Thursday, August 27, 2026

 


दिगो फोहोर व्यवस्थापन प्रणाली

blog

ल्यान्डफिल साइट सिसडोल र बन्चरेडाँडालाई केन्द्रमा राखेर देखिएका विवाद पुनः राष्ट्रिय राजनीतिको बहसको विषय बनेका छन् । फोहोर व्यवस्थापनको समस्या काठमाडौँमा मात्र सीमित छैन । यो नेपालका सबै सहरले सामना गरिरहेको वातावरणीय, सामाजिक र आर्थिक चुनौती हो । समस्याको जरो फोहोरको बढ्दो मात्रा मात्र होइन, त्यसको व्यवस्थापनको विद्यमान ढाँचामा पनि छ । काठमाडौँ उपत्यकासहित धेरै सहरी क्षेत्रमा फोहोर व्यवस्थापनको अर्थ अझै पनि ‘सङ्कलन गरेर ल्यान्डफिलसम्म पु‍-याउने’ काममै सीमित छ । स्रोत अर्थात् घरबाटै फोहोर छुट्याउने प्रणाली कमजोर हुँदा जैविक फोहोर, प्लास्टिक, कागज, सिसा, धातु तथा इलेक्ट्रोनिक फोहोर एउटै स्थानमा मिसिन्छन् । परिणामस्वरूप पुनर्चक्रयोग्य सामग्रीसमेत फोहोरमै खेर जाने, व्यवस्थापन खर्च बढ्ने, ल्यान्डफिलको आयु घट्ने तथा माटो र जलस्रोत प्रदूषित हुने अवस्था आएको छ ।

जनचेतनाको अभाव नेपालको फोहोर व्यवस्थापनको प्रमुख चुनौती हो । विशेष गरी नागरिकस्तरमा फोहोर वर्गीकरणसम्बन्धी ज्ञान र सचेतनाको अभाव स्पष्ट देखिन्छ । अझै पनि धेरै घरमा भान्साबाट निस्कने जैविक फोहोर, प्लास्टिकका बोतल, दुधका प्याकेट, कागज र अन्य रिसाइकलयोग्य वस्तु एउटै झोलामा राखेर फाल्ने गरिन्छ । विद्यालय, कार्यालय तथा सार्वजनिक संस्थाहरूसमेत स्रोतमै फोहोर वर्गीकरणको संस्कृतिमा पूर्ण रूपमा अभ्यस्त हुन सकेका छैनन् । 

प्रोत्साहनबिना व्यवहार परिवर्तन सम्भव हुँदैन । नेपालमा फोहोर कम गर्ने, पुनप्र्रयोग गर्ने र रिसाइकल गर्ने घरपरिवारलाई कुनै प्रभावकारी आर्थिक वा सामाजिक प्रोत्साहन उपलब्ध छैन । अधिकांश नगरपालिकाले फोहोर छुट्याएर सार्वजनिक सेवामा सहयोग पु‍-याउने नागरिकलाई अतिरिक्त लाभ दिने प्रणाली विकास गरेका छैनन् । वास्तवमा ‘फोहोर उत्पादन गर्नेले तिर्ने’ तथा ‘फोहोर घटाउनेले लाभ पाउने’ प्रणाली लागु नगरी फोहोर व्यवस्थापनमा दिगोपना हासिल गर्न कठिन हुन्छ । नगरपालिकाले फोहोर छुट्याएर बुझाउने परिवारलाई सेवा शुल्कमा छुट, कर सहुलियत, पुरस्कार अङ्क वा नगद प्रोत्साहन जस्ता कार्यक्रम लागु गरेमा नागरिक सहभागिता उल्लेखनीय रूपमा बढ्न सक्छ ।

नेपालमा रिसाइकल उद्योग र नगरपालिकाबिच अझै बलियो सम्बन्ध स्थापना हुन सकेको छैन । रिसाइकल उद्योग अस्तित्वमा भए पनि स्रोतबाटै छुट्याइएको रिसाइकलयोग्य फोहोर नियमित रूपमा उद्योगसम्म पु‍-याउने सङ्गठित प्रणाली विकसित हुन सकेको छैन । हाल अधिकांश रिसाइकल प्रणाली अनौपचारिक सङ्कलकहरू, कबाडी व्यवसायी तथा निजी नेटवर्कमा आधारित छ । 

विश्व बैङ्कको अध्ययनले स्थानीय सरकार, निजी क्षेत्र र समुदायबिच सहकार्य अभिवृद्धि नगरी प्रभावकारी ठोस फोहोर व्यवस्थापन सम्भव नहुने निष्कर्ष निकालेको छ । नेपालका नगरपालिकले रिसाइकल उद्योगसँग दीर्घकालीन सम्झौता गरी स्रोतमै वर्गीकृत फोहोर सङ्कलन प्रणाली स्थापना गर्न आवश्यक छ । 

नेपालमा फोहोरबाट ऊर्जा उत्पादन गर्ने परियोजनाबारे बेलाबखत चर्चा हुने गर्छ तर यस्ता आयोजना सफल बनाउन स्रोतमै वर्गीकृत फोहोरको पर्याप्त आपूर्ति, उत्सर्जन नियन्त्रण प्रविधि, निजी लगानी र स्पष्ट कानुनी व्यवस्था आवश्यक हुन्छ । स्विडेन र जापानले आधुनिक प्रविधि प्रयोग गरी दहन प्लान्टमार्फत ऊर्जा उत्पादन गर्दा प्रदूषण नियन्त्रणमा समेत उच्च मापदण्ड कायम गरेका छन् । नेपालले पनि सार्वजनिक–निजी साझेदारी ढाँचामार्फत यस्ता परियोजना विकास गर्न सक्छ तर पहिलो प्राथमिकता पुनप्र्रयोग, रिसाइकल तथा कम्पोस्टिङलाई नै दिनु पर्छ ।

कृषिप्रधान देश नेपालमा जैविक फोहोरलाई मलमा रूपान्तरण गर्ने ठुलो अवसर छ । नगरक्षेत्रमा उत्पादन हुने फोहोरको ठुलो हिस्सा जैविक प्रकृतिको हुने कुरा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययनले प्रस्ट पारेका छन् । भान्साबाट निस्कने तरकारीका बोक्रा, फलफूलका अवशेष तथा अन्य कुहिने पदार्थलाई कम्पोस्ट मलमा रूपान्तरण गर्न सकिन्छ । यसका लागि प्रत्येक घरमा कम्पोस्ट बिन वितरण, समुदायस्तरीय कम्पोस्ट केन्द्र स्थापना, स्थानीय तहबाट प्राविधिक तालिम, उत्पादित मलको बजार सुनिश्चितता तथा विद्यालयमा कम्पोस्टिङ शिक्षा जस्ता कार्यक्रम सञ्चालन गर्न सकिन्छ । 

घरायसी फोहोर व्यवस्थापनको सन्दर्भमा विश्वकै उत्कृष्ट फोहोर व्यवस्थापन प्रणाली भएको देशमध्ये एक जापान नेपालका लागि महŒवपूर्ण सिकाइको स्रोत हुन सक्छ । जापानमा फोहोर व्यवस्थापनलाई नागरिकको दायित्वका रूपमा हेरिन्छ, केवल नगरपालिकाको जिम्मेवारीका रूपमा होइन । धेरै नगरपालिकामा नागरिकले फोहोरलाई १० भन्दा बढी श्रेणीमा वर्गीकरण गरेर, भिन्दाभिन्दै तोकिएका प्लास्टिक झोलामा राखेर तोकिएका दिनमा मात्र बाहिर राख्नु पर्छ । वर्गीकरण नगरेको फोहोर सङ्कलन नै गरिँदैन । वर्गीकृत फोहोरको प्रकृति अनुसार भिन्दाभिन्दै ट्रकमा उठाई सम्बन्धित प्लान्टमा पु-याइन्छ । फोहोर व्यवस्थापनका लागि प्रयोग हुने आधिकारिक झोला पनि किनेर प्रयोग गर्नुपर्ने भएकाले नागरिकलाई फोहोरको मात्रा घटाउन प्रत्यक्ष आर्थिक प्रेरणा मिल्छ । सन् २०२० देखि जापानमा किनमेल गर्दा सामान राख्ने प्लास्टिक झोला चाहिए शुल्क तिर्नुपर्ने बाध्यात्मक नियम लागु गरिएपछि पुनप्र्रयोगयोग्य झोलाको प्रयोग उल्लेखनीय रूपमा बढेको छ । यसले एक पटक मात्र प्रयोग गरेर फालिने प्लास्टिक झोलाको खपत घटाउन मद्दत गरेको छ । 

खाद्य फोहोर व्यवस्थापनको क्षेत्रमा दक्षिण कोरियाले हासिल गरेको सफलता नेपालका लागि अर्को महत्त्वपूर्ण सिकाइ हुन सक्छ । दक्षिण कोरिया विशेष गरी खाद्य फोहोर व्यवस्थापनमा विश्वकै अग्रणी देश मानिन्छ । ‘पे एज यु थ्रो’ प्रणाली फोहोर व्यवस्थापनसम्बन्धी एक अत्यन्त प्रभावकारी र वैज्ञानिक अवधारणा हो; जसलाई नेपालीमा ‘जति फोहोर फ्याँक्यो, त्यति नै शुल्क तिर्ने’ प्रणाली भनिन्छ । त्यहाँ नागरिकले उत्पादन गरेको खाद्य फोहोरको मात्रा अनुसार शुल्क तिर्नु पर्छ । परिणामस्वरूप खाद्य फोहोरमा उल्लेखनीय कमी आएको छ । धेरै स्थानमा रेडियो फ्रिक्वेन्सी पहिचान (आरएफआइडी) कार्ड प्रयोग गरी खाद्य फोहोरको मात्रा मापन गरिन्छ । यसले नागरिकलाई कम फोहोर उत्पादन गर्न उत्प्रेरित गरेको छ । सङ्कलित खाद्य फोहोरलाई पशु आहार, कम्पोस्ट मल तथा बायोग्यास उत्पादनमा प्रयोग गरिन्छ ।  आरएफआईडी एकप्रकारको प्रविधि हो; जसले रेडियो तरङ्गहरू प्रयोग गरेर कुनै वस्तु, कार्ड वा व्यक्तिको पहिचान गर्ने र डेटा आदानप्रदान गर्ने काम गर्छ । खाद्य फोहोर व्यवस्थापनमा यसको प्रयोग फोहोरको परिमाण मापन गर्न र सही तथ्याङ्क राख्न गरिन्छ ।

अन्य सफल देशमा जर्मनीले ‘एक्टेन्डेड प्रोड्युसर रेस्पोन्सिबिलिटी’ प्रणालीमार्फत सामग्री उत्पादक कम्पनीलाई नै आफ्ना उत्पादनको फोहोर व्यवस्थापनको जिम्मेवारी दिएको छ । स्विडेनले ९० प्रतिशतभन्दा बढी नगर फोहोर रिसाइकल वा ऊर्जा उत्पादनमा प्रयोग गर्ने प्रणाली विकास गरेको छ । सिङ्गापुरले सीमित भूमि उपयोगलाई ध्यानमा राख्दै उच्च दक्षतायुक्त दहन प्रविधि र फोहोरबाट ऊर्जा तथा पुनप्र्रयोगयोग्य सामग्री निकाल्ने आधुनिक प्रणाली विकास गरेको छ ।  ।

अन्य देशको अनुभवले एउटा स्पष्ट सन्देश दिन्छ– फोहोर केवल व्यवस्थापन गर्नुपर्ने बोझ होइन, उचित नीति र प्रविधिमार्फत आर्थिक स्रोतमा रूपान्तरण गर्न सकिने सम्पत्ति पनि हो । नेपालले अझै पनि फोहोरलाई सङ्कलन र विसर्जनको दृष्टिकोणबाट हेर्ने गरेको छ । अब यो सोच बदल्न आवश्यक छ । घरमै फोहोर छुट्याउने संस्कृति विकास, रिसाइकल उद्योगको विस्तार, जैविक फोहोरबाट कम्पोस्ट मल उत्पादन, फोहोरबाट ऊर्जा उत्पादन गर्ने प्रविधिमा लगानी तथा निजी क्षेत्रसँगको प्रभावकारी सहकार्यले फोहोरलाई समस्याबाट अवसरमा बदल्न सक्छ । यसबाट रोजगारी सिर्जना हुने, आयातित रासायनिक मलमाथिको निर्भरता घट्ने, स्वच्छ ऊर्जा उत्पादन हुने र वातावरणीय प्रदूषण नियन्त्रणमा समेत योगदान पुग्ने छ ।

फोहोर व्यवस्थापनलाई केवल नगरपालिकाको जिम्मेवारी ठान्ने सोचबाट पनि समाज बाहिर निस्कनु पर्छ । स्वच्छ र व्यवस्थित सहर निर्माणमा सरकार, निजी क्षेत्र र नागरिक सबैको समान भूमिका हुन्छ । घरको भान्साबाट सुरु हुने सानो व्यवहार परिवर्तनले राष्ट्रियस्तरको परिवर्तनको आधार तयार गर्न सक्छ । नेपालले फोहोरलाई सङ्कटका रूपमा मात्र हेर्ने हो भने समस्या झन् जटिल बन्दै जाने छ । फोहोरलाई स्रोत, उद्योग र अवसरका रूपमा हेर्ने हो भने यही चुनौती हरित अर्थतन्त्र, रोजगारी र दिगो विकासको आधार बन्न सक्छ । फोहोरलाई बोझ मान्ने कि स्रोतका रूपमा उपयोग गर्ने भन्ने निर्णयले नै नेपालको वातावरणीय, आर्थिक र सहरी भविष्य निर्धारण गर्ने छ ।






Friday, January 13, 2023

 अनलाइन नागरिक सेवा: सास्ती कि सुविधा


blog

बाह्र वर्षपहिले यन्त्रवाचक राहदानी अर्थात् एमआरपी आवेदन फारम भर्ने काममा जनताले कम्प्युटर प्रयोग गर्नैपर्ने नियम बनाइयो । पाँच प्रतिशत जनताको घरमा पनि कम्प्युटर नभएको अवस्थामा बिचौलिया एजेन्टलाई पैसा तिरेर कम्प्युटरबाट फारम भराउन जनता बाध्य भए । कम्प्युटरबाट फारम भर्न त लगाइयो तर राहदानी जारी गर्ने प्रक्रियालाई झन् जटिल बनाइयो । हातले लेखेर आवेदन गरेकै दिनमा हस्तलिखित राहदानी प्राप्त गर्दै आएका जनतालाई एमआरपी प्राप्त गर्न महिनौँ कुर्नैपर्ने बनाइयो । नागरिक सेवामा सूचनाप्रविधि भित्र्याउने नाममा एमआरपीबाट जनतालाई सास्ती दिन थालिएको शृङ्खला स्मार्ट चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र र विद्युतीय राहदानीसम्म आइपुग्दा पनि अन्त्य भएको छैन । आखिरमा जनताले किन सास्ती भोग्नु परिरहेको छ ? 

नागरिक सेवामा सूचनाप्रविधि प्रयोग

विद्युतीय सञ्चार र कम्प्युटर प्रविधिमार्फत सूचना तथा तथ्याङ्कलाई प्रभावकारी तरिकाले सम्प्रेषण, भण्डारण, प्रशोधन तथा आदानप्रदान गर्ने सूचनाप्रविधि प्रयोगबाट नागरिक सेवा प्रदान गर्ने प्रक्रियालाई सिद्धान्ततः सरल, सुलभ र भरपर्दो बनाउन सकिन्छ । सेवाग्राही जनताले आफ्नै स्मार्टफोन या कम्प्युटरबाट आफ्नो व्यक्तिगत विवरण घरबाटै भरेर अनलाइन आवेदन दर्ता गर्नसक्ने र सो विवरण निमेषभरमा नै सम्बन्धित कार्यालय तथा फाँटवाला कर्मचारीसम्म पुग्ने हुनाले कागजपत्रको फाइल बोकेर एक कार्यालयबाट अर्को कार्यालय वा एक कोठाबाट अर्को कोठामा धाउन सेवाग्राही तथा कर्मचारीले समय खर्च गर्न पर्दैन । साथै सेवाग्राहीले अनलाइनमा भरेको विवरण प्रमाणित गर्नका लागि सरकारी डाटा सेन्टरमा भण्डारण गरेर राखेको आधिकारिक विवरणसँग ट्याली गराउने काम पनि कम्प्युटर नेटवर्कमार्फत क्षणभरमा नै सम्पन्न हुने हुनाले कर्मचारीले दराजभित्रका ढड्डा पल्टाएर रेकर्ड खोज्न समय खर्चिनु पर्दैन । यसरी कर्मचारीको कार्यभारलाई न्यूनीकरण गरी थोरै कर्मचारीबाट धेरै जनतालाई सेवा प्रदान गर्न सकिन्छ । 

आवश्यक सूचना तथा सञ्चार प्रविधि

अनलाइन नागरिक सेवाका लागि आवश्यक पर्ने सूचना तथा सञ्चार प्रविधिलाई तीन खण्डमा विभाजन गर्न सकिन्छ: (१) जनताका साथमा रहेका स्पार्टफोन या कम्प्युटर, (२) दूरसञ्चार तथा इन्टरनेट सेवा, र (३) सरकारी डाटा सेन्टर पूर्वाधार । एप्लिकेसन अथवा वेब ब्राउजर खोलेर नागरिक सेवा प्रयोग गर्नका लागि जनताका स्मार्टफोन वा कम्प्युटरमा आवश्यक सफ्टवेयर र हार्डवेयर जडित भएको हुनुपर्छ । ती स्पार्टफोन र कम्प्युटरलाई पर्याप्त गतिको इन्टरनेटमा जोड्नका लागि मोबाइल दूरसञ्चार नेटवर्क तथा अप्टिकल फाइबर इन्टरनेट सेवा जनताको पहुँचमा हुन आवश्यक छ । त्यस्तैगरी नागरिक सेवाका एप्लिकेसन होस्ट गर्नका लागि द्रुत गतिको नेटवर्कमा जडिएको उच्च क्षमताका गुणस्तरीय हार्डवेयर र सफ्टवेयरले सुसज्जित कम्प्युटर सर्भरको सरकारी डाटा सेन्टर पूर्वाधार हुन आवश्यक छ । 

सूचना तथा सञ्चार प्रविधिको वर्तमान अवस्था

नेपालमा संसारकै अति उत्तम क्षमताको ५जी मोबाइल दूरसञ्चार प्रविधि अझै उपलब्ध नभए पनि धेरै ठाउँमा उपलब्ध रहेको ४जी मोबाइल नेटवर्क र इन्टरनेट सेवाको क्षमता अनलाइन नागरिक सेवा एप्लिकेसनका लागि पर्याप्त छन् । जनताका स्मार्टफोन वा कम्प्युटर पनि अनलाइन नागरिक सेवाका लागि सक्षम छन् तर अनलाइन नागरिक सेवा होस्ट गर्ने सरकारी डाटा सेन्टरको पूर्वाधार र व्यवस्थापकीय पक्ष कमजोर छन् । फलस्वरूप विद्युतीय राहदानी र राष्ट्रिय परिचयपत्र आवेदनजस्ता अनलाइन नागरिक सेवा गुणस्तरीय हुन सकेका छैनन् । 

सर्भर हार्डवेयर र नेटवर्किङ उपकरण अहिले नै स्वदेशमा उत्पादन गर्न नसकिए पनि नागरिक सेवाका सफ्टवेयर र एप्लिकेसनको हकमा स्वदेशी निजी क्षेत्रको उत्पादनलाई प्राथमिकता दिने सरकारी नीति बनाउन अत्यावश्यक छ ।

डाटा सेन्टर पूर्वाधारको सङ्क्षिप्त परिचय

डाटा सेन्टरमा उच्च क्षमताका कम्प्युटर सर्भर लोकल नेटवर्क अर्थात् इन्टरनेटमार्फत एकआपसमा जोडिएका हुन्छन् । ती सर्भरको समूहलाई क्लाउड भनिन्छ । हरेक सर्भरमा उच्च गतिमा डाटा प्रशोधन गर्न सक्ने धेरैवटा सीपीयू, दसौँ टेराबाइट मेमेरी तथा सयौँ टेराबाइटका धेरैवटा हार्डडिस्क जडित हुन्छन् । त्यस्तैगरी अपरेटिङ सिस्टम, प्लाटफर्म सफ्टवेयर तथा एप्लिकेसन सफ्टवेयर पनि जडित गरिएको हुन्छ । साइबर सुरक्षा प्रविधिले डाटा सेन्टरलाई सुरक्षित राखिएको हुन्छ । 

भूमिकाका आधारमा सर्भरलाई एप्लिकेसन सर्भर र डाटा सर्भर गरी दुई समूहमा विभाजन गर्न सकिन्छ । अनलाइन सेवा प्राप्त गर्नका लागि सेवाग्राहीले पठाएका सेवा अनुरोध (अर्थात् सर्भिस रिक्वेस्ट) पहिले एप्लिकेसन सर्भरमा आइपुग्छन् । सेवाका लागि आवश्यक पर्ने डाटा एप्लिकेसन सर्भरले डाटा सर्भरबाट माग्दछ र सो डाटा प्रयोग गरेर सेवाग्राहीलाई सेवा प्रदान गर्छ । क्लाउडमा एकभन्दा बढी एप्लिकेसन सर्भर र डाटा सर्भर राखिएका हुन्छन् ता कि कुनै एक बिग्रिएमा वा अत्यधिक कार्यचापले त्यसको प्रशोधन प्रक्रिया ढिलो भएमा अर्को सर्भर स्वचालित रूपमा जोडिएर सेवालाई निरन्तरता दिने गर्छ । 

सेवाग्राहीबाट आएका सेवा अनुरोधलाई कार्यभार कम भएका एप्लिकेसन सर्भरमा पठाउनका लागि लोड ब्यालेन्सर प्रविधि पनि प्रयोग गरिएको हुन्छ । अत्याधुनिक क्लाउड सर्भरमा सफ्टवेयर डिफाइन्ड नेटवर्किङ र रिसोर्स भर्चअलाइजेसन प्रविधि प्रयोग गरिएको हुन्छ । यी प्रविधिमार्फत अनलाइन सेवामा प्रयोग भएका सीपीयू, मेमोरी, हार्डडिस्क तथा नेटवर्क ब्यान्डविड्थजस्ता रिसोर्सको मात्रालाई स्वचालित रूपमा बढाउन वा घटाउन सकिन्छ, जसलाई अटोस्केलिङ भनिन्छ । सर्भरको कार्यभार बढ्नेबित्तिकै अटोस्केलिङ प्रविधिले अपुग रिसोर्स आफैँ थपिदिने हुनाले अनलाइन सेवाको गुणस्तर खस्किन पाउँदैन । हाम्रा नागरिक सेवाका गुणस्तर कामै नलाग्ने गरी खस्किन्छन्, किन ? 

उचित प्रविधि छनोट गर्न सक्ने ज्ञानको कमी

नागरिक सेवामा सूचनाप्रविधि प्रयोगमा ल्याउँदा नेपालमा जनताको सुविधालाई केन्द्रबिन्दुमा राखेर योजना बनाएको देखिँदैन । जनताको घरमा कम्प्युटर नभएको अवस्थामा बिचौलियाको कम्प्युटरबाट एमआरपी आवेदन फारम भर्न बाध्य पारियो । एमआरपीपछि स्मार्ट सवारी चालक अनुमतिपत्र जारी गर्ने प्रक्रियामा सूचना प्रविधिको प्रयोग सुरु गरियो । नवीकरण गर्दा वा नयाँ लिन जाँदा आवेदन गरेकै दिनमा हस्तलिखित वा टाइप गरेको सवारी चालक अनुमतिपत्र हातमा पार्दै आएका जनतालाई स्मार्ट कार्डको नाममा वर्षौं कुर्नैपर्ने बनाइयो । हालसालै बायोमेट्रिक डाटासहितको नागरिक परिचयपत्र स्मार्ट कार्ड बनाउन जनतालाई बाध्य पारिएको छ । ती स्मार्ट कार्ड जनताले कहाँ प्रयोग गरेर कुन कुन नागरिक सेवा सर्वसुलभ उपभोग गर्न पाउने छन् भन्ने कतै प्रस्ट पारिएको छैन । नेपालमा जस्तै जापानमा पनि हालसालै राष्ट्रिय परिचयपत्र (जसलाई माई नम्बर कार्ड भनिन्छ) लागू गरिएको छ । माई नम्बर कार्ड बोकेका जनताले बसोबास, कर तथा अन्य प्रमाणपत्र प्राप्त गर्नका लागि नगरपालिका वा वडा कार्यालय धाउनु पर्दैन, घरनजिकैको कन्भिनियन्स स्टोर वा सार्वजनिक ठाउँमा राखिएका मेसिनमा कार्ड छिराएर प्रिन्ट गर्न सकिन्छ । हाम्रोमा यस्ता पूर्वाधार कहिले विकास गर्ने र कार्डको कसरी सदुपयोग गर्ने भन्ने अझै अन्योल छ । प्रयोग नहुने खालका महँगा स्मार्ट कार्ड मात्र बनाएर राष्ट्रको अर्बौं रुपियाँ खर्च किन गरिन्छ भनी जनताले बुझ्न पाएका छैनन् ।

प्राविधिक र प्रशासनिक कर्मचारीबीच असमञ्जस्यता

प्रविधिमार्फत जनसेवा प्रक्रियालाई सहज बनाउन प्राविधिक र प्रशासनिक कर्मचारीको सहकार्य अपरिहार्य छ । सेवाका लागि उपयुक्त सूचना प्रविधिको छनोट, सफ्टवेयर निर्माण, नियमित मर्मतसम्भार र समयसापेक्ष स्तरोन्नति गर्ने जिम्मेवारी प्राविधिक कर्मचारीको कार्यक्षेत्रमा पर्छन् भने प्रणाली निर्माणका लागि आवश्यक बजेट छुट्याउनेदेखि लिएर हार्डवेयर, सफ्टवेयर खरिद प्रक्रियालाई अगाडि बढाउने र निर्माण भइसकेको प्रणालीलाई अधिकतम सदुपयोग गरी चुस्त जनसेवा प्रदान गर्ने जिम्मेवारी प्रशासनिक कर्मचारीको कार्यक्षेत्रमा पर्छन् । नयाँ प्रविधिसम्बन्धी नीति निर्माण तथा योजना तर्ज‘मा गर्ने काममा प्राविधिक कर्मचारीको सशक्त सहभागिताको कमी देखिन्छ । त्यस्तैगरी उच्च गुणस्तरीय सूचना प्रविधि प्रणाली निर्माणका लागि आवश्यक पर्ने स्पेसिफिकेसन प्रस्ट नलेख्ने, निर्माणाधीन प्रणालीमा अधिकतम कार्यभार पर्दा पनि भरपर्दो काम गर्न सक्षम छ भनी परीक्षण नगरी अनुमोदन गर्ने, भविष्यमा आउन सक्ने सम्भावित समस्यालाई डिजाइनको चरणमा बेवास्ता गर्ने तथा फेल–सेफ क्षमताका बारेमा नसोच्नेजस्ता हेलचेक्र्याइँ प्राविधिक र प्रशासनिक कर्मचारीबीचको सामञ्जस्यताको कमीले गर्दा हुने गर्छन् ।

सरकारी, प्राज्ञिक र निजी क्षेत्रबीच सहकार्यमा कमी

लोकोपयोगी नयाँ प्रणालीको विकास गर्नुभन्दा पहिले नै सो प्रणालीका विविध पक्षका बारेमा गहन अध्ययन, अनुसन्धान गरी अब्बल सिद्ध भएका प्रविधि, पद्धति तथा प्रणाली मात्र छनोट गर्नका लागि प्राज्ञिक क्षेत्रका प्राध्यापक तथा विद्यार्थीले विशेष भूमिका निर्वाह गर्न सक्छन् । त्यस्तैगरी स्वदेशी निजी क्षेत्रका संस्थाको क्षमता अभिवृद्धि गरी आवश्यक पर्ने सबै सफ्टवेयर स्वदेशमा नै निर्माण गर्नका लागि सरकारी, प्राज्ञिक र निजी क्षेत्रबीचमा सहकार्य अनिवार्य छ; जुन नेपालमा अझै अभाव छ । 

समन्वयकारी नीति तथा नियमनको कमी

सूचना प्रविधिको प्रयोग तथा नियमनमा सरकारी स्तरमा एकद्वार नीति तथा प्रणालीको अभावले गर्दा सरकारी निकायबीचमा पनि सहकार्य र संयोजनको अभाव देखिन्छ । अन्य देशमा सबै प्रकारका डिजिटल सेवा जस्तै– टेलिफोन, भिडियो तथा इन्टरनेट सेवा डिजिटल प्याकेजमा आधारित एकीकृत प्रणालीबाट सञ्चालित र नियमन भएका हुन्छन् । नेपालमा भने एकद्वार प्रणालीबाट नियमन नभएर इन्टरनेट तथा टेलिकम सेवा, ब्रोडकास्टिङ तथा प्रेस मेडिया सेवा, साइबर सुरक्षा आदि सेवा नेपाल दूरसञ्चार प्राधिकरण, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट छुट्टाछुट्टै तवरले नियमन भइरहेका छन् । 

झन्झटिलो प्रक्रिया, बिचौलिया र व्यापारी हाबी 

अनलाइनमा भरिएको फारमलाई प्रिन्ट गरी लाइनमा बसेर हार्डकपी फारम बुझाउनुपर्ने झन्झट जनताले बेहोर्नु परेको छ । अनलाइन आवेदन फरम भर्नका लागि एजेन्टलाई शुल्क तिर्नु त पर्छ नै, साथसाथै उनीहरूको कम्प्युटरमा आफ्नो व्यक्तिगत विवरण तथा नागरिकता प्रमाणपत्रको फोटोकपीसमेत भण्डारण गर्न दिनुपर्छ । नाम, ठेगाना, जन्म मिति, नागरिकता प्रमाणपत्र नम्बर, जारी मिति तथा स्थानजस्ता संवेदनशील व्यक्तिगत विवरण एजेन्टको कम्प्युटरबाट कुनै दिन अनुचित प्रयोग गरिएमा त्यसको जिम्मेवार को हुने भन्ने कानुनका बारेमा सरकारले सोचेको देखिँदैन । बरु उल्टै व्यापारीको स्वार्थमा सहयोगी भूमिका निर्वाह गरेका घटना उद्धृत हुन थालेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले हालै लागू गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली (जसको सञ्चालन केही समयलाई रोकिएको छ) अन्तर्गत नयाँ स्मार्टफोनमा सिम कार्ड राख्नेबित्तिकै स्वचालित एप्लिकेसनमार्फत ग्राहकको विवरण नियमन संस्थाले सजिलै प्राप्त गर्न सक्ने हुँदा ग्राहकले अनावश्यक रूपमा आवेदन फारम भरेर प्रमाणीकरणका अनेकन् झन्झट झेल्नु परेको छ । यसले गर्दा विदेशमा श्रम गर्ने नेपालीले स्वदेश फर्किंदा ल्याएका स्मार्टफोन चल्ने बनाउनका लागि निकै नै सास्ती पाउने छन् ।

आयातित प्रविधिमा निर्भरता

नेपाल सरकार सूचना प्रविधिका क्षेत्रमा पूर्ण रूपमा आयातित प्रविधिमा निर्भर छ । हार्डवेयर र सफ्टवेयर सबै आयातित प्रविधिबाट हाम्रा अनलाइन नागरिक सेवा सञ्चालन भइरहेको वर्तमान परिप्रेक्ष्यमा सामान्य समस्या आउँदा पनि हामी आफैँले समाधान गर्न सक्दैनौँ । विद्युतीय राहदानी आवेदन फारम भर्ने प्रक्रियामा हालै देखिएको सामान्य समस्याले हाम्रो अनलाइन सिस्टम कैयौँ दिनसम्म ठप्प भई विदेशी प्राविधिज्ञ आएर मर्मतसम्भार गर्नु पर्यो । 

समस्या समाधानका उपाय

नेपालमा अहिले एउटा मात्र सरकारी एकीकृत डाटा सेन्टर सञ्चालनमा ल्याइएको छ । डाटा सेन्टरका सर्भर, नेटवर्कको क्षमता र तिनले भोग्दै गरेको कार्यभारको विस्तृत विश्लेषण गरी अत्यधिक भार परेका भागमा आवश्यक मात्रामा सर्भर हार्डवेयर र नेटवर्क ब्यान्डविड्थ थपेर लोड ब्यालेन्सर र अटोस्केलिङ प्रविधिलाई प्रभावकारी बनाउन सकिन्छ । सफ्टवेयरको डिजाइनमा नै क्षमताहरू सीमित गरिएको (जस्तै– अनलाइन सेवामा एकै पटक लग–इन गर्न सक्ने सेवाग्राहीको सङ्ख्या) पाइएमा सफ्टवेयरलाई अद्यावधिक गरेर क्षमता बढाउन सकिन्छ । डाटा सेन्टरका समस्या पत्ता लगाएर समाधान गर्न सरकारसँग उपलब्ध प्रावधिक जनशक्ति अपर्याप्त भएमा प्राज्ञिक क्षेत्रका विज्ञ प्राध्यापक र निजी क्षेत्र तथा विदेशमा कार्यरत अनुभवी नेपाली इन्जिनियरसँग सहकार्य गर्न सकिन्छ । 

केन्द्रीकृत डाटा सेन्टरमा अत्यधिक चाप परिरहेको पाइएमा यथाशीघ्र डाटा सेन्टरलाई विकेन्द्रीकरण गरी प्रदेश वा जिल्लामा फैलाउनुपर्छ । प्रत्येक प्रदेशमा कम्तीमा एउटा डाटा सेन्टरको संरचना तयार पार्न सकेमा त्यो प्रदेशका जनतालाई त्यहीँको डाटा सेन्टरबाट अनलाइन सेवा दिन सकिन्छ । यहाँबाट दैनिक तथा मासिक रूपमा प्रशोधन भएका आवेदनको सङ्क्षेपीकृत विवरण मात्र केन्द्रीय डाटा सेन्टरमा पठाउने व्यवस्था गरियो भने केन्द्रमा कामको चाप व्यवस्थापन सहज हुनेछ । प्रविधिको विकास गर्नुका साथसाथै कर्मचारीतन्त्रलाई प्रविधिमैत्री बनाउन आवश्यक छ । अनैतिक प्रलोभनमा परेर कर्मचारीले अनलाइन सेवा प्रणाली वा प्रक्रियालाई पङ्गु बनाउन खोजेमा विभागीय कारबाही गर्ने नीति अवलम्बन गर्नुपर्छ । रायसुझाव लिन विशेषज्ञ नियुक्ति गर्दा राजनीतिक वा पारिवारिक निकटताका आधारमा नभएर विज्ञताका आधारमा खुला, स्वच्छ प्रतिस्पर्धात्मक विधिबाट नियुक्ति गर्नुपर्छ । 

निष्कर्षमा प्रभावकारी अनलाइन नागरिक सेवा प्रदान गर्न प्रविधिमा दख्खल राख्ने कर्मचारीको भर्ना सङ्ख्या बढाउँदै समयानुकूल प्रशिक्षण कार्यक्रम सञ्चालन गरेर प्रविधि सञ्चालनमा कर्मचारीको आत्मबल बढाउनुपर्ने देखिन्छ । सूचना–प्रविधि तथा दूरसञ्चार पूर्वाधारको विकास निर्माणमा एकद्वार प्रणाली लागू गर्दै एकीकृत नियमनकारी भूमिका निर्वाह गर्न नीतिगत सुधार आवश्यक देखिन्छ । विकेन्द्रीकृत डाटा सेन्टर पूर्वाधार निर्माण गरी सफ्टवेयर डिफाइन्ड नेटवर्किङ, रिसोर्स भर्च‘अलाइजेसन, अटोस्केलिङ, क्लाउड फेडरेसनजस्ता अत्याधुनिक प्रविधि प्रयोगमा जोड दिनुपर्छ । सरकारी, प्राज्ञिक र निजी क्षेत्रका संस्थाबीचमा अनलाइन सेवा प्रणालीलाई निरन्तर परिष्कृत बनाउँदै लैजाने लक्ष्यकेन्द्रित सहकार्य गर्नुपर्छ । सर्भर हार्डवेयर र नेटवर्किङ उपकरण अहिले नै स्वदेशमा उत्पादन गर्न नसकिए पनि नागरिक सेवाका सफ्टवेयर र एप्लिकेसनको हकमा स्वदेशी निजी क्षेत्रको उत्पादनलाई प्राथमिकता दिने सरकारी नीति बनाउन अत्यावश्यक छ । नागरिक सेवामा प्रविधिको भरपूर सदुपयोग नै समृद्ध नेपाल निर्माणको मुख्य आधार हो ।

Sunday, June 21, 2020

ग्रहण, पुराण र परम्परा

***ग्रहण, पुराण र परम्परा***
२०७७ साल असार ७ गते आइतबार आज सूर्यग्रहण। सूर्य र पृथ्वी जोड्ने काल्पनिक सिधा रेखामा चन्द्रमा आएर सूर्यबाट आउने प्रकाशलाई छेक्दा पृथ्वीबाट सूर्यको केही भाग कालो (खण्डग्रास) वा सम्पूर्ण भाग कालो (खग्रास) देखिने अवस्थालाई सूर्यग्रहण भनिन्छ। नेपाल वा जापानबाट आज खण्डग्रास सूर्यग्रहण देखिन्छ भने भारत, चीन र अन्य देशका धेरै भूभागबाट खग्रास सूर्यग्रहण देखिँदैछ। खग्रास सूर्यग्रहणमा पनि सूर्यको वरिपरि चाँदीको घेरा जस्तै सेतो प्रकाश देखिन्छ जसलाई अंग्रेजीमा रिङ अफ फायर भनिन्छ। पृथ्वीबाट देखिने सूर्यको आकारभन्दा चन्द्रमाको आकार सानो भएको हुनाले चन्द्रमाले सूर्यलाई पूर्ण ढाक्न नसक्दा यस्तो चाँदीको घेरा देखिएको हो। यो त भयो सूर्यग्रहण लाग्ने वैज्ञानिक कारण जुन तेश्रो शताब्दीमा नै (सूर्यसिद्धान्त) खगोलशास्त्रमा प्रस्ट्याइएको छ। आज मलाई ग्रहणबारेमा पौराणिक ग्रन्थहरूमा उल्लेख गरिएका रमाइला प्रसङ्गहरूका बारेमा पनि जान्न र लेख्न मन लाग्यो।
ग्रहण लाग्ने कारणका बारेमा बुझ्न भागवत, विष्णुपुराणमा उल्लेख गरिएका सूर्य र चन्द्रका दुस्मन राहुका बारेमा चर्चा गरौं। विष्णुपुराणका अनुसार दैत्य गुरु शुक्राचार्यले भगवान शिवको कठिन तपस्या गरी संजीवनी मन्त्र प्राप्त गर्दछन्, जुन मन्त्रको प्रयोगबाट देवता र दैत्य बीचको युद्धमा मारिएका सबै दैत्यलाई पुनर्जीवित पार्न सक्ने शक्ति हुनाले दैत्यहरूलाई देवताले परास्त गर्न नसक्ने अवस्था आउँछ। यस्तो जटिल परिस्थितिमा देवतालाई शक्तिशाली बनाउनका लागि विष्णुले समुन्द्र मन्थन गरी अमृत निकालेर देवतालाई खुवाउने योजना बनाउँछन्। तर देवताले मात्र समुन्द्र मन्थन गर्न असमर्थ हुने हुनाले निकालिएको अमृत देवता र दैत्यले बराबरी बाँड्ने शर्तमा मन्दार पर्वतको मदानीमा वासुकी नागराजको नेती बनाइन्छ। विष्णु भगवान कूर्म अवतारमा समुन्द्रको फेदमा गई मन्दार पर्वतलाई डुब्नबाट बचाएर राखी स्वर्गका राजा इन्द्रको नेतृत्वमा देवताहरू र दैत्यराज वालिको नेतृत्वमा दानवहरूले वासुकी नागको दुई सुर (टाउकोतिरको भागमा दानवहरू र पुच्छरतिरको भागमा देवताहरू) मिलेर समुद्र मन्थन गर्छन्। अमृत निस्कनु भन्दा पहिले हलाहल नामक विष निस्कन्छ, जुन शिवजीले पिएर लोकलाई विषाक्त हुनबाट बचाउछन्। (शिवजीले विष सेवन गरी कण्ठमा राख्दा कण्ठको रंग नीलो हुन्छ, त्यसैले शिवजीलाई नीलकण्ठ पनि भनिन्छ।) समुन्द्र मन्थनबाट अमृत निस्कनु भन्दा पहिले सुरभि, कौस्तुभा, परिजात, लक्ष्मी, वारुणी र धन्वन्तरिको उत्पति हुन्छ। निस्केको अमृत देवतालाई नबाँडी दानवहरूले एकलौटी लिएर जान्छन्। दानवले लुटेको अमृत देवतालाई खुवाउनका लागि विष्णु भगवान एक सुन्दर स्त्री मोहिनीको रूपमा दानव सभामा पुगी देवताहरूलाई आमन्त्रण गर्न लगाएर अमृतको घडा बोकेर देवताहरू बसेको पंतिमा गएर पालैपालो सबै देवताहरूलाई अमृतपान गराउँछन्। स्वरभानु नामको दानव पनि देवताको भेषमा परिवर्तन भई देवतासँगै बसेर अमृतपान गर्न पुग्दछ। यो कुरा सूर्य र चन्द्रले चाल पाएर तुरुन्त विष्णुलाई बताउँछन्। विष्णुले सुदर्शन चक्रले स्वरभानुलाई मार्न शिर छेदन गर्दछन्। तर स्वरभानुले अमृत निलिसकेको हुनाले काटिएको शिर पनि राहुका रूपमा जीवित रहन्छ। त्यस दिनदेखि सूर्य र चन्द्रको जन्मजात दुस्मनका रूपमा राहु घुमिरहेको छ र बेला बखतमा सूर्य र चन्द्रलाई निल्ने अर्थात् ग्रास गर्ने प्रयत्न गर्दछ। पौराणिक शुक्तिअनुसार सूर्य र चन्द्र ग्रहण लाग्ने कारण यही राहु हो। राहुको हात र शरीर नभएको हुनाले त्यसैले सूर्य र चन्द्रलाई सधैँका लागि पूर्ण निल्न भने सक्दैन र ग्रहणहरू क्षणिक हुने गर्दछन् । आजको सूर्यग्रहण पनि न्यूनतम ३० सेकेन्डदेखि अधिकतम ३ घण्टा ४५ मिनेट लामो हुँदैछ।
अब चर्चा गरौं सूर्यग्रहणमा धर्मशास्त्रअनुसार पृथ्वीमा के हुन्छ र के के गर्नुपर्छ।
मनुस्मृति, ग्रहलाघव, निर्णय सिन्धु आदिमा सूर्यग्रहणका बेलामा मानवले गर्नुपर्ने कार्यका बारेमा उल्लेख गरिएको छ। सूर्यलाई मानव तथा मानवमैत्री जीवका सर्जक मानिन्छ। सूर्यग्रहणका बेला सूर्यकिरणबाट पृथ्वी वर्जित हुँदा पृथ्वीमा अनेकन् खराब तत्व तथा जीवाणुहरू फैलिने हुनाले यस बेलामा खाना पकाउनु, खानुलाई अशुभ मानिन्छ। सूर्यग्रहण शुरु हुनुभन्दा चार प्रहर (एक दिनमा आठ प्रहर हुन्छन्) पहिलेबाट अशुभ घडी शुरु हुन्छ। अशुभ घडी शुरु हुने बित्तिकै स्नान गरी, निराहार बसी, भजन, जप, तर्पण, होम तथा दानदक्षिणा गर्ने कार्यमा संलग्न हुनुपर्छ। ग्रहण समाप्त भएपछि राहुको अशुभ छायाबाट बिटुलिएको शरीर शुद्ध पार्न पुनः स्नान गर्नुपर्छ। घरका लुगाकपडा, अन्नपात तथा सरसामग्रीहरू शुद्ध पार्नका लागि तुलसी पानी छर्किने चलन छ। अर्को रमाइलो प्रसङ्ग पनि छ, ग्रहणका बेलामा खोलानाला, ताल, पोखरी, झरना, समुन्द्र सबैतिरका पानी गंगा नदीको पानी जत्तिकै पवित्र हुन्छ रे। त्यसैले जहाँका पानीमा नुहाउँदा पनि शरीर शुद्ध पार्न सकिन्छ। सूर्यग्रहण पश्चात् मानिसले मात्र होइन, मन्दिरमा देवताका मूर्तिहरूको पनि स्नान गराइन्छ। सूर्यग्रहणको बेलामा ब्याउन लागेको गाईको वरिपरि घुम्दा पृथ्वी वरिपरि परिक्रमा (अर्थात् प्रदक्षिणा) को पुण्य मिल्छ रे। ग्रहणको बेलामा पितृको तिथिश्राद्ध परेमा नियमित श्राद्ध नगरेर ग्रहणश्राद्ध गरिन्छ रे, जसमा ब्राह्मणलाई पक्वान्न भोजन गराउनको साटो काँचो अन्न तथा द्रव्य दान गरिन्छ।
हाम्रो राशी अनुसार ग्रहण हेर्दा शुभ वा अशुभ हुने कुरा पनि उल्लेख गरिएको छ। सूर्यग्रहणका दिन जन्मदिन पर्ने व्यक्तिले ग्रहण हेर्नु हुँदैन रे। आफ्नो जन्म राशीबाट तेश्रो, छैठौँ, दशौं तथा एघारौं राशी टाढाको राशीमा सूर्य भएको बेलामा लागेको ग्रहण सो व्यक्तिका लागि अत्यन्त शुभ मानिन्छ भने दोश्रो, पाचौं, सातौं तथा नवौं टाढाको राशीमा लागेको ग्रहण ठीकैको शुभ मानिन्छ। त्यस्तै गरि चारौं, आठौं तथा बाह्रौँ टाढाको राशीमा लागेको ग्रहण अशुभ हुने हुनाले नहेर्न भनिन्छ।
(स्पष्टीकरणः केटाकेटीदेखि गाउँघरमा देखेको, सुनेको चलनका बारेमा आज बुझ्न मन लागेर इन्टरनेटमा उपलब्ध रहेका धर्मशास्त्रसम्बन्धी कुराहरू पढ्दा थाहा पाएका हाम्रा पौराणिक कथनहरू यहाँ पोस्ट गरेको छु। पक्कैपनि यहाँ धेरै राम्रा कुरा छुटेका वा नमिलेका हुन सक्छन्। धर्मशास्त्रका विज्ञहरूबाट टिप्पणी पाएमा आभारी हुनेछु। फोटो: राहुले सूर्यदेवलाई ग्रास गर्दै, श्रोत: इन्टरनेट)

Friday, June 19, 2020

प्रभावकारी शिक्षण सिकाइका लागि सूचना तथा सञ्चार प्रविधिको अधिकतम प्रयोगका सम्बन्धमा नेपालको वर्तमान अवस्था, चुनौती तथा सम्भावनाका बारेमा लेख्ने मेरो सानो प्रयास।
सूचना तथा सञ्चार प्रविधिः प्रभावकारी शिक्षण विधि - सेतोपाटी डट कम्



Friday, June 5, 2020

छोरीको अनुभव

हाम्री कान्छी छोरीले नेपाल गएर बस्दा, पढ्दाको अनुभव संगालेर तयार पारेको लेख सेतोपाटीमा प्रकाशित भएछ। नेपाल र जापानको स्कूलमा पाएको फरक पनि लेखेको छ।
विदेश बस्ने मजस्ता केटाकेटीले कम्तिमा एक वर्ष नेपालमा पढ्नुस् https://www.setopati.com/keta-keti-kura/208211




Sunday, May 24, 2020

चाकरीमा होइन, अनुसन्धानमा खर्च गरौं

**चाकरीमा होइन, अनुसन्धानमा खर्च गरौं**
के नयाँ नक्साका बारेमा हाम्रो देशका टाउके नेताहरूको विमति छ? नत्र मन्त्री नै गएर ठूलो फ्रेम हालेको नक्सा टक्र्याउनु पर्ने आवश्यकता किन? नेपालभित्रका माननीयहरूको चाकरी गर्नु भन्दा नेपाल अवस्थित विदेशी राजदूतहरूका लागि एउटा कार्यक्रम आयोजना गरेर ठोस तथ्य, प्रमाणका आधारमा नेपालको दाबीलाई प्रस्ट्याउँदै नक्सा बाँड्दा राम्रो हुन्थ्यो होला। त्यसरी ठूलठूला नक्सा छाप्न तथा वितरण गर्न लागेको फजुल खर्चमा कटौती गरी बचेको रकमलाई बरु नेपालका सिमानाका बारेमा गहिरो अध्ययन अनुसन्धान गर्ने विश्वविद्यालयका प्राध्यापक तथा अनुसन्धानकर्तालाई सबलीकरण गर्ने काममा लगाउन सकिन्थ्यो। भारतसँगको वैचारिक बहसमा सशक्त प्रस्तुत हुन सक्ने खै हाम्रा प्राध्यापकहरू? संसारका अरू सबै देशहरूमा जस्तै नेपालमा पनि राष्ट्रिय गौरवका विवादित विषयहरूका बारेमा निरन्तर, विस्तृत अध्ययन अनुसन्धान गरेका राजनैतिक विचारधाराले पटक्कै प्रभावित नभएका स्वतन्त्र विज्ञ प्राध्यापकहरूको आवश्यकता तथा महत्त्व नेपालमा अझै नबुझ्नु भनेको नेपालको अदूरदर्शी राजनीतिले नेपालीका लागि थोपरेको अभिशाप हो।

Sunday, May 17, 2020

तथ्य प्रमाणमा आधारित सार्वजनिक नीतिको उदाहरण

**तथ्य प्रमाणमा आधारित सार्वजनिक नीतिको उदाहरण**
लकडाउन तथा संकटकाल कहिलेसम्म कायम राख्ने?
अर्थात्, के के प्रमाणका आधारमा लकडाउनलाई क्रमिक रूपमा हटाएर सामाजिक-आर्थिक गतिविधि सुचारु राख्ने? एउटा उदाहरण पेश गरौं है।
जापानले बहुआयामिक वस्तुपरक तथ्याङ्कलाई मिहिन विश्लेषण गरेर अवलम्बन गरेको प्रभावकारी सार्वजनिक नीतिमा सर्वसाधारण सबैले बुझ्ने गरि निम्न तीन तथ्यलाई समावेश गरिएको छः
१) दैनिक नयाँ संक्रमित बिरामीको संख्या ठाउँअनुसार तोकिएको संख्याभन्दा कम हुँदै गएमा (जस्तै टोकियोमा २० जनाभन्दा थोरै वा अन्य कम जनसंख्या भएका प्रिफेक्चरमा ५ जनाभन्दा थोरै)
२) ५०% भन्दा बढी बिरामीको संक्रमण रूटको पहिचान हुँदै गएमा।
३) पछिल्लो हप्ताभन्दा यो हप्ता बिरामीको संख्या कम हुँदै गएमा।
माथिका तीन बुँदामा उल्लेख गरिएका तथ्यहरू पुरा हुँदै गएका क्षेत्रहरूमा क्रमिक रुपले संकटकाल हटाउँदै सामाजिक-आर्थिक गतिविधि सुचारु गरिने नीतिअनुरुप जापानका जम्मा ४७ वटा प्रिफेक्चर मध्येका ३९ वटा प्रिफेक्चरमा गत हप्ताबाट संकटकाल हटाइएको छ। टोकियो, ओसाका लगायतका ठूला सहरहरूमा पनि बिरामीको संख्या प्रक्षेपण गरेअनुसार नै घट्दै गएका हुनाले संकटकाल हटाउने बारेमा यो हप्ता पुनर्विचार गरिने बताइएको छ।
यो एउटा उदाहरण मात्र हो। नेपालमा पनि हामी यस्तै सम्बन्धित सबै क्षेत्रका बहुआयामिक तथ्याङ्कको गहिरो विश्लेषणका आधारमा प्रभावकारी नीति अवलम्बन गरेर क्षेत्रगत रूपमा लकडाउनलाई क्रमशः खुकुलो पार्दै जनजीवन पुनः सकृय बनाउँदै जानुको अर्को विकल्प छैन किनकी निकट भविष्यमा नै कोरोनाभाइरस संक्रमणलाई शून्यमा झार्न असम्भव रहेको कुरा विश्वले स्वीकार गरिसकेको यथार्थबाट हामी टाढा रहन सक्दैनौं।

Tuesday, May 12, 2020

परदेशबाट फर्किने जनताको अभिभावकत्व ग्रहण गरौं

**परदेशबाट फर्किने जनताको अभिभावकत्व ग्रहण गरौं**
देश फर्किँदै गरेका जनतालाई बोर्डरमा प्रवेशनिषेध गरेर कोरोनाभाइरसबाट बचिन्छ भन्ने सोच र कार्य गैर-जिम्मेवारी, गैर-कानूनी र अव्यवहारिक भन्ने तथ्य नेपालमा निरन्तर कोरानाभाइरसका संक्रमित बढ्दै जानुले प्रमाणित गरेको छ। यस्तो अप्ठ्यारो परिस्थितिमा दुःख पाएर बाटामा बिचल्ली परेका आफ्ना जनताप्रतिको अभिभावकत्व ग्रहण नगर्ने उदाहरण नेपालबाहेकका कुनै पनि देशमा सुनिएको छैन। बोर्डरसम्म आएका आफ्ना जनतालाई देशभित्र प्रवेश गराएर प्रभावकारी क्वारेन्टाइनमा बसाउन सकिएन भने ती जनता सधैँभरि बोर्डरको ‘खुला जेलमा’ संयमित भएर बस्दैनन् र हाम्रा गाउँघर यत्रतत्र अव्यवस्थित तरिकाले पुग्ने पक्का पक्की छ। यही चाला रह्यो भने संक्रमण आकाशिएर भयावह स्थिति श्रृजना हुने डर बढ्दै छ। संसारले स्वीकारिसेकको छ, कोरोनाभाइरसको समस्या दुई चार दिनमै सकिने समस्या होइन। यसबाट हुने क्षतिलाई न्यूनीकरण गर्नका लागि संसारभरिका बेस्ट प्राक्टिसको प्रयोग गरेर प्रभावकारी व्यवस्था गर्नुको अर्को विकल्प छैन। सरोकारवालाहरू बेलैमा सचेत हौं।

Monday, May 4, 2020

लकडाउनमा खड्केको साइबर सुरक्षा

**लकडाउनमा खड्केको साइबर सुरक्षा**
विभिन्न प्रकारका वेबसाइट तथा एप्लिकेसन सफ्टवेयरको प्रयोग गरेर अहिले हामी दिनहुँ अनेकन् अनलाइन मिटिङ्ग तथा कन्फेरेन्समा सहभागी भइरहेका छौं। अनलाइन मिटिङ्गमा नै सरकारी संयन्त्रले राष्ट्रिय सुरक्षाका विषयवस्तु अथवा व्यवसायीहरुले व्यापार रणनीतिसम्बन्धी गोप्य कुरा पनि गर्दा होलान्। तर के ती अनलाइन मिटिङ्ग सफ्टवेयरले हाम्रो गोप्यता पूर्ण कायम राख्दछन् भन्ने ग्यारेन्टी छ? हामीले बोलेर वा लेखेर आदानप्रदान गरेका सूचना हामीलाई थाहा नदिइकन नेटवर्कबाट तेस्रो अपरिचित व्यक्तिले ट्याप गरिरहेको त छैन? अथवा त्यो सफ्टवेयर वा एप्लिकेसन बनाउने तथा सेवा दिने व्यक्ति वा कम्पनीले हाम्रो सबै संवाद ट्याप गरेर भण्डारण गरेर राख्ने त होइनन् र त्यो सूचना पछि हाम्रो विरुद्धमा नै प्रयोग गर्ने त होइनन्? यी यस्ता सम्भावनाका बारेमा आधिकारिक निकायका विज्ञ समितिले विशिष्ट ज्ञान तथा अत्याधुनिक प्रविधिको प्रयोग गरी त्यस्ता अनलाइन मिटिङ्ग सेवाका सफ्टवेयर तथा एप्लिकेसनले कायम गर्न सक्ने गोपनीयता र विश्वसनीयताको विस्तृत मूल्याङ्कनपश्चात स्तर निर्धारण गरी सिफारिस गरेका सफ्टवेयर मात्र प्रयोगमा ल्याउनु पर्छ। तर हाम्रो देशमा सफ्टवेयर, एप्लिकेसन तथा नेटवर्क ट्राफिकको अनुगमन तथा मिहिन विश्लेषण गरेर तिनीहरूको स्तर निर्धारण गर्नसक्ने विज्ञताले सुशोभित अधिकारसम्पन्न सूचना प्रविधि तथा साइबर सेक्युरिटीसम्बन्धी अनुसन्धान संस्था अभै अस्थित्वमा आइनसकेको हुनाले अहिले हामी लाचार भएर बजारमा जुन सुलभ रुपमा उपलब्ध छ, त्यही एप्लिकेसन अज्ञानतावश प्रयोग गर्दै आएका छौं। स्मरण रहोस् नेपालमा अहिले धेरै प्रयोगमा आएको एक एप्लिकेसनको गोपनीयता प्रमाणित नभएको हुनाले जापानका सरकारी तथा निजी क्षेत्रका व्यवसायहरूमा त्यसको प्रयोग निषेध गरिएको छ। फोटोः आफ्नै ल्याबको (बाँकी अर्को पोस्टमा)।

Thursday, April 16, 2020

जापानमा कोरोनाभाइरस संक्रमणको प्रारम्भिक रोकथाम, यसरी भयो सम्भव

जापानमा कोरोनाभाइरस संक्रमणको प्रारम्भिक रोकथाम, यसरी भयो सम्भव


हिमालखबर
2.1k Shares
facebook sharing button
sharethis sharing button



जापानमा कोरोनाभाइरस संक्रमणको प्रारम्भिक रोकथाम, यसरी भयो सम्भव
गत वर्षको डिसेम्बर महीनामा चीनको वुहान शहरबाट शुरु भई अहिले विश्वव्याधिका रूपमा देखिएको कोरोनाभाइरस संक्रमण जनवरी महीनाको १६ तारिखमा जापानमा पहिलोचोटि देखियो। संक्रमण पीडित अन्य विकसित देशहरूको तुलनामा यहाँ फैलिने गति आरम्भमा न्यून थियो।

संक्रमित बिरामीको संख्या फैलिनबाट बचाउन जापानी परम्परागत व्यवहार, सरसफाइ र वैज्ञानिक अनुसन्धानमा आधारित सरकारी नीतिले प्रभावकारी भूमिका खेलेको अनुमान लगाइन्छ। यस लेखमा जापानमा कोरोनाभाइरसको संक्रमणका सम्बन्धमा वस्तुगत तथ्याङ्कका आधारमा स्तम्भकारको स्थलगत अनुभव पस्कने प्रयास गरिएको छ।
संक्रमणको गति
वुहान शहरको भ्रमण गरेर ६ जनवरी, २०२० मा जापान फर्केका ३० वर्षीय जापानी युवक कोरोनाभाइरस संक्रमित भएको कुरा जापान सरकारले १६ जनवरीमा पहिलो केसका रूपमा सार्वजनिक गरेको थियो। त्यसको एक हप्तापछि वुहान भ्रमणबाट फर्केर आएका अरू दुई जना कोरोनाभाइरस संक्रमित जापानी भेटिए।

त्यसको एक हप्तापछि वुहानबाट आएका चिनियाँ पर्यटकबाट एक जापानी बस ड्राइभरमा यो रोग सर्‍याे। २९ जनवरीदेखि पटक पटक गरी जापान सरकारले वुहान शहरमा रहेका हजारौं जापानी नागरिकलाई चार्टर्ड उडानबाट देश फर्काई उनीहरू सबैलाई टोकियो वरपरका सरकारी भवनहरूमा लगेर क्वारेन्टिनमा राख्यो।
यसरी फर्केका मध्ये १० जनालाई कोभिड-१९ लागेको थियो। ३ फेब्रुअरीदेखि चीनको हुबेई प्रान्त (जहाँ वुहान शहर पर्दछ) र १२ फेब्रुअरीदेखि जेजियांग प्रान्तबाट आएका विदेशीलाई जापान प्रवेश बन्देज गरियो। १३ फेब्रुअरीमा टोकियो छेउको कानागावा प्रिफेक्चरकी ८० वर्षीया महिलाको कोभिड-१९ का कारणले मृत्यु भयो। परिवारका सदस्य मार्फत रोग सरेर कोभिड-१९ का कारणले जापानमा मृत्यु हुने उनी पहिलो व्यक्ति थिइन्।
रेल यात्रामा सजगता अपनाउँदै ।  तस्वीर: वेदप्रसाद काफ्ले
संक्रमणको पहिलो एक महीनासम्म देखिने बिरामीहरू कि त चीनको वुहान शहर घुमेर आएका कि उनीहरूसँग प्रत्यक्ष सम्पर्कमा रहेका मान्छेहरू मात्र थिए। त्यसै ताका जापान आएका तीन हजारभन्दा बढी यात्रु तथा क्रु मेम्बर बोकेको डाइमण्ड प्रिन्सेस् नामक क्रुजमा केही यात्रु संक्रमित भएको थाहा पाएर सो क्रुजलाई टोकियो नजिक योकोहामा पोर्टमा क्वारेन्टिनमा राखिएको थियो, जसमा ७१२ जना यात्रुहरु संक्रमित भएको पाइयो। जापान प्रवेश गर्नुभन्दा पहिले नै संक्रमण भएका हुनाले ती बिरामीहरूलाई जापानभित्र संक्रमित कुल बिरामी संख्यामा गनिएको छैन।
फेब्रुअरी महीनाको अन्तसम्ममा जापानमा दैनिक १० जना जति थपिंदै गई कुल बिरामीको संख्या २४० पुगेको थियो। मार्च महीनाको मध्यबाट टोकियो लगायतका शहरी क्षेत्रहरूमा संक्रमण वृद्धि भई एकै दिनमा ४०-५० जना थपिदैं जाँदा २० मार्चसम्ममा बिरामीको कुल संख्या १,००० नाघ्यो। यसरी जापानमा कोभिड-१९ बिरामीको संख्या १,००० पुग्न झण्डै २ महीना लागेकोमा एकाएक संक्रमण दर बढ्दै गएर त्यसको ११ दिनपछि अर्थात् ३१ मार्चमा बिरामीको संख्या २,००० नाघ्यो। त्यसपछि दैनिक बिरामीको संख्या ३०० को हाराहारीमा वृद्धि भएर ३ दिन अर्थात् ३ अप्रिलमा संक्रमितको संख्या ३,००० र ७ अप्रिलमा ४,००० नाघ्यो। त्यसपछि अहिले दुई दिनमा १,००० जति बिरामी थपिँदै आएका छन्। १३ अप्रिल, २०२० सम्ममा कोभिड-१९ बाट टोकियोमा मात्र २,१०० जना र जापानभरिमा ७,६०० जना संक्रमित भएका छन्। यसमध्ये १,३५३ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने १४२ जनाले ज्यान गुमाएका छन्।
खुला रहेको स्थानीय सानो किराना पसल । तस्वीर: वेद प्रसाद काफ्ले
संक्रमण रोकथामका लागि अपनाएका उपायहरू
फेब्रुअरी महीनाको अन्त्यतिर संक्रमितको संख्या तीव्र गतिले बढ्न थालेपछि जापानी प्रधानमन्त्री सिन्जो आबेले संक्रमण रोक्नका लागि जापानभरिका सबै स्कूलहरू २ मार्चदेखि अप्रिलको पहिलो हप्तासम्म बन्द गर्ने घोषणा गरे। त्यस्तैगरी ५ मार्चदेखि चीन तथा दक्षिण कोरियाबाट आउने सबै यात्रु १४ दिनको अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने नियम लगाइयो।
१६ मार्चबाट थप ४ देशहरू (स्पेन, इटली, स्वीट्जरल्याण्ड र आइसल्याण्ड) का केही क्षेत्रहरूबाट आउने यात्रुलाई जापान प्रवेशमा रोक लगाइयो। २० मार्चदेखि टोकियो लगायत वरपरका चिबा, साइतामा र कानागावा प्रिफेक्चरका गभर्नरहरूले सप्ताहान्तमा अत्यावश्यक काम नपरीकन घरबाट बाहिर ननिस्कनका लागि अपिल गरे। सकेसम्म कर्मचारीले घरबाटै काम गर्नसक्ने वातावरण मिलाएर बाहिरको भीडभाड कम गर्नका लागि टोकियोका अफिसहरूलाई आह्वान गरियो।
संक्रमणको दर अझै बढ्दै गई मार्चको अन्त्यतिर टोकियो मेट्रोपोलिटनमा मात्र एकै दिनमा ६०-७० जना नयाँ बिरामी थपिएर जापानभरिमा संक्रमितको संख्या १,७०० जति पुगेको बेला यहाँ पनि फ्रान्स वा स्पेनको जस्तो भयावह अवस्था आउने त होइन भन्ने डर उत्पन्न भयो। किनभने १,७०० जना जति बिरामीहरू भएका फ्रान्स र स्पेनमा १८ दिन पछि ती देशहरूमा बिरामीको संख्या क्रमशः ३७,००० र ७९,००० जति पुगेका थियो।
टोकियोका विभिन्न अस्पतालमा कोभिड-१९ का बिरामीहरूको उपचारका लागि शुरुमा १४० बेड तयार पारिएको थियो, जुन अपुग भएर मार्चको अन्त्यमा ५०० पुर्‌याई चाँडै नै ४,००० बेड तयार पार्ने योजना बनाइयो। २०२० को जुलाई महीनामा आयोजना गरिने भनिएको टोकियो ओलम्पिक खेललाई कोभिड-१९ को विश्व महामारीको कारणले यो वर्ष स्थगित गरेर अर्को वर्षको जुलाईमा गरिने निर्णय गरियो।
यात्रुको संख्या न्यून रहेका टोकियोका रेल स्टेशन । तस्वीर: वेदप्रसाद काफ्ले
२९ मार्चमा जापानका सुप्रसिद्ध हास्यकलाकार केन सिमुराको कोरोनाका कारण मृत्यु भएको समाचारले जापानीलाई मात्र नभएर जापानवासी विदेशी समुदायलाई समेत स्तब्ध बनायो। यस घटनाले कोरोनाभाइरस संक्रमणलाई रोक्नका लागि टोकियोले सशक्त कदम चाल्नु पर्ने प्रतिक्रिया जनस्तरमा यत्रतत्र सुनिन थाल्यो।
१ अप्रिलमा टोकियोका स्कूलहरू मे महीनाको पहिलो हप्तासम्म बन्द राखिने निर्णय भयो। बजारमा मास्क किन्न नपाइने भएपछि हरेक परिवारलाई धुन मिल्ने कपडाका दुई थान मास्क हुलाक मार्फत वितरण गर्ने प्रधानमन्त्री सिन्जो आबेले घोषणा गरे।
३ अप्रिलपछि जापान प्रवेश गर्ने जापानी तथा विदेशी नागरिक सबैले तोकिएको ठाउँमा १४ दिनका लागि अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने नियम लगाइयो। त्यस्तैगरी अमेरिका, चीन, कोरिया लगायतका ७३ देशबाट आउने विदेशीलाई जापान प्रवेश गर्न रोक लगाइयो। जापानीले भने संसारको जुनसुकै देशबाट जहिले आए पनि प्रवेश गर्न पाउने छन्। १२६ देशबाट जापान आउने ईएमएस, एअर मेल र २७ देशबाट आउने सबै प्रकारका चिठ्ठी पत्रहरू जापान बोर्डर भित्र प्रवेश नगराइने निर्णय गरियो।
जापानमा संक्रमित नयाँ बिरामी पत्ता लाग्ने बित्तिकै उनीहरूलाई कोरोनाभाइरस कहाँ, कहिले, कस्तो संसर्गबाट सरेको हुनसक्छ भनी अध्ययन गरिन्छ। सो अध्ययनका आधारमा संक्रमण क्लस्टरहरू पत्ता लगाई क्लस्टर बन्न सक्ने सम्भावित ठाउँ तथा इभेन्टहरू निगरानीमा राख्ने रणनीति अपनाएको छ। संक्रमणको दर न्यून रहँदाका बखतमा ८० प्रतिशतभन्दा बढी बिरामीको संक्रमण रुट पत्ता लाग्दथ्यो तर बिरामीको संख्या बढ्दै जाँदा थोरैको संक्रमण रुट मात्र पत्ता लाग्ने भएको छ। भवन भित्र धेरै जना भेला हुने ठाउँहरू जस्तै अस्पताल, स्पोर्ट्स सेन्टर, कन्सर्ट हल, नाइटक्लब, केयरसेन्टर, प्रहरी कार्यालय आदिमा संक्रमणका क्लस्टर पाइएका छन्। संक्रमण रुट थाहा नभएका बिरामीहरूलाई लक्षण नदेखिएका तन्दुरुस्त मानिसहरूबाट भाइरस सरेको अनुमान गरिन्छ। टोकियोमा देखिएका संक्रमित मध्ये ६० प्रतिशत जति ५० वर्षभन्दा कम उमेरका छन्।
सजग जनता मास्कमा ।
मार्च महीनासम्म देखिएका सबै संक्रमित बिरामीलाई अस्पतालमा भर्ना गरी उपचार गराइन्थ्यो। अप्रिल महीनादेखि टोकियोमा बिरामीको चाप अस्पतालले नथेग्ने गरी बढ्न थालेपछि सामान्य लक्षण भएका संक्रमितलाई तोकिएका होटेलहरूमा लगेर राखी उपचार गराउने व्यवस्था मिलाइएको छ। सिकिस्त बिरामीहरू मात्र अस्पतालका भेन्टिलेटर र एक्मो सुविधासम्पन्न कोठामा राख्न थालिएको छ।
जापानमा कोरोनाभाइरसको संक्रमण परीक्षण गराउनका लागि बिरामीमा तोकिएका लक्षणहरू देखिएको हुनुपर्दछ। खोकी तथा कफले गर्दा सास फेर्न गाह्रो भएको, ३७.५°C भन्दा माथिको ज्वरो लगातार चार दिनसम्म (बूढाबूढी तथा दीर्घरोगीलाई दुई दिनसम्म) आएको खण्डमा अस्पताल जानुभन्दा पहिले टेलिफोनमा परामर्श लिनुपर्छ। डाक्टरले कोरोना संक्रमणको शंका गरेमा बिरामीलाई पारामेडिक्सले घरबाट सीधै तोकिएका अस्पतालमा लग्छन्, जहाँ कोरोनाभाइरस परीक्षण गर्नका लागि नमूना संकलन गरिन्छ।
जापानमा यूरोप र अमेरिकाको जस्ता बिरामीहरू हप्ता दिनभित्रै हजारौंको संख्यामा ओभरशूट नहुनुका पछाडि यहाँको रहनसहन, सरसफाइ तथा परम्परागत जनचेतनाले सहयोगी भूमिका खेलेको अनुमान लगाइन्छ। यहाँका मानिसहरू हात मिलाएर अथवा गाला जोडेर अभिवादन गर्दैनन्। टाढैबाट शिर झुकाउँछन्। यहाँ हरेक वर्ष जाडोमा मौसमी ज्वरो (सिजनल फ्लु) फैलिने गर्दछ, जसबाट बच्नका लागि घरबाट बाहिर निस्किदा प्रायः सबैले नाक, मुख मास्कले छोप्ने यहाँको नियमित चलन हो। रुघाखोकी तथा अन्य कारणले आफू अस्वस्थ महसुस गरेको अवस्थामा बाहिर जानुपर्दा सबैले मास्क लगाएर मात्र घरबाट निस्कन्छन्। बाहिरबाट घर फर्किंदा पनि साबुनपानीले हात हुने तथा मुख कुल्ला गर्ने गरिन्छ।
७ अप्रिलमा राष्ट्रिय संकट घाेषणा गर्दै जापानका प्रधानमन्त्री ।
संकटकालको घोषणा
४ अप्रिलदेखि टोकियोमा मात्र १०० जनाभन्दा धेरै बिरामी दैनिक थपिंदै गएपछि टोकियो तथा वरपरका तीन प्रिफेक्चरमा जनतालाई अत्यन्त जरुरी काम बिना घरबाहिर नजान र अत्यावश्यक सेवाभन्दा बाहेकका व्यापार व्यवसाय बन्द गर्नुपर्ने गरी संकटकाल घोषणा गर्नका लागि जनदबाब बढ्दै गयो। ८ अप्रिलदेखि राजधानी टोकियो, चिबा, साइतामा, कानागावा, ओसाका, ह्योगो र फुकुओका गरी सात प्रिफेक्चरमा ६ मईसम्मको एक महीने संकटकाल (स्टेट अफ इमर्जेन्सी) लागू गरियो। त्यसको दुई दिन पछि आइची प्रिफेक्चर र होक्काइदो प्रिफेक्चरका गभर्नरहरूले पनि संकटकाल घोषणा गरे।
मार्च महीनामा जापानी संसदले पास गरेको परिमार्जित कानून अनुसार लागू गरिएको यहाँको संकटकाल अन्य देशको लकडाउन जस्तो सम्पूर्ण व्यापार व्यवसाय बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था चाहिं होइन। अत्यावश्यक सेवाअन्तर्गतका व्यवसाय खुला छन्, जसमा निम्न ८ समूह पर्दछन् -
(१) अस्पताल, क्लिनिक र औषधि पसलहरू, (२) सुपरमार्केट, होम सेन्टर, कन्भिनियन्स स्टोर, (३) रेस्टुराँ (बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म), (४) होटेल, गेस्ट हाउस, (५) सार्वजनिक यातायात, (६) उद्योगधन्दा, (७) वित्तीय संस्था, (८) क्लिनिङ्ग, ब्यूटी पार्लर।
त्यसैगरी निम्न ६ समूहका व्यवसायहरू बन्द गरिएको छ- (१) नाइटक्लब तथा बार, (२) शैक्षिक संस्थाहरू, (३) स्पोर्ट्स क्लब, बलिङ्ग, पाचिङ्को, (४) सिनेमा हल, नाट्यघर, (५) पुस्तकालय, प्रदर्शनी कक्षहरू र (६) ठूला सपिङ्ग सेन्टर र कम्प्लेक्सहरू।
सरकारी अफिसहरूमा सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा बसेर काम गर्नुपर्ने भन्दा बाहेकका कर्मचारीहरूलाई घरबाट टेलिवर्क गर्न लगाइएको छ। प्राइभेट अफिसहरूमा पनि सोहीअनुसार गर्न गराउनका लागि आह्वान गरिएको छ। सर्वसाधारणलाई सकेसम्म घर बाहिर ननिस्कन भनिएको छ। तर जरुरी काम परेर बाहिर निस्कने व्यक्तिलाई कारबाही गर्ने कानून छैन।
झण्डै एक लाखको हाराहारीमा रहेकाे जापानवासी नेपालीको मध्ये अहिलेसम्म दुई जना मात्र नेपाली संक्रमित भएको खबर छ। यहाँको नेपाली समुदायमा संक्रमणको जोखिम उच्च छ किनकि धेरैजसो नेपालीहरू दैनिक सयौं ग्राहकसँग नजिक भएर काम गर्नुपर्ने सर्भिस सेक्टर (रेस्टुराँ, बार, कन्भिनियन्स स्टोर, होटेल आदि) व्यवसायमा संलग्न छन्।
र जान आउनका लागि सार्वजनिक यातायात प्रयोग गर्नुपर्ने भएकाले संक्रमणबाट जोगिन गाह्रो पर्ने अवस्था छ। यहाँका नेपालीहरूलाई सुसूचित गराउन तथा सम्भावित संक्रमितलाई आवश्यक सहयोग र परामर्शका लागि नेपाली दूतावास लगायत अन्य नेपाली संघसंस्थाहरू सक्रिय भएर लागिपरेका छन्।
संकटकाल लगाउनु भन्दा पहिलेदेखि नै हरेक दिन ती प्रिफेक्चरका गभर्नरहरुले टेलिभिजन तथा इन्टरनेटको माध्यमबाट संकटकालमा बन्द या चालू राख्नु पर्ने व्यवसायहरू, अवलम्बन गर्नुपर्ने नीति नियमहरू, दैनिक जनजीवनमा अप्ठ्यारो पर्दा अपनाउने उपायहरू, सम्पर्क स्थान तथा फोन नम्बर आदिका बारेमा बारम्बार जानकारी गराइरहेका छन्।
कोभिड-१९ महामारीले सर्वसाधारणको मनोबल कमजोर पारेको निराशाजनक परिस्थितिमा पनि सरकारको नेतृत्व तहबाट सकारात्मक संदेश प्रवाह गरिँदैछ। साथै कोरोना प्रकोपको विभिन्न पक्षका बारेमा विज्ञको गहन अध्ययन, अनुसन्धानको नतिजाअनुसार सरकारले समयसापेक्ष निर्णय गर्दै जाने आश्वासन पनि दिएको छ। संकटकाल व्यवस्थाले सामाजिक दूरी कायम राखेर मानिस-मानिस बीचको संसर्गलाई ७०-८० प्रतिशतकाे हाराहारीमा घटाएर एक महीना भित्रमा संक्रमणलाई न्यून पार्ने योजना बनाइएको छ।
आर्थिक राहत प्याकेज
कोभिड-१९को प्रभावलाई न्यूनीकरण गर्नका लागि जापान सरकारले पूरक बजेटको व्यवस्था गरेको छ। संक्रमणका कारणले संकटमा परेका जनताको उद्धारका लागि केन्द्रीय तथा स्थानीय सरकारले विभिन्न प्रकारका आर्थिक प्याकेजको घोषणा गरेका छन्। न्यून आय हुने १ करोड ३० लाख परिवारले तीन लाख जापानी येन राहत सहयोग पाउने छन्।
संकटमा परेका साना तथा मझौला उद्योगहरूलाई एक लाखदेखि बीस लाख येनसम्मको आर्थिक सहयोग हुने भएको छ। स्वरोजगारमा रहेका साना उद्यमीहरू तथा जागिर खुस्किएका परिवारहरूका लागि दुई लाख येनको ऋण सहयोग उपलब्ध छ। त्यस्तैगरी आफ्ना बालबच्चाको स्कूल बन्द भएर वा स्वयं बिरामी परेर जागिर गर्न नसकेका व्यक्ति वा परिवारका लागि पनि आर्थिक सहयोगको व्यवस्था छ।
जापानवासी नेपालीको अवस्था
जापानवासी नेपालीको जनसंख्या झण्डै एक लाखको हाराहारीमा छ र अहिलेसम्म दुई जना मात्र नेपाली संक्रमित भएको खबर आएको छ। यहाँको नेपाली समुदायमा संक्रमणको जोखिम उच्च छ किनकि धेरैजसो नेपालीहरू सर्भिस सेक्टर (रेस्टुराँ, बार, कन्भिनियन्स स्टोर, होटेल आदि) व्यवसायमा संलग्न छन्। दैनिक सयौं ग्राहकसँग नजिक भएर काम गर्नुपर्ने र जान आउनका लागि सार्वजनिक यातायात प्रयोग गर्नुपर्ने भएकाले संक्रमणबाट जोगिन गाह्रो पर्ने अवस्था छ। यहाँका नेपालीहरूलाई सुसूचित गराउन तथा सम्भावित संक्रमितलाई आवश्यक सहयोग र परामर्शका लागि नेपाली दूतावास लगायत अन्य नेपाली संघसंस्थाहरू सक्रिय भएर लागिपरेका छन्।
(लेखक टोकियोमा सूचना प्रविधिसम्बन्धी अध्ययन, अनुसन्धान तथा अध्यापन पेशामा संलग्न छन्।)