दमा एक जुगमा एकदिन एकचोटी आएको दिन । आज वयस्क नागरिकले चुनेका प्रतिनिधिले गणतन्त्र नेपाल बकाइदा घोषणा गर्ने दिन । र तिनले गणतन्त्र विधिवत् संस्थागत गर्ने चरणबद्ध कार्यक्रम वाचाकबोल गर्ने दिन । आज सामन्ती राजतन्त्रका अवशेष सदाका लागि सगौरव विर्सजन गर्ने दिन । आज ००७ सालदेखि मुल्तबीमा रहेको नेपालीको चिर सपना साकार हुने दिन । र आज सारा देश उठेर गणतन्त्रको अरूणोदयको हृदय खोलेर मुक्तकण्ठले स्वागत गर्ने दिन ।

यो दिन, हर्षर गर्वले भरिपूर्ण यो दिन, शान र उल्लासले ओतप्रोत यो दिन, विजय र मुक्तिका सप्तरङ्गी भावा-तरङ्गले नेपाली आकाश देदिप्यमान भएको यो दिन त्यसै आएको होइन । यो दिन ल्याउन धेरै वीर-वीराङ्गनाले एकबारको अमूल्य जुनी अर्पेका छन् । यो दिन ल्याउन धेरै त्यागी र साहसी जनले यातना र कारागारको कहर काटेका छन् । यो दिन ल्याउन धेरैले आफ्ना गरिखाने अङ्ग समाजलाई दान गरेका छन् । यो दिन ल्याउन धेरैले उठिबास र प्रवासको पीडा झेलेका छन् । यो दिन ल्याउन धेरैले धेरै रगत र आँसु बगाएका छन् । यो दिन ल्याउन धेरैले अदम्य सौर्य र अकथनीय आत्मबलिदान पर्दर्शन गरेका छन् । यो दिन, गौरवमय यो दिन धेरैले धेरै लामो समयसम्म सुन्दर सपना कोरलेर, सत्यनिष्ठाको आकाशमुनि सत्तीसालको रूखझैं अटल उभिएर, अथक सङ्र्घर्ष गरेर ल्याएका हुन् । त्यसैले गणतन्त्रका जोदाहा नागरिक उमङ्गका पाइला चालेर लहरपछि लहर भएर सडकमा निस्कौं । हात फैलाएर, स्वर उचालेर उत्सवी मुद्रामा विरलाकोटी यो दिनको मुक्तकण्ठले स्वागत गरौं । जय गणतन्त्र † जय समावेशी सुन्दर नेपाल † जय सम्प्रभु नेपाली † जय मधेस, जय पहाड, जय हिमाल ।।

जराजिर्णा राजतन्त्रको इतिश्री र तरोताजा लोकतान्त्रिक गणतन्त्रको उदय ठट्टा होइन । यो नवजात शिशुको पहिलो मुस्कानको प्रतीक हो । यो रूढिगस्त परम्परा र संस्कृतिको समापनको गरिमामय गर्जन हो । र यो जीवनदायी र सुवासयुक्त परम्परा र संस्कृति शुभारम्भको भव्य उद्घोष हो ।
राजतन्त्र एउटा विचार हो, एउटा परम्परा हो, एउटा संस्कृति हो, एउटा जीवनशैली हो । आदिम विचार, पीडक परम्परा, विभेदकारी संस्कृति र फजुलखर्ची जीवनशैली । राजतन्त्र प्रेम, शिष्टता, सौर्न्दर्य, करूणा र मानव कल्याणको वैरी हो ।

जाने भो, आजका मितिले शाही राजतन्त्र विदा हुने भो, मुक्तिप्रेमी नागरिक उमङ्गका पाइला चालेर लहरपछि लहर भएर सडकमा निस्कौं । हात फैलाएर, स्वर उचालेर उत्सवी मुद्रामा विरलाकोटी यो दिनको मुक्तकण्ठले स्वागत गरौ“ । जय नवजात गणतन्त्र † जय साझा, सुन्दर नेपाल † जय सम्प्रभु नेपाली † जय मधेस, जय पहाड, जय हिमाल ।।

लिङ्गभेद राजतन्त्रको प्राणवायु हो । जातिभेद राजतन्त्रको जग हो । अभाव र अन्धकार राजतन्त्रको त्राण हो । अन्धविश्वास र कुरीति राजतन्त्रको शीतल छहारी हो । क्षेत्रभेद राजतन्त्रको दीर्घायुको सहारा हो । प्रजाको नाङ्गो देह राजतन्त्रको कलाकृति हो । प्रजाको रोदन र क्रन्दन राजतन्त्रको आनन्ददायी सङ्गीत हो । प्रजाको भोक र प्यास राजतन्त्रको तृप्ति हो । र प्रजाको शोक र सन्ताप राजतन्त्रको चैन हो ।

अरे, चट् हुने भो † आजका मितिले शाही राजतन्त्र सदाका लागि चिलिमच्वाँट् हुने भो † विजयी नागरिक † उमङ्गका पाइला चालेर लहरपछि लहर भएर सडकमा निस्कौं । हात फैलाएर, स्वर उचालेर उत्सवी मुद्रामा अनुपम यो दिनको मुक्तकण्ठले स्वागत गरौं । जय गणतन्त्र † जय समावेशी सुन्दर नेपाल † जय सम्प्रभु सकल नेपाली † जय मधेस, जय पहाड, जय हिमाल ।।

आज, युगान्तरको यो निर्णाायक क्षणमा, गणतन्त्रको गगनभेदी उद्घोषपछि, गिरिजाप्रसाद कोइराला, कमरेड प्रचण्ड, करिबन कमरेड झलनाथ खनाल र नवोदित मधेसी नेताद्वय महन्थ ठाकुर र उपेन्द्र यादव सप्रेम हातमा हात मिलाएर नयाँ वानेश्वरबाट दम र दूरदर्शितासाथ लमक-लमक अघि लाग्नेछन् । तिनका दृष्टि नारानहिटी दरबारतिर सोझिनेछन् । तिनका पछाडि जनसागर एक लय र एक तालमा गणतन्त्रको विजयी नारा घन्काउदै प्रवाहित हुनेछ । सेनानायक रूक्माङ्गद कटवाल प्रफुल्लित जनसागरको स्वागत गर्न दलबलसाथ नारानहिटी दरबारको मूलद्वारमा हाजिर भइसकेका हुनेछन् । द्वार तिनले खोल्नेछन् । इतिहासमा पहिलोपटक आफ्नो विवेक र सौर्यबाट निर्देशित भई शक्ति र शानसाथ नारानहिटी दरबारको पटाङ्गिनीमा नेतागणको पदार्पण हुनेछ । कटवाल साहेबले सैनिक ठाँटबाँटसाथ आफ्नै हातले राजतन्त्रको झण्डा तल झार्नेछन् । र रिक्त स्थानमा यिनले चन्द्र-सूर्य अङ्कित राष्ट्रिय झण्डा फहराउनेछन् । यो सब क्रिया राष्ट्रियगानको सुमधुर धुनबीच हुनेछ । खम्बामाथि जब राष्ट्रिय झण्डा हल्का हावामा सर्सर् फहराउन थाल्छ, कटवाल साहेबले बडो निष्ठासाथ त्यसलाई सलामी अर्पण गर्नेछन् । त्यो क्षण, आलङ्कारिक राष्ट्रपतिलाई बत्तीस तोपको सलामी टक्र्याइने त्यो क्षण, शाहवंशको सलामी, गुलामी र मलामीबाट नेपाल सेनाको मुक्तिको दिव्यक्षण हुनेछ । त्यसपछि सेनानायक कटवाल साहेबकै अगुवाइ र संरक्षणमा हीरा-मोती- रत्न-जवाहरात जडित झल्झलाकार श्रीपेच काखी च्यापेर आमनागरिकलाई शुभसमाचार सुनाउन नेतागणको नया“वानेश्वर पुनरागमन हुनेछ ।

त्यो क्षणमा, इतिहासको त्यो नाटकीय क्षणमा, थकित सूर्यबहादुर थापा र गलित पशुपतिशमशेर राणा सके केशरमहलभित्र रूखमा कतै टाँसिएका हुनेछन् । यी दुई पराजित पञ्च उभिन्डो परेर झुन्डिएका चमेराहरूको छेवैमा लुकेर इतिहासको साक्षी बस्नेछन् । अटल, जण्ड र प्रचण्ड राजावादी कमल थापाचाहिँ सके कुनै झयाँसको शरण परेर भोको स्यालको उच्चाटलाग्दो भाकामा केही भनिरहलान् । दुर्भाग्यवश, तिनको मिति गुज्रिएको गनगन सुन्न कसैलाई पनि फुर्सद हुनेछैन ।

अरे, अरे, सकिने भो † आजका मितिले शाही राजतन्त्र भर्भराउँदो जनचेतनाको अग्निकुण्डमा स्वाहा हुने भो † विजयी नागरिक † उमङ्गका पाइला चालेर लहरपछि लहर भएर सडकमा निस्कौँ । नयाँ वानेश्वरमा, लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनको सादा ध्वजामुनि हात फैलाएर र स्वर उचालेर उत्सवी मुद्रामा विरलाकोटी यो दिनको मुक्तकण्ठले स्वागत गरौं । जय गणतन्त्र † जय समावेशी सुन्दर नेपाल † जय सम्प्रभु सकल नेपाली † जय मधेस, जय पहाड, जय हिमाल ।।
जय-जय-जय गणतन्त्र ।।

---***---

No comments: