२०६५ बैशाख २५ गते बुधबार ।
आज देखि हाम्री सानी छोरी ऋचा केटाकेटी खेल्ने स्कूल (होइकुशो) जान थालिन् । उनी आजै देखि ८ महिना पुगेर नौ महिना लागिन् । बिहान ८:३० बजेतिर उनलाई स्कूल पुर्याउन मपनि गएको थिए । साकुरा होइकुशोमा उनी शून्य वर्ष समूहमा (हाना गुमी, अर्थात फूल समूहमा) पर्दछिन् । उनको कक्षामा ६-७ जना केटाकेटीलाई सम्हाल्न ३-४ जना गुरुमाहरू हुनुहुदो रहेछ । दुई तले साकुरा होइकुशोको दोश्रो तलामा उनीहरूको कोठा भर्याङ्ग चढेपछि सिधा अगाडि पर्दछ । कोठा भित्र ६-७ वर्गमिटर जति क्षेत्रलाई होचो काठको बारले घेरेर त्यहा भित्र गुन्द्री (तातामी) माथी केटाकेटीसगै गुरुमाहरू बस्नु हुदो रहेछन् । बिचारा साना केटाकेटी न परे, कुनै न कुनै रोई रहेका हुदा रहेछन् र रूनेलाई गुरुमाले बोकेर त्यो बार भन्दा बाहिर लगी फूल्याउनु हुदो रहेछन् । कोठाको ढोका भने केटाकेटीले नभ्याउने गरी अग्लो ठाउँमा चुक्कुलको व्यबस्था गरेको हुदो रहेछ, जसलाई कोठा बाहिर र भित्र दुवै तिरबाट खोल्न र बन्द गर्न सकिदो रहेछ । हामी भित्र पस्दा त्यो चुक्कुल खोली पस्यौ र बोहिर निस्कदा पुन: लगाइ दियौ । स्कूलमा बानी नपुरुन्जेलका लागि शुरूका केहि दिनमा क्रमश: १:३०, ३:०० घण्टा जतिमात्र राखी घर ल्याउनु पर्दो रहेछ । आज र भोलि १:३० घण्टामात्र रे, त्यसपछि ३ घण्टा, अनि ४ घण्टा उदै एक हप्तापछि मात्र पुरा समय (बिहान ८:३० देखि बेलुका ४:३० सम्म) बच्चाहरू स्कूलमा बस्दा रहेछन् ।
ऋचाकी दिदी श्रेया पहिलो पटक स्कूल जादा झण्डै डेढ वर्षकी थिइन् । उनी स्कुल जान थालेको तीन वर्ष पुगेर चार लाग्यो, गत चैतदेखि । उनी पहिलेको एक वर्ष साचुकी होइकुशो र त्यसपछि गत दुई बर्षदेखि साकुरा होइकुशो जादैछिन् । अब दिदी बहिनी एउटै स्कूलमा जाने भए । श्रेयालाई पहिलो पटक स्कूलमा १:३० घण्टाका लागि छाडेर घर आउदा साह्रै नरामाइलो लागेको थियो । कारण, उनी हामीले छोड्ने बेलामा रोएकी थिइन । तर आज ऋचालाई छोड्दा त्यस्तो नरामाइलो लागेन । ऋचा सानै हुनाले उनी त्यहा राखिएका खेलौनासंग खेल्न ब्यस्त भइन र हामीले छोड्दा खासै चित्त दुखाएर रुइनन् । फेरी श्रेयालाई स्कुलमा राख्ने बानी भइसकेकोले होला हामी बाबुआमालाई सानो बच्चा स्कूलमा छोड्दापनि त्यति पिर परेन ।
दिदीबहिनी दुबै खुशी हुदै स्कूल जाने दिनको प्रतिक्षामा छौ ।
---***---
Wednesday, May 7, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment