Monday, May 19, 2008

जेनेभा भ्रमण


२०६५ वैशाख २९‍ - जेठ १०
२००८ मेई ११-२३

जागिरको कामको शिलशिलामा म अहिले जेनेभा सहरमा छु । इन्टरनेशनल टेलिकम्युनिकेशन युनियन (ITU, संयुक्त राष्ट्र संघको एउटा अंग) ले आयोजना गरेको ITU-T Kaleidoscope event – Innovations in NGN network and services सम्मलेनमा मेरो अनुसन्धान सम्बन्धित पेपर प्रजेन्ट गर्न र त्यसको साथसाथै चल्ने Next Generation Network – Global Standardization Initiatives (NGN-GSI) मिटिंगमा जापानी प्रतिनिधिको रूपमा भागलिनका लागि म २०६५ वैशाख २९ गते आइतबारदेखि जेनेभामा छु । नयाँ दूरसंचार प्रविधिको स्टाण्डर्डस् बनाउने काममा मैले पनि एउटा ड्राफ्ट लेखेको छु । त्यो ड्राफ्टलाई मिटिंगमा प्रस्तुत गरी सबैको सहमति जुटाउनुका साथै अरूले प्रस्ताव गरेका ड्राफ्टहरूको सन्दर्भमा जापानको हितमा हुने भए समर्थन र नहुने भएमा बिरोध गर्ने काम पनि गर्नु परेको छ ।

जेनेभामा धेरै अन्तराष्ट्रिय संस्थाको मुख्य कार्यालयहरू अवस्थित छन् । सहरको उत्तरी भागमा संयुक्त राष्ट्र संघको युरोपियन हेडक्वाटर्स, UNHCR, ITU, WIPO आदि भएको ठाउलाई Nations भनिन्छ । हामीलाई मिटिंग अबधिभर प्रयोग गर्न सकिने एउटा पास दिएको छ, जुन देखाएर संयुक्त राष्ट्र संघ र अन्य सबै अन्तराष्ट्रिय संस्थाको कार्यलय भित्र प्रवेश अनुमति पाइन्छ । हामी दिउसोको खाना खान ती सस्थाहरूको क्याफेटेरियामा गएर खान्छौं । त्यहाँका पुस्ताकालय र पसलहरू पनि बेलाबेला चाहार्छौ । World Health Organization, UNAID, International Labor Office, International Migration Organization जस्ता संस्था UN भन्दा पश्चिम तर्फ २० मिनेट जतिको पैदल दुरीमा पर्दछन भने UNICEF, International Meteorological Organization, World Trade Organization चाहि पूर्व तर्फ १५ मिनेट जतिको दूरीमा पर्दछन् ।

जेनेभा सहरको बिचमा ठूलो ताल छ । सहरको उत्तरी भागमा तालले ढाकेको छ भने दक्षिणी भागमा भने तालबाट निस्केको रोन नदि बग्दछ । जेनेभा सहर स्विजरल्याण्डको सबै भन्दा पश्चिममा पर्ने सानो सोतीजस्तो भाग हो, जसको उत्तर, पश्चिम र दक्षिण फ्रान्स पर्दछ । सहरको केन्द्रबाट बस चढी २० मिनेट जतिमा जता गएपनि फ्रान्स पुगिन्छ । जेनेभा तालबाट १४० मिटर माथिसम्म पुग्ने गरी फ्यालिएको पानीको फोहरा, फूलबारीमा चल्ने घडि, रोलेक्स जस्ता ब्राण्डका घडिका लागि जेनेभा सहरले प्रसिद्धि कमाएको रहेछ ।

माथिको फोटो संयुक्त राष्ट्र संघ परिसरको हो ।
---***----

No comments: