Sunday, April 12, 2020

दुःखी आत्मा र कुण्ठा

*दुःखी आत्मा र कुण्ठा*
अहिले युरोप, अमेरिका लगायत विकसित देशहरूमा कोरोनाभाइरस संक्रमणले जनजीवनलाई नराम्ररी प्रभाव पारेको खबरले केही कुण्ठित आत्माहरू खुशी भएका छन्। ती देशहरूले मानव जाती र मानवताका विरुद्धमा घोर पाप गरेको परिणाम स्वरूप कोभिड-१९ ले त्यहाँका जनतालाई सताएको, ती देशहरूमा अध्ययन तथा कामका सिलसिलामा बस्दै आएका नेपालीहरू खान, बस्न समेत नपाएर हरिबिजोक अवस्थामा छटपटाई रहेको आदि आदि अतिरञ्जित स्वश्रृजित कथा लेखेर पोस्ट गर्ने दुःखी आत्माहरूलाई यो विश्व महाव्याधि उनीहरूले भने जस्तो कुनै देशले धेरै पाप गरेर फैलिएको होइन भनि कसरी सम्झाउने? नेपालमा अहिलेसम्म कोभिड-१९ फैलिन नपाएर डरलाग्दो, नियन्त्रण बाहिरको अवस्था नआउनुका पछाडि अनेकौँ अज्ञात कारणहरू होलान्, जुन सम्बन्धित विषयवस्तुका विज्ञहरूले बिस्तारै अनुसन्धान गर्दै जाने छन्। अहिलेको अवस्थामा के बुझ्न जरुरी छ भने नेपाल र हामी नेपालीहरू अज्ञात कारणले भाग्यमानी छौं कि यो विश्व महामारीको बेलामा पनि हाम्रो स्वास्थ्य र जीवन सुरक्षित छ। यतिको भाग्यमानी हुनु नै अपार हर्षको कुरा हो। यस्तो अवस्थामा अरूको दुःखमा खुच्चिङ नगरी, सानो कुरालाई बढाइचढाइ अतिरञ्जक नपारी, कुभलो नचिताई, ईर्ष्या नगरी, आफ्नो कुण्ठाको प्रचारप्रसार नगरीकन पनि खुशी र आनन्दित जीवन बाच्न सकिन्न? सहअस्तित्व, सहानुभूति, सहकार्य, सहिष्णुता, भाइचारा आदिको भावना ती दुःखी आत्माहरूमा जन्मजात नै नभएका हुन त?

सिनेमा मोह

*सिनेमा मोह*
२४ घण्टा घर भित्रै बसी घरबाटै अफिसको काम गर्न थालेपछि weekdays र weekends का समयको प्रभावकारी व्यवस्थापन गर्ने बानी बसाल्ने प्रयास जारी छ। आज आइतवार बिदाको दिउँसो १९९९ मा बनेको हिन्दी सिनेमा "आ अब लौट चलें" हेरेर साच्चिकै छुट्टीको अनुभूति भयो। चार मुख्य पात्रहरू (राजेश खन्ना, कादर खान, जस्पाल भट्टी र नवीन निश्चल) बितेर गइसकेका, आजभन्दा २१ वर्ष पहिले बनेको सिनेमा पनि मलाई त नयाँ नयाँ जस्तो पो लाग्यो। १९९१ बाट १९९५ सम्म भारतको चण्डीगढमा इंजीनियरिंग अध्ययन गर्दाको अवधिमा १९६० देखि यता बनेका पुराना धेरै सिनेमाहरु हेरेको थिएँ। त्यस ताका रिलीज भएका सप्पै नयाँ सिनेमा नछोडी हेरिएको थियो। हरेक विषयको फाइनल परीक्षा दिएको राती सिनेमा नहेरी नहुने चलन र बानी थियो। मेरो मनमा त्यसबेला हेरका सिनेमाहरु मात्र मेरो पालाका सिनेमाका रुपमा छापिएर बसेका छन्। इंजीनियरिंग पढाइ पश्चात बनेका सिनेमा त्यति (वर्षको १-२ वटा नाम चलेका बाहेक) हेरिएन। त्यसैले २१ वर्ष पहिले बनेको आज हेरेको सिनेमा पनि मेरा लागि नितान्त नौलो थियो। उदित नारायण, कुमार सानु र अल्का याग्निकको स्वरका गीत सुन्दा चाहिँ मेरो आफ्नै जमानाको झझल्को आयो। RK Films को ब्यानरमा निर्माण भएको अन्तिम तथा ऋषि कपूरले निर्देशन गरेको एकमात्र सिनेमाको विषयवस्तु र प्रस्तुति राम्रो रहेछ।

Saturday, April 11, 2020

सामाजिक दूरी र संक्रमण रोकथाम

*सामाजिक दूरी र संक्रमण रोकथाम*
मानिस-मानिस बीचको भौतिक दूरी वा सामाजिक दूरीलाई २ मीटर जति कायम राख्न सकियो भने कोभिड-१९ को संक्रमणलाई रोक्न सकिने अध्ययनले देखाएको छ। University of California, San Diego का एक प्राध्यापकको अनुसन्धानअनुसार (तलको चित्रमा पनि देखाइएको छ) -
१. सामाजिक दूरी कायम नगरी मानिस स्वच्छन्द रूपले सधैं झैं हिँडडुल गर्ने हो भने एक संक्रमित बिरामीबाट ५ दिनमा २.५ जनालाई भाइरस सरेर ३० दिनमा ४०६ जना संक्रमित हुने सम्भावना छ।
२. मानिस-मानिस बीचको संसर्गलाई ५०% ले घटाउन सकियो भने एक संक्रमित बिरामीबाट ३० दिनमा जम्मा १५ जना मात्र संक्रमित हुने सम्भावना हुने छ।
३. त्यस्तै गरि मानिस-मानिस बीचको संसर्गलाई ७५% ले घटाउन सकियो भने एक संक्रमित बिरामीबाट ३० दिनमा जम्मा २.५ जनामा मात्र सर्ने सम्भावना रहने छ।
टोकियो लगायतका जापानी सहरहरूमा अहिले लागू गरिएको आपत्कालीन व्यवस्थाले मानिस-मानिस बीचको संसर्गलाई ७०-८०%को हाराहारीमा राखेर एक महिना भित्रमा नयाँ संक्रमणलाई न्यून पार्ने योजना बनाइएको छ।
अहिले धेरै प्रयोग गरिने तीन शब्दहरूः सोसल डिस्टान्सिंग (सामाजिक दूरी), क्वारन्टीन (नेपालीमा के भन्ने?) र आइसोलेशन (एकान्तवास, मेरो आफ्नै रूपान्तरण) का बारेमा जानकारी गराउँ है।
सामाजिक दूरी भनेको मानिस-मानिस बीचको भौतिक दूरी न्यूनतम २ मीटर कायम राख्नु हो। यसका लागि भीडभाडमा जानु हुँदैन र बन्द कोठामा धेरै जना जम्मा भएर कुनै पनि कार्यक्रम गर्नु हुँदैन।
क्वारन्टीन र आइसोलेशनको अर्थ उस्तै लागे पनि एउटा सानो फरक छ। भाइरसबाट संक्रमित भइसकेको शङ्का लागेको तर लक्षण अझै नदेखिसकेको अवस्थामा निश्चित अवधिसम्म बाहिर नगई एकै ठाउँमा रहनुलाई क्वारन्टीन भनिन्छ भने भाइरसबाट संक्रमित भइसकेको लक्षण देखिएपछि कुनै एक कोठामा अन्य व्यक्तिबाट अलगै बस्नुलाई आइसोलेशन भनिन्छ।
हामी नेपालमा र जापानमा अहिले सामाजिक दूरी कायम राख्ने सजिलो अवस्थामा छौं। हेलचेक्र्याई नगरी सामाजिक दूरी कायम राखौं र सुरक्षित रहौं।

Sunday, March 22, 2020

मास्कको प्रभावकारी प्रयोग

***मास्कको प्रभावकारी प्रयोग***
आफ्नो नजिकै रहेको संक्रमित व्यक्तिले बोल्दा वा हाछ्युँ गर्दा भाइरस मिसिएको थुक वा सिँगानका छिटाहरु (droplets) हावाका माध्यमबाट १ देखि २ मिटरसम्मको दुरीमा फैलिएर जान सक्छन् रे। त्यस्तो बेलामा अगाडि रहेको मानिसले मास्क लगाएको छ भने भाइरसलाई आफ्नो शरीरमा प्रवेश गर्नबाट रोक्न सकिन्छ। तर मास्कलाई प्रभावकारी तरिकाले प्रयोग गर्न सकिएन भने मास्क नै भाइरसको श्रोत पनि हुनसक्छ। मास्कको प्रभावकारिता बढाउनका लागि निम्न कुराहरूमा ध्यान दिनु पर्दछ।
१) मास्कलाई मिलाएर लगाउनु पर्छ ताकि मास्कबाट छानिएको हावामात्र फोक्सोमा पुगोस्।
२) मास्क एकपटक मिलाएर लगाएपछि पटक पटक हातले छोएर मिलाउने गर्नु हुदैन। यसो गर्दा हातमा टाँसिएका भाइरस मास्कमा टाँसिन पुगी स्वासप्रश्वासका क्रममा शरीरभित्र जान सक्छन्। अथवा मास्कको बाहिरी सतहमा रहेका भाइरस आफ्नो हातभरि फैलिन पनि सक्छन्।
३) एक पटक लगाएर खोलेको डिस्पोजेबल मास्क पुनः प्रयोग गर्नु हुँदैन। साथै मास्कलाई ओल्टाई पल्टाइ गरेर पटकपटक प्रयोग गर्नु पनि हुदैन। यसो गर्दा पहिलो पटक लगाउँदा बाहिरपट्टी परेको भाग अर्को पटक लगाउँदा भित्रपट्टी पर्न गई मास्कमा टाँसिएका किटाणु सबै फोक्सोमा पुग्न सक्छन्।
४) मास्क खोलेर नछोइने ठाउँमा रहेको फोहर राख्ने ठाउँमा फ्याल्नु पर्छ। मास्क खोलेर डाइनिङ टेबल वा घरभित्रको धेरै छुइने ठाउँमा कदापि राख्नु हुँदैन।
५) मास्क खोलेपछि साबुनपानीले हात राम्ररी धुनुपर्छ। त्यसपछि अनुहार पनि साबुनपानीले राम्ररी धुनुपर्छ। यसो गर्दा मास्क छुदा हातमा टाँसिएर रहेको वा अनुहारमा टाँसिएका भाइरस पखालिन्छन् र संक्रमणबाट बच्न सकिन्छ।
६) जोसुकैले जुनसुकै ठाउँ वा अवस्थामा मास्क लगाउन जरुरी छैन। निम्न ठाउँ र अवस्थामा मास्क लगाउनु पर्दछ।
क) संक्रमित व्यक्तिहरु रहन सक्ने सम्भावना भएको भिडभाडका ठाउँहरू जस्तै खचाखच भरिएका सार्वजनिक यातायातका साधनहरु, सिनेमा हलजस्ता बन्द कोठा या हलहरु र भिड लाग्ने बजारहरु।
ख) संक्रमित व्यक्तिको स्याहारसुसार गर्ने ठाउँ, जस्तै अस्पताल वा संक्रमित परिवारका सदस्य भएको घर आदिमा रहने व्यक्तिले मास्क लगाउनु पर्छ।
ग) आफ्नो वरपर संक्रमणको बिगबिगी भएको बेलामा शारीरिक रुपमा कमजोर, अशक्त, बुढाबुढी तथा दीर्घ रोगीलाई भेट्न जाँदा मास्क लगाउनु पर्छ। वयस्क, निरोगी मान्छेहरुमा बिरामीको लक्षण नदेखिए पनि उनीहरू भित्रभित्रै भाइरसबाट संक्रमित भएको हुन सक्छन् रे। यस्ता तन्दुरुस्त व्यक्तिबाट शारीरिक रुपमा कमजोर व्यक्तिमा भाइरस नसरोस् भन्ने हेतुले मास्क लगाउनु पर्छ।
घ) आफू संक्रमित भएको आशंका लागेमा सार्वजनिक ठाउँमा रहेको अवस्थामा अवश्य मास्कको प्रयोग गर्नु पर्दछ। साथै आफूबाट अरुमा संक्रमण नहोस् भन्ने सामाजिक उत्तरदायित्व पालना गर्दै सकेसम्म आफुले वरपरका कुनैपनि वस्तुलाई छुनु हुँदैन।
७) स्वस्थ मानिसले निम्न अवस्थामा मास्कको प्रयोग नगरे पनि हुन्छ।
क) खुला ठाउँमा जस्तै पार्क, भिड नभएको बाटो आदि ठाउँमा हिडडुल गर्दा।
ख) संक्रमित परिवारका सदस्य नभएको घरभित्र रहदा।
८) भाइरसबाट बच्नका लागि लगाउने मास्क र काठमाडौंको धुलोबाट वा जापानमा पराग कणको एलर्जी (अर्थात् काफुन्शो) बाट बच्नका लागि लगाउने मास्कको प्रयोग विधिमा फरक छ। धुलो वा पराग कणबाट बच्नका लागि प्रयोग गरेको मास्कमा छुदा संक्रमणको डर हुदैन। ती मास्कले बाहिर खुल्ला ठाउँमा उडेको धुलो वा पराग कणलाई रोकेर राखे पुग्छ। तर भाइरसबाट जोगिनका लागि प्रयोग गरिने मास्कको प्रयोग पश्चात पनि यथोचित व्यवस्था गर्न सकिएन भने मास्क नै भाइरसको गुड भई संक्रमण गराउने खतरा रहिरहन्छ।
९) स्मरण रहोस्, हावाका माध्यमबाट नाक हुदै हाम्रो शरीरमा प्रवेश गर्ने भन्दापनि हाम्रो हातको माध्यमबाट भाइरस हाम्रो शरीरमा प्रवेश गर्ने सम्भावना बढी हुन्छ। संक्रमित व्यक्तिहरुको हातमा भाइरस टासिएको हुनसक्छ। ती व्यक्तिहरूले जुन बस्तु छुन्छन्, त्यहीँ भाइरस टाँसिन्छ रे। स्टील, फलामजस्ता चीसा वस्तुमा भाइरस केही दिनसम्म बाँच्छन् भने कपडा वा सुख्खा वस्तुमा केही घण्टासम्म बाँच्न सक्छन् रे। पछि ती ठाउँहरूमा स्वस्थ व्यक्तिका हातले छुनपुग्दा भाइरसहरु स्वस्थ व्यक्तिका हातमा पनि टाँसिन पुग्दछन्। र ती हातले मुख छुने, नाक कोट्याउने, आँखा मिच्ने गरियो भने भाइरस शरीर भित्र प्रवेश गरेर संक्रमण गर्दछन्। त्यसैले हातको माध्यमबाट भाइरस सर्नबाट जोगिनका लागि बारम्बार हात धुने, बाहिरका वस्तुहरु सकेसम्म नछुने, हरेक पटक बाहिर गएर घर फर्कने बित्तिकै घरमा कुनै पनि वस्तु नछोई साबुन पानीले १-२ मिनेटसम्म हातका औंलाका काप, नङ्ग, नारीसम्म मिचीमिची धुने, र मुख, नाक, कान, आँखामा हात पटक्कै नलैजाने बानी बसाल्नु पर्छ।
(जनस्वास्थ्य सम्बन्धित जानकारी)

Friday, January 23, 2009

Geneva Visit

जेनेभा भ्रमण
२००९ जनबरी १८-२३
(२०६५ माघ ५-१० गते)

International Telecommunications Union (ITU) मा भविष्यको संचार प्रविधि सम्बन्धित स्टाण्डर्ड बनाउने Study Group 13 (SG 13) को मिटिंगमा भागलिन म अहिले स्विजरल्याण्डको जेनेभामा छु । वर्षको तीन पटक चल्ने यो मिटिंगले नयाँ प्रविधिलाई संचार संजालमा प्रयोग गर्ने विधिको बारेमा स्टाण्डर्ड बनाउने गर्दछ । यो मिटिंगमा भागलिन गत वर्षको जनबरी महिनामा कोरियाको सउल सहर गएको थिए र मेई र सेप्टम्बर महिनामा यहा जेनेभा आएको थियो । जेनेभाको अहिलेको मौषम टोक्योको भन्दा अलि बढि जाडो छ । तापक्रम १-२ डिग्रीको आसपास हुन्छ । यहा टोकियोको भन्दा अलिक बढि नै जाडो भएपनि त्यति धेरै चिसो भने छैन । यहा भन्दा बढि जाडो पोहोर साल सउल जादा भएको थियो ।
जाडो महिनामा यहा बिहान ८ बजेसम्म अध्यारो नै हुदोरहेछ र बेलुका पनि ४ बजे तिर नै अध्यारो हुन थालि सकेको हुन्छ । जबकि गर्मीको मौषममा यहा बिहान ४ बजेदेखि उज्यालो भएर राती १० बजेसम्म उज्यालो नै रहन्छ ।
जाडोको मौषममा पनि पानी परिरहन्छ जस्तो छ । म यहा बसेको छ दिनको अबधिमा दुईदिन मात्र घामलागेको छ, बाकी सबैदिन पानी परिरहेको छ ।

Tuesday, January 6, 2009

ऋचाको बानी, बोली

२००९ जनवरी ६
---------------

हाम्री छोरी ऋचा अहिले हामीले बोलेको धेरै जसो बुझ्ने र उनी आफै केहि शब्द बोल्न सक्ने भएकी छन् । ऋचाको उमेर आज १६ महिना पुग्दैछ ।

उनीले अहिले उच्चारण गर्ने शब्दहरू: पापा, मामा, जिज्जी (दिदी), पा: (पानी), माम, पान्पा (पान्पर), मा:पा: (माम पाको), चेन्चे (सेन्से, गुरूआमालाई बोलाउने जापानी शब्द), बुबु, चन्चा ।।। उनी एक्लै खेलिरहदा के के बोलिरहन्छिन ।

उनी नयाँ नयाँ शब्दहरू दिनहुँ जस्तो उच्चारण गर्ने प्रयास गरी रहन्छिन् । उनलाई दिदी भन्न निकै समय लागेको थियो । पापा, मामा भन्न धेरै पहिलेदेखि जानेपनि "जिज्जी" भन्न थालेको एकदुई हप्तामात्र हुदैछ । यसै हप्तादेखि "सेन्से" भन्न थालेकिहुन् ।

जुनसुकै जनाबरलाई देख्दा उनी "भाउभाउ" गर्न थाल्छिन । किताबका चित्रमा होस कि, लुगामा बुट्टामा होस उनी जहा जतिबेला जनाबरको चित्र देख्छिन् "भाउभाउ" भन्दै चोर औलाले देखाउन थालिहाल्छिन् । घरमा राखेका कुकुर, बिरालामा गुडियापनि देख्यो कि "भाउभाउ" गर्न थाल्छिन् ।

श्रेया दिदीले कम्प्युटरमा प्रायजसो उनको आफ्नै भिडियो बजाउने हुदा, कम्प्युटरमा भिडियो शुरु भयोको ऋचा "जिज्जी, जिज्जी" भन्दै कम्प्युटरतिर देखाउदछिन । आजकल खिचेका केहि भिडियोमा आफूलाई पनि पाउदा उनी "नाना" "नाना" भन्छिन । उनलाई हामी सानी वा सानु भनेर सम्बोधन गर्छौ, तर उनी आफैलाई भने "नाना" भन्छिन् ।

ऋचाको अहिले जम्मा ६ वटा मात्र दाँत पलाएका छन्, तलका दुई र माथीका चार । माथीका दुई दाँतमात्र ठूला छन, अरू दुई भरखरै पलाउदै गरेका सानासाना छन् । दात भरखरै पलाउन थालेपनि दाँत माझ्न उनले थालेको तीनचार महिना जति भई सक्यो । बेलुका दाँत माझ्ने बेलामा उनी सबैलाई ब्रश पुर्याएर मात्र आफ्नो ब्रश लिन्छिन् । सबै भन्दा पहिले "मामा" को ब्रश माग्छिन् र मामा भए ठाउमा पुर्याउछिन् । अनि जिज्जीको ब्रश पुर्याएर मात्र आफ्नो ब्रश माग्छिन् । केहिदिन पहिले देखि उनको ब्रशमा पनि मन्जन राख्न भन्छिन । उनलाई देखाउदै ब्रशलाई मन्जनको ट्युब छेउमा दुइतीन पटक छुवाए पछिमात्र ब्रश समाउछिन । ब्रशलाई मुखमा राखेर केहिबेर खेलाएपछि हामीले थुके जस्तै उनीपनि बेसिनमा थुक्छिन् । हामीले कुल्ला गरिसकेपछि उनलाई पनि कुल्ला गराउनका लागि अलिकति पानी मुखमा राखिदिनु पर्छ ।

बेलुका सुत्ने बेलामा केहिबेर छटपट गर्छिन् । बिरामी भएको बेला निकै लामै छटपट गरेपनि अरूबेला केहिबेरमा नै निदाउछिन् । राति सिरकबाट निस्केर तकिया तिर गएर सुत्छिन । जाडोको मौषम छ, अलिअलि चिसोलाग्यो कि नाक बन्द भएर छटपटाउ छिन् ।

बिहान हामी उठेको केहिबेरमा नै हाँस्दै उठ्छिन । खाजा खान त्यतो मन पर्दैन, फकाएर फुल्याएर खुवाउनु पर्छ । उनलाई फलफूलमा स्ट्रबेरी मन पर्छ । काटेर स-साना टुक्रा पारेर प्लेटमा राखिदिनु पर्छ, उनी काटाले एक-एक टुक्रा निकालेर खान्छिन । उनलाई अरूले खुवाएको भन्दा आफैले खान मन पराउछिन् । तर आफै खादा थोरै मात्र खाएमा बोकेर डुलाउदै, के के देखाउदै खुवाउदा नअगान्जेल सजिलै खान्छिन् । उनलाई गाईको वा बट्टाको दुध मन पर्दैन ।

उनी पहिले पहिले आफ्नो मामु भन्दा अरूसँग त्यतो जान मान्दिन थिन् । तर अहिले जोसँग पनि जान मान्ने भएकी छन् । मौका मिल्दा हाम्रा साथीभाईहरूले उनलाई खुब खेलाउछन् ।

ऋचाको वस्सवलिलालाई नजिकबाट अबलोकन गर्दै अहिले हामी अतुलनिय आनन्द महसुस गरिरहेका छौ ।

अस्तु:

Tuesday, December 16, 2008

हिरोशिमा भ्रमण

२०६५ साल मंसिर २६-२९
2008 December 11-14
----------------------

यो जाडोको मौषममा हामी स-परिवार हिरोशिमा घुम्न गयौं । टोकियोबाट डिसेम्बर ११ तारिक बिहान १०:३० को सुपरएक्सप्रेस सिन्कान्सेन रेल चढेर चार घण्टामा ९०० किलोमिटर जतिको दूरी पारगरी हामी दिउसो २:३० बजेतिर हिरोशिमा स्टेशनमा ओर्लन्छौ । स्टेशन अगाडिको खुला चौकमा छोरीहरूको केही फोटो खिची होटेल तिर लाग्दछौ । स्टेशनबाट हिडेर तीन-चार मिनेट जतिमा होटेल हिरोदेन पुगिन्छ । चेक-इन गरी हामी ९औं तलाको ५९३२ नम्बर कोठामा तीन रातका लागि बास बस्न जान्छौ ।

केहिबेर आराम गरी हामी हिरोशिमा क्यास्सल हेर्न भनि बाहिर निस्कन्छौ । होटेलबाट पश्चिम तर्फ १५-२० मिनेट हिड्दा क्यास्सल पुगिन्छ । बाहिरी बनावट कालो काठको भएको क्यास्सलमा बेलुकाको घाम पर्दा गेरूजस्तो रातो रंगको देखिदो रहेछ । क्यास्सल पुग्नुभन्दा पहिले पुराना रूखको बगौचा छ, जस्को वरिपरि पोखरीले घेरिएको छ । हामी पूर्वको गेटबाट प्रवेश गरी बगैचा हुदै उत्तर-पश्चिम कुनामा अबस्थित क्यास्सलमा पुगी केहि फोटा खिच्छौ । दक्षिण-पश्चिमको गेटबाट बाहिर निस्कनका लागि हिड्दा क्यास्सल परिसर भित्र रहेको कलात्मक जिन्जा (मन्दिर) पनि हेर्यौ । बाहिर निस्कने गेट निकै कलात्मक थियो । क्यास्सलको मूख्यद्वार त्यहि रहेछ, हामी पछाडि पट्टीको सानो गेटबाट प्रवेश गरेका रहेछौ । बाहिर निस्केर हामी त्यो गेटको र अगाडि पट्टीको खुला चौकमा रहेका मानवमूर्ति र पानी फोहोराको वरपर केहिबेर बरालियौ । त्यो खुला चौकबाट पनि क्यास्सल खुब राम्रो देखिदो रहेछ । क्यास्सल हरेर हामी हिरोशिमा बजारतिर लाग्छौ । केहिबेर बजार घुमी ७:३० तिर होटेल फर्की खाना खान्छौ ।

भोलि पल्ट बिहान मेरो हिरोशिमा सिटी युनिभर्सिटीमा एउटा प्रेजन्टेशन थियो । त्यसको लागि बिहान ८:१५ तिर होटेलबाट निस्की, रेल चढी एक स्टेशन परको योकोगावा भन्ने ठाउमा ओर्लिएर बस चढी २० मिनेट जतिमा त्यो युनिभर्सिटी गेट अगाडि ओर्लिए । बस स्टपबाट युनिभर्सिटी भित्र प्रवेश गर्दागर्दै बायापट्टीको भवनमा मैले प्रेजेन्टेशन गर्ने मिटिंग रहेछ । मिटिङमा दुई घण्टाजति सहभागी भएर म ११ बजेतिर त्यहाबाट निस्की, होटेल फर्कदा १२ जति बजेको थियो ।

हामी सबैजनाले नजिकैको फुकुया भन्ने डिपार्टमन्ट स्टोरको ११औं तलामा रहेको रेस्टुरेण्टमा खाना खायौ । त्यस पश्चात हामी हिरोशिमा सहरको 組生通り भन्ने मूख्य सडक हुदै आणविक बम डोम र शान्ति स्मारक पार्क हेर्न गयौं । सन् १९४५ अगस्ट ६ तारिक बिहान ८:१५ बजे अमेरिकी वायुसेनाले खसालेको आणविक बमले हिरोशिमा सहर सबै खरानीमा परिणत भएको थियो । त्यहाको संग्राहलयमा देखाइए अनुसार आणविक बम प्रहार पश्चात हिरोशिमामा जम्मा तीन-चार वटा पक्की भवनमात्र ठडिएको अबस्थामा थिए भने बाँकी सबै घरहरू खरानी भई माटोमा मिलेका थिए । त्यहि ठडिएको अबस्थामा रहेको तत्कालिन ब्यापारिक प्रदर्शन भवन (Hiroshima Prefectural Commercial Exhibition Hall) को भग्नावशेषलाई संरक्षण गरी आणविक बम डोम नामाकरण गरिएको छ । त्यो डोमको पश्चिम तर्फ खोला छ । चेक गणतन्त्रका आर्किटेक्ट जेन लेत्जेलले डिजाइन गरेर सन् १९१५ मा बनेको सो भवनको मुख भने नजिकैबाट बग्ने खोला (पश्चिम दिशा) तिर फर्केको छ ।
डोम हेरेर हामी खोला पारीको शान्ति स्मारक पार्क तिर लाग्छौ । त्यो पार्कभित्र बमले मारिएका केटाकेटीको नाममा समर्पित स्मारक, शान्तिको लागि आव्हान गर्ने घण्टी आदि छन् । पार्कको दक्षिणी भागमा संग्राहलय छ । त्यो संग्राहलयमा आणबिक बम कसरी बनाइयो, बनाउन को को संलग्न थिए, किन जापानमा खसालियो, त्यसले जनधनमा कस्तो क्षति पुर्यायो जस्ता सामग्रीहरू प्रदर्शन गरिएका छन् । मानिसहरू जलेर कस्तो अबस्थामा थिए, घरको छानाका टायल, खाना खाने प्लेट, शिशा, केटाकेटीका खेलौना पग्लेर कस्तो रूपमा परिवर्तन भएका थिए आदि आदि मन रुवाउने दु:खी क्षणको स्मरण गराउने सामग्री छन् त्यहा ।

हामी संग्राहलय हेरेर पार्कमा बसी छोरीहरूलाई खाजा खुवाएर हिरोशिमा सहरतिर लाग्छौ । दुबै छेउमा पसलहरू र बिचको बाटोमा पनि छाना भएको लामो सपिंग आर्केट हेर्दै पूर्वतिर लाग्छौ । हेर्दाहेर्दै केहिबेरमा नै झमक्क साँझ पर्छ । अनि हामी दिउँसो खाना खाएको फुकुया डिपार्टमेन्ट स्टोरको रेस्टुरेण्टमा नै बेलुकाको पनि खाना खाई होटेल फर्कन्छौ ।

भोलिपल्ट हामी मियाजिमा जाने भयौ । खाजा खाएर हामी १० बजे तिर होटलबाट निस्केर हिरोशिमा स्टेशनतिर लाग्छौ । १०:३० बजेतिरको रेल चढी पश्तिमतिर २५ मिनेट गएपछि मियाजिमागुची भन्ने स्टेशनमा ओर्लियौं । स्टेशनबाट पूर्वतिर ५ मिनेटजति हिडेपछि मियाजिमा जाने डुंगा (फेरी) चढ्ने ठाउ आउछ । हामी त्यहा पुग्दापुग्दै एउटा डुंगा हिंडो । १५-१५ मिनेटमा डुंगा चल्दा रहेछन् । त्यो पनि दुई ठाउँबाट, भिन्दा भिन्दै कम्पनीको । हामी जेआर (रेल सेवा)को डुंगा चढी मियाजिमा टापुतिर लाग्छौ । अलि पर पुगेपछि मियाजिमाको प्रसिद्ध इचुकुसिमा जिन्जाको समुन्द्रको पानी माथि बनाइएको रातो रंगको गेट देखिन थाल्दछ । मानिसहरू धमाधम फोटो खिच्छन् । केहिबेरमा नै डुंगा तटमा पुग्छ र हामी सबै ओर्लन्छौ ।

मियाजिमा टापुको अधिकांश भुभाग पहाड हो । पश्चिमी तटको केहि सम्म भागमा स-सानो बजार छ, पर्यटकका लागि उपहारका सामान र खानेकुरा बेच्ने । हामी तटैतट केहि दक्षिणतिर हिड्दा १० मिनेटजतिमा इचुकुसिमा जिन्जा देखिन थाल्छ । बाटामा जताततै मृग घुमिरहेका हुन्छन् । त्यो जिन्जाको गेट समुन्दको पानी माथि छ, भने जिन्जाका घरहरू (मन्दिर) पनि अलिअलि पानी माथि नै छन् । मन्दिर रातो रंगमा काठैकाठले बनेको छ । छाना भने खरले छाएको छ । समुन्द्र किनारमा भुईं टाँढे मन्दिर निकै पराकिलो छ । विश्व सम्पदा सुचीमा परेको त्यो मन्दिर भित्र हामीले निकै फोटा खिच्यौ ।

जिन्जा हेरिसकेर नजिकैको रेस्टुरण्टमा हामीले खाना खायौ । अनि "मिसेन" भन्ने पहाड चढ्नलाई हामी रोपवे (केबुलकार) को स्टेशनतिर लाग्यौ । त्यो स्टेशन निकै माथि पहाडमा रहेछ, हिडेर जादा १०-१५ मिनेट जति लाग्दछ होला । तर हामी तलबाट एउटा सटल बस चढी त्यहा गयौं । रोपवे चढ्ने मान्छेको निकै भिड थियो । हामीले टिकट (एक जनाको १८०० येन) काटी लाइनमा १०-१५ मिनेट कुरे पछि मात्र चढ्ने पालो आयो । हामी सहित टोकियो नजिकैको कामाकुरा भन्ने ठाउमा बस्ने बुढाबुढीको एक जोडी एउटा डब्बामा चढ्यौ । केहिबेरमा नै हामी रूखका टुप्पा भन्दा पनि माथि माथिबाट हुइकिन थाल्यौ । परपर समुन्द्र माझमा देखिने स-साना थुम्कामो फोटो खिच्दै जादा १५ मिनेटजतिमा हामी एउटा थुम्कोमा पुग्छौं । त्यहा ओर्लेर एक मिनेट जति उकालो उक्लेर हामी अर्को केबुलकारमा चढ्न गयौ । अब चढ्ने डब्बा अघि चढेको भन्दा तीन गुनाजति ठूलो रहेछ । निकै मान्छे चढे त्यो डब्बामा । हामी तीन-चार मिनेट जतिमा अर्को थुम्कोको स्टेशनमा पुगेर ओर्लयौ । स्टेशनको घरबाट बहिर निस्कने बित्तिकै बायापट्टी ठूलाठूला ढुंगाको थुम्को रहेछ, जहाबाट तल समुन्द्र र पारी पट्टी हिरोशिमा सहर प्रस्ट देखिदो रहेछ । हामीले त्यो थुम्कामा निकै फोटा खिच्यौं । त्यहा रातो मुख भएका बाँदर पनि हुदा रहेछन । त्यहाबाट अझै ३० मिनेटजति हिडेमा त्यो पहाड (भन्न त "मिसेन" माउन्टेन भनिन्छ, उचाई भने ५३० मिटर हो) को टुप्पामा पुगिन्छ रे । टुप्पातिर जाने बाटोमा बुद्धका पुराना मन्दिर छन रे । हामी पनि नजिकै मन्दिरहरू छन् कि भनि केहि बेर हिड्यौ, तर केटाकेटीसँग हिडेर पहाडको टुप्पोसम्म पुग्दापुग्दै रात पर्ने लागेर बिच बाटोबाटै फर्कयौं ।

फर्केर रोपवे चढेर तल तटमा झर्यौ । त्यसबेला त्यो इचुकुसिमा जिन्जा वरपरको पानी त हराइ सकेको रहेछ । केहि घण्टा पहिले हेर्दा जिन्जाको त्यो रातो गेट पानी माथि समुन्द्रमा देखिएको थियो, अहिले त त्यो गेट भएको ठाउमा पानी सुकिसकेको रहेछ । बेलुका भएपछि समुन्द्रको पानीको सतह घटेर त्यो गेट वरपर पानी हुदैनरहेछ । हामीले पानी नहुदाको गेटको छेउसम्म गई फोटा खिच्यौ ।

बेलुका झिसमिस साँझ परिसकेको थियो, हामी डुंगा चढ्ने ठाउँ सम्म फर्कदा खेरी । डुंगा चढेर मियाजिमागुची स्टेशन आई त्यहाबाट रेल चढेर हामी हिरोशिमा स्टेशन फर्क्यौ । हिरोशिमा स्टेशनको घर निकै ठूलो छ । हामीले त्यसको तेश्रो तला रहेको रेस्टुरण्टमा खाना खायौ र होटेल तिर लाग्यौ ।

भोलि पल्ट बिहान खाजा खाएर टोकियो फर्कने तयारी गर्न थाल्यौ । १०:३० बजेतिर होटेलबाट चेक आउट गरी हामी हिरोशिमा स्टेशनतिर आयौ । त्यहा केहि उपहारका सामग्रीहरू (जापानी भाषामा "ओमियागे") किन्यौ । १२:०६ मिनेटको सिन्कान्सेन रेल चढ्नु भन्दा अगाडि खाना खाने समय नहुनाले हामीले रेलभित्र खानेखालका केहि खानेकुरा पनि कियौं ।

रेल चढी, खानेकुरा खादै हामी चार घण्टा बिताएर टोकियो आइपुग्यौ । टोकियो स्टेशनबाट लोकल रेल चढी हाम्रो बासस्थान पुग्दा बेलुकाको ६ बजिसकेको थियो ।

यसरी हाम्रो हिरोशिमा यात्रा अति रमाईलो रह्यो । मौषमपनि न्यानो थियो, छोरीहरुपनि स्वस्थ्य रहे ।

----****----